PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

उल्टो अपरेसनदेखि डाक्टरमाथि हातपात : स्वास्थ्य बन्यो न्यूजमेकर क्षेत्र



सागर बुढाथोकी

उल्टो अपरेसनदेखि डाक्टरमाथि हातपात : स्वास्थ्य बन्यो न्यूजमेकर क्षेत्र

नेपालको स्वास्थ्य क्षेत्र २०७४ मा 'न्युज मेकर' क्षेत्र बन्यो। चिकित्सकको लापर्वाहीका नमुनादेखि चिकत्सकमाथि आक्रमणका घटनाले समाचार शीर्षक बनाइरह्यो यो वर्ष। 

  • 'दाहिने खुट्टाको अपरेसन गर्नुपर्ने देब्रेको' 
  • पथ्थरीको अपरेसन गर्दा किड्ने झिकियो 
  • ड्युटीमा रहेका डाक्टरले बिरामीबाट कुटाइ खाए
  • चिकित्सक आन्दोलनमा उत्रिए
  • नर्सहरु पेशागत सुरक्षाका लागि सडकमै उत्रिए 

यस्ता शीर्षकसँगै गत वर्ष डाक्टर गोविन्द केसीको अनशन र पक्राउ सर्वाधिक चासो र चर्चाको विषय बन्यो। डा केसीकै कारण सर्वोच्च अदालत विवादमा तानियो। अन्तत: प्रधानन्याधीश गोपाल पराजुली राजीनामा दिन बाध्य भए। नेशनल कलेज प्रकरण, चिकित्सा शिक्षा अध्यादेश लगायतका धेरै विषयहरु 'न्यूज मेकर' बने। 


स्वास्थ्य मन्त्रालयमा डाक्टरको धर्ना

असोज २ गतेको मन्त्रिपरिषद् बैठकले अस्पतालमा उपचार गराउने क्रममा चिकित्सकको लापरवाहीले मृत्यु र गम्भीर घाइते भए सम्बन्धित चिकित्सकले नै बिरामीलाई क्षतिपूर्ति दिनुपर्ने विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दियो

लगत्तै सरकारको निर्णय नमान्ने भन्दै चिकित्सकहरुले आन्दोलन सुरु गरे। वार्ताबाट सहमति जुट्न नसकेपछि  डाक्टरहरूको आन्दोलन चर्कियो। बिरामीहरु मर्कामा परे

असोज ९ गते दुई सय भन्दा बढी डाक्टरहरुले स्वास्थ्य मन्त्रालय घेराउ गरे। डाक्टरी पोशाकमा आएका उनीहरुले सरकारविरुद्ध नाराबाजी नै गरे।

'जेल विथआउट वेल' को अडानबाट पछि नहट्ने भन्दै उनीहरु आन्दोलनमा थिए। आन्दोलनको ८ दिनपछि माग पूरा हुने सहमति जुट्यो। डाक्टरहरु काममा फर्के।


नर्स पनि सडकमा

पारिश्रमिक कमी र श्रम शोषण भएको भन्दै ११ बुँदे माग राखेर नर्सहरु आन्दोलनमा उत्रिए। आन्दोलन गर्न थालेको ८ दिनसम्म सरकारले वार्ताको लागि पहल गरेन। उनीहरु सडकमा आउन बाध्य भए।

माइतीघर मण्डलादेखि बानेश्वरसम्म मुखमा कालो मास्क,  पाखुरामा कालो पट्टी र हातमा पम्प्लेट बोकेर सडकमा उत्रिएको भोलिपल्टै सरकारसँग सहमति भयो। उनीहरु काममा फर्किए।


नेशनल कलेजको 'लफडा'

काठमाडौँको प्रस्तावित नेशनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिषद्ले सम्बन्धन दियो- जुन व्यावसायिक भवन थियो, अस्पतालका लागि अयोग्य। नेशनल कलेजलाई समबन्धन दिएको चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)लाई जानकारी गराइएको थिएन। प्राध्यापक डा गोविन्द केसी अनशन बसेकै बेला नाटकीय रुपमा नेशनल कलेजले सम्बन्धन पाएको थियो।

२०७० सालमा डाक्टर प्रकाश सायमी त्रिविको डिन हुँदा थप मेडिकल कलेजलाई सम्बन्धन दिने क्षमता नभएको भन्दै बन्द गरिएको थिए। २०७० सालमै त्रिविका उपकुलपति हीराबहादुर महर्जनसहितका पदाधिकारीहरुले आफै सूचना निकालेर सम्बन्धन लिन आह्वान गरेका थिए। त्यही बेला चार वटा मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएका थिए। तर, आइओएमले त्रिविको उक्त प्रतिवेदन नियम विपरित भन्दै बैठकमा लगेन।  सोही कारण नेशनल कलेजले सम्बन्धन पाएको थिएन।

२०७० कात्तिक २७ मा आइओएमकै प्राध्यापक डाक्टर कविरनाथ योगीले सञ्चालनमै नआएको उक्त शिक्षण अस्पतालमा बिरामी भरिभराउ रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए। नेशनल कलेजका सञ्चालक जैनुद्दिन अन्सारीले कलेजले सम्बन्धन पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए। 

'कलेजको सम्बन्धन विषयमा यथा समयमै निर्णय नगरी राख्नु वैध अपेक्षाविपरित हुने हुनाले सम्बन्धन दिने विषयमा कानुन बमोजिम निर्णय गर्नू'  भन्दै सर्वोच्चले २०७१ भदौ ३१ गते परमादेश जारी गरेको थियो। सर्वोच्चको सोही फैसलाको कारण नेशनल कलेजले सम्बन्धन पाएको थियो।

सुनसान व्यावसायिक भवनले मेडिकल कलेजको सम्बन्धन पाएपछि चौतर्फी विरोध भयो। डा केसी अनशन बसे। घटना सर्वोच्च अदालतसम्म पुग्यो। शिक्षा मन्त्रालयले नेशनल कलेजलाई दिएको समबन्धन रद्ध गर्न पत्रसमेत काट्यो। अन्तत: त्रिभुवन विश्वविद्यालयले मापदण्ड सम्बन्धि निर्देशिका पालना नगरेको भन्दै सम्बन्धन दिएको ३९ दिनपछि सम्बन्धन खारेज गर्यो।


'मेडिकल शिक्षा बेथिती'का ४२ अनुहार

माघमा चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले मेडिकल शिक्षामा  अनियमितता गर्ने ४२ जनालाई कारबाहीको लागि सिफारिस गर्यो। आयोगले सिफारिस गरेका ४२ जनामा लोकमान सिंह कार्की देखि त्रिविका उपकुलपति तीर्थ खनियाँसम्म थिए।

त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मेडिकल काउन्सिलका पदाधिकारी तथा आइओएमका वरिष्ठ चिकित्सकहरुले पदको दुरुपयोग गरी मेडिकल शिक्षालाई धरासायी बनाएको भन्दै आयोगले कारवाहीको सिफारिस गरेको थियो। आयोगले सिफारिस गरे पनि उनीहरुलाई कुनै कारवाही भएको छैन।
 

मनमोहन अस्पतालमा मिर्गौला काण्ड

२०७३ जेठ २५ गते मनमोहन अस्पतालले नुवाकोटका शिव रिमालको पत्थरीको अपरेसन गर्ने क्रममा मिर्गौला निकाल्यो। रिमाल होशमा आउनुअघि नै  अस्पताल प्रशासनले उनकी श्रीमती रन्जुसँग ६ बुँदे सहमति गर्‍यो। पछि रिमाललाई सहमति मान्य भएन। उनले अस्पतालसँग दुई वटा नयाँ माग थपे।

अस्पतालले नयाँ माग पूरा गर्न नसक्ने जानकारी दिएसँगै अस्पतालसँग विवाद सुरु भयो। रिमालले कानुनी उपचारको बाटो रोजे। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिए। स्वास्थ्य मन्त्रालयले छानविन समिति गठन गर्‍यो। दुवै पक्षको गल्ती देखाइदिएको छानविन समितिको निष्कर्षले न त डाक्टरलाई कारवाही भयो, न त उनले क्षतिपूर्ति पाए। घटना त्यत्तिकै सेलायो
 

देब्रेको सट्टा दाहिने खुट्टाको अपरेसन

फागुन ११ गते नर्भिक अस्पतालले देब्रे खुट्टामा गर्नुपर्ने बिरामीको अपरेसन दाहिने खुट्टामा गर्‍यो। डाक्टर प्रवीण नेपालको टोलीले चितवनकी ३८ वर्षीया बिन्दु पौडेलको सद्धे खुट्टाको अपरेसन गरेपछि फेरि अर्को खुट्टाको अपरेसन गर्न बाध्य भएकी थिइन्

डाक्टरले लापरवाही गरेपछि अस्पतालले बिरामीसँग ४ बुँदे सहमति गरेको थियो। अन्तत: नेपाल मेडिकल काउन्सिलले लापरवाही गर्ने डाक्टरलाई १ महिना निलम्बन गर्यो। 

यस साल लापरवाहीको कारणले बिरामीको मृत्यु भएको आरोप पनि खेपे डाक्टरहरुले। डाक्टरको लापरवाहीको कारणले बिरामीको मृत्यु भएको भन्दै तोडफोड पनि भयो। कतिपय घटना लेनदेनमा मिलाएर साम्य पनि।


डाक्टरहरु पनि कुटिए

यो साल बिरामीबाट डाक्टरहरु पनि कुटिए। डोटीका डाक्टर जितेन्द्र राउतमाथि उपचार गराउन आएका बिरामीले मरणासन्न हुने आक्रमण गरे। घटनापछि डोटीका डाक्टरहरु काम छोडेर काठमाडौं आए। केही दिन डोटीमा डाक्टर नहुँदा बिरामीहरु मर्कामा परे।


मंसिर ६ गते भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण गरे। अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीलाई लक्षित गरी आक्रमण भएको थियो। 

आफू र छोरालाई वीष पिलाइएको आरोप लगाउँदै बिरामीले डाक्टरलाई आक्रमण गरेका थिए। डाक्टरलाई चक्कुले प्रहार गरेका उनले नर्सको घाँटी थिचेका थिए।
 

डा जगदिश अग्रवाल Vs डा शशी शर्मा

चार वर्षअघि सरकारले बर्खास्त गरेका डिन प्राध्यापक डा शशी शर्मालाई सर्वोच्च अदालतले पुस २४ गते पुनर्वहाली गर्यो। डाक्टर शर्माको पुनर्वहाली भएसँगै डिन जगदिश अग्रवाल  डिनबाट बाहिरिए। अर्का प्राध्यापक डा गोविन्द केसी सर्वोच्च अदालत माफियाको इसारामा चलेको भन्दै अनशन बसे। डा शर्माले डा केसीलाई च्यालेन्ज दिए 'तपाईँ डिन बनेर आउनुस् तत्काल राजीनामा दिन्छु।'


चार दिनको कार्यकाल सकाएर डा शर्मा डिनको कुर्सीबाट बिदा भए। डा अग्रवालले आइओएममा चार दिनको चलखेल भएको भन्दै आफै डिन हुनुपर्ने अडान राखे। तर, त्रिविले अग्रवाललाई निरन्तरता दिने 'सिग्नल' दिएन। १ महिनाभन्दा बढी आइओएम डिन बिहीन भयो। अन्तत: आइओएमको डिनमा अग्रवाललाई निरन्तरता दिनेगरी त्रिविले पत्र दियो।


एमबीबीएस इन्ट्रान्समा चिट प्रकरण

असोज २८ गते त्रिवि चिकित्साशास्त्र अध्यन संस्थान (आइओएम)ले लिएको एमबीबीएसको प्रवेश परीक्षामा इलोक्ट्रोनिक डिभाइस मार्फत् चिट चोरी भयो। अर्काको परीक्षा दिइरहेका ४ जना विद्यार्थी सोही दिन पक्राउ परे। करिब ९ हजार विद्यार्थीले दिएको परीक्षामा चिट चोरी भएपछि परीक्षा रद्ध भयो।

रद्भ भएको परीक्षा फेरि समयमा नै हुन नसक्दा विद्यार्थीहरु आन्दोलित भए। आइओएमका डिन अग्रवालको पुत्ला जलाए
 

चिकित्सा शिक्षा अध्यादेश पास

डा केसीका अनशनको प्रभावले यो वर्ष चिकित्सा शिक्षा अध्यादेश पारित भयो। केसीकै कारण चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपतिले प्रमाणिकरण गरिन्। संसदमा पेश भयो र प्रतिस्थापन विधेयकबाट पारित गर्नेगरी पास भयो।

डाक्टरहरु पक्राउ

माघको अन्तिम सातामा राजधानीका अस्पतालबाट मेडिकल काउन्सिलमा दर्ता नभएका २० जना डाक्टर पक्राउ परे। पक्राउपछि प्रहरी हिरासतमा राखेका उनीहरु तारिकमा छुटे।
 

डा केसीका ४ अनशन

चिकित्सा शिक्षा ऐनमा सासंदहरुले संशोधन हालेपछि साउन ९ गते डाक्टर केसी ११ औ अनशन बसे। केही माग पुराना थिए त केही नयाँ। सरकारी टोली र डा केसीबीच पटक-पटक वार्ता भयो। २३ औं दिनसम्म अनशन नतोडेपछि उनको अवस्था नाजुक भयो। र २३ दिनमा उनको माग पूरा गर्ने सहमति भयो। अनशन तोडियो। 

१२ औं अनशन
दसैंको मुखमा असोज ९ गते डाक्टर केसी कुनै खबर र पूर्वजानकारी बिना अनशन बसे। माग थियो ११ औं अनशनको चार बुँदे नै। संसदमा चिकित्सा शिक्षा विधेयक पेश हुने नदेखिएपछि उनी अनशन बसेका थिए। अनशन बसेको २ दिनपछि दसैंको कारण देखाउँदै उनले अनशन तोडे


१३ औं अनशन
१२ औं अनशन २ दिनपछि तोडेका केसी १० दिनपछि फेरि अनशन बसे। माग थियो पुरानै। अनशन बसेको १४ दिनपछि सरकारले चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत् ल्याउने सहमती गर्यो। उनले अनशन तोडे। l

१४ औं अनशन र डा केसी पक्राउ
सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा ४ वर्षअघि बर्खास्त भएका डा शशी शर्मालाई पुनर्वहाली गर्यो। सो घटना भएलगत्तै डा केसीले प्रध्यानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै १४ औं अनशन सुरु गरे। अनशन सुरु गरेको १ घण्टा नबित्दै उनी पक्राउ परे

उनी प्रकाउ परेपछि घटेका एकपछि अर्का घटना सबैको सोचाइ विपरित थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell