PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


'रे' मा रुमल्लिएको निर्मला प्रकरण (#WhoKilledNirmala शृङ्खला ५)


पहिलोपोस्ट

'रे' मा रुमल्लिएको निर्मला प्रकरण (#WhoKilledNirmala शृङ्खला ५)

  • महेन्द्रनगरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल- 
'बम दिदी बहिनीलाई धेरै कुरा थाहा छ।' 

महेन्द्रनगर बजारमा उत्रनेबित्तिकै भेट भएका धनुष बोगटीले हामीलाई जे सुनाए, त्यो हामीले काठमाडौँमा हुँदा सुनिआएकै कुरा थियो। हामी जति दिन महेन्द्रनगरमा बस्यौँ, सकेसम्म धेरैसँग अन्तर्क्रिया गर्न खोज्यौँ। चिया पसलमा गफियौँ, इ-रिक्सामा सँगै बस्नेहरुलाई सोध्यौँ। जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने ठाउँमा भेला भएकाहरुलाई सोध्यौँ। 

सबैका औँला तेर्सिन्थे, बम दिदीबहिनीहरुमाथि। 

धनुष फार वेर्स्टन युनिभर्सिटीमा पढ्छन्, त्यहीँ निर्मलाकी साथी रोशनीकी दिदी बबिता बम पनि पढ्ने। घटनापछि उनी कलेज जान सकेकी छैनन्। तर, धनुषले निर्मला प्रकरणपछि मात्र बबिता आफ्नै कलेजमा पढ्ने थाहा पाएका थिए।

निर्मला पन्तको हत्यापछिका धेरै घटनाका प्रत्यक्षदर्शी हुन् धनुष। महेन्द्रनगरमा लगाइएको कर्फ्यु अनि प्रहरीको गोली लागि एक किशोरको मृत्यु र अन्य कयौँ घाइते हुँदा यिनी प्रत्यक्षदर्शी थिए। यी सबै घटनाबारे धनुष जसरी स्पष्ट वर्णन गर्न सक्छन् निर्मला प्रकरणबारे आफैँ त्यति प्रष्ट छैनन्। 'सबै कुरा अरूको मुखबाट नै सुनेको हुँ। सबै जनाले 'रे' मात्र भन्छन्। यस्तै थियो भन्ने भेटेको चाहिँ छैन,' उनले भने। 

निर्मलालाई न्याय दिलाउन गठित संघर्ष समितिकी संयोजक मीना भण्डारीलाई हामीले तपाईँको विचारमा को होला त दोषी भनेर सोध्दा उनले भनिन्, ‘हामीलाई के थाहा? खोज्नु पर्‍यो नि सरकारले। हामीलाई जहिले पनि शंका लाग्ने त्यही घर हो।‘

उनले पनि बम दिदीबहिनीको घरतिर नै औँल्याइन्। 

‘रे’ को चक्कर

हामी महेन्द्रनगर पुग्दा निर्मलाको शव भेटिएको चार महिना भइसकेको थियो। तर, अझै पनि त्यहाँका चोकचोकमा यही घटनासँग सम्बन्धित हल्लाहरु चल्न कम भएको छैन। 

‘बम दिदीबहिनीको घरमा भिआइपीका छोरा र एसपीका छोरा थिए रे। उनीहरुलाई ‘त्यस्तै’ अवस्थामा निर्मलाले देखिछिन् रे। अनि हत्या गरेको रे।'

यो ‘रे’ वाला हल्ला हामीलाई धेरैले सुनाए।

त्यस्तै अर्को धेरै सुनिएको हल्ला थियो- ‘देउता चढ्नेकोमा हेराउन जाँदा निर्मलाको आत्माले 'त्यो दिन मेरी आमा बम दिदीबहिनीको घरमा आउँदा म भित्रै थिएँ, मलाई आँखामा पट्टी बाँधेर जिउसमेत बाँधेर राखिएको थियो' भनेकी थिइन् रे।'

जब, सत्य कुरा सोझो हिसाबमा थाहा पाइँदैन तब मानिसहरु यस्ता अन्धविश्वासबाट सत्यको पहिचानका लागि जुट्छन्। 
फोटो स्रोत : गुगल म्याप
३७ वर्षअघि नमीता,सुनीता,नीरा र चुडामणि हत्या प्रकरणको नसुल्झिएको रहस्यको अनुसन्धान गर्ने नाममा पनि तत्कालीन अञ्चलाधीशले यस्तै अन्धविश्वासी काम गरेको विवरण तत्कालीन सिडिओ सूर्यबहादुर सेन ओलीले आफ्नो आत्मकथामा लेखेका छन्। 
 
त्यसमा लेखिए अनुसार अञ्चलाधीश, कर्णेल, एसपी, स्याङ्जाको सिडिओ र उनी बसेर धामी बोलाएका थिए।  एउटा गाले, झुपुल्ले, कपाले, मोटो, छोटो, अग्लो गुरूङ। अर्को ठीक उल्टो – दुब्लो पातलो, सिखुटे, चुच्चे बाहुन।  

मोटे गुरुङ्गले आदेश गर्न थाल्यो। दुब्लो बाहुनले टुनामुना शुरू गर्‍यो।

‘हेर हेर मनुवा … म सुनीताको मसान … हावालाई … ल्याइदिन्छु। जे सोध्नु छ सोध मनुवा। सबै कुरा थाहा पाउलास्’ बाहुनले काम्दै भन्यो। तुरुन्तै हुँक्का छोडी, छोडी आइमाईको जस्तो रूञ्चे आवाजमा रुन थाल्यो अनि अया गर्दै …… कराउन , चिर्रिन ….. थाल्यो। सुनीतालाई मार्दाखेरि उसले भोगेको कष्ट प्रदर्शन गरेको जस्तो भान भयो।  एकछिनमै बक्न थाल्यो -‘म केके गरुँला, कत्रो मान्छे हुँला भनेर पढ्दै थिएँ। … घुम्न आएका बेला मलाई फकाएर ठूलो घरमा लगे अनि पाँच जनाले छुरी हानेर मारेका हुन्’ भनेर हूँ हूँ गरी रुन थाल्यो।

‘कसरी मारे? त्यहाँ कसरी लगे? त्यो कसको घर हो? मार्नेहरू कस्ता र कोको थिए?,' अञ्चलाधीशले सोधे।

‘सिनेमा हेर्न भनेर त्यो घरमा ल्याए। माथिल्लो तलामा लगेर पालैपालो करणी गरेपछि घर पछाडि रुखको आडमा लगी छुरी हानी मारे। घर चिन्दिनँ, ठूलो घर हो, त्यो घरभन्दा दुई घरमाथि होटल छ। मार्ने ५ जना थिए। एउटा वनको पिउन पनि थियो। ऊ कहिले हामीतिर कहिले गुण्डातिर गर्थ्यो। … उसलाई पनि पछि मारी दिए।’

‘को हुन् ती पाँचजना – कस्ता थिए – नाम बताऊ।’

‘एउटा थानाको पुलिस अफिसर हो, नाम जान्दिनँ, अरूले सर भन्थे, एउटा त्यो पिउन, अरू ३ वटा गुण्डा हुन्, नाम जान्दिनँ' भन्दै फेरि रुन थाल्यो।

एसपी सोध्छन् – ‘पुलिस अफिसर कस्तो थियो? नचिनेका मान्छेसँग कसरी सम्पर्क भयो? त्यस दिन कहाँबाट त्यहाँ आयौ?'
‘मारेर फाल्न बोकेर लग्यो?'

‘अँ पाँच जनाले बोकेर लगे र सेती नदीमा फ्याँकिदिए।’

‘के छुरी नै हानेको?'

‘हो, छुरी हानी हाल्यो छातीमा, म बेहोस भइहालेँ। छुरीले हानी मारेको हो।’


ओलीलाई भने यस्तो कुरा बेफ्वाँकको लाग्यो। किनभने पोष्टमार्टममा छुरी हानेको देखिएकै थिएन।

तर, अञ्चलाधीशदेखि सेना र प्रहरीसम्मका अधिकृत अनुसन्धानको नाममा यस्तो नौटंकीमा फँसेका थिए।
 
३७ वर्षपछि पनि नेपालीको सोच बदलिएको छैन। फरक के छ भने यस पटक महेन्द्रनगरमा धामी बकाइएको ठाउँ यही हो भनेर बताउने कोही थिएनन्। सबै ‘रे’को भरमा कुदेका थिए। 

हामीले भेटेका शिक्षक र वकिलजस्ता बुद्धिजीवी वर्गकाहरु भने अरु झैँ ‘रे’ का भरमा कुदेका देखिएनन्। उनीहरु संयमित किसिमले बोल्थे। तर, शंका उठ्ने वातावरण ‘उनीहरु’ले नै बनाएको भएर शंका उठेको बताउन भने चुक्दैनन्। मिडियामा आएका कुराले झन् अन्यौलमा पारेको उनीहरुको बुझाइ छ।

महेन्द्रनगर बजारबाट २ नम्बर गल्ली छिरेर करिब २ सय मिटर पर गएपछि तिवारी मेडिकल पसल भेटिन्छ। पसल पनि निर्मलाको चर्चाबाट अछुतो छैन। मेडिकलका सञ्चालक वीरेन्द्र तिवारी हुन्। उनी प्रहरीको अनुसन्धानप्रति खासै सन्तुष्ट देखिएनन्। हरेकको जस्तै उनको पनि कन्सपिरेसी थेउरी छ। 

यस्तो हुनसक्छ है भनी उनले सुनाएका कुरा यस्तो थियो- बम दिदीबहिनीको घरबाट उनीहरु ओपेरा होटलमा आए होलान्। त्यहाँ पार्टीसार्टी के थियो, रक्सीसक्सी खाए होलान्। त्यसपछि घर फर्कँदा आमाले थाहा पाउने डरले बमकै घरमा बसेकी होलिन्। राति त्यहाँ घटना भयो होला र लाश फ्याँके होलान्।

कसले?

उनी भिआइपी कोही होला भन्ने शंका गर्छन्।

यो अलि फरक खालको अनुमान थियो। हामीले काठमाडौँमा हुँदा धेरैको अनुमान, व्यक्तिमा एसपीका छोरा र मेयरका भतिजा अनि घटनास्थलमा ‌ओपेरा होटल भन्ने सुनेका थियौँ। महेन्द्रनगरमा एसपीका छोरालाई शंका गर्ने कमै देखिए। 

हाम्रा साथी महेन्द्र बमले सुनाए, 'अहिले मात्रै हो यस्तो। पहिले त एसपीका छोरालाई नै शंका गर्थे।‘ 

डिएनए रिपोर्ट नेगेटिभ आएपछि एसपीका छोरामाथिको शंका कम हुँदै गएको हामीले देख्यौँ। 

महेन्द्रनगर बजारबाट करिब २ किलोमिटर पर नेपाली सेनाको २५ नम्बर बाहिनी पार गरेपछि निर्मलाको घर पुगिन्छ। त्यहाँका बासिन्दाहरु निर्मला प्रकरणमा खासै खुलेर बोलेको पाइँदैन। उनीहरू कसैलाई दोष लगाउँदैनन्। केवल एउटै कुरा भन्छन्- 'हत्यारा चाँडो पत्ता लागोस्।'

हामी पुग्दा निर्मलालाई न्याय माग्दै कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि निर्मलाका आमाबुबा २४ घन्टे धर्नामा बसेका थिए। धर्नामा पुग्ने सबैको एउटै भनाइ थियो, 'बम दिदी बहिनीलाई सबै कुरा थाहा छ। समातेर एक दुई लात हान्नुपर्छ, सबै भन्छन्। हामीलाई दिनुहोस् हामी ३ घण्टामा सबै ओकल्ने बनाइदिन्छौं।'

महेन्द्रनगर बजारमा अटो रिक्सा चलाउनेले राजेन्द्र बडुले सुनाए, 'बम दिदीबहिनी त आइमाई हुन्। तर, यहाँ घटना एसपीको छोरा र मेयरको भतिजाले गरेको भन्ने पनि हल्ला छ। बम दिदी बहिनीलाई समातेर केरकार गर्दा थाहा हुन्छ।'

उनलाई बम दिदीबहिनीलाई प्रहरीले हिरासतमा राखेको समेत थाहा रहेनछ भन्ने लाग्यो। हामीले भन्यौं, - 'अनि उनीहरुलाई त समातेका थिए नि त।' 

उनले आक्रोशित हुँदै जवाफ फर्काए, 'समातेर नानी, मासु खाने कि के खाने भनेर मेजबानी गरेर राखेर सोधेपछि कसैले बताउँछ?’

बम दिदीबहिनीहरुप्रतिको आक्रोश यति थियो कि केही अघि बजारबाट आएको एक हुलले बम दिदीबहिनीको घरमा आक्रमण गरेका थिए। उनीहरुले हानेका ढुंगाले घरको झ्यालका शिशा फुटेका छन्। 

निर्मलाको घर नजिकै भेटिएका दमाइ बाजेले 'बम दिदीबहिनीको घरसम्म एसपी मर्निङ वाकको लागि आउने गरेको सुनेको' बताए। आक्रोशित हुँदै भने, ‘अरु बाटो थिएनन्? किन आउनु त्यो बाटो!'

निर्मलाको छिमेकी एक महिलाले भनिन्, 'त्यो एसपी डोके रहेछ। दुनियाँ साथीसँग बुझ्याँ हुम्। मुख देख्दै रिस उठ्न्या।' 

महेन्द्रनगरका बासिन्दामात्रै हैन, निर्मला प्रकरणबारे अनुसन्धान गरेर प्रतिवेदनसमेत सार्वजनिक गरेका नेपाल मानव अधिकार सङ्गठन (ह्युरोन) अध्यक्ष इन्द्र अर्याल निर्मला प्रकरणमा राज्यको ओहदामा बसेका ठूला व्यक्ति वा उसका सन्तानले घटना गराएको निष्कर्ष निकाल्छन्।

घटनाको प्रकृति हेर्दा सामान्य मानिसले पनि घटना बम दिदीबहिनीको घरसँग सम्बन्धित भएको थाहा पाउने उनको दाबी छ। उनी भन्छन्, 'यो घटनाको दोषी भनेको राजनीतिक संरक्षण प्राप्त उच्च व्यक्तिको सन्तान वा उच्च व्यक्ति हुनसक्ने प्रबल सम्भावना छ।‘
 
 

यी हुन् हल्ला

काठमाडौँमा सुनेका कुरा, सामाजिक सञ्जाल र इमेलमार्फत् यही शृङ्खलाका पाठकहरुसँगको अन्तर्क्रियापछि निर्मला प्रकरणमा हामीले यी ‘रे’ धेरैले सुनेको र तथ्य खोजी गर्नुपर्ने ठानेका छौँ -

•     बम दिदीबहिनीहरुको घरमा नेता, आर्मी, पुलिस लगायत भिआइपीहरुको आवतजावत हुन्थ्यो। त्यो घरमा दिदीबहिनीमात्र बस्थे। उनीहरुको चरित्र ठीक छैन। 

•    एसपी विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर आयुष विष्ट पनि त्यो घरमा जाने गर्थे। (मिडियामा समेत यो विषय आएको छ)

•    बम दिदीबहिनीको घरमा घटना भएको हुनुपर्छ। नभए अम्बाको रुख किन काटियो, घरमा रङ किन लगाइयो? एउटा कोठाको ढोका उनीहरुले नखोलेर बन्द गरेका छन् रे। किन?

•     यो कुकृत्यमा कुनै भिआइपी वा उसको छोराको संलग्नता छ। त्यसैले व्यवस्थित रुपमा प्रमाणहरु नष्ट गरिएका वा नष्ट गर्ने आदेश दिइएका हुन्। घटनास्थलमा कुकुर किन प्रयोग गरिएन?

•    त्यो दिन ओपेरा होटलमा एसपीका छोराको बर्थ डे पार्टी थियो। मोडल बनाउने भनी निर्मलालाई त्यहाँ लगिएको थियो र बलात्कारपछि हत्या गरियो। 

•    निर्मला हराएपछि साइकल जता भेटियो, लाश पनि त्यतै होलान् नि भन्ने बम दिदीबहिनीको प्रतिक्रिया थियो। थाहा नभएको भए उनीहरुले कसरी त्यसो भन्न सक्थिन्?

•    निर्मलाकी आमाले बम दिदीबहिनीको घरमा निर्मलालाई खोज्न आउँदा उनीहरुले किन गेट बन्द गरेर भित्र पस्न दिएनन्? बबिताले पोइल गइहोलिन् नि किन भनिन्?

•     घटनास्थलमा भोलिपल्टमात्र कापी र अम्बा कसरी भेटियो? पानी पर्दा पनि कापी कसरी भिजेन? 

(यी प्रश्नहरुसित हामीले भेटेका तथ्यको विश्लेषणसहित हामी क्रमशः लेख्दै जानेछौँ। बम दिदीबहिनीहरुको बारेमा हामीले महेन्द्रनगर बजारमा र काठमाडौँमा जे सुन्यौँ, उनीहरुको घरमा पुग्दा के देखियो? छिमेकीहरु यी दिदी बहिनीको चरित्रबारे के भन्छन्? पहिलोपोस्टको #WhoKilledNirmala शृङ्खलाको अर्को भागमा)

महेन्द्र बमको सहयोगमा
 

#WhoKilledNirmala शृङ्खला  

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 



'रे' मा रुमल्लिएको निर्मला प्रकरण (#WhoKilledNirmala शृङ्खला ५) को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट