PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गोविन्द केसी भर्सेज गोपाल पराजुली; यस्ता रहे सकसका ७२ घण्टा



सागर बुढाथोकी

गोविन्द केसी भर्सेज गोपाल पराजुली; यस्ता रहे सकसका ७२ घण्टा

काठमाडौं: आइतबार अपराह्न चिकित्शा शास्त्र अध्ययन संस्थान (आइओएमका) डीन डा. शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछिका ७२  घण्टा अत्यन्तै निकै रोचक भए। शर्माको पुनर्बहालीसँगै उत्पन्न भएका एकपछि अर्का परिस्थिति अनुमान विपरीत थिए। ७२ घण्टापछिको परिणामले पनि धेरैलाई आश्चर्य नै बनायो।

डा. शर्मा पुनर्बहाली भएसँगै वरिष्ठ प्राध्यापक समेत रहेका केसीले पत्रकारहरुसँग प्रधानन्यायाधीश गोपाल पराजुली ‘माफियाको मतियार’ भएको प्रतिक्रिया दिए। प्रधानन्यायाधीश नै भ्रष्ट भएर तीन करोड नेपालीको भविश्य बर्बाद गरेको भन्दै केसीले अनशन बस्ने संकेत गरे।

सोमबार २ बजे पत्रकार सम्लेलन गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामाको माग गर्दै अनशन बस्ने उद्घोष गरे।

अनशन ४ बजे सुरु भयो। अनशन बसेको २ घन्टा नबित्दै सर्वोच्च अदालतले अपहेलना मुद्दा दायर गरी गृह मन्त्रालय र नेपाल प्रहरीलाई आदेश दियो – गोविन्द केसीलाई भोलि ९ बजे अदालतमा हाजिर गराउँनु। न्यालयको इतिहासमा यति तीब्र आदेश जारी भएको सायद यो पहिलो हो।

डा. केसी अनशन बसेको आधा घण्टामै केसीलाई उदृत गर्दै समाचार तयार भए।

केसीको 'रियाक्सन' हेरिरहेको सर्वोच्च 'अनलाइनमा आउँदै गरेका समाचार'मा निगरानी गरिरहेको थियो। समाचार आउनसाथ अदालतले – त्यसैका आधारमा टिप्पणी तयार पारी मुद्दा दर्ता गर्‍यो।

केसीले यसअघि पटक-पटक प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अभिव्यक्ति दिइसकेका थिए। यो कुनै नयाँ थिएन। तर, चार वर्षअघि सरकारले बर्खास्त गरेका आइओएमका डीन डा. शशी शर्मालाई पुनर्बहाली गरेको विषयसँगै जोडिएर केसीको अभिव्यक्ति आएपछि अदालत एकाएक जुर्मुराउँदै निर्णय मात्र सुनाएन अनशन बसेको ३ घण्टा नबित्दै केसीलाई प्रकाउ गरी सिंहदरबार प्रहरी वृत ल्याइयो।

न्यायालयमा विरलै हुने गर्छन् – यस्ता र्‍यापिड निर्णय।

डा केसी रातारात पक्राउ परेसँगै सामाजिक सञ्जालमा 'आइ एम विथ डाक्टर केसी'को ट्रेन्ड चल्यो। अधिकांश पत्रपत्रिकामा सर्वोच्चको कदमको विरोधका समाचारहरु प्रकाशित भए। केसीलाई गृह मन्त्रालयको जानकारी बिना पक्राउ गरिएको भन्ने खबर सार्वजानिक भए। प्रधानमन्त्री शेर बहादुर देउवाले केसीलाई राति पक्राउ गर्न नहुँने भन्ने अभिव्यक्ति दिए।

००००००

केसी पक्राउ परेको १२ घण्टा नबित्दै जनता प्रधानन्यायाधीशविरुद्ध नारा लागाउँदै सडकमा उत्रिए।
डा. केसीलाई विना शर्त रिहाइ र प्रधानन्यायाधीश पराजुलीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भयो। पूर्वप्रधानमन्त्री बाबुराम भटराई र पूर्वमन्त्री गगन थापाले चुनौती दिँदै भने, 'श्रीमान डा. गोविन्द केसीले मानहानी गरेको हो भने हामीले पनि मानहानी गर्‍यौं ,  हामीलाई पनि पक्राउ गरियोस्।'

प्रदर्शनमा सर्वोच्च अदालततिर ‍औला उठाउँदै न्यायलय र पराजुलीविरुद्द नारा लागे।

मंगलबार १० बजे केसीलाई सर्वोच्चमा लगियो। डा केसीलाई प्रधानन्यायाधीश  गोपाल पराजुलीलाई ११ वटा  गम्भीर आरोप लगाए। जसमा न्याय सम्पादनदेखि व्यक्तिगत विषय समेत जोडिएका छन्।

केसीले बयान दिने क्रममा सर्वोच्च अदालतमा आफूमाथिका आरोप झुठा भएको बताए। उनले प्रधानन्यायाधीश पराजुलीमाथि न्यायिक छानविन गर्नुपर्ने माग राखे।

०००००

सर्वोच्च अदालतमा बयान दिएपछि केसीको स्वास्थ्य अवस्था ख्याल गर्दै बुधवार १० बजे अदालतमा हाजिर गराउने गरी वीर अस्पताल लगियो। सामाजिक सञ्जाल तथा मिडियामा सर्वोच्चको कदमविरुद्ध आवाज कम भएको थिएन।

बुधबार १० बजे अदालतमा हाजिर गराइयो डा. केसीलाई। केसीको पक्षबाट थुप्रै कानुन व्यवसायीले वकालतनामा पेश गरेका थिए। तर,  समय अभावमा त्यो सम्भव थिएन।

दुबैतर्फको कानुन वयवसायीके बहस सकियो। बहस सकिएपछि केसीले आफ्नो अडान छोडेनन्। भने,  ‘मलाई जेल हालिए पनि हालियोस्। तर, पराजुलीमाथि छानविन हुनुपर्छ।’

देश तथा विदेशमा रहेका नेपाली सर्वोच्चको आदेशको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका थिए। सर्वोच्च तथा केसी दुबै पक्षको अधिवक्ताहरुको आफ्नै अडान थियो। बहस सकिनसाथ अदालत पक्षका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले केसी मानहानीको मुद्धामा जेल पर्न सक्ने बताएका थिए। त्यस्तै केसी पक्षका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीशविरुद्ध अभिव्यक्ति दिँदैमा मानहानी नहुँने बताएका थिए।

साँझको ६ बजेतिर अदालतले  डा. केसीलाई तारेखमा रिहा गर्न आदेश दियो। अदालतले केसीका कानुन व्यवसायी सुरेन्द्र भण्डारीको जिम्मामा छाड्ने आदेश गरेको थियो।  तर, भण्डारीले केसीलाई नसोधी हस्ताक्षर गर्न मानेनन्। डा. केसी तारेखका लागि तयार भए फागुन ८ गते अदालतमा उपस्थित हुने सहमति जुट्यो।

००००००

सर्वोच्चको आदेश सोचेभन्दा फरक आयो। अदालत केसीप्रति नरम हुँदै प्रधानन्यायाधीश पराजुलीमाथि लागेका आक्षेपका प्रश्न निरुपणको बाटोमा पनि प्रवेश गर्‍यो।

अदालतले पराजुलीको दुबै नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपिसमेत झिकाउन आदेश दियो। अदालतको फैसलासँगै प्रधानन्याधीश माथि गम्भीर नैतिक प्रश्न उठेको छ, अब पराजुलीले मुद्दाको प्रक्रियालाई कसरी सघाउँछन् भन्ने।

०००००

डा. शशी शर्मालाई आइओएममा पुनर्बहाली गरेपछिका ७२ घण्टा सबैको अनुमान विपरीत भएका छन्। धेरैले प्रधानन्यायाधीश पराजुलीलाई संकेत गर्दै भनेका छन, ‘भुँइको टिप्न खोज्दा पोल्टाको पोखियो।’

डा. केसीको अनशनमाथि पराजुलीको ‘र्‍यापिड रियाक्सन’ले हजारौं गोविन्द केसीले अदालतप्रति औंला ठड्याउन सक्ने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell