PahiloPost

Jul 19, 2019 | ३ साउन २०७६


निर्मला प्रकरण : यसरी गरियो रिपोर्टिङ, यी हुन् हाम्रा निष्कर्ष (#WhoKilledNirmala शृङ्खला ३०)


पहिलोपोस्ट

निर्मला प्रकरण : यसरी गरियो रिपोर्टिङ, यी हुन् हाम्रा निष्कर्ष (#WhoKilledNirmala शृङ्खला ३०)

  • उमेश श्रेष्ठ -

'एकदमै रिस्क छ है !'

धनगढी उड्नु भन्दा अघिल्लो साँझ 'रिस्क फ्याक्टर' एकदम धेरै भएको भन्दै सचेत गराएका थिए हाम्रा सिइओ ओम थापाले।

गएको मंसिरमा स्थलगत रिपोर्टिङका लागि पहिलो पटक महेन्द्रनगर जाँदै गर्दा निर्मलाको बलात्कार तथा हत्या भएको पाँच महिना बितिसकेको थियो। तै पनि स्थिति सहज थिएन।

ओमको त्यो वाक्यले हामीलाई पछिसम्म मार्ग निर्देशन गर्‍यो। जब-जब हामी थप तथ्य फेला पारेसँगै हौसिन खोज्थ्यौँ, त्यही सम्झेर 'ब्रेक' लाग्थ्यो।

जे देखियो, त्यहीमात्र लेख्ने। समाचार लेख्ने, विचार नमिसाउने - सहकर्मीहरु सविन ढकाल र ऋषिकेश दाहालसँग मेरो सहमति भएको थियो।

ऋषि भौतिक रुपमा हामीसँग कञ्चनपुरमात्रै गएका थिएनन्, २९ अङ्कको यो सिरिजका करिब ५५ हजार शब्द उनकै कडा निगरानीपछि फुत्किएका हुन्। घरी उनी यति लेखेर यो तथ्य स्थापित हुँदैन भन्थे त घरी यसमा त कोट नभई हुन्न भनी अड्डी कस्थे। घरी यो वाक्यलाई 'नरम' बनाउँ भन्थे त घरी लेखिसकेको विषय 'हुँदैन' भन्दिन्थे। खेम भण्डारीको एउटा इस्यु त उनले 'रिजेक्ट' नै गरिदिए। यही झोँकमा सात दिन लगाएर 'मिनी थेसिस' सरहको रिपोर्ट तयार गरेपछि बल्ल उनले अब पत्याउँछन् भन्दै त्यसलाई प्रकाशनयोग्य ठाने।

हामीलाई सबैभन्दा ठूलो चुनौति पाठकहरुको विश्वास जित्नु थियो।

धेरैले हामीलाई सोधे - यो शृङ्खला किन यत्रो लम्ब्याएको? तीन, चार वटा मै सबै सकिन्थ्यो।

पक्कै हो। तीन वटामै सकिने स्थिति थियो। मलाई याद छ, सविनले बनाएको पहिलो ड्राफ्टमा शृङ्खलाका लगभग सबै कुरा समेटिएको थियो, डिएनए बाहेक।

तर, मलाई त्यो शैली ठीक लागेन। लेखेर के गर्नु, यदि त्यसलाई पढ्नेले पत्याउँदै पत्याएनन् भने?

'तपाईँहरु सिआइडी हो?'

पहिलो पटक महेन्द्रनगर पुग्दा हामीले यस्तो प्रश्नको सामना गर्नुपरेको थियो। अफिसको आइडी कार्ड देखाएपछि बल्ल उनीहरुले विश्वास गरेका थिए र भनेका थिए - पुलिस आयो भने त गोदेर पठाउनु पर्छ।

प्रहरीप्रति त्यो हदसम्म अविश्वासको वातावरण थियो।

धर्नास्थल, सिटी सफारी र विङ्गरमा भेटिएका स्थानीय, चिया पसलमा भेटिने सबैका कुरा सुनियो। उनीहरुको 'प्रि अक्युपाइड माइन्डसेट' थियो।

अनुसन्धानले देखाएका तथ्यसित हामीले देखेको र आफ्नो क्षमताले भ्याएसम्म गरेको भेरिफिकेसन उनीहरुको धारणासँग बाझिएको थियो।

यो अवस्थामा विश्वासिलो आधार दिन नसकेसम्म हामीले साँचो कुरा लेखे पनि पत्याउने स्थिति छँदै थिएन। नपत्याउने अवस्थामा लेख्नुको अर्थ नहुने मात्र हैन, सिइओले भने झैँ 'रिस्क' पनि बढ्थ्यो।

आखिर गर्ने के?

***

स्थलगत रिपोर्टिङको सुरुवात मंसिरमा बल्ल भए पनि हामीले दशैँपछि नै स्रोतहरुसित अनौपचारिक भेट थालेका थियौँ।

कन्चनपुर पुगेर अनुसन्धानको नेतृत्व गरेका सिआइबीका डिएसपी अंगुर जिसीसँग अनुसन्धानका तथ्य बुझ्न खोज्दा उनले हामीलाई वास्ता गरेनन्। सधैँ उनले 'भेटौँला नि' भनेर बहानामात्रै बनाइरहे। एक दिन सविनले निलम्बन फुकुवा भएर काममा फर्किएका एसएसपी दिवेश लोहनीलाई भेटे। कुरै कुरामा सविनले निर्मला प्रकरणको अनुसन्धानको कुरा उप्काएपछि उनकै सिफारिशमा बल्ल अंगुर हामीसित भेट्न तयार भए।

पहिलो भेटमा उनले गरेका कुरामा १० प्रतिशत पनि विश्वास लागेको थिएन। निलम्बित डिएसपीले आफ्नो दोष लुकाउन ठूला कुरा गरिरहे झैँ लागेको थियो। एकातिर हामी उनलाई नपत्याउने भने अर्कोतिर उनले हामीलाई पनि नपत्याउने। अविश्वासकै वातावरणका बीच पनि एउटा सत्य के थियो भने यो केसको विस्तृत अनुसन्धान उनैले गरेका थिए। उनले त्यो भेटमा हामीलाई बताएका केही तथ्यलाई हामीले महेन्द्रनगर पुगेर हो कि हैन भनेर खोज्यौँ, सोध्यौँ।

कञ्चनपुरबाट फर्किएपछि दोस्रो पटक भेट्दा हामी अझै केही प्रष्ट भयौँ। कतिपय कुरामा हामीलाई अझै विश्वास लागेन।

यो शृङ्खलामा तथ्य दिने, विचार नथप्ने त न्युजरुमभित्र सल्लाह नै भएको थियो।

तथ्यले पुष्टि गरेका केही विषय थिए। तर त्यसलाई कसरी प्रस्तुत गर्ने अन्यौल थियो। महेन्द्रनगरबाट फर्किएको झण्डै एक हप्तासम्म हामी त्यही अन्यौलमै रह्यौँ।

यो बीचमा मैले पत्रकारितामा एमए पढ्दाताकाको रातो किताब (डेनिस म्याकवेलको मास कम्युनिकेसन थेउरी) पुनः पल्टाएँ। संयोगले दुई वर्षअघि आजैको दिन म्याकवेलको मृत्युको खबर सार्वजनिक भएको थियो। यो किताबमा भएका विभिन्न थेउरीमध्ये एक 'स्पाइरल अफ साइलेन्स' यो परिस्थितिमा मिल्ने देखियो। जर्मन प्राध्यापिका इलिजावेथ नौली न्युम्याननले पहिलो पटक प्रयोग गरेको स्पाइरल अफ साइलेन्स सिद्धान्तमा एउटा विचारलाई मात्र यति धेरै फैलाइन्छ कि अल्पमतको अर्को विचार पूरै मौन रहन बाध्य हुन्छ। यसले मानिसहरुलाई आफूले विश्वास गरेको कुरा नै सबैले विश्वास गर्ने कुरा हो भन्ने विश्वास हुन्छ।

समाजबाट एक्लिने, लोकप्रियता वा इज्जत गुमाउने डरले मानिसहरु आफू नजिकको वातावरण राम्रोसँग अध्ययन गर्छन्। कुन विचार वा व्यवहार चल्तीमा छ, कुन लोकप्रिय छ, उनीहरु त्यसै अनुसार विचार व्यक्त गर्ने गर्छन्। यसलाई तोड्न कसरी सकिन्छ त? यसबारे खोजेँ। बीएसम्म साइकोलोजी त पढिएको थियो तर त्यतिबेला चाइल्ड साइकोलोजी र एजुकेसनल साइकोलोजी मात्र कोर्समा थियो।

खोज्दा फेस्टिङ्गरले भनेको भेटियो, ‘कुनै पनि दृढ विश्वासीलाई परिवर्तन गर्न गाह्रो हुन्छ। तपाईँ आफ्नो असहमति राख्नुस्, उसले बेवास्ता गर्छ। तपाईँ तथ्य र प्रमाणहरु देखाउनुस्, ऊ त्यसको स्रोतमाथि प्रश्न उठाउँछ। तपाईँ तर्क गर्नुस्, उसले तपाईँको तर्कको प्वाइन्ट नै देख्दैन।'

तर, कुकलिन्स्कीको वेलफेयर स्टडीले एउटा उपाय दिएको रहेछ - हिट देम 'बिटविन द आइज' । कडा रुपमा प्रस्तुत गरिएको तथ्यपूर्ण त्यस्ता प्रमाणहरु जुन उनीहरुको पुरानो विश्वासभन्दा बिल्कुलै विपरीत छन्, त्यसलाई सीधा सीधा प्रस्तुत गरिदिएमा मानिसहरु आफ्नो विश्वासलाई अपडेट गर्दा रहेछन्।

यो उपाय ठीक हुनसक्थ्यो। तर, हामी कडा रुपमा प्रस्तुत हुन सक्दैन थियौँ। नरम रुपमा तथ्यपूर्ण प्रमाणलाई सीधा प्रस्तुत गर्ने निर्णय गरेँ। त्यसका लागि एकैचोटी हैन कि बिस्तारै बिस्तारै जानकारी प्रस्तुत गर्न जरुरी थियो। त्यसैले शृङ्खला हामीले सोचेभन्दा लामो हुनपुग्यो।

हामीले शृङ्खला सुरु हुनुअघि अहिलेको पुस्ताले बिर्सिसकेको नमिता सुनिता हत्याकान्डको बारेमा लेख्यौँ। अहिले जस्तो डिएनएसहित अनुसन्धानको वैज्ञानिक प्रविधि नभएको अवस्था थियो त्यो। अहिले भने प्रविधि भए पनि त्यसले सहयोग हैन, मिसगाइड गरेको जस्तो संकेत देखिएको छ।

हाम्रो निष्कर्ष

भिआइपी

शृङ्खलाको सुरुवात हामीले एकदमै सामान्य विषयबाट गरेका थियौँ। निर्मलालाई देशभर चिनाउने आइकनिक फोटोसँग जोडिएको तथ्यबारे। धेरैलाई लागेको थियो होला यस्तो सामान्य विषयमा पनि के लेखेको!

निर्मला वास्तवमा त्यो फोटोमा साँच्चैको भन्दा ठूली, हुर्किएकी देखिएकी रहिछिन्। उनी सामान्य 'फुच्ची' किशोरीमात्र थिइन्, जसमाथि त्यस्तो कुकृत्य भिआइपीले हैन अपराधी मानसिकताको व्यक्तिले गर्न सम्भव हुन्छ भने 'हिडन मेसेज' दिन खोजिएको थियो। कतिले बुझे कुन्नि!

हाम्रो अहिलेसम्मको सोधखोजको निष्कर्ष यो घटनामा भिआइपी संलग्न छैनन्। हुँदै नभएको भिआइपीलाई 'रे' को हल्लाका भरमा फैलाइयो। भिआइपी हुनसक्ने कोणबाट हामीले धेरै खोज्यौँ। यो क्रममा 'थाहा खबर'मा गृहमन्त्रीका छोरा मुछेर बजाइएको समाचारपछि गृह मन्त्रालयले सोधपूछ गरेको खबर पनि पायौँ। तर, यसलाई शृङ्खलामा समेटेनौँ। प्रहरीको सहयोग लिँदा गृहमन्त्रीले प्रभावित पार्न सक्ने शंकाले सेनाको इन्टेलिजेन्स लगाएर गृहमन्त्रीका छोराको विषयमा अनुसन्धान गर्न लगाएको र त्यसले बुझाएको रिपोर्टपछि प्रधानमन्त्री आश्वस्त भएको जानकारी पाएर पनि कोट गर्न कोही तयार नभएपछि लेखेनौँ।

बम दिदीबहिनी

निर्मलालाई न्याय खोज्ने नाममा यहाँ धेरैलाई बित्थामा अन्यायमा पारिएको थियो। सबैभन्दा पीडित थिए, बम दिदीबहिनी। सामाजिक सञ्जालमा त उनीहरुको दोहोलो नै काढिन्थ्यो नै, महेन्द्रनगर पुग्दा पो देख्यौँ उनीहरुविरुद्धको आक्रोशको रुप।

'चरित्रहीन बम दिदीबहिनीहरुको घरमा भिआइपीसहितको ग्याङले बलात्कार गरेर उखुबारीमा लाश फालेको' यही धारणा गढेको थियो अधिकांशको मनमा। बोल्दा चाहिँ 'बम दिदीबहिनीमाथि छानबिन गरिएन, नाम मात्रको छानबिन भयो, त्यही घरबाट छानबिन हुनुपर्छ, कोर्रा लाएपछि पो बल्ल बोल्छन्, हामीलाई जिम्मा दिए हामी बकाउँछौँ' भन्ने थियो।

उनीहरुको बारेमा नेपाल राष्ट्रिय मानवअधिकार संगठन (ह्युरोन) ले समेत हल्लाकै भरमा प्रतिवेदन बनाएर सार्वजनिक गर्‍यो जसले अफवाह फैलाउन अझ सघायो। तर, हामीले त्यसको खुलासा गरेपछि वेबसाइटमा राखिएको प्रतिवेदन गुपचुप सच्याइयो।

बम दिदीबहिनीहरुमाथि हल्लाबाजहरुले भनेजस्तो अनुसन्धान नै नभएको होइन। विस्तृत अनुसन्धान भएको थियो, टेक्निकल (मोबाइल) र म्यानुअल दुवै। तत्कालीन सिडिओ र एसपीले 'रा*हरुलाई थुन्दे' भने पनि अनुसन्धान गर्ने प्रहरी नमानेकै हो। उनीहरुले गरेको गल्तीको थोरैमात्र पनि केही क्लु नभेटेपछि थुन्न नसकेको हो।

हामी उनीहरुको घरमा पुगेपछि नै अम्बाको रुख र रङको हल्लाबारे यथार्थ थाहा भयो। मूल सडक छेवैमा रहेको अम्बाको रुखमा झुण्ड्याउन सम्भव नै नहुने देख्यौँ। तर, झुण्ड्याएर मारेको पनि हुन सक्नेतर्फ अनुसन्धान भइरहेको भनी नयाँ पत्रिका दैनिकमा बेनामे कोटसहितको समाचार छापियो। रिपोर्टर एक पटक घरमा पुगेकोमात्र भए पनि यस्तो समाचार छापिँदैन थियो भन्ने लाग्छ।

रिपोर्टिङका क्रममा बम दिदीबहिनीहरुको घर कुन हो भनेर सोध्न पनि डर मान्नुपर्ने अवस्था थियो। धनगढी बस्ने हाम्रा सहकर्मी महेन्द्र बमको सुदूरपश्चिमेली लवजले धेरै ठाउँमा सहज बनायो। घर त पत्ता लाग्यो, तर सीधै भित्र पस्न सकिएन।

होटलमा फर्किएर महेन्द्रलाई आफू पनि बम नै भएको नाता लगाउँदै उनीहरुका बुबा दीपेन्द्र बमसित कुरा गर्न लगायौं। दार्चुला रहेका उनी पत्रकारले जथाभावी लेखिदिन्छन् भनेर सुरुमा त पड्किए। बल्लबल्ल भिडियो नखिच्ने शर्तमा छोरीहरुसँग भेटाउन राजी भए। बम दिदीबहिनीहरु पनि भिडियो खिच्न पाइँदैन भनिन्।

शायद्, हाम्रो प्रश्न गर्नेभन्दा पनि जानकारी खोज्ने शैली उनीहरुलाई चित्त बुझ्यो, हामीसित खुलेर कुरा गर्न थालिहाले।

छिमेकीहरुसित पनि कुरा गरेपछि हल्लाको यथार्थ खुल्यो। न त्यहाँ केटाहरुको आवतजावत हुन्थ्यो, न छेउको कसैको घरमा भैँसी ब्याएको थियो। तर, उनीहरु बोल्न सक्ने अवस्थामा थिएनन्।

बम दिदीबहिनीहरुको बारेमा लेख्नु सबैभन्दा चुनौतिपूर्ण विषय थियो हाम्रो। मान्छेको मनमा गढेको पूर्वाग्रही धारणालाई परिवर्तन गर्न सहज थिएन। त्यसैले शृङ्खला ५, ६ र ७ गरी तीन अङ्कमा सावधानीपूर्वक चयन गरिएका र बारम्बार दोहोर्‍याई तेहर्‍याई प्रत्येक शब्दले आउन सक्ने सम्भावित परिणामबारे बहस गर्दै लेख्यौँ। हामीले आफ्नो विचार कतै लादेनौँ; भएका हल्ला, मिडियामा आएका तथ्य र हामीले स्थलगत रिपोर्टिङका क्रममा भेटेका तथ्यहरु दियौँ।

सविनले लेखेका कति शब्द मैले फालेँ। मैले सुधार गरेका कति शब्द ऋषिले परिवर्तन गरिदिए। यता हरेक साँझ ६ बजेको डेडलाइनले हामीलाई अत्याउँथ्यो, उता लेखन र सम्पादन सकिएकै हुन्न थियो। त्यतिखेर न्युजरुममा साँच्चै हामीले जतिको तनाव कसैले बेहोरेनन्।

तर, अन्ततः परिणाम सुखद् आयो। पहिलो पटक बम दिदीबहिनीहरुबारे आएको एन्टी करेन्ट न्युजका प्रतिक्रियाहरुलाई हामीले मौन भएर निगरानी गर्‍यौँ। कतिको हेर्ने धारणा बदलियो, कति 'न्युट्रल' भए। कतिको भने पूर्ववत् धारणा कायम थियो।

बिस्तारै पहिलो धारणा बलियो बन्दै गयो। बम दिदीबहिनीका बुबा, आमाले हामीलाई पछिसम्म फोन गरेर समाचारको उनीहरुको जीवनमा सकारात्मक प्रभाव परेको सुनाए। घरबाहिर निस्कनै नसकेकी दिदी बबिता बमको वैशाखमा बिहे पनि भयो।

यही बीचमा सरकार समर्थकहरुको एक समूहले उनीहरुलाई काठमाडौँ ल्यायो। नढाँटी भन्दा यसले सत्यको पक्षमा बनेको माहौल बिग्रेला भन्ने डर लागेको थियो हामीलाई। त्यसैले हामीले न उनीहरुले गरेका पत्रकार सम्मेलनलाई कभर गर्‍यौँ, न उनीहरुलाई भेट्नै गयौँ। हामी हाम्रै शृङ्खलाका समाचारहरुमा व्यस्त भयौँ। किनकि हामी सत्यको खोजीमा थियौँ, सरकारको 'प्रोपागान्डा टुल' बन्नु थिएन हामीलाई।

एसपीका छोरा

यो रिपोर्टिङमा स्रोत भेट्ने क्रममा सबैभन्दा पहिला हामीले भेटेका व्यक्ति थिए एसपी दिल्लीराज विष्टका छोरा किरण विष्ट। तर, उनको बारेमा हामीले तत्काल लेख्न सकेनौँ। कञ्चनपुरबाट फर्किएपछि दोस्रो पटक पनि उनलाई भेट्यौँ। कतै चिप्लिएला कि भन्ने आशमा प्रश्न प्रतिप्रश्न गर्दै आच्छु आच्छु बनाउन खोज्यौँ उनलाई। तर, उनी 'कन्फिडेन्ट' देखिए।

उनको बारेमा लेख्ने योजना बन्दै गर्दा घटनाक्रमले अर्को रुप लियो। प्रदीप रावल र विशाल चौधरी पक्राउ परे। उनीहरुलाई नै अपराधीको रुपमा प्रहरी हेडक्वार्टर आफैले प्रोपागान्डा गरी मिडियामा सूचना चुहायो। त्यसलाई चिर्न हामीले डिएनएको प्राविधिक पक्षसहित डिएनएको रिपोर्ट नै प्रकाशन गर्‍यौँ। रात छर्लङ्गै भएको थियो यो लेख्ने क्रममा। डिएनएमा एक जनाको वीर्य देखिएको थियो तर त्यसअघि प्रहरीले सामूहिक बलात्कार भएको दावी गरेको थियो। डिएनए पनि नमिलेको र स्टोरी पनि म्याच नभएको अनि बयान पनि फरक फरक दिएका कारण प्रदीप र विशाललाई फँसाउने योजना तुहिएको थियो।

१८ औँ शृङ्खलामा बल्ल हामीले किरणबारे लेख्यौँ। किरणको नाम सबैभन्दा पहिले अनलाइनखबरले भदौ ८ गते लेखेको थियो।  स्थानीयका अनुसार भन्दै त्यो समाचारमा एसपी डिल्लीराज विष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयरका भतिजा बम दिदी बहिनीमात्रै भएको त्यो घरमा बाक्लै आउने-जाने दावी गरिएको थियो। बजार हल्लालाई समाचारले वैधता दिएपछि उनको नाम यो प्रकरणमा मुछिएको हो। नत्र, सुरुको अनुसन्धान टोलीले त किरणलाई अनुसन्धानको दायरामा समेत ल्याएको थिएन।

१५ दिनसम्म मात्र स्टोरेज रहने कारण प्राविधिक कारणले मेटिएको ओपेरा होटलको सिसिटिभी फुटेजलाई इस्यु बनाइयो। तर, किरणले त्यो दिन खिचेका 'र' फोटोका मिति र समय, उनको मोबाइल लोकेसन जस्ता कुरामा भएका अनुसन्धानले देखाएका तथ्य बाहिर आएन। हामीले त्यो लेख्यौँ। त्यो दिन किरणसँग फोटोसुट गर्ने युवतीहरुसँग पनि हामीले कुरा गर्‍यौँ। पायौँ, किरणलाई बित्थामा बलिको बोका बनाइएको रहेछ। जुन डिएनएबारे अहिले विवाद उठेको छ, उनको हकमा त्यही डिएनए भगवान बनिदियो।

ओपेरा होटल

महेन्द्रनगर पुगेपछि हामी बस्न खोजेको ओपेरा होटल नै थियो। तर, त्यहाँको एउटा कोठा पनि खाली नभएपछि रातभर लामखुट्टले सताउने होटलको कोठामा गर्मी सहेर बस्न बाध्य भएका थियौँ। तर, पनि हामीले ग्राहक बनेर ओपेरा होटलका कुना कुना चहार्‍यौँ। त्यहाँका कर्मचारीसँग कुरा गर्‍यौँ। समाचारहरु, ह्युरोन प्रतिवेदन र हल्लाहरुमा दावी गरिए जस्तो त्यहाँ डान्सबार नै थिएन। हल्लालाई वैधता दिने समाचार र प्रतिवेदनको हैसियत हामीले त्यहाँ पुगेपछि राम्रैसँग बुझ्यौँ।

होटलको कुनै कोठामा हत्या गरेर लाश उखुबारीमा फ्याँक्न लैजान असम्भव नै त होइन तर त्यसमा यति धेरै जोखिम हुन्थ्यो कि हामीले हल्लामा जस्तो सहज देखेनौँ। लाशलाई केहीमा (मानौँ सुटकेस) राखेर, सुरक्षागार्डको आँखा छली होटल बाहिर निकालेर कुनै गाडीमा राखी फ्याँक्दा उखुबारी जस्तो गाह्रो र जोखिम हुने ठाउँमा हैन, अरु नै सजिलो ठाउँमा वा खोलामै फ्याँक्नु कम जोखिम हुन्छ। त्यसमाथि लाश फेला परेको अवस्थाले टाढाबाट ल्याएर फ्याँकेको देखिन्न। त्यहाँमाथि निर्मलाको साइकल दिउँसो ४ बजेतिर नै त्यो ठाउँमा देख्नेहरु छन्। अन्यत्रै भएको भए साइकल पहिले फ्याँकेर पछि फेरि लाश फ्याँक्न त्यही ठाउँमा आउने जोखिम किन उठाउला कसैले?

कहाँ भयो घटना?

यो प्रकरणमा सुरुदेखि नै लाश भेटिएको ठाउँ घटनास्थल होइन भन्ने स्थानीय बासिन्दाको धारणा थियो। अन्तै, त्यसमा पनि बम दिदी बहिनी वा ओपेरा होटलमा हत्या गरेर लाश त्यहाँ फालेको भन्ने हल्ला धेरैको मनमा गढेको थियो।

लाश भेटिएपछिका फोटोहरु हेर्दा हिलो र पानी भएको ठाउँमा घोप्टो अवस्थामा शव थियो। पोस्ट मार्टम र फरेन्सिक रिपोर्टका आधारमा जबर्जस्ती भएको र वीर्यसमेत भेटिएको पाइएको थियो। घाँटी, कपाल र रबरब्यान्डमा समेत हिलो भेटिएको थिएन। त्यसैले त्यो ठाउँमा त्यो अवस्थामा जबर्जस्ती भएको र हत्या भएको सम्भावना कम थियो। तर, टाढाबाट ल्याएर फ्याँकेको सम्भावना देखिएन। खोला वारी सडक जोडिएको हुनाले ठाउँ छैन। तर, खोला पारी डिल उक्लेपछि वारीबाट नदेखिने चौर जस्तो सम्म ठाउँ पनि छ। त्यहाँ घटना गरेर लाश नजिकैको उखुघारीमा फ्याँकेको हुनसक्थ्यो।

खोला पारी डिल उक्लने ठाउँमा भेटिएको पाइलाको डोबका कारण त्यही ठाउँबाट अपराधी उक्लिएको सम्भावना प्रवल देखियो। पोस्टमार्टमले घाँटी अँठ्याएका कारण मृत्यु भएको देखाएको छ। मेरो विचारमा मृत्यु भइसकेपछि वा अचेत अवस्थामा त्यो कुकर्म अपराधीले गरेको हुनुपर्छ।

हाम्रो निष्कर्ष हो - यो योजनावद्ध बलात्कार तथा हत्याको घटना होइन। अनुसन्धानले निर्मलाको कसैसित रिसइबी भेटिएको छैन, प्रेमी भेटिएको छैन, शंकास्पद व्यवहार भेटिएको छैन। अपराधी मानसिकताको व्यक्तिको पासोमा परेर अकस्मात् भएको घटनाजस्तो लाग्छ।

दीलिपसिंह विष्टका दाजु खड्गसिंह विष्टसँग कुराकानी गर्दै। 

को होला अपराधी?

यो श्रृङंखलाका समाचारहरु खोज पत्रकारिता (इन्भेस्टिगेटिभ जर्नलिज्म) होइन। हामीले त गहन (डेप्थ) रिपोर्टिङ गरेका हौँ। त्यस क्रममा प्राप्त तथ्य जे देखियो, त्यही प्रस्तुत गरेका हौँ। कति लेख्न सक्यौँ, कति थप भेरिफाइ हुन नसकेर वा स्थान र सन्दर्भ नमिलेर लेख्न सकिएन। यही विषयमा आगामी दिनमा पुस्तक लेखियो भने त्यसमा समेट्न सकिएला। शंकाको सुई तेर्सिएका विभिन्न व्यक्तिबारे हामीले तथ्यसहित रिपोर्टिङ गरेका छौँ। त्यसमा प्रशस्त सम्भावना कसको बढी हुनसक्छ र कसको कम प्रस्ट छ। सबैको पुनः अनुसन्धान हुनुपर्छ।

यो शृङ्खला हेर्ने धेरैले हामीले नै अपराधी पत्ता लगाउने आशा गरेका पायौँ। तर, हाम्रो काम अपराधी ठहर गर्ने हैन। यो काम अदालतको हो। अदालतमा अहिलेसम्म यो केस पुगेको छैन। अदालतले फलानोलाई निर्दोष साबित गरेको भन्ने भ्रम धेरैलाई छ। यो पनि हल्लामात्रै हो। जो छुटे, पुलिस र सरकारी वकिलको सहमतिमा छुटेका हुन्। अदालतमा मुद्दा दायरै भएको छैन।

किन पत्ता लागेन हत्यारा ?

वास्तवमा यो पत्ता लगाउनै गाह्रो रहस्यमय घटना हुँदै होइन। निर्मलापछिका अरु यस्तै दुई घटना भए- उदयपुरमा १३ वर्षकी बालिका र पोखरामा १० वर्षकी बालिका। दुवै केसमा प्रहरीले अभियुक्त पहिचान गरी न्यायको कठघरामा उभ्याउन धेरै समय लगाएन।

निर्मलाको केसमा बिग्रियो कहाँ ?

यसका चार कारण छन्।

१) राज्य संयन्त्रप्रति चरम अविश्वास : प्रहरी मेरो साथी भनेर जतिसुकै नारा लगाए पनि, जनताकै मतबाट चुनिएको सरकार हो भनेर जति फलाके पनि राज्य संयन्त्रप्रति हामीहरुको चरम अविश्वास छ भन्ने प्रमाण यही घटना हो। भिआइपी वा त्यस्तै ठूला मान्छेको दबाब आयो भने प्रहरी वा राज्य संयन्त्र नै लागेर एक जना अपराधी जोगाउँछ भन्ने आमधारणा व्याप्त छ। त्यसैले त यस्तो भयो। आफूहरुप्रति यति चरम अविश्वास कसरी उत्पन्न भयो, सम्बन्धित सबैले आफैलाई नियाल्नु यो प्रकरणबाट पाठ सिक्नुपर्ने हो।

२) मिडियाको 'मिसलिड' : सोसल मिडिया विशेष गरी युट्युब र मेनस्ट्रिम मिडियाले घटनालाई 'मिसलिड' गर्न प्रमुख भूमिका खेले, स्थानीय मिडियाको त कुरै छाडौँ। 'क्राउड'लाई 'र' इन्फरमेसन भएका युट्युबका सनसनीपूर्ण शीर्षकसहितका भिडियोले दिग्भ्रमित गरे भने बौद्धिक खालका पाठकलाई मूलधारे मिडियाले। दुवैले पुष्टि नभएका हल्लालाई वैधता दिने काम गरे लगातार। यस प्रकरणमा आफ्नो भूमिकाबारे मिडियाको नेतृत्वले महसूसमात्रै गरे पनि धेरै राम्रो हुन्छ।

३) अति राजनीतिकरण : स्थानीय राजनीतिमात्र भएको भए स्थिति यस्तो नाजुक हुँदैन थियो। तर, घटनाको पर्सिपल्टैदेखि संसदमा लाशको राजनीति भएको भन्दै सत्तापक्ष र विपक्षी सांसदहरु आरोप प्रत्यारोपमा उत्रिएका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विप्लवले आफ्नो राजनीतिक स्वार्थका लागि यो प्रकरणको भरपुर उपयोग गरे। सुदूरपश्चिमका एक कांग्रेसी नेताको यसमा भूमिका रह्यो। कांग्रेसको कारणमात्र हैन सामाजिक संवेदनाका कारण यो इस्यु तुरुन्तै देशभर फैलियो।

न्यायको माग र निर्मला पर्यायवाची शब्द जस्ता बने। देशभर प्रदर्शन भए। राज्य यति डरायो कि पोस्टरसमेत च्यात्न थाल्यो। नेताले यो विषयमा 'बोल्यो कि पोल्यो' हुनथाल्यो। यही प्रकरणले प्रधानमन्त्री पंगु देखिए, गृहमन्त्री पंगु देखिए, समग्र राज्य नै पंगु देखियो। यतिविघ्न राजनीति नभएको भए छिट्टै अभियुक्त कठघरामा हुन्थे। स्थिति यस्तो उत्तेजक भइदियो कि आफूले थाहा पाएका कुरासमेत प्रहरीलाई भन्ने कोही भएन। भिडको विचारभन्दा बाहिरका कुरा बोल्ने आँटसम्म कसैले गरेन। जसले अनुसन्धानलाई थप कठिन बनाइदियो।

४) प्रहरीको नालायक नेतृत्व : मिडियामा दबङ छवि बनाएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको व्यवस्थापकीय क्षमता यही घटनाले सबैसामु छर्लङ्ग बनायो। 'नालायक नेतृत्व भयो भने संगठनमा कस्तो असर पर्छ' भन्ने विषयको यो 'केसस्टडी' बन्ने पक्का छ। प्रहरीलाई आफ्नै अनुसन्धानमा विश्वास हुँदो रहेनछ भन्ने पनि यसले छरपष्ट पार्‍यो। दुनियाँमा कतै नभएको अनुसन्धान गर्ने अधिकारीकै डिएनए टेस्ट गराउन स्वीकृति दिए खनालले। एसपी दिल्लीराज विष्टमात्र होइन, उनका छोरा किरण विष्टको सँगसँगै डिएनए टेस्ट गराइयो। महानिरीक्षक पद ७५ हजार पुलिस फोर्सको हो भन्ने बिर्सिँदै आफ्नो गुटलाई मात्र च्याप्ने, अर्को गुटलाई संगठनबाट हुनुपर्ने संरक्षण नदिने भूमिकामा देखिए महनिरीक्षक खनाल, यो केसमा मात्र होइन, अरुमा पनि। यसले संगठनलाई पर्ने दीर्घकालीन असरबारे डिटेल रिसर्च आवश्यक हुनेछ।

कञ्चनपुर प्रहरीले यो प्रकरणमा सुरुमै गल्ती गरेकै हो। यसमा कसैले कसैलाई चोख्याउन जरुरी छैन। तर, नियतवश थियो लापरवाही? कि हल्ला चलेजस्तै भिआइपी लुकाउन गरिएको थियो, त्यो बुझी त्यसका आधारमा विभागीय कारबाही जरुरी थियो। संगठनले कहिल्यै पनि गल्ती गर्दैन, व्यक्तिले गर्छ भन्ने सिद्धान्त विपरीत समग्र प्रहरी संगठनकै साख गुम्ने अवस्था आउनमा उनकै नेतृत्व कारक रह्यो। भावी आइजीका लागि उनको नेतृत्व पाठ बन्नेछ।

अबको बाटो के ?

हामीले ८ महिना #WhoKilledNirmala शृङ्खला चलायौँ। तर, प्रहरी र गृह प्रशासनको चालामाला हेर्दा अन्ततः #NoOneKilledNirmala हुने सम्भावना देखिँदैछ। इच्छाशक्ति भए अझै पनि अपराधी पत्ता लगाई यो प्रकरणको सेफ ल्यान्डिङ गर्ने ठाउँ नभएको हैन।

'प्रहरी संगठनलाई यो घटना दुखेको छ। तर, 'आय्या...' भनेर मुखले मात्र उच्चारण गरेको छ, भित्रबाट दुखेको महसूस गरेको छैन,' नेतृत्व तहमै रहेका एक उच्च प्रहरी अधिकारीले अनौपचारिक कुराकानीमा हामीलाई बताएको यो भनाइ सत्य लाग्छ। यदि दुखेको भए यो प्रकरण यत्तिकै लथालिङ्ग हुने स्थिति आउने थिएन।

प्रहरी आफ्नो गल्ती स्वीकार्न तयार नै छैन। जबकि गल्ती भएको छ। फिल्डमा के कस्ता गल्ती भए? जिल्ला नेतृत्वलाई कमान्डमा राख्नेहरुबाट के गल्ती भए? समीक्षा खोई?

अत्यधिक चर्चामा आएका गोदामचौर र निर्मला प्रकरणले डिएनए परीक्षणमा ल्याबको त्रुटि हुनसक्ने प्रशस्त आधार भेटिइसके। राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले पनि सुझाव र निर्देशन दिइसक्यो। तर, ल्याबको गल्ती स्वीकार्न प्रहरी तयार छैन।

डिएनएमा गल्ती भएको भए कहाँ र कसरी भएको हो, त्यो निर्क्यौल गर्न अब सरकारले चाँडो भन्दा चाँडो डिएनए विज्ञहरुसहितको टोली बनाउनु पर्छ। नेपालका विज्ञ चित्त नबुझे विदेशबाट ल्याउँदा पनि हुन्छ। त्यो टोलीले डिएनए रिपोर्ट ठीक भए नभएको निर्क्यौल गर्नुपर्छ। डिएनए 'रुल आउट' गरेपछि शंकित सबैमाथि पुनः अनुसन्धान हुनुपर्छ। त्यसका आधारमा अभियुक्त खोजिनु पर्छ। पत्यारलाग्दो विवरण भेटिए अदालत पुर्‍याउनु पर्छ।

आयोगले ह्युमन इन्टेलिजेन्स प्रयोग गर्न भनेकै आधारमा सबै केसमा वैज्ञानिक प्रमाणलाई बेवास्ता गरी म्यानुअल अनुसन्धानमा जाने हो भने नेपालमा भएका दुई दुई वटा फरेन्सिक ल्याबमा ताल्चा लाइदिए हुन्छ। र, घोषणा गरे हुन्छ - हामी वैज्ञानिक प्रमाणमा विश्वास गर्दैनौँ। हामी विश्वमै ह्युमन इन्टेलिजेन्स र म्यानुअल अनुसन्धानमा नमूना बन्न चाहन्छौँ।

निर्मलापछि भएका बलात्कारका केसहरुमा डिएनए परीक्षण गरिएको देखिँदैन। यस्तो स्थिति आउनु उपयुक्त हैन।

'प्रहरीको ल्याबमा प्रश्न उठेका कारण टोली गठन भई अनुसन्धान नसकिएसम्म यस्ता केसमा घटनास्थलबाट पठाइने तीन वटा भेजिनल स्वाबलाई एउटा प्रहरीकोमा एउटा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएर एउटा भविष्यमा विवाद उठे परीक्षणका लागि राख्ने व्यवस्था गरिनु पर्छ' भन्ने फरेन्सिक एक्स्पर्ट जीवन रिजालको यो सुझाव पनि मननीय छ।

अदालतले पनि अनुकूल हुँदा डिएनए स्वीकार्ने, प्रतिकूल हुँदा अस्वीकार गर्ने दोहोरो मापदण्ड अपनाउनु दुर्भाग्यपूर्ण हो। डिएनए रिपोर्ट अस्वीकार गर्दा विश्वसनीय कारण अदालतले खुलाउनै पर्छ।

यदि, यी सबै नहुने हो भने निर्मलाको बलात्कार र हत्या गर्ने अपराधी कहिल्यै पत्ता लाग्ने छैन।

सिवाय एक अवस्थामा।

त्यो अपराधीले पुनः त्यस्तै कुकृत्य गर्‍यो र पक्राउ पर्‍यो भने।

किनभने हामीले जानकारी पाएका छौँ, शंकित मध्ये एक खुला हिँडिरहेका छन् र 'फलानीलाई गर्नुपर्छ...' आशयका बोली बोलिरहेका छन्।

के हामी चुप बसेर फेरि एक चेलीको जीवन बर्बाद पार्दैछौँ?

(धन्यवाद : यो शृङ्खला तयार पार्न जानकारी दिएर महत्त्वपूर्ण सहयोग गर्नुहुने अनुसन्धानमा खटिएका सबै प्रहरीहरु, आइजी सर्वेन्द्र खनाल, प्रवक्ता डिआइजी विश्वराज पोखरेल, पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी लगायत नाम खुलाउन नचाहने  बहालवाला तथाअवकाश प्राप्त प्रहरी अधिकारीहरु, प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, वरिष्ठ पत्रकार किशोर नेपाल, क्राइम बिटका अनुभवी पत्रकार केपी ढुंगाना, गोदामचौर बलात्कार प्रकरणलाई निरन्तर फलो गरेका कान्तिपुरका पत्रकार देवेन्द्र भट्टराई र हाम्रा धनगढी सहकर्मी महेन्द्र बमलाई विशेष धन्यवाद। ३० अङ्कसम्म साथ दिनुभएकोमा पाठकहरुप्रति आभारी छौँ। यो सँगै पहिलोपोस्टबाट विदा लिएको छु।)

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?

शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन

शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो

शृङ्खला २१ : बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा

शृङ्खला २२ : 'स्पाइरल अफ साइलेन्स' चिरिएको महेन्द्रनगर : आखिर कसले गर्‍यो निर्मलाको हत्या?

शृङ्खला २३ : अछामबाट 'पक्राउ परेका' दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन?

शृङ्खला २४ : निर्मलाको सुरुवाल पखाल्ने चाँदनी : हाइप्रोफाइल अपराधीको हल्लामा चेपिएकी प्युसो प्रहरी

शृङ्खला २५ : निर्मला प्रकरणमा वीरबहादुरको बन्दै गरेको घरसँग जोडिएको कनेक्सन 

शृङ्खला २६ : निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने ती शक्तिशाली व्यक्ति

शृङ्खला २७ : मान्छे मर्ने गरी आन्दोलन चर्काउन उक्साउने ती रहस्यमय व्यक्ति को थिए? 

शृङ्खला २८ : 'आन्दोलन नगरे ३५ लाख, मर्ने मार्ने गरी गरे सुविधा' : निर्मलाको नाममा घिनलाग्दो राजनीति  

शृङ्खला २९ : निर्मला र रमिलाको पीडा : कानुनको कठघरामा उभ्याउन होइन, चोख्याउन सघाइरहेको छ डिएनए रिपोर्ट 

समापन : निर्मला प्रकरण : यसरी गरियो रिपोर्टिङ, यस्तो रह्यो हाम्रो निष्कर्ष (शृङ्खला ३०)

 थप समाचार



निर्मला प्रकरण : यसरी गरियो रिपोर्टिङ, यी हुन् हाम्रा निष्कर्ष (#WhoKilledNirmala शृङ्खला ३०) को लागी ५ प्रतिक्रिया(हरु)

सृजना लिङ्थेप [ 2019-06-29 00:23:43 ]
वास्तविक पत्रकारिता भनेको कसैले पहिलो पोस्टबात सिकोस । सत्यको पक्षमा तपाइहरुले गर्नुभएको अनबरत खोज र प्रयासप्रति हार्दिक नमन 🙏

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Umesh Ghimire [ 2019-06-28 23:17:22 ]
साह्रै गहन लाग्याे याे रिपाेर्टिङ । मैले विश्वास गर्ने मध्येकाे पहिलाे नंबरमा अाउने याे पाेर्टललाइ धन्यवाद ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Upendra Pandey [ 2019-06-28 20:45:49 ]
#WhoKilledNirmala का सबै शृङ्खलालाई पुस्तकका रूपमा प्रकाशन गर्ने सके अति राम्रो हुन्थ्यो ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Shyam [ 2019-06-28 17:21:51 ]
I have followed your coverage. Eventhough I never believed in what other media wrote about it, many of my circles did. Showing and sending them your article has changed a lot of them. Thanks for the detail coverage. I guess Bam sisters, son of SP and many other so called accused must be happy because of your coverage. It has given them a new life and I pity that poor lady Hawaldaar. Hope she will also get justice. The doubt remains same though..yet some clues are there to suspect the culprit.. hope police catches him again and soon...

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


harihar yogi [ 2019-06-28 17:03:37 ]
— १ पटक सम्पादित
अति गहन रिपोर्टिङ। च्यााउजस्तै उम्रेर बनमाराको उपमा दिन मिल्ने online को भिडमा गजबको लोभलाग्दो उपस्थिति बनाएको छ pahilopost ले। सविन, उमेशजी, ऋषिजी, ओमजी बधाइको पात्र हुनुहुन्छ। पाठक, मिडिया, प्रहरीसमेतका लागि विश्वास गर्ने नाम बनेको छ। online र पत्रकार साथीहरुको नाम पछिसम्म कायम रहोस। शुभकामना।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट