PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मनमोहन अस्पताल काण्ड : पत्थरी निकाल्ने नाममा कसरी झिकियो किड्नी? अस्पताल भन्छ : राजनीति भयो



मनमोहन अस्पताल काण्ड : पत्थरी निकाल्ने नाममा कसरी झिकियो किड्नी? अस्पताल भन्छ : राजनीति भयो

  • सागर बुढाथोकी-
काठमाडौं : नुवाकोटको विदुर नगरपालिकाका शिवप्रसाद रिमाल मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल विरुद्ध उजुरी बोकेर जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आफ्नी पत्नी र आफन्तका साथ उजुरी गर्न पुगेका रिमालले पत्थरीको शल्यक्रिया गर्दा अस्पतालले मिर्गौला झिकेको आरोप लगाएका छन्।
 
उनी जेठ २२ गते कोख अत्यधिक दुखेर जाच गर्न अस्पताल गएको बताउँछन्।

‘जाँचपछि पत्थरीको अपरेशन गर्ने डाक्टरको सल्लाह आयो,’ उनले भने, ‘२५ गते अपरेशन भयो। मैले केही थाहा पाइन। गलत नियतले अस्पतालले मेरो मृगौला झिकेर श्रीमतीसँग ६ बुँदे सहमति गराएछ।’

प्रशासन कार्यलयमा भेटिएका रिमालले न्यायको लागि अपील गर्न आएको बताए। निराश देखिएका उनले भने, ‘अस्पतालले  मेरो मृगौला अन्य प्रयोजनको लागि झिक्यो। म बेहोश भएको बेला मेरी श्रीमतीलाई दवाव दिएर सम्झौता गर्न  बाध्य बनायो।’

रिमालले आफ्नो मृगौला झिकेको १५ दिनपछि थाहा पाएको बताए। उनले अस्पतालसँग गरेको सम्झौतापत्र हेर्दा पत्नीको हस्ताक्षर भएकोमा अचम्ममा परेको सुनाए। र, रिमालले सम्झौता मान्य नहुने बताए। 

हस्ताक्षर किन गरेको भन्दै पत्नी रन्जुसँग उनले सोधे। ‘दबावमा परेर सम्झौतामा हस्ताक्षर गर्नुपरेको’ पत्नीले  जवाफ दिइन्। 

रन्जुले भनिन्, ‘उपाय केही थिएन। यो सम्झौतामा हस्ताक्षर गर्नुस्। नत्र, बिरामीको ज्यान जान्छ भनेर अनेक दबाब आउन थाल्यो। त्यसपछि मैले सही गरे। त्यो बेला उहाँको बचाउका लागि हस्ताक्षर गर्नुपर्छ जस्तो भयो। अरु केही थाहा भएन।’

रिमाल ४ वर्ष साउदी अरेबिया बसेर एक वर्षअघि नेपाल फर्किएका थिए। उनको ६ र २ वर्षको छोराहरु छन्। कोखमा अत्याधिक दुखाई भएर अस्पताल जाँदा पत्थरीको अपरेशन गनुपर्छ भन्ने सल्लाह आएको उनले बताए।

‘अस्पताले एउटा मृगौला झिकिदियो। भएको एउटामा पनि पत्थरी छ। मलाई तलमाथि भयो भने मेरो लालाबालाको के हुन्छ?’ उनले दुखेसो पोखे।

‘मलाई थाहा नदिइ मृगौला झिके। थाहा नदिइ नै सम्झौता पनि भएछ। मलाई मान्य भएन। मैलै दुइ'टा माग फेरि अस्पताल समक्ष प्रस्तुत गरेँ ,’ उनले भने, ‘त्यो माग अस्पतालले नमानेकाले न्यायको लागि यहाँसम्म आउनुपरेको हो।’

के हो उनको माग ?

‘पहिलो माग मृगौला किन निकालियो उपयुक्त कारण प्रस्तुत गर्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘दोस्रो माग ५० लाखको जीवन बीमा अस्पतालले गर्नुपर्छ भन्ने थियो। तर, अस्पतालले दुई पटक समय माग्यो। र, पछि माग पूरा गर्न नसक्ने जानकारी दियो।’

रिमाल पहिलेको ६ बुँदे माग पूरासँगै आफ्नो बैंक खातामा ५० लाख रकम अस्पतालले जम्मा गरिदिनुपर्ने बताउँछन्। 'यही माग अस्पतालले सामान्य तरिकाले पूरा नगरेकाले कानुनी प्रक्रिया अपनाउनु परेको हो,’ उनले भने।
 

के भन्छ मनमोहन अस्पताल?

मनमोहन अस्पतालका अधिकृत नवराज रुपाखेती सम्झौतापत्रको बारेमा बिरामीलाई जानकारी भए पनि पछि 'बार्गेनिङ' गर्न यस्तो बहाना बनाएको बताउँछन्। लापर्वाही र खराब नियतले मृगौला नझिकेको उनको दावी छ। 

‘अनुभवी डाक्टर गुणकुमार श्रेष्ठले गरेको शल्यक्रिया हो। न त त्यहाँ नियत गलत थियो न लापर्बाही,’ उनले भने, ‘मिलिसकेको कुरा राजीतिक कारणले गर्दा यस्तो भएको हो।’

रुपाखेतीका अनुसार रिमाल अस्पताल आउँदा सामान्य भए पनि उनको मृगौलामा गम्भीर असर परेको रिर्पोटले देखाएको थियो।

‘उनको मृगौला सामान्य थिएन। पत्थरी देखिएको बायाँ तर्फको मृगौला जुन स्थानमा हुनुपर्ने थियो, त्यो भन्दा तल थियो,’ रुपाखेतीले भने, ‘पत्थरी र मृगौला जटिल ठाउँमा थियो। २ सेमीको पत्थरी शल्यक्रिया गर्ने सहमति गरेर २५ गते अपरेशन सुरु गरियो।’

रुपाखेतीका अनुसार अपरेशन भइरहेको थियो। अन्तिममा पत्थरी निकालेर सिलाउने बेलामा मृगौलाबाट धेरै रगत बग्यो। डाक्टरहरुले सबै प्रविधि प्रयोग गरेर रगत रोक्न खोज्दा रोकिएन। 

‘हामीले बिरामीको आफन्तहरुलाई जटिल परिस्थिति बारे जानकारी दियौँ। उनीहरुले मृगौला झिक्ने स्वीकृति दिए,’ उनले भने, ‘हामीले ढिलो गरेको भए या मृगौला नझिकेको भए बिरामी मर्न सक्थ्यो। त्यसैले बिरामी बचाउन हतार गरेर मृगौला झिक्यौ र बिरामी बचायौं। त्यहाँ कागज नगर्नु हाम्रो गल्ती भयो।’ उनका अनुसार त्यसपछि ६ बुँदे सहमति भयो।

के थियो ६ बुदे सहमतिमा

विरामीको आफन्तहरुले प्रस्तुत गरेको मागपत्रमा ‘बिरामीलाई अर्को मिर्गौला फेर्नुपर्ने भए फेरिदिने, जीवनभर उपचार निःशुल्क गर्ने, हालसम्म लागेको औषधिलगायतका सम्पूर्ण उपचार शुल्क मिनाहा गर्ने छ।’ 

त्यसैगरी ‘बिरामीका दुई छोराको स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गर्ने, बिरामीकी श्रीमती र बिरामीलाई पनि निको भएपछि सोही अस्पतालमा रोजगारीको व्यवस्था गर्ने र बिरामीको जीवन बीमा गरिदिने विषय उल्लेख छ।’ 

‘सम्झौता पत्रमा हस्ताक्षर भइसकेकपछि पटक पटक नुवाकोटका राजनीतिक दलका प्रतिनिधि ध्रुब अधिकारी र यादव नेपाल आएर ५० लाख जीवन बीमाको माग राखे। सामान्य घटनालाई राजनीतिक रङ दिए। नकारात्मक हल्ला फैलाए,’ अधिकृत रुपाखेतीको उल्टै आरोप छ, ‘उहाँहरुको माग सम्झौता गर्न अस्पतालले सकेन। उहाँहरु नकारात्मक हल्ला फैलाउन सफल हुनुभयो। उहाँहरु कानुनी प्रक्रियामा जानुभएको छ। हामी त्यो स्वीकार गर्छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell