PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मनमोहन अस्पताल काण्ड : के मृगौला तस्करी सम्भव छ ?



सागर बुढाथोकी

मनमोहन अस्पताल काण्ड : के मृगौला तस्करी सम्भव छ ?

काठमाडौँ : मनमोहन अस्पतालले पत्थरीको अपरेसन गर्न आएका बिरामीको मृगौला झिकेको विवाद प्रशासन हुँदै मिडिया र संसदमा समेत पुगेको छ। अस्पताल प्रशासनले घटनालाई राजनीतिक रंग दिइएको भन्दै प्रेस विज्ञप्ति निकालिसकेको छ। 

सामाजिक सञ्जालमा मृगौला तस्करी भएको आशयका आरोप समेत लागेका छन्। 

के मृगौला तस्करी सम्भव छ त?

वीर अस्पतालमा कार्यरत वरिष्ठ मृगौला रोग विशेषज्ञ अनिल बरालका अनुसार अस्पतालले त्यहाँ मृगौला तस्करी वा ट्रान्सप्लान्ट गर्न सम्भव छैन। मृगौला ट्रान्सप्लान्ट गर्नको लागि ६ महिनाअघिदेखि तयारी गर्नुपर्छ। मृगौला दिने र लिने व्यक्तिको ब्लड ग्रुपदेखि सबै मिल्नुपर्छ। मृगौला दिने र लिने मानिस नजिकै राखेर २४ घण्टाभित्र ट्रान्सप्लान्ट गर्नुपर्छ। 

‘मृगौला झिकिएको भनिएको मानिसको मृगौला रोगी छ। त्यो मृगौला कसैलाई ट्रान्सप्लान्ट गर्न सम्भव छैन,' बरालले भने,  ‘मुटु, ब्रेनको अपरेशन गर्दा ती अंग झिक्न नमिले पनि पाठेघर र मृगौलाको अपरेशन गर्दा धेरै रगत बगेमा मान्छे बचाउन ती अंग झिक्नैपर्छ।'

बरालका अनुसार मृगौला, पाठेघर, मुटु र मष्तिस्कमा ट्युमर, पत्थरी वा पिप सामान्य भन्दा ठूलो भएमा अपरेशन गर्नुपर्छ। अपरेशन गर्दा ट्युमर, पिप, वा स्टोन झिकिन्छ। ती अंगहरु झिक्न मिल्दैन।

अपरेशन गर्दा किन बग्छ त धेरै रगत?

‘अपरेशन गर्दा कहिलेकाहीँ डाक्टरहरुले प्राविधिक गल्ती गर्न सक्छन्। स्टोन, वा ट्युमर झिक्दा ती अंगमा जाने रक्तनलि काटिन्छ। रक्तनलि काटिएपछि रगत रोक्न सकिँदैन। रगत धेरै बग्छ,' बराल भन्छन् , ‘मनमोहनमा त्यही भएको हुनसक्छ। डाक्टरले गल्ती गरेकै कारणले मृगौला झिक्नुपरेको हुनसक्छ। त्यहाँ लापर्वाही भएको हुनसक्छ तर, तस्करी भएको होइन।'

डाक्टर बरालका अनुसार मृगौला झिक्नुपूर्व अस्पतालले बिरामीको आफन्तहरुसँग कागज गरेको भए ६ बूँदे सम्झौता गर्न जरुरी थिएन।  
‘शल्यक्रियामा लापर्बाही भयो, कागज गरेन। त्यही गलत भयो,' बरालले भने, ‘बिरामी पीडित हो। अस्पतालले उनीहरुको माग सम्बोधन गर्न सक्नुपर्थ्यो।'

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष मुक्तिराम श्रेष्ठका अनुसार कुनैपनि अपरेशन गर्दा अत्यन्त रगत बगेमा बिरामी बचाउनको लागि अंग झिक्नुको कुनै विकल्प हुन्न। उनी भन्छन्, ‘बच्चा जन्माउन नसक्दा महिलाको अपरेशन गर्दा धेरै रगत बग्यो भने पाठेघर नै फ्याँक्नुपर्छ। किड्नीको पनि त्यही भएको हो। तर, बिरामीको आफन्तसँग कागजी सम्झौता नगरिकन मृगौला झिक्नु अस्पतालको लापर्वाही हो।'

मनमोहन अस्पताल र पीडित पक्ष कसैले नेपाल मेडिकल एसोसिएसनलाई जानकारी नगराएकोले एसोसिएसनले आधिकारिक धारणा सार्वजानिक नगरेको श्रेष्ठ बताउँछन्। 

‘अस्पतालले कागज नगरी मृगौला झिकेको हुनाले उसको लापर्वाही देखियो। अस्पताललाई नियम अनुसार कारवाही हुन्छ नै,' उनी भन्छन्, ‘स्वास्थ्य मन्त्रालयले विशिष्ट टोलीहरु खटाएर घटनाको अध्यन गर्छ। उनीहरुले निकालेको प्रतिवेदनको आधारमा कारबाही हुन्छ।'
मृगौला झिक्दा कागज किन गरिएन त?

मनमोहन अस्पतालका अधिकृत नवराज रुपाखेतीका अनुसार अपरेशन सकिन लाग्दा रगत धेरै बग्यो। डाक्टरहरुले धेरै प्रयास गर्दा रगत रोकिएन। ‘हामीले बिरामीको आफन्तहरुलाई मृगौला झिक्नुपर्ने अवस्था बताउँदा उनीहरुले स्वीकृति दिए,' उनले भने, ‘ हामीले ढिलो गरेको भए या मृगौला नझिकेको भए बिरामी मर्न सक्थ्यो। त्यसैले बिरामी बचाउन हतार गरेर मृगौला झिक्यौँ र बिरामी बचायौँ। कागज गर्नतिर गएनौँ। कागज नगर्नु नै हाम्रो गल्ती भयो।'

सम्बन्धित समाचार
संसदमा खोजियो अस्पतालमा हराएको किड्नी, निष्पक्ष छानबिनको माग
मनमोहन अस्पताल काण्ड : पत्थरी निकाल्ने नाममा कसरी झिकियो किड्नी? अस्पताल भन्छ : राजनीति भयो
साउदी जाँदा ऋण थपियो, नेपाल फर्कँदा किड्नी गुम्यो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell