PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डाक्टर गोविन्द केसी गिरफ्तार



पहिलोपोस्ट

सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डाक्टर गोविन्द केसी गिरफ्तार

काठमाडौं : अनशनमा बसेका डाक्टर गोविन्द केसीलाई सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा प्रहरीले पक्राउ गरेको छ। न्यायालयको फैसलामाथि असन्तुष्टि जनाउँदै आजैबाट अनशन थालेका उनलाई प्रहरीले सर्वोच्च अदालतको निर्देशनमा पक्राउ गरेको हो।

उनलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसरको सिंहदरबार वृत्तमा राखिएको छ। केसीले आफूलाई जहाँ पुर्‍याइन्छ त्यही अनशन गर्ने जनाइसकेका छन्।

'उहाँलाई सर्वोच्च अदालतको आदेशका आधारमा पक्राउ गरिएको,' नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले भने, 'अहिले सिंहदरबार वृत्तमा राखिएको छ।'


अदालतले यसरी द्रुत गतिमा केसी पक्राउको आदेश जारी गरेको थियो -

अदालतको फैसलामा असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गरेको २ घन्टा नबित्दै सर्वोच्च अदालतले गृह मन्त्रालय र नेपाल प्रहरीलाई आदेश दिएको छ – गोविन्द केसीलाई भोलि ९ बजे अदालतमा हाजिर गराउ। न्यायालयको इतिहासमा यति तीब्र गतिमा आदेश जारी भएको सायद यो पहिलो हो।

केसीले सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरे। ४ बजेबाट अनशन बस्ने घोषणा गर्दा उनले सर्वोच्च अदालतको फैसलाविरुद्ध अभिव्यक्ति दिँदै प्रधान न्यायाधीशले राजिनामा दिनुपर्ने उद्घोष गरे। त्यसपछि केसीलाई उदृत गर्दै समाचार तयार भए -  आधा घन्टा जतिको समयमा धेरैजसो अनलाइनमा समाचार सार्वजनिक भयो।  

केसीको 'रियाक्सन' हेरिरहेको सर्वोच्च 'अनलाइनमा आउँदै गरेको समाचार'मा निगरानी गरिरहेको थियो। समाचार आउनसाथ अदालतले – त्यसमाथि अनुसन्धान समेत भ्यायो। र, त्यसमाथि अदालतको अवहेलना भएको भन्दै बहस पनि पूरा गर्‍यो। लगत्तै – केसीलाई उपस्थित गराउन सुरक्षा निकायलाई निर्देशन समेत दिन भ्यायो।

न्यायालयमा विरलै हुने गर्छन् – यस्ता र्‍यापिड निर्णयहरु।

डा गोविन्द केसीले यसअघि पटकपटक प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध अभिव्यक्ति दिइसकेका छन्। यो कुनै नयाँ थिएन। तर, चार वर्षअघि सरकारले बर्खास्त गरेका आइओएमका डिन डा शशी शर्मालाई पुनर्वहाली गरेको विषयसँगै जोडिएर केसीको अभिव्यक्ति आएपछि अदालत एकाएक जुर्मुराउँदै – निर्णय सुनाउन तत्पर भयो।

डाक्टर केसीले त्रि वि शिक्षण अस्पताल महाराजगन्जबाट ४ बजे अनशन सुरु थाले। डाक्टर केसीको अनशन सुरु हुँदै गर्दा डा शर्माले पनि पत्रकार सम्मेलन गरे। उनले भने-  ‘मलाई अदालतले न्याय दिएको छ। अबको ४ दिन आइओएमको डिन म एक्लै हो। मैले पुनर्वहाली पाएपछि स्वत: अर्को डिन खारेज हुन्छन।’

अदालतले जारी गरेको पक्राउ पुर्जीमा डाक्टर केसीलाई भोलि बिहान ९ बजे उपस्थित गराउन आदेश छ। अर्थात् डाक्टर केसी अनशन सुरु गरेको १७ घण्टा नपुग्दै अदालत पुग्दैछन्।

१४ औँ अनशन बसेका १ घण्टा नबित्दै डाक्टर केसीको विरुद्धमा सर्वोच्चले पक्राउ पुर्जी जारी गरेर आफैमा एउटा इतिहास निर्माण गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell