PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

डाक्टरको लापर्वाही रोक्न सरकारको पहल, चिकित्सक भन्छन् : डाक्टरले विरामी नै नजाच्न सक्छन्



सागर बुढाथोकी

डाक्टरको लापर्वाही रोक्न सरकारको पहल, चिकित्सक भन्छन् : डाक्टरले विरामी नै नजाच्न सक्छन्

काठमाडौं : आजको मन्त्रिपरिषदको बैठकले अस्पतालमा उपचार गराउने क्रममा चिकित्सकको लापरवाहीले मृत्यु र गम्भीर घाइते भए सम्बन्धित चिकित्सकले नै बिरामीलाई क्षतिपूर्ति दिनुपर्ने विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको घटनाहरु बढ्दै गएपछि यस्तो निर्णय गर्नुपरेको सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुलाई सुनाएका थिए। 

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड र नारा जुलुस सामान्य बन्दै गइरहेको अवस्थामा सरकारले यस्तो निर्देशन दिएको हो। 

धेरैजसो यस्ता घटनालाई अस्पताल प्रशासनले सम्झौता गर्ने हुनाले बाहिर आउँदैन। बाहिर आएका घटना पनि छानविन कमिटीले सत्यतथ्य सार्वजानिक गर्न ढिलाई गर्ने भएकाले त्यतिकै सेलाउँछ।

लापरवाहीका श्रृंखलावद्ध घटना

गत जेठ २२ गते मनमोहन अस्पतालमा पथ्थरीको अपरेशन गर्दा अस्पतालले किड्नी झिकेको आरोप बिरामीले लगाए। नुवाकोट विदुरका शिव रिमालको साँच्चिकै मृगौला झिकिएको थियो। अस्पताल प्रशासनले ज्यान जोगाउनकै लागि मृगौला झिकेको स्वीकार पनि गर्यो ।
 
तर, घटना तबमात्र बाहिर आयो जब अस्पताल प्रशासन र बिरामीको परिवारले गरेको सम्झौतामा गढबढी भयो। बिरामीले गरेको डिमाण्ड अस्पतालले पूरा गर्न नसक्ने भएपछि घटनालाई मिडियामा ल्याए।

घटनाको चौतर्फी विरोधपछि स्वास्थ्य मन्त्रालयले छानविन कमिटी गठन गर्यो। तर कमीटीले अहिलेसम्म केही निष्कर्ष निकालेको छैन्।

गत भदौ १२ गते नर्भिक अस्पतालमा १६ महिने बालिका भिक्टोरिया आचार्यको निमोनियाको उपचारको क्रममा मृत्यु भयो। बालिकाको मृत्युपछि अस्पतालमा मृतकको आफन्त तोडफोड गरे। स्वास्थ्य मन्त्रालयले छानविन कमिटी गठन गर्यो । कमिटीले डाक्टरको लापरवाहीले मृत्यु भएको गलत ठहर गर्यो।

तर, मृतका पिता आफैँ डाक्टर भएकाले चिकित्सककै लापरवाहीले छोरीको मृत्यु भएको ठोकुवा गरे। किनकि, छोरीलाई नाकमा ठूलोपाइप हालेकाले रगत धेरै बगेर मृत्यु भएको उनी आफैले देखेको बताएका थिए। 
 
५ दिनअघिमात्रै चाबहिलको ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा बुटवलकी कमला भट्टको निधन भयो। भट्टको निधनपछि उनका आफन्तहरुले अस्पताल तोडफोड गरे। स्वास्थ्य मन्त्रालयले छानविन कमिटी गठन गर्नुअघि अस्पतालबाट आफन्तले लाश लगे। छानविन कमिटी गठन भयो। तर, निष्कर्ष निकालेको छैन।

क्याबिनेटको निर्णयमा चिकित्सकको आपत्ती

मन्त्रिपरिषदको निर्णायलाई  नेपाल चिकित्सक संघले डाक्टर सिध्याउने खेल भनेको छ। चिकित्सक संघका महासचिव डाक्टर लोचन कार्कीले सरकारको निर्णायको विरोध गर्ने बताए।

‘स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरुलाई कसैलै हातपात तोडफोड र गाली गलौज गरे कारबाही गर्नको लागि हामीले हेल्थ प्रोफेशन प्रोटेक्सन एक्ट २०६८ सदनबाट पास गराएका छौं। र, चिकित्सकलाई हातपात र गाली गलौज गर्नेलाई जेल विथअउट बेलको आवाज उठाउँदै आएका छौं,’ कार्कीले भने, ‘यस्तो अवस्थामा सरकारले त्यस्तो विधेयक बनाएर कार्यन्वयन गरेमा डाक्टरहरुले काम नै गर्दैनन्।’

पछिल्लो समय स्वास्थ्य संस्थामा डाक्टरहरु असुरक्षित बन्दै गएको कार्कीको दावी छ। कुनै सिरियस बिरामी आए  बिरामीलाई केही हुने डरले अन्तै रिफर गर्नुपर्ने अवस्था आएको उनले बताए। गाली गलौज र हातपात खेप्नुपरेकाले डाक्टरहरुले सिरियस बिरामी हेर्न अनकनाउनुपर्ने कार्कीले बताए। 

‘कुनै कुनै रोगको प्रकृति जटिल हुन्छ। उपचार गर्दागर्दै बिरामीको मृत्यु हुन्छ। रोगको प्रकृति, बिरामीको उमेर र अन्य कारणले बिरामी मर्दा चिकित्सको लापरवाहीले भन्दै चिकित्सकलाई दोष दिनु गलत हो। यस्तो विधेयक बनेर पास भयो भने झनै खतरा हुन्छ,’ कार्कीले भने, ‘कालगतीले बिरामीको मृत्यु हुँदा डाक्टरहरुलाई कुटपिट गर्ने र पैसाको बार्गेनिङका घटनाहरु बढ्छन्। डाक्टरहरु काम गर्दैनन्। संसारमा कतै नभएको नियम किन ल्याउन खोजियो अचम्म छ।’

डाक्टर भगवान नभएकाले आएका जति सबै बिरामीलाई बचाउन नसकिने कार्कीको तर्क छ। अमेरिका बेलायतजस्ता देशमा पनि मानिसहरु मर्ने उनी सुनाउँछन्। उपचार गर्दा गर्दै बिरामी मर्दा अन्य देशमा चिकित्सकको लापरवाही नभनिने कार्की कथन छ।

‘सत्य यो हो विश्वको कुनै पनि देशमा उपचार गर्न पुगेका सबै मानिस बाचेर फर्कैनन्। नेपालमा विकृति र भ्रम फैलाउने काम भएर डाक्टरहरुलाई दोष लगाउने काम भएको छ। अन्य प्रोफेशन जस्तै डाक्टरी पनि काम हो,’ कार्कीले सुनाए, ‘यदि यस्तो विधेयक बनेर पास भयो भने सबै स्वास्थ्य संस्था बन्द हुन्छ। डाक्टरहरु काम गर्दैनन्। यो विधेयक बनाउन निर्दैशन दिनु नै राज्यलाई डाक्टर चाहिँदैन भनेको हो।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell