PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नर्सको व्यथा कसलाई के थाहा!



सागर बुढाथोकी

नर्सको व्यथा कसलाई के थाहा!

काठमाडौं : १० दिनअघि  माइतीघर मण्डलामा सेता पोशाक लगाएका नर्सहरु आन्दोलनमा थिए। मुखमा कालो पट्टी,  पाखुरामा कालो फेटा र हातमा प्ले कार्ड। सडकमा उत्रिनु उनीहरुको बाध्यता। आन्दोलनको आठौँ दिनसम्म सरकारले वार्ता गर्न पहल नगरेकाले बाध्य भएर सडकमा नारा लगाइरहेका थिए उनीहरु।

नर्सिङ संघको महासचिव लक्ष्मी केसी कतै ५ हजार तलब र कतै विना बेतन नर्सहरु काम गर्न बाध्य भएको सुनाउँदै थिइन्। उनीजस्तै हरेक नर्सहरु आफ्नो पीडा व्यक्त गर्दै सडकमा उत्रिएका थिए। वर्षौदेखि मौन रहेका उनीहरु सहन सकुन्जेल आफ्नो धर्म निभाइरहेका थिए। तर, एकाएक उनीहरु सडकमा आएर आफूहरु अन्यायमा परेको सुनाउन बाध्य भए।
 

सन्दर्भ : नेपाल नर्सिङ दिवश


उनीहरुको सडक संघर्ष जारी रहँदा धेरैको ध्यान भने नर्सिङ प्रोफेसनभन्द बाहिरकी एक महिलातिर जान थाल्यो जतिखेर उनी डाँको छाडेर रुन थालिन्। आन्दोलनमा भएका नर्सहरु उनलाई सम्हाल्दै थिए। तर, ती महिलालाई बुझाउन नर्सहरुलाई हम्मेहम्मे परिरहेको थियो। धेरैले उनलाई सम्झाए, तर उनको आँखाबाट आशु झर्न रोकिएन।

उनी थिइन् मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएकी एक नर्सकी आमा। नर्सहरुले सुनाएको व्याथा र नाराले भन्दा उनको आशुले नर्सहरुको अवस्था चित्रण गरिरहेको थियो। उनलाई देख्दा मात्रै समग्र नर्सहरुको अवस्था अन्दाज गर्न सकिन्थ्यो। 

भन्दै थिए, ‘ नर्सको व्यथा अरुलाई के थाहा?’

नर्सहरुले धेरै व्याथा सुनाए सडकबाटै। अधिकांशको एउटै आसय थियो, ‘१० लाख खर्च गरेर पढ्यो। भोलिन्टियर काम गर्यो। कतै ५ हजारको जागिर। न सम्मान, न सुरक्षा। धेरैजसो त बेरोजगार नै छन।’

नर्सहरु सडकमा आएको भोलिपल्ट स्वास्थ्य मन्त्रालयले वार्ता गर्यो। ११ वटै बुँदामा सहमति भयो। तर,  केही बुँदा कार्यान्वयन भए पनि अन्य बुँदा कार्यन्वयन हुन अझै समय लाग्ने देखिन्छ। त्यसैले नर्सहरु फेरि सडकमा नआउलान भन्न सकिन्न।

पढ्नुस् : 

छोरीको आन्दोलन, सहभागी आमा : किन रोइन् मायादेवी?

+++

सन् २०११ को जनगणना अनुसार नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ। विश्व स्वास्थ्य संगठन भन्छ, ‘हरेक १० हजार जनसंख्याका लागि चिकित्सक, नर्स र मिड्वाइफ समेत गरेर २३ जना चाहिन्छ।’

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार १० हजार जनसंख्याका लागि १४ जना मात्रै स्वास्थ्यकर्मी रहेका छन्। अर्थात्, नेपालमा पर्याप्त स्वास्थ्यकर्मीहरू छैनन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा भएको छैन। जनशक्ति धेरै उत्पादन छ तर बेरोजगार। 

अहिले १.३५ का दरले नेपालको जनसंख्या वृद्धिदर भइरहेको छ। यसैलाई आधार मान्ने हो भने सन् २०३० मा नेपालको जनसंख्या ३ करोड ५५ लाख पुग्नेछ। विश्व स्वास्थ्य संगठनको मापदण्डलाई मान्ने हो भने थप ७० हजार नर्सहरु आवश्यक पर्छन्।

तर, अहिलेको उत्पादनलाई आधार मान्ने हो  भने सन् २०२३ मै नर्सिङ जनशक्ति ८२ हजार २ सय ७४ पुग्ने देखिन्छ। अहिले भन्दा भविष्यमा नर्सहरुको बेरोजगार दर बढ्ने तथ्याकंले देखाउँछ।

देशभर ८ हजार ३ सय १४ स्वास्थ्य संस्था रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। अहिलेको  जनसङ्ख्यालाई आधार मान्दा ६८ हजार ४ सय ९० जना नर्सको आवश्यकता देखिन्छ। नेपाल नर्सिङ परिषदको तथ्यांक भन्छ, ‘७४ हजार ८ सय ४० नर्सिङ जनशक्तिमा ५० हजार भन्दा बढी नर्सहरु बेरोजगार छन्।’ यो तथ्यांकले स्पष्ट पार्छ, स्वास्थ्य संस्थाहरुले आवश्यक पर्नेजति नर्सिङ जनशक्ति राखेको देखिँदैन।

तथ्यांलाई नै आधार मान्ने हो भने ७ हजार ७ सय ४० नर्स वर्षेनी बाहिर निस्किन्छन्। यही अनुपातमा सन् २०३१ सम्ममा १ लाख ६७ हजार ७ सय नर्हरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यही तथ्यांकले पनि भविष्यमा नर्सहरुको बेरोजगार दर भयानक रुपमा बढ्ने देखिएको छ।
तर, स्वास्थ्य संस्था र मापदण्ड अनुसार स्वास्थ्यकर्मी राख्ने पद्धती बस्यो भने यस्तो नहुन पनि सक्छ।
 
+++

नर्सहरु आफै बताउने गर्छन् पढाई सक्दा ५ लाख देखि १० लाखसम्म सकिन्छ। काम पाउन मुस्किल त छँदैछ सेवा सुविधा भन्न उस्तै लामजमर्दो। यही अनुपातमा नर्सहरु उत्पादन हुने तर खपत नहुने हो भने बेरोजगार नर्सहरुको सङ्ख्या झनै बढ्ने देखिन्छ। स्वास्थ्य संस्थाहरु निशुल्क काम लाउन उद्धत हुँदासम्म यो समस्या ज्यूकात्यू रहन्छ। नर्सहरु अहिलेको भन्दा बढी शोषित हुन्छन्। किनकि, बजारशास्त्रको सामान्य सिद्धान्त अनुसार पनि मागभन्दा र आपूर्ति बढी हुनासाथ नर्सहरुको भाउ घट्ने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell