PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

छोरीको आन्दोलन, सहभागी आमा : किन रोइन् मायादेवी?

छोरीको आन्दोलन, सहभागी आमा : किन रोइन् मायादेवी?

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौं : फरक विषय र फरक एजेण्डासहित माइतीघर मण्डलामा धेरै किसिमको आन्दोलन हुने गर्छ। यस पटक त्यस्तै फरक दृश्य देखियो। सेता पोशाक लगाएका नर्सहरु ११ बुँदे मागसहित आन्दोलनमा उत्रिए। उनीहरु मुखमा कालो पट्टी,  पाखुरामा कालो फेटा र हातमा प्ले कार्ड बोकेर उत्रिएका थिए।

सेता ड्रेसधारी नर्सहरुको बीचैमा एकजना अधवैशे महिला डाँको छाडेर रुन थालिन्। उनका छेवैमा भएका नर्सहरु आन्दोलनमा थिए, सँगै उनलाई सम्हाल्दै पनि। ती महिलालाई बुझाउन नर्सहरुलाई हम्मेहम्मे पर्यो। धेरैले उनलाई सम्झाए, तर उनको आँखाबाट आशु झर्न रोकिएन। बोल्न चाहन्थिन् तर हिक्कहिक्क गर्दै उनको आवाज घाँटीमै अवरुद्ध भइरह्यो।

उनी हात जोड्दै रोइरहिन्। सँगै बसेका नर्सहरुले सम्झाए। पानी ल्याएर दिए। मुख धोइदिए। १० मिनेट रोएपछि बल्ल उनको आखाँबाट आँशु ओभाए। तर, उनले आफ्नो व्यथा पोख्न सकिनन्।


को थिइन् त उनी?

उनी हुन् भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएकी नर्स त्रजिना जतिकी आमा। ७ महिनादेखि अस्पतालबाट बिना कारण निकालिएपछि आफू मर्कामा परेको भन्दै उनकी आमा मायादेवी नर्सहरुको आन्दोलन उपस्थित भएकी थिइन्। छोरी त्रजिना  तनावका कारण बिरामी परेर आन्दोलनमा आउन नसकेपछि उनी आफैँ आन्दोलनमा आएकी थिइन्।

८ दिनदेखि ११ बुँदे माग  राखेर आन्दोलनरत नर्सहरुले आज माइतीघर मण्डलामा उत्रिएका हुन्। उनीहरुले गएको ३ दिन दिनको १० बजेदेखि ३ बजेसम्म ड्युटी छाडेका थिए। अबका ३ दिनभित्र माग पूरा नभए सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने नर्सिङ संघको महासचिव लक्ष्मी केसीले बताइन्।

माघ ७ गतेसम्म पनि माग पूरा नभए २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने उनीहरुले चेतावनी दिएका छन्।

उनीहरु मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई विनाशर्त पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना र नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबअनुसार उपलब्ध हुनुपर्ने लगायतका ११ बुँदे माग राखेर आन्दोलनमा छन्।


ट्रेन्डिङ पोस्ट

Ncell