PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

उपचार नपाएका बिरामीको आक्रोश : 'डाक्टर त मानवता नभएका मानिस पो रहेछन्'



सागर बुढाथोकी

उपचार नपाएका बिरामीको आक्रोश : 'डाक्टर त मानवता नभएका मानिस पो रहेछन्'

काठमाडौँ : गठ्ठाघरस्थित नागरिक अस्पताल सुनसान छ। सधैं बिरामीहरुले भरिभराउ हुने अस्पताल ओपिडी र वार्ड सबै रित्तो छ। इमर्जेन्सी र आइसियुमा केही बिरामी देखिन्छन्। बिरामी कुर्ने कुर्सीहरु सबै रित्तो छ।

एकाबिहानै अस्पतालमा भेटिए नगरकोटका २९ वर्षीय मुकेश श्रेष्ठ। आइसियुमा राखेको काकालाई कुरेर बसेको ७ दिन भइसकेछ।

‘सामान्य बिरामीलाई पनि इमर्जेन्सीमा राखिदिन्छ। कति बाध्यताले बस्छन्, कति फर्कन्छन्,’ श्रेष्ठले भने, ‘हिजो सामान्य चेकजाँच गराउन आएका बिरामीलाई पनि इमर्जेन्सीमा बस्न भनेपछि आक्रोशित हुँदै फर्के। अहिले जति बिरामी आउँछन्, सबैलाई इमर्जेन्सीमा राखेको छ।’

श्रेष्ठ आफ्नो काकालाई ५ दिनअघि नै वार्डमा सार्नुपर्ने बताउँछन्। उपचार सकिँदासमेत वार्ड नखुल्ने भएकाले अस्पतालले काकालाई आइसियु मै राखेको उनको आरोप छ।

भन्छन्, ‘बिरामीहरु इमर्जेन्सीमा नबसी उपचार नगरी डाक्टरहरुलाई गाली गर्दै फर्केका छन्। तर, उपचार नगरी फर्कंदा बिरामीलाई खतरा हुने भएकाले अत्याचार सहेर पनि उपचार गराउनु परेको छ।’

***
बानेश्वरस्थित सिभिल अस्पताल उस्तै सुनसान छ। टाउको दुख्नेदेखि ज्वरोको बिरामीसम्म सबै इमर्जेन्सीमा भर्ना छन्। जस्तो बिरामी आएपनि उपचारको लागि इमर्जेन्सी बाहेक अर्को विकल्प छैन।

ओपिडी बन्द भएको कारण थोरै पैसामा हुने उपचार इमर्जेन्सीमा धेरै पैसा तिरेर उपचार गर्न बाध्य छन्। 

बानेश्वरका रमेश पोखरेलले भने, ‘छोरालाई ज्वरो आएर ल्याएको, इमर्जेन्सीमा राखिदिए, ६ हजार सकिसक्यो। अस्पताल बन्द गरेर डाक्टरहरु आफ्नो निजी क्लिनिकमा काम गरिरहेका छन्। जताबाट पनि पैसा नहुने जनतालाई सास्ती।’

पेप्सीकोलाका शम्भु मगर र उनकी श्रीमती मैना मगर पनि सिभिल अस्पतालमै भेटिए। मैनाको २० दिनअघि सिभिल अस्पतालमै पत्थरीको अपरेशन गराइएको थियो। अहिले अपरेशन गरेको घाउमा बाहिरबाट पाकेको छ भने भित्रबाट गाँठो परेको छ। त्यसैले उनीहरु डाक्टरलाई देखाउन अस्पताल आएको बताउँछन्।

तर इमर्जेन्सीको गेटमै उनीहरुले नर्सबाट दुर्वचन सुन्नुपर्यो। नर्सले रिसाउँदै भनिछिन्, ‘समाचार हेर्नुहुन्न कि क्या हो। ओपिडी बन्द छ भनेको थाहा छैन?’

‘उपचार नभएपनि सोधपूछ गरेर मात्र जान्छौं। सोध्न पनि नपाउने भए किन खोलेको यो अस्पताल?’ शम्भु आक्रोशित भएपछि ती नर्सले उनीहरुलाई भित्र छिर्न दिइन्।

केही छिनपछि इमर्जेन्सीबाट  दुबैजना बाहिर निस्के। 

‘के भयो त भित्र? ’

‘उपचार त गर्नैपर्ने रहेछ। तर, ओपिडी बन्द भएको कारण सम्भव भएन,’ शम्भुले भने, ‘अब तातोपानी तताएर सेक्नु र ओपिडी खुलेपछि आउनु भनेको छ। डाक्टरहरुको त मानवता नै हुन्न रहेछ। यस्तो घाउ पाकेको छ, पछि आउनू पो भन्छ।’

***

स्थगित भइसकेको डाक्टर गोविन्द केसीको अनसन बसैकै दिन महाराजगन्ज शिक्षण अस्पतालमा भेटिएका थिए दार्चुलाका सन्तोष गिरी। ढाडमा नसा च्यापियर  दार्चुलादेखि उपचार गर्न आएका उनी तीन दिनदेखि अस्पताल धाएका थिए। अस्पताल बन्दको कारण उनको उपचार हुन सकेको थिएन।

‘त्यत्रो टाढाबाट उपचार गर्न आएको अस्पताल बन्द रहेछ। फेरि फेरि काठमाडौँ आइरहन मिल्दैन। दशैँ आइसक्यो, घर जान पनि पाइएला जस्तो छैन,’ गिरिले प्रश्न गरे, ‘यो अस्पताल कहिले खुल्छ? दशैँ मनाउन म घर जान पाउँछु कि पाउँदिन। उपचार नगरी घर गयो भने त म यत्तिकै मर्छु होला।

गिरी काठमाडौँ आउने बितिकै अस्पताल बन्द भयो। अस्पताल खुलिहाल्छ कि भनेर दिनहुँ धाइरहेको उनी बताउँछन्। निराश हुँदै भन्छन्, ‘हाम्रो गाउँतिर डाक्टरलाई भगवान मान्थे। तर होइन रहेछ। डाक्टरुसँग त मानवता नै हुन्न रहेछ।’

***

यसरी सुरु भयो आन्दोलन

डाक्टरहरुको ‘जेल विद्आउट बेल’ आन्दोलनका कारण देशभरका अस्पतालहरुमा इमर्जेन्सी बाहेकका सबै स्वास्थ्य सेवाहरु ठप्प छ। डाक्टरहरुमाथि आक्रमण गर्नेलाई धरौटीमा छाड्न  नमिल्ने गरी जेलमा राख्नुपर्ने गरी कानुन संशोधन गर्नुपर्ने माग उनीहरुको छ। 

असोज २ गतेको मन्त्रिपरिषद् बैठकले अस्पतालमा उपचार गराउने क्रममा चिकित्सकको लापरवाहीले मृत्यु र गम्भीर घाइते भए सम्बन्धित चिकित्सकले नै बिरामीलाई क्षतिपूर्ति दिनुपर्ने विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि डाक्टरहरुले आन्दोलन चर्काएका हुन्।
स्वास्थ्य मन्त्रालयले डाक्टरहरुको माग अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन र नियमावली परिमार्जन गर्ने बताउँदै समितिसमेत गठन गरेको छ।

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले माग पूरा हुने भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेपनि चिकित्सक संघले आन्दोलन फिर्ता लिएको छैन।

उता विद्यार्थीहरुको साझा संगठन डाक्टर्स सोसाइटी अफ नेपालकी महासचिव डा. तोसिमा कार्कीले बुधबार राति विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता नलिने बरु अझ कडा बनाउने चेतावनी दिएकी छिन्।

बिरामीको उपचार नगरेको भन्दै बिरामीका आफन्तहरु आक्रोशित भएका छन्। 

डाक्टरहरुको आन्दोलनले उपचार नपाएको भन्दै बिरामीको आफन्तले भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल साहमाथि हातपातसमेत गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell