PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर (#WhoKilledNirmala शृङ्खला ६)



पहिलोपोस्ट

निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर (#WhoKilledNirmala शृङ्खला ६)

  • महेन्द्रनगरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल -
भीमदत्त नगरपालिकाका चार वटा वडाका बासिन्दाहरुको आवतजावत गर्ने मुख्य बाटोमै छ एउटा दुई तल्ले घर। 

बटुवाहरु औँला तेर्स्याउँदै भन्छन् – 'निर्मला हराएको बम दिदी बहिनीको घर यही हो नि।'

धेरैको शंकाको घेरामा रहेको यो घर बाटोमै जोडिएको भने छैन। घरलाई चारैतिरबाट पर्खालले घेरिएको छ। एउटा फलामको सानो गेट छ। भित्र बारी र फराकिलो आँगन पनि।
 
दिदी बहिनीमात्र बस्ने घर भन्ने सुनेको हुनाले सिधै घरमा पस्नु ठीक लागेन। 

त्यसमाथि धर्नास्थलमा भएकाहरुले सुनाएका थिए - त्यो घर वरिपरि त पुलिस, सिआइडीहरु छ्याप्छ्याप्ती हुन्छन्। कहाँ पस्न दिन्छन् तपाईँहरुलाई!

बम दिदी बहिनीकहाँ सिधै जानु उचित लागेन। उनीहरु बारे हामीसँग भएका केही डकुमेन्ट फेरि हेर्नुपर्छ भन्ने लाग्यो। त्यो  दिन बाहिरैबाट जिपिएस लोकेसन लियौँ र बजारतिरै फर्कियौं।

प्रतिवेदनको 'भेरिफाइ' 

हामीसित निर्मला प्रकरणका दुई वटा प्रतिवेदन थिए - एउटा गृह मन्त्रालयले गठन गरेको सहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको छानबिन समितिको प्रतिवेदन र अर्को नेपाल मानवअधिकार संगठन (ह्युरोन) ले गरेको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन। 

असोज १० गते सार्वजनिक गरिएको ह्युरोनको प्रतिवेदनको दोस्रो बुँदा यस्तो छ -



प्रतिवेदनबाट बुझिने कुरा- 
दिदी बबिता बम ओपेरा होटलको डान्सबारमा डान्सरका रुपमा कार्यरत छिन्। उनी काम गर्ने ओपेरा होटलमै घटना भएको दिन बर्थ डे पार्टी भएको थियो र घटनासँग सम्बन्धित केही मानिस पार्टीमा जम्मा भएका थिए। यो बुँदामा स्थलगत अनुसन्धान र स्थानीयको भनाई मेल खाएको ठोकुवा पनि गरिएको छ। 

त्यसो भए ओपेरा होटलमा गएर यसको स्वतन्त्र पुष्टि किन नगर्ने? हामी लाग्यौं ओपेरा होटलतिर। 

महेन्द्रनगर बसपार्कबाट करिब ७ सय मिटरको दूरीमा छ, ओपेरा होटल। कञ्चनपुरकै राम्रो र महँगो होटलमध्ये एक मानिन्छ यो। 

होटेलमा काम गर्ने रविन्द्रप्रसाद तिवारीलाई हामीले सोध्यौँ। उल्टाखाम वडा नम्बर २ का वडा सदस्यसमेत रहेका उनले भने, 'खै मैले काम गरेको ८/९ वर्ष भइसक्यो। अहिलेसम्म त यहाँ डान्सबार देखेको छैन।'
 
उनीसितको कुराकानीको अडियो सुन्नुस्।

 

उनी भन्छन् – 'ओपेरामा डान्सबार भन्ने कुरा शतप्रतिशत गलत हो।' 

उनले नदेख्ने गरी हामी ग्राहकका रुपमा फेरि यही होटलमा पुग्यौँ र चार तले यो होटलका सबै ठाउँ चहार्‍यौँ। तर, डान्सबार कतै देखेनौँ। 

काठमाडौँ आएर हामीले अनामनगर कार्यालय रहेको ह्युरोनका अध्यक्ष इन्द्रप्रसाद अर्याललाई भेट्यौँ। हाम्रो क्यामेरा अगाडि भने उनले होटेलमा डान्स बार नभएको स्वीकारे। 

तर, बबिता अर्कै डान्सबारमा डान्सर रहेको दावी गरिरहे। के नामको डान्स बार चाहिँ उनले बताउन सकेनन्। 

हामीसित ओपेरामा डान्सबार नभएको बताए पनि उनी, उनकै संगठनका महासचिव महामुनिश्वर आचार्य र नेपाल मानवअधिकार संगठन, कञ्चनपुर शाखाका सभापति त्रिभुवनकुमार भट्ट तीन जनाको अनुगमन टोलीको प्रारम्भिक प्रतिवेदनमा तयार पारेको हो। त्यसमा स्पष्ट रुपमा 'बम दिदीबहिनी मध्ये जेठी बबिता बम डान्सबारमा डान्सरका रुपमा कार्यरत रहेको र घटना भएको दिन उनी कार्यरत ओपेरा होटलमा 'बर्थ डे पार्टी भएको' उल्लेख छ।

प्रतिवेदन पूरा पढ्न यहाँ क्लिक गर्नुस्।

यही प्रतिवेदनका आधारमा मिडियामा समाचारहरु बनेका छन्। र, त्यसकै आधारमा मानिसले एक किसिमको धारणा बनाएका छन्। 

तर, यस्तो संवेदनशील विषयको प्रतिवेदन पनि 'रे' का आधारमा कसरी बनेको होला? ओपेरा होटलमा डान्सबार नभेट्टाएपछि हाम्रो मनमा उठेको यो प्रश्नको जवाफ पाउन सकेनौं।

भैँसी एक वर्षअघि ब्याएको!

यसै प्रतिवेदनको सातौँ नम्बरको बुँदामा बम दिदी बहिनीको छिमेकमा भैँसी ब्याउन लागेको र त्यहाँ मान्छे जम्मा भएको उल्लेख छ। र, त्यहाँ भेला भएका मानिसले नै त्यहाँ 'लाश/शव' भन्ने शब्द सुनेको उल्लेख छ। बिहान ४ बजेतिर त्यो घरमा ट्याम्पु/टुकटुक आएको पनि उल्लेख छ। 



यो हाम्रो लागि महत्त्वपूर्ण 'क्लु' थियो। यसलाई हामीले भेरिफाइ गर्ने क्रममा मिडियामा प्रकाशित यो सामाग्री भेट्यौँ जसमा लेखिएको थियो -
 
स्थानीय महिला समूह र अगुवाले आइजिपी खनालसमक्ष निर्मला हराएको बबिता र रोशनी बमको घरमा सोही दिन राति हल्लाखल्ला सुनेको बताएका थिए। आइजिपीसँगको छलफलका बेला उपस्थित पत्रकारका अनुसार छिमेकमा भैँसी ब्याएकाले साल नझरुन्जेल रुँगेर बस्दा त्यस्तो हल्ला सुनिएको उनीहरूको भनाइ थियो। (लिङ्क)

प्रतिवेदनमा उल्लेख भएका कुरा र पत्रिकामा उल्लेख भएका कुरा मिलेका छन्। हामीले छिमेकमा बुझ्न खोज्यौँ। 



माथिको गुगल म्यापमा देखिएका मध्ये एक नम्बरको घर बम दिदीबहिनीको हो। 

हामीले उनको घर नजिकैका छिमेकीसँग बुझ्न खोज्यौँ। किनभने माथि उल्लेख गरिएका नम्बरका घरहरुबाट बम दिदी बहिनीको कोठाभित्र भएका कुरा नदेखिए पनि घरमा हुने अरु गतिविधि प्रष्ट देखिन्छ। 

भदौ ६ गते बम दिदी बहिनीहरुको घरमा एक समूहले आक्रमण गरेको थियो। ढुंगा हानेर झ्यालका शिशा फुटाइदिएका थिए। त्यसैले छिमेकीहरु नयाँ मान्छेसित कुरा गर्न एकदमै डराउँछन्। 'हामीले बोल्नुपर्ने ठाउँमा बोलेका छौँ, मिडियामा बोल्दैनौँ,' भने सुरुमा हामीलाई। 

जुन घरबाट निर्मला हराएकी हो, त्यही घरबाट छानबिन हुनुपर्ने तर प्रहरीले छानबिनै गर्न नचाहेको आरोप धेरैको छ। आक्रोशितहरुले आफ्नै घरमा पनि आक्रमण गर्लान् कि भन्ने डर छ उनीहरुमा।
 
खोजबिनका क्रममा थाहा भयो- रिपोर्टहरुमा भनिएको भैँसी त्यो ठाउँको छिमेकमा पक्कै ब्याएको रहेछ। तर, करिब एक वर्ष अगाडि। १ नम्बरको घरको वरपरका घरहरुमध्ये २ नम्बरको घरमा मात्र भैँसी पालेको बुझियो। 

कुन घरमा भैँसी ब्याएको थियो र मान्छेहरु जम्मा भएका थिए? अनि लाश र शव भन्ने आवाज सुन्ने को-को थिए? कतै खुलेन।

'रे' भन्नेहरु चाहिँ धेरै भेटिए। 

भिआइपीको आवतजावत


बम दिदीबहिनीहरुको घरमा भिआइपीहरुको आवतजावत हुने गरेको कुरा पनि हामीलाई धेरैले सुनाए। 

ह्युरोनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले हामीसँग जिल्लास्थित उच्च व्यक्तिहरुसँग उनीहरुको उठबस हुने गरेको आफूहरुले बुझेको बताएका थिए।
 
हामीले मिडियामा यस्तो समाचार पनि भेट्यौँ -
 
निर्मला पन्त किताव लिनका लागि जुन घरमा गइन्। त्यो घरदेखि नै यो घटना एकदमै रहस्यमय छ। त्यो घर दुईतल्ले छ, त्यहाँ बम दिदीबहिनीमात्रै बस्थे। उनीहरुका बुबाआमा दार्चुलामा बस्ने गरेका थिए। घरमा उनका छोरीहरु रोशनी र बबिता मात्रै बस्थे। निर्मलाकी साथी रोशनी १८ वर्षकी छिन् भने उनकी दिदी बबिता अझै जवान भइसकेकी छिन्। उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन।

स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्राय: आवत-जावत गरिरहन्थे। पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन्। अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन्। स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने-जाने गर्थे। (लिङ्क)


माथिको गुगल म्यापमा देखिएको घरमध्ये २ नम्बरको घर देवी पाण्डेको हो। उनले हामीलाई भनिन् - 'गाडी आउँछन्। भिआइपी मान्छे आउँछन् भन्ने छ। म नै अचम्ममा छु। म यति नजिकै छु। आजसम्म देखेको छैन। देखेको भए किन लुकाउनु पर्‍यो?'

बम दिदीबहिनीको घरमा गाडी पस्दैन। गाडी लिएर कोही आयो भने, कम्पाउन्ड बाहिरै पार्क गरेर भित्र जानु पर्छ।  

उनी थप्छिन्, 'बबिता दिउँसो ट्युसन भनेर जान्थी। कहाँ जान्थी, के गर्थी त्यो चाहिँ म भन्न सक्दिनँ। तर रोशनी घरदेखि स्कूल मात्र गर्थी। त्यो म भन्न सक्छु।'

सुन्नुस् थप्न पनि सक्दिनँ लुकाउन पनि सक्दिनँ भन्दै अडियोमा उनी के भन्छिन्-



माथिको गुगल म्यापमा देखिएका मध्ये ३ नम्बरको घर गणेशप्रताप गुरुङको हो। सबभन्दा नजिकैको यो अर्को घर हो। गणेश र उनकी श्रीमती सुमित्रा दुवैसित हामीले सोध्यौँ। 

'सब हावा कुरा। हल्लामात्र हो। हामी यहाँ बसेको कति भयो, एक जना पनि आएका छैनन्। एक जना देखेको मात्र भए हामी पनि यिनीहरुलाई धपाउँथ्यौं,' गणेशले भने।
 
'हाम्रो नजरमा कति पनि दोषी छैनन्। जिरो पनि दोषी छैनन्, ' सुमित्राले पनि यसै भनिन्। 

'अनि आउँछन् भन्छन् त बजारमा, सबैले। किन त?'

सुन्नुस् गुरुङ दम्पतिसितको कुराकानी



'हल्ला कहाँबाट चल्छ थाहा छैन। हामी छिमेकी कसैले देखेको छैन। हुनै नसक्ने हल्ला चल्छ। दिक्क लाग्छ अहिले त। उनीहरूले आँखाले नै देखे जसरी बोल्छन्,' उनीहरुले भने।
 
निर्मला हराएको दिन साउन १० गतेको कुरा सम्झँदै सुमित्राले भनिन्, 'साउन १० गते यहाँ डान्स, हल्ला खल्ला थियो रे भन्ने हल्लासमेत भयो। मेरी छोरी राति १२ बजेसम्म सुतेकी थिइन। हामी नेट चलाएर बसिरहेका थियौँ। त्यो दिन ९ बजेसम्ममा बत्ती निभाएर सुतिसकेका छन्, यिनीहरु।'
 
सुमित्राले अझ थपिन्, 'उनीहरूको ठूला मान्छे कोही छैनन्। मेयरका भतिजा, एसपी कोही पनि आएका छैनन्। यो सय प्रतिशत गलत हो। दोष नभई बदनाम गराएका छन्। शङ्कास्पद गतिविधि भएको भए भन्थ्यौँ हामीले पनि। एक जना मान्छे पनि आएको भए आउँथे भन्थ्यौँ। मलाई मात्र हैन सबै छरछिमेकलाई सोध्दा हुन्छ। सबैले एउटै भन्छन्।'

राति ट्याम्पो आएको पनि थाहा नभएको उनीहरुले बताए। 

देवीले थपिन्, 'यिनीहरूले गल्ती गरेको भए म पनि चार लात्ती हान्थेँ। उनीहरूलाई समाजबाट हटाउँथेँ। आज गल्ती गरे फेरि भोलि पनि गर्लान्। मेरी पनि छोरी छे। भोलि मेरी छोरीलाई गर्लान्। प्रमाण भए हामी नै लखेट्छौं।'

हामी काठमाडौँबाट त्यहाँ पुगेकाले कञ्चनपुरका सबैलाई स्थानीय बासिन्दा नै देख्छौँ। तर, महेन्द्रनगर बजारका 'स्थानीय बासिन्दा' जसरी बम दिदीबहिनीहरुमाथि औँला ठड्याइरहेका छन्, उनीहरुको घर छेउमै बस्ने छरछिमेकी स्थानीय 'बासिन्दा' हरु भने किन बचाउ गरिरहेका छन् त? 

यो प्रश्नको जवाफ हामीले भेट्न सकेनौँ। अनुमान चाहिँ लगायौँ, 'रे' को कारण।

पोलिग्राफमा चक्र बडु 'फेल', बबिता 'पास' 

टेम्पो चालकदेखि धर्नामा बस्ने नागरिक समाजकाले समेत बम दिदीबहिनीहरुलाई पक्रेर बकाउनु पर्ने प्रतिक्रिया दिन्छन्। 

प्रहरी चाहिँ किन उनीहरुमाथि छानबिनै गर्दैन त? सारा दुनियाँले औँला उठाइरहेकाहरुमाथि अनुसन्धान गर्नु पर्दैन? ठूला मान्छेको दबाबका कारण छानबिनै नगरेको हो त?

हामीले अनुसन्धानमा संलग्न विभिन्न स्रोतहरुसँग बुझ्यौँ। 

प्रहरीले उनीहरूको मोबाइल, कल डिटेल रेकर्ड, कल लोकेसन रेकर्ड, फेसबुक लगायत प्राविधिक पक्षको विस्तृत अनुसन्धान गरेको भेटियो। बहिनी रोशनीले कुनै पनि मोबाइल नचलाउने देखियो। 

दिदी बबिता बमले भने दुई वटा सिम प्रयोग गरेको देखिन्छ - नेपाल टेलिकमको र एनसेलको। बबिताले एनसेल नेट चलाउनका लागि र एनटिसीको भने फोन गर्नको लागि प्रयोग गर्थिन्। उनीहरुको घरमा वाइफाइ छैन। एनसेलको सिम राति ८ बजेपछि मात्र एक्टिभ हुने गरेको देखियो।

तीन महिनासम्म उनका दुवै नम्बरमा आउने र जाने फोनको बारेमा अनुसन्धान प्रहरीले गरेको छ। 
 
साउन १० गते जुन दिन निर्मला हराएकी थिइन्, बबिताले आफ्नो मोबाइलबाट साँझ साढे ५ बजेतिर मात्र कल गरेको देखिएको छ, आफ्नी आमालाई। करिब सात बजेतिर अर्को कल पनि गरेकी थिइन्। बबिताले प्रहरीलाई बताए अनुसार उनले दार्चुलामा रहेकी आमालाई निर्मलाकी आमाले घरमा आएर हप्काएको कुरा सुनाएकी हुन् दुवै कलमा। 

फेसबुकमा पनि बबिताको इन्गेजमेन्ट भएको केटाबाहेक अरूसँग कुरा गरेको देखिएको छैन।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेरबहादुर कठायतले बम दिदी बहिनी विरुद्ध कुनै पनि प्रमाण फेला नपरेको बताए। 'उनीहरुको मोबाइलदेखि सबै कुराको अनुसन्धान गर्दा कुनै पनि ठोस प्रमाण भेटिएन,' उनले भने।
  
शंकाको घेरामा परेका चक्रदेव बडुसँगै बबिताको पनि पोलिग्राफ टेस्ट गराएको थियो, प्रहरीले। बबिताको पोलिग्राफ टेस्टमा उनले झुटो बोलेको देखिँदैन। तर, चक्रदेवले भने पटक-पटक झुट बोलेको भेटिएको थियो।

झुटो बोलेको बाहेक चक्रदेवविरुद्ध प्रहरीले कुनै ठोस प्रमाण फेला पार्न सकेको थिएन। डिएनएसमेत नमिलेपछि चक्र छुटेका थिए र अहिले भारत पुगिसकेका छन्।  महेन्द्र बमको सहयोगमा
 
(यी त भए छिमेकीका कुरा। बम दिदीबहिनीहरु आफै चाहिँ के भन्छन् त? हामीले उनका बुबा दीपेन्द्रबहादुर बमलाई मोबाइलमा सम्पर्क गर्‍यौँ। उनी दिक्क भइसकेका झैँ लाग्यो मिडियादेखि। अहिले उनी र उनकी श्रीमती इन्द्रादेवी बम दार्चुलामा रहेछन्। युट्युबमा राख्ने भए हुँदैन, उनले सीधै इन्कार गरे। भिडियो खिच्ने हैन भनेपछि बल्ल उनी तयार भए। र, छोरीलाई फोन गरेर हामी आउने जानकारी दिए। बाबुको अनुमतिपछि बल्ल हामीले बम दिदीबहिनीहरुलाई भेट्न पायौँ। आफूमाथिका विभिन्न आरोपबारे उनीहरु के भन्छन् त? #WhoKilledNirmala को अर्को भागमा)
 

#WhoKilledNirmala शृङ्खला  

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell