PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

डाक्टरहरुले कुटाई खादाँ कहाँ गएको थियो मानवअधिकार : डा. लोचन कार्की



डाक्टरहरुले कुटाई खादाँ कहाँ गएको थियो मानवअधिकार : डा. लोचन कार्की

‘जेल विथआउट बेल’को माग राखेर चिकित्सक संघले देशभरका अस्पतालहरुमा इमर्जेन्सी बाहेकका अन्य सबै सेवा बन्द गरेको छ। एक सातादेखि अस्पताल ठप्प हुँदा बिरामीहरुले स्वास्थ्य सेवा पाएका छैनन्। सोही कारण चिकित्सकहरु चौतर्फी आलोचनाको सिकार बनेका छन्। यसै सेरोफेरोमा चिकित्सक संघका महासचिव डाक्टर लोचन कार्कीसँग सागर बुढाथोकीले कुराकानी गरेका छन्।

बिरामीहरु मर्कामा छन्, तपाईहरु ‘मेरो गोरुको बाह्रै टक्का' गरेर अस्पताल किन बन्द गर्नुभएको छ ? 

हामीले हैन सरकारले मेरो गोरुको बाह्रै टक्का गरेको छ। हाम्रो माग भनेको हामीले सुरक्षितसँग काम गर्न पाउनु पर्छ भन्ने हो, बिरामी मार्न पाउनुपर्छ भन्ने हैन। हामीले सुरक्षितसँग काम गर्ने वातारण पाए अस्पताल खुल्छ।

मानवअधिकार आयोगले मानव अधिकारको हनन् भयो भनेको छ, तपाईहरुको माग प्रस्तुत गर्ने तरिका जायज छ भनेर कसरी मान्ने ?

यो देशमा सबैको मानवअधिकार हुन्छ, डाक्टरहरुको हुँदैन। डाक्टरहले कुटाई खाँदा, हातपात सहँदा कहाँ गएको थियो त्यो मानवअधिकार? डाक्टरहरुले सधैं कुटाइ खानुपर्ने। कालगतिले बिरामी मर्दा लापरबाहीको ट्याग भिर्नुपर्ने। के डाक्टरहरु भगवान हुन्, उनीहरुको चाहिँ मानवअधिकार हुन्न?

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री विदेशबाट नआउन्जेल आन्दोलन स्थगित गर्नुस्, माग पुरा हुन्छ भन्नुभएको थियो, स्वास्थ्यमन्त्रीको आश्वासनले भएन हगि तपाईँहरुलाई?

यो सबै हाम्रो माग पूरा नगर्ने दाउ हो। हाम्रो मागको लागि प्रधानमन्त्री आउनै पर्दैन। स्वास्थ्यमन्त्रीले ‘कमिटमेन्ट’ दिएमात्र हामी आन्दोलन रोक्छौं। तर सरकार नै बिरामीहरुप्रति संवेदनशील भएन। आश्वासनले मात्र हाम्रो आन्दोलन रोकिंदैन।

आफ्नो मागको लागि लाखौँ जनताको जिन्दगीसँग खेलवाड गर्न मिल्छ र? माग राख्ने अन्य तरिकाहरु भएन?

यसको जिम्मा सरकारले लिनुपर्छ। हामी बिरामीहरुप्रति संवेदनशील छौँ। त्यही भएर माग पूरा गर्न सरकारलाई दबाव दिइरहेका छौँ। हाम्रो ज्यानको उस्तै खतरा छ। त्यसैले यी सबै कुराहरुको व्यावस्थापन राज्यले गर्न सक्नुपर्छ।

दशैंजस्तो चाडवाडमा पनि अस्पताल बन्द गर्ने नै हो त?

माग पूरा नहुन्जेल हामी आन्दोलन गर्छौ। हामी जेलविथआउट बेल नभएसम्म काम गर्दैनौँ। सरकारले केही कमिटमेन्ट गर्‍यो भने आन्दोलन स्थगित मात्रै हुन्छ। त्यतिकै रोकिंदैन।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell