PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दशैंकै मुखमा आखिर किन डाक्टर केसी फेरि अनशनमा?

दशैंकै मुखमा आखिर किन डाक्टर केसी फेरि अनशनमा?

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौं : डाक्टर गोविन्द केसी अकस्मात अनशन बसेका छन्। कुनै खबर र पूर्व जानकारीविना उनले अनशन थालेका हुन्। गत असोज ३ गते डाक्टर केसीले चार बुँदे माग प्रस्तुत गर्दै सरकारलाई १७ दिनको अल्टिमेटम दिएका थिए। सत्र दिनमा माग पूरा नभए अनशन बस्ने उनको चेतावनी थियो।

तर,सत्र दिनको अल्टिमेटम दिएको ६ दिन नपुग्दै डाक्टर केसीले आमरण अनशन थाले त्यही पुरानो चार बुँदे माग लिएर।

असोज २० गते बस्ने भनेको अनशन किन अगाडि र अकस्मात? डाक्टर केसीको अनशनले धेरैलाई आश्चर्यमा पारेको छ।

सरकारले सम्झौता कार्यान्वयन नगरी त्यस विपरीतका कामहरु गरेर सीमित व्यवसायी र माफियाको स्वार्थमा काम गरिरहेकाले अनशन तत्काल बस्न बाध्य भएको डाक्टर केसी बताउँछन्।

उनी आजै अनशन बस्न बाध्य हुनुको कारण भने संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक हो।

विधेयक पास गर्ने आजको संसदको कार्यसूची छ।



स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले संसदमा चिकित्सा शिक्षा विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

संसदले चिकित्सा शिक्षा विधेयक पास गर्न लागेको थाहा पाएपछि डाक्टर केसी समर्थक डाक्टरहरु संसद भवनमा विरोध गर्न गए। प्रहरीले उनीहरुलाई पक्राउ गरेर बानेश्वर प्रहरी वृत्तमा लाग्यो। अनशनको तयारीमा रहेका केसी डाक्टरहरुको पर्खाइमा बसे।

उनी २ बजेसम्म अनशन सुरु नगरी पत्रकारहरुसँग अन्तरक्रिया गर्दै बसे।

पक्राउ परेका डाक्टरहरु जीवन क्षेत्री र अभिषेक राज सिहं  २ बजे शिक्षणा अस्पताल आइपुगे। केसीले उनीहरुसँग केही बेर छलफल गरे। त्यसपछि १२ ‍औ अनसन बस्ने घोषणा भयो।

‘संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखि र विद्यार्थीमुखि नभइ माफियामुखि ऐन जारी गर्न अन्तिम प्रयास भइरहेको छ,’ केसीले भने, 'तीनै प्रमुख दलहरुबीच साँठगाँठ भएर विधेयक पास हुने तयारी छ। त्यो हामीलाई मान्य हुन्न।’



यिनै कारण आकस्मिक अनशनका लागि उनी तयार भएका हुन्। अहिलेसम्म प्राप्त गरेका उपलब्धी जोगाउनका लागि नै अनशन बस्नु परेको डाक्टर केसीको तर्क छ।

दशैं नजिकिए पनि ३ करोड जनताको लागि अनशन बस्न बाध्य भएको उनले सुनाए। संविधानमा लेखेको नैसर्गिक अधिकार प्राप्त गर्न समेत देशमा यत्रो संघर्ष गर्नुपर्दा दु:ख लागेको केसीको गुनासो छ।

भने, ‘शेर बहादुर देउवा, केपी ओली र प्रचण्ड संविधानको कुरा गर्छन्। तर, उनीहरुले माफियासँग मिलेर जनता मार्दैछन्। संविधान तोड्दैछन्।’
 

यस्ता छन् डाक्टर केसीको माग


१) माथेमा प्रतिवेदन तथा हाम्रा सुझावअनुरुप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गरियोस् । 

२) मेडिकल माफियासितको मिलेमतोमा एमबीबीएसका लागि सरकारले तोकेको भन्दा दशौं लाख बढी शुल्क अवैध रुपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गरी सरकारले तोकबमोजिम एमबीबीएसका लागि रु ३८,५०,००० (काठमाडौं उपत्यकाभित्र), रु ४२,४५,०००(उपत्यकाबाहिर) तथा बीडीएसका लागि रु १९,३२,६१२ कायम गरियोस् ।

माफियासित मिलेमतो गरेर अरबौंको चलखेल गर्ने डिन राजेन्द्र कोजुलाई तत्काल बर्खास्त गरियोस् । त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा स्नातकोत्तरको शुल्क रु २२,५०,००० कायम गरियोस् । 

अनियमिततापूर्वक धेरै शुल्क तोक्ने तथा खाली भवनलाई एमबीबीएसको सम्बन्धन दिने त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरेर कारवाही गरियोस् । आइओएमबाट त्रिविले खोसेर लगेका अधिकारहरु तत्काल फिर्ता गरियोस् । 

३) बर्खास्त गरिएका आयल निगमका प्रमुखमाथि छानविन गरेर उनले हिनामिना गरेको अर्बौं रुपैयाँ असुलउपर गर्दै कारवाही गरियोस् ।
सोही भ्रष्टाचार काण्डमा उनीसित मिलेर भ्रष्टाचार गर्ने सबै तहका अन्य सबै व्यक्तिहरु तथा भ्रष्टाचार गरेको पुष्टि भएर पनि कारवाहीमा नपरेका अन्य सार्वजनिक संस्थान, परिषद् र संस्थाका पदाधिकारीहरुमाथि समेत तत्काल पदच्युत गरेर छानविन तथा कारवाही गरियोस् । 

४) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन–अध्यापन शुरु गर्ने गरी बजेट तथा अन्य व्यवस्था गरियोस् । 

कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–तेह्रथुम आदि ठाउँमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।


ट्रेन्डिङ पोस्ट

Ncell