PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कार्यकालको अन्तिम ४ दिन डिन बनेका डा शशी शर्माको गोविन्द केसीलाई ४ चुनौती



सागर बुढाथोकी

कार्यकालको अन्तिम ४ दिन डिन बनेका डा शशी शर्माको गोविन्द केसीलाई ४ चुनौती

चिकित्साशास्त्र अध्यन संस्थान (आइओएम) डिनमाथिको विवाद गएका ४ दिन राष्ट्रिय मुद्दा बनिरह्यो। चार वर्षअघि सरकारले बर्खास्त गरेका डिन प्राध्यापक डा शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेसँगै अर्का प्राध्यापक डा गोविन्द केसी अनशनमा बसे। अनशनसँगै अदालतको अवहेलनामाथि चर्को बहस भयो, सर्वोच्च अदालतका न्यायाधीशसमेत विवादमा नराम्ररी मुछिए। डा केसीको अनशनलाई सर्वोच्च अदालतले ‘र्‍यापिड रियाक्सन’ गरेपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली धर्म संकटमा छन् भने डा केसी फागुन २८ गते उपस्थित हुनेगरी तारिकमा छुटेका छन्। चार दिन डिन भएका डा शर्माको कार्यकाल पनि आजबाट सकिएको छ। उनै डाक्टर शर्मासँग पछिल्ला परिस्थितिबारे सागर बुढाथोकीले गरेको कुराकानी :


चार वर्षपछि चार दिनको लागि डिन बनेर आउनुभयो। तै पनि समयले साथ दिएन है?

डाक्टर केसीका अगाडि कस्ताकस्ता ठूला मानिसहरु त १ दिन टिक्न नसक्ने रहेछन्। मेरो त झनै के लाग्छ र? त्रिभुवन विश्वविद्यालयबाट मेरो कार्यकाल बढाउने कि भनेर सोधिएको थियो। तर, म म यो पदमा एक मिनेट बस्न चाहन्न भनेर मानिन। सर्वोच्च अदालते सम्मान गरेर मलाई चार दिनको लागि पुनर्वहाली गराएको हो। डा केसी अनशनमा बस्दाबस्दै म किन फेरि डिन बन्नु? उहाँ अनशन बस्न थालेपछि अस्पतालको सेवा सुविधा सबै बन्द हुन्छ। 

पहिला म डिन हुँदा धेरै योजनाहरु थिए। तर, ती योजना चार दिनमा पूरा गर्नसकिने कुरा भएन। यो चार दिनमा परीक्षा लिने र स्ववियुका पदाधिकारीसँग छलफल गरेर ताला खोल्नेसम्मको सहमति भयो। उहाँ अनशनमै बस्दा पनि मैले अस्पताल बन्द हुने वातावरण गराइन। यो नै मेरो चार दिनको सबैभन्दा ठूलो उपलब्धि हो।

आइओएममा ताला लागिरहेको छ।  भनेपछि कार्यालय प्रवेश नगरिकन कार्यकाल सकियो?

आइओएममा मेरो कारणले ताला लागेको हैन। डा अग्रवालका कारणले लागेको हो। मैलै ताला खोल्ने सहमति गराउँन सफल भएँ। सायद, अब ताला खुल्छ होला। यो कुरा विद्यार्थीहरुलाई थाहा छ। ताला लागे बाबजुद पनि मैले केही प्रशासनिक कामहरु गर्न पाएँ। यत्रो ठूलो काण्ड हुँदा पनि विद्यार्थीहरुबाट ठूलो सहयोग पाएँ। अस्पताल भित्र कसैले प्ले कार्ड देखाएनन्।

म आउनुको स्वागत प्राध्यपक, आइओएमको कर्मचारी तथा विद्यार्थीहरुले गरे। यो नै ठूलो कुरा हो – डा केसीको अनशनको बाबजुद म चार दिन टिक्न सफल भएँ। कस्ता कस्ता मान्छे एकदिन टिकेनन्। महामानव भन्छु म उहाँलाई।

भनेपछि डा केसी अनशन नबसेको भए त्रिभुवन विश्वविद्यालयले तपाईँको कार्यकाल बढाउने सम्भावना थियो?

अवश्य पनि। तर म अनशनकारीलाई झेलेर एक मिनेट पनि पदमा बस्न सक्दिन। अहिले मेरो डिनको पद सकियो। चार वर्ष चुप लागेर बसेँ। अब मज्जाले बोल्छु। प्राध्यापक र उसको साथी भएको नाताले डा केसीलाई म केही कुरा भन्न चाहन्छु। म डाक्टर केसीलाई चुनौती दिन्छु।

पहिलो–  म डा केसीलाई तिमी नै भन्छु। यदि तिमी राज्यको लागि अनशन नै बस्ने भए रत्नपार्क जाउ। अरु केही कारणले अनशन बस्ने हो भने प्राध्यापक पद छोड नेताको पछि लाग।

दोस्रो– राजनीतिमा आउ, नेता बन। अस्पतालभित्र बसेर यस्तो विषयमा फोहोरी किसिमको राजनीति गर्न पाइन्न।

तेस्रो– अनशनको नाममा सात दश जना डाक्टर राखेर जनतालाई झुक्याउन पाइन्न। यस्तो पनि अनशनको मापदण्ड हुन्छ?

चौथो – यदि साच्ची नै तपाईँ अस्पताललाई माया गर्नुहुन्छ र बिरामीहरुको माया गर्नुहुन्छ भने डिन बनेर आउनुस्। डिन बनेर अस्पताललाई सुधार्नुस्। पहिला आफू रोल मोडल बनेर देखाउनुस् अनि अरुको विरुद्ध अनशन बस्नुस्।

अबको तपाईँको बाटो के त?

मेरो अझै तीन वर्ष प्राध्यापक छु। मैलै एक्लै चाहेको भए तीन वर्ष डिन बन्न सक्थेँ,  तर म अनशनकारीहरुसँग झगडा गरेर अस्पतालको सेवा प्रभावित गर्न सक्दिन। मैलै आफ्नो दैनिक कार्य गरिरहेको हुन्छु। कार्यालय समयपछि आफ्नो नियमित प्राक्टिस गर्छु।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell