PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा (#WhoKilledNirmala शृङ्खला ४)



पहिलोपोस्ट

निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा  (#WhoKilledNirmala शृङ्खला ४)
यसमा प्रयोग गरिएका सबै नक्सा गुगल म्यापबाट लिइएको हो।

  • कञ्चनपुरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल -
साउन १० गते दिउँसो सवा २ बजे बम दिदीबहिनीको घरबाट निस्किएकी भनिएकी निर्मला पन्त त्यसपछि कहाँ गइन्?

त्यहाँबाट निर्मलाको घर पुग्न साइकलबाट १० देखि १२ मिनेटभन्दा बढी समय लाग्दैन। डेढ किलोमिटर बाटोको बीचमा निर्मला कता हराइन् त? उखुबारीमा लाश त भेटियो। तर, लाश भेटिएको ठाउँ घटनास्थल नहुने सम्भावना पनि लगभग देखिसकियो। त्यसो भए ‘फर्स्ट क्राइम सिन’ कुन हो?

जतिखेर निर्मला त्यहाँबाट निस्केकी भनिएको थियो, त्यसको तीन-चार मिनेटमा ठूलो पानी परेको थियो। कतै निर्मला ओत लाग्न कुनै घरमा त गइनन्? किनभने वर्षे विदाको 'होमवर्क' गरेको कापी उनको साथमा थियो। भिज्नबाट त्यसलाई जोगाउन साइकल त्यतै छाडेर निर्मला ओत लाग्न कतै त गइनन्? गएकी भए कुन घरमा गइन्?

बम दिदीबहिनीको घरबाट निस्केर करिब ४ सय मिटरको दूरी पार गरेपछि वरपर कतै घर नभएको सुनसान ठाउँ आइपुग्छ। बायाँतिर रुख र झाडी छन् भने दायाँतिर खुला खेत। करिब २ सय ४० मिटर ठाउँ यस्तै छ।

त्यसभन्दा पर जाने हो भने, दुई वटा घर देखिन्छन्। दायाँ लोकेन्द्र भट्टको घर र बायाँ चक्रदेव बडुको। वरपर अरु कुनै घर छैनन्।

निर्मला हत्या प्रकरणपछि प्रहरीको अनुसन्धान ती दुई घरमा केन्द्रित भयो।
 
शव फेला परेको भीमदत्त नगरपालिकाको यही वडाका प्रहरी इन्चार्ज जगदीश भट्टका भतिज हुन् लोकेन्द्र। माइलो भन्ने गोपाल चौधरी उनको घरमा बस्छन्।  

त्यो घरमा त्यतिबेला कोही नभएको अनुसन्धानमा खुल्यो। बाँकी रह्यो अर्को घर - चक्रदेव बडुको। 

चक्रकी बहिनी लक्ष्मी बडु निर्मलाकी ‘क्लास मेट’ समेत हुन्। कतै साथीको दाइको घरमा ओत लाग्न त निर्मला गइनन्? शंका उठ्नु स्वभाविक थियो। 

उखुबारीभित्र शव भेटिएको ठाउँबाट करिब ५० मिटरको दुरीमा चक्रको घर। साइकल भेटिएको स्थानबाट करिब १ सय ५० मिटर दुरीमा रहेको काठे साँघु तरेर थप ५० मिटर हिँडेपछि चक्रको घर पुगिन्छ।

प्रहरीले घरका परिवारहरुसित सोधपुछ थाल्यो। सोधपुछका क्रममा परिवारका सदस्यहरुकै कुरा बाझियो।
 
'उहाँ शव भेटिएपछि घटनास्थलमै जानुभएको थियो। त्यहाँको फोटो खिचेर ल्याउनुभएको छ,' चक्रकी श्रीमतीले प्रहरीलाई भनिन्।

तर, चक्रले चाहिँ 'म शव भेटिएको ठाउँमा गएकै छैन। मैले फोटोसमेत खिचेको छैन' भनिरहे। 

बयान बाझिएपछि चक्रमाथिको शंका झन् बलियो भयो।
 
शव भेटिएको स्थान वरपरका मात्र हैन, टाढाका मानिसहरु समेत पुग्दा नजिकै घर भएका चक्रदेव किन गएनन् त? 

यसपछि स्वभाविक रुपमा प्रहरीको शंका उनीतिर तेर्सिनु अनौठो भएन। पूर्व एआइजी नवराज ढकालका अनुसार अनुसन्धानलाई शंकाले सघाउन सक्छ। भने, ‘घटनाको परिस्थिति र प्रमाणले कसैलाई इङ्गित गर्दै गयो भने शंका लागेकै व्यक्तिबाट अनुसन्धान गर्न सकिन्छ।'

प्रहरीले निर्मला 'गायब' भएको दिन चक्रदेव कहाँ थिए भन्ने बुझ्न चाह्यो। प्रहरीको यो शंकाले अनुसन्धानलाई सघाउने सम्भावना बलियो थियो।   

आखिर कहाँ गएका थिए त साउन १० गते चक्रदेव?  उनले प्रहरीलाई भने, ‘म घरमा नै थिएँ।‘ 

तर, उनकी बहिनी लक्ष्मीको फरक भनाइ आयो- 'दाइ मिल जानुभएको थियो।' 

चक्र विगत ५ वर्षदेखि  भारतको मुम्बईमा बस्दै आएका थिए। कक्षा १० सम्म पढेका उनी त्यहाँको होटेलमा बार टेन्डरको काम गर्थे। ६ महिना अघिमात्रै उनी नेपाल आएका थिए। त्यसपछि उनी करिब ५ महिना काठमाडौंमै बसे। घटनाअगाडि डेढ महिनादेखि भने कञ्चनपुरमा नै थिए।

बम दिदीबहिनीको घरबाट निस्केको भनिएको सवा २ बजेदेखि स्थानीय महिला घना भण्डारीले साइकल देखेको भनेको दिउँसो ४ बजेभित्रको समयलाई नै आधार मानेर अनुसन्धानका क्रममा प्रहरीले सोध्दा चक्रदेव घरमै रहेको उनकी श्रीमतीले बताइन्।  

'खाना खाएर म दिउँसो करिब १ बजेतिर कोठाभित्र छिरेँ। उहाँ (श्रीमान् चक्र) मोबाइलमा प्रभास हिरोको फिलिम हेर्दै हुनुहुन्थ्यो। त्यस्तै १५ मिनेट हेरिसकेपछि निद्रा लाग्यो। सुतेँ। ब्युँझिदा त करिब ४ बजिसकेको रहेछ,' चक्रदेवकी श्रीमतीले भनिन्। 

तर, चक्रदेवले भने प्रहरीलाई आफूले प्रभासको हिन्दी फिल्म नहेरेर अंग्रेजी फिल्म हेरेको बताए। 

फेरि कुरा बाझियो। 

त्यतिखेर बडु दम्पतीलाई फरक-फरक स्थानमा प्रहरीले बयानमा लिएको थियो। बयान बाझिन थालेपछि थप अनुसन्धान गर्न साउन २१ गते बिहान प्रहरीले बडुलाई नियन्त्रणमा लियो।

चक्रको घरबाट निर्मलाको शव फेला परेको स्थान करिब ५० मिटरको दूरीमा छ। उनको घरबाट उखुबारी प्रस्ट देखिन्छ।
 
निर्मलाको शव फेला परेको दुई साता हुन लाग्दासमेत अपराधीको सुइँकोसमेत नपाएको प्रहरी आफैँ घनचक्करमा फसेको थियो। यसअघि प्रहरीले घटनालगत्तै कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगीलाई नियन्त्रणमा लिएको थियो।

यिनै दुई जनाको नाम गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले साउन १७ गते संसदमा लिएका थिए।
 

तर, घटनामा दुवैको संलग्नता देखिएन। दीपक रोगी थिए। थप अनुसन्धानले उनी घटनामा जोडिएको देखाएन। 

जीवनले चाहिँ प्रहरीसामु स्वीकारे, ‘हो, मैले मारेकै हुँ।‘ 

प्रहरीले ‘कसरी मारिस्?’ भनेर सोध्दा उसले भनेको थियो, ‘हान्दिएँ नि, खुकुरी हानेर छप्काइदिएँ।‘ 

निर्मलाको शवमा खुकुरीको चोटको कुनै संकेत थिएन। हत्या स्वीकार गर्ने जीवन मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् भन्ने चाल पाएपछि यिनी पनि शंकाको घेराबाट बाहिरिए।

अब, हिरासतमा बाँकी थिए चक्र। शंकाका केही आधार थिए तर ठोस प्रमाण थिएन। उनीमाथि थप अनुसन्धान सुरु हुन्छ। 

'सेतो सर्ट लगाएको, पातलो कद, हल्का दाह्री पलाएको एउटा केटो निर्मलाको साइकल देखिएको दिन यतै बसेको देखेको थिएँ,' एक स्थानीयले प्रहरीलाई दिएको जानकारी ठ्याक्कै चक्रको हुलियासँग मिल्न जान्थ्यो। हुलियाले पनि प्रहरीको शंकालाई बलियो बनाउँदै थियो। 

घरमा गर्भवती श्रीमती। बुबा अनि एक जना भाइ र बहिनी। दाजु महेश रोल्पाको प्रहरी चौकीमा कार्यरत। भाउजु भारतको बनवासा गएकी। बुबा र बहिनी घटना भएको भनेर अनुमान गरिएको दिउँसो साढे २ बजेदेखि ४ बजेको समयमा घरमै थिएनन्।  

शंकाको एउटा दृश्य यस्तो उब्जियो - निर्मला पानी परेकाले  साथीको दाइ चक्रको घरमा ओत लाग्न पुगिन्। गर्भवती श्रीमतीबाहेक अरु कोही घरमा नभएको अवस्था। श्रीमती पनि एउटा कोठामा सुत्न गइसकेकी। 

एक्लै भएको बेला तीव्र यौनइच्छाको सम्भावना। त्यही झोकमा अर्को कोठामा वा उखुघारी छेउको चौरमा बलात्कार। घटनापछि चिनिने डरले घाँटी थिचेर मारी हत्या अनि राति कसैले थाहा नपाउने गरी उखुबारीमा लगेर फालेका त होइनन्?
 
अनुसन्धानकर्मीको शंकालाई थप बल दिने काम उनकै ११ वर्षका भाइ गौतमको कुराबाट हुन्छ। 

साइकल भेटिएको दिन नै दिउँसो ३ बजे आएका गौतमलाई चक्रले सानिमाकहाँ पठाए। सानिमा कहाँबाट साँझ ६ बजेतिर फर्किएका उनलाई लगत्तै चक्रले फेरि भाउजुको माइत पठाए। 

भाइलाई भाउजुको माइतमा किन पठाउनु पर्‍यो? अनुसन्धानकर्मीले यो प्रश्नको जवाफ पाउन सकेका थिएनन्। जसले शंका दरिलो बनाइरहेको थियो।

निर्मलाको शव भेटिएको ठाउँमा गएका छौ कि छैनौ भनेर सोध्दा परिवारबाटै फरक फरक कुरा आएको थियो। पटक पटक प्रहरीले चक्रलाई प्रश्न गरेको छ। र, हरेक पटक उनले आफू उखुबारीमा जाँदै नगएको बताएका छन्। 

प्रहरीले उनको मोबाइलको कल डिटेल रेकर्ड र कल लोकेसन सबै हेर्छ। कल डिटेलमा कुनै शंकास्पद कुरा भेटिन्न। त्यसपछि उसको मोबाइल अनुसन्धानका लागि काठमाडौँको डिजिटल फरेन्सिक ल्याबमा पठाइयो। 

यस्तो ल्याबबाट मोबाइलमा डिलिट भइसकेका फोटो, च्याट लगहरु आदि पनि रिकभर हुनसक्छ।   
 
चक्रलाई हिरासतमा नै राखी प्रहरीले अरूतिर पनि अनुसन्धान गरिरहेको हुन्छ। केही दिनपछि ल्याबबाट रिपोर्ट आउँछ, जुन देखेर अनुसन्धानमा जुटिरहेको प्रहरीको टिम आफैँ चकित हुन्छ।

रिकभरपछि चक्रको मोबाइलमा घटनास्थलका १२ वटा फोटो भेटिए। त्यसो त, श्रीमतीको बयानबाट नै झुटो साबित भइसकेका थिए, चक्र। श्रीमतीले त शव भेटिएको ठाउँमा गएकै बताएकी थिइन्। 

आखिर किन उनले झुट बोले? 

चक्रको बयान झुटो साबित भएपछि प्रहरीले जिल्ला अदालतबाट सार्वजनिक अपराधमा म्याद थप गरी अनुसन्धान गरिरहेको थियो। अदालतबाट उनीमाथि अनुसन्धानका लागि दोस्रो पटक पनि म्याद थप भयो।

डिजिटल फरेन्सिक ल्याबबाट रिपोर्ट आइसकेपछि पनि प्रहरीलाई चक्रले घटनास्थल जाँदै नगएको बताउँदै आइरहेका थिए। १२ वटा डिलिट गरिएका फोटो भेट्टाइसकेको प्रहरी उनलाई छोड्ने पक्षमा थिएन।   

त्यसैले चक्रलाई बकाउन प्रहरीले फरक फरक उपाय अपनाइरहन्छ। 

अन्ततः उनले नबोली सुखै पाएनन्। मुख खोले, 'मोबाइलमा पाँच वटा फोटो थियो सर।'

चक्रको झुटको पर्दा खुल्दैछ। घटनास्थलमा नगएको भए कहाँबाट आयो फोटो?

‘मैले खिचेको हैन, अरुको मोबाइलबाट ‘सेयर इट’ मार्फत् सारेको हुँ,' चक्रको दावी। 

प्रहरीले फेरि सोधे – 'कसको मोबाइलबाट सारेको?' 

तर, उनी नाजवाफ। 

हत्या गरेर शव फ्याँकेपछि त्यहाँको फोटो कसैले किन खिच्छ? त्यसको जवाफ भने प्रहरीले अनुसन्धानमा खोजेको देखिएन। 

अनुसन्धानको त्यो बिन्दुमा प्रहरीलाई हत्याराछेउ पुगे झैँ लागिसकेको थियो। तर, प्रमाण के त? यसको जवाफ भने प्रहरीसँग थिएन।
 
चक्रदेवको झुटले शंका त उब्जायो तर उनले घटना गराएको स्वीकारेनन्। न त गतिलो प्रमाण नै फेला पर्‍यो। 

अनुसन्धानका क्रममा निर्मलाको शवबाट ‘भेजिनल स्वाब’ निकालिएको हुन्छ। त्यसलाई ल्याबमा पठाउँदा त्यसमा पुरुष वीर्यको डिएनए भेटिएको रिपोर्ट पनि आइसकेको हुन्छ।

त्यसो भए डिएनए परीक्षण गरे तथ्य खुल्न सक्छ। बडुको रगत निकालिन्छ र काठमाडौँ पठाइन्छ।

धेरैलाई थाहा नहोला, प्रहरीले निर्मला हत्या बलात्कार प्रकरणमा पहिलो पटक डिएनए गराएका व्यक्ति चक्र बडु नै हुन्।

रिपोर्ट आउँछ, नेगेटिभ। अर्थात्, निर्मलाको योनीभित्र भेटिएको पुरुष वीर्यको डिएनए चक्र बडुको डिएनएसित मिलेन। 

अनुसन्धान फेरि शून्यमा पुग्छ। ५ हजार धरौटी बुझाएर ११ दिनपछि चक्र हिरासतमुक्त हुन्छन्।

‘ऊमाथि शंका गर्ने धेरै कारणहरु देखिएकाले नियन्त्रणमा लिएको देखिन्छ,’ कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले भने, 'डिएनए नमिलेपछि ऊ अहिले हाम्रो अनुसन्धानको घेरामा छैन।' 

जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसँग डिएसपी ज्ञानबहादुर सेती निलम्बनमा परेपछिमात्रै ओझा यहाँ सरुवा भएर आएका हुन्। 

आफैले बोलेका एकपछि अर्को झुटले चक्र प्रहरीको शंकाको घेरामा परेका थिए। चक्रले किन त्यसरी झुट बोले, अहिलेसम्म खुल्न सकेको छैन। 

अहिले उनी रोजगारीको सिलसिलामा फेरि पहिले झैँ भारत पुगिसकेका छन्। उनका बुबालाई भने हामीले कञ्चनपुरको धर्नास्थलमा भेटेका थियौं। उनी अहिले पनि 'निर्मलाका लागि न्याय'को धर्नास्थलमा नै पुगेर आवाज उठाइरहेका छन्।

(महेन्द्र बमको सहयोगमा)

(हामी कञ्चनपुर पुग्दा धर्नास्थलमा निर्मलाका बुबा, आमा, सौतिनी आमा तथा अधिकारकर्मीहरु थिए। अहिले धर्नास्थलमा सौतिनी आमामात्र छिन्। बुबालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। सँगै आमा पनि आएकी छिन्। बम दिदीबहिनीको घरमा जाने भनेर निर्मला गएकी र घर नफर्किएका कारण शंकाको सुई त्यहाँ पनि तेर्सिएको छ। के फर्स्ट क्राइम सिन बम निवास हो? किन स्थानीयबासीले बम निवासमा ढुंगा हानी आक्रमण गरे? चार महिना भइसक्यो, महेन्द्रनगरका चोकचोकमा अझै निर्मलाको चर्चा छ। कस्तो छ चर्चा? कसलाई दोषी मान्छन्, उनीहरु? पहिलोपोस्टको  #WhoKilledNirmala शृङ्खलाको अर्को भागमा)

#WhoKilledNirmala शृङ्खला  

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२ : निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell