PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' (#WhoKilledNirmala शृङ्खला १०)



पहिलोपोस्ट

निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' (#WhoKilledNirmala शृङ्खला १०)
एसएमएसको प्रतीकात्मक दृश्य

  • महेन्द्रनगरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल -
'आज निर्मला घरमा छैन, भोलि कल गर्नू।'

निर्मला पन्तको बलात्कार र हत्यापछि सम्भावित अपराधीको 'क्लु' खोजिरहेको स्थानीय प्रहरीलाई सघाउन काठमाडौँबाट सिआइबीको टोली खटिएको थियो। टोलीले टेक्निकल पार्टमा पनि सघाइरहेको थियो। 

घटनास्थल वरपरका एनसेल र नेपाल टेलिकमका टु जी र थ्री जी दुवै टावरमा ठोक्किएका सबै मोबाइल नम्बरहरुको अनुसन्धान जारी थियो - कुन नम्बरबाट कति बेला, कुन नम्बरमा, कुन ठाउँबाट फोन गरेको थियो? एसएमएसहरु स्क्रिनिङ भएका थिए। 

‘निर्मला’ किवर्ड राखेर सर्च गर्दा भेटिएको एउटा एसएमएसले प्रहरी झस्कियो। यो एसएमएस कसले कसलाई पठायो? अनुसन्धान गर्दा एक युवतीले युवकको मोबाइलमा त्यो एसएमएस पठाएको खुल्यो।  

ती युवतीले कसलाई 'निर्मला घरमा नभएको र भोलि कल गर्नु' भनेकी हुन्? निर्मलाको बारेमा जानकारी दिनुपर्ने कारण के थियो?
***

'रिसइबी साँध्ने त सौता हो, तर उनीहरु अहिले इन्डियामा छन्।'

निर्मलाको शव भेटिएपछि सुरुका दिनमा प्रहरीले निर्मलाकी आमा दुर्गादेवी पन्तलाई तपाईँलाई को माथि शंका छ त भनेर सोध्दा उनले यस्तो भनेकी थिइन्। 

लगातार तीनवटी छोरी जन्मिएपछि १० वर्षअघि नै श्रीमान् यज्ञराज पन्तले लक्ष्मीलाई दुर्गादेवीको सौताका रुपमा भित्र्याएका थिए। आफूले खोजेकी बुहारी (दुर्गादेवी)ले दुःख पाउलिन् भन्ने लागेर ससुराले २८ धूर जग्गामध्ये आधा बुहारीको नाममा गरिदिएका थिए। साँध जोडिएको आधा जग्गा बेचेर यज्ञराज कान्छी श्रीमतीसँग भासीमा अलग्गै बस्न थालेका थिए। ठेलामा पानीपुरी, चटपटे बेचेर जीविकोपार्जन गर्थे, उनीहरु। लक्ष्मीले भने पहिलो सन्तान नै छोरा जन्माइन्।
 
निर्मलाको शव फेला पर्दा यज्ञराज कान्छी श्रीमतीसँग भारतमा थिए, गुरु पूर्णिमाका लागि राधेराधेको एउटा धार्मिक कार्यक्रममा सहभागी हुन। टोलीमा रहेकी एक महिलाको भारतीय सिममा उनैका दाजुले फोन गरेपछि यज्ञराजले बल्ल यो घटनाबारे जानकारी पाए र फर्किए।

महेन्द्रनगरको धर्नास्थलमा हामीसँग कुरा गर्दै यज्ञराजले भनेका थिए, 'फर्केर आउँदा गड्डाचौकी बोर्डर कट्ने बित्तिकै यो (कान्छी श्रीमतीलाई देखाउँदै) रुन थाली।' अहिले पनि नेताहरु भेट्न आउँदा आमाभन्दा कान्छी आमा बढी रोएको दृश्य युट्युबमा भेटिन्छन्। 

'८० प्रतिशतभन्दा बढी बलात्कारका घटना चिनजानकै मान्छेबाट हुन्छ र चिन्ने डरले हत्या गर्छ' यो तथ्यबाट निर्देशित भएर आफन्त र चिनजानका मानिसबाटै अनुसन्धान गरी केही 'क्लु'को खोजी गरिरहेको थियो, प्रहरी। 

भारतमा रहेका बाबुले नेपालमा छोरीको हत्या भएको खबर कसरी पाए? कसले दियो? यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छ कि भनेर समेत अनुसन्धान भएको देखिन्छ।

'तपाईँका बारेमा हामीले सबै बुझेका छौँ। तपाईँ निर्मलाको परिवारसँग धेरै वर्षदेखि सँगै बस्नुहुँदो रहेनछ, नत्र हामी तपाईँबाटै पनि अनुसन्धान गर्थ्यौँ। किनभने बाउले छोरीलाई 'रेप' गरेका धेरै घटना पनि छन्। तर पनि तपाईँलाई कसैमाथि शंका लाग्छ भने भन्नुस्। कोही आफन्त, साथीभाइले शंकास्पद व्यवहार गर्थ्यो भने भन्नुस्। छोरीको कुनै ब्वाइफ्रेन्ड थियो भने नलुकाउनुस्, तपाईँहरुले सबै भन्नुपर्छ अनि अनुसन्धानमा सहज हुन्छ,'  यज्ञराजलाई अनुसन्धान गर्नेहरुले पटकपटक सोधेका थिए। 

४० नकटेकी आमा दुर्गादेवी श्रीमानले छाडेपछि छोरीहरुसँग मात्र घरमा बस्दै आएको धेरै वर्ष भयो। अरु कुनै पात्र पो छ कि भन्ने कोणबाट पनि अनुसन्धान गर्‍यो प्रहरीले। 

निर्मलाको मोबाइल थिएन। कसैलाई फोन गर्नुपरे निर्मलाले आमाकै मोबाइलबाट गर्थिन्। आमाकै मोबाइलबाट निर्मलाकी १० कक्षा पढ्ने दिदी मनीषाले पनि फोन गर्थिन्। 

आमाको मोबाइलको कल डिटेल हेर्दा 'आज निर्मला घरमा छैन, भोलि कल गर्नू' भनेर एसएमएस पठाउने सपना*सित पनि सम्पर्क भएको देखियो।
 
कल लोकेसन रेकर्ड हेर्दा जुन दिन निर्मला हराएकी थिइन्, त्यही दिन बिहान सपनाको मोबाइल निर्मलाको घर आसपास एक्टिभ भएको पनि देखिन्छ।

त्यसपछि साउन १८ गते सपनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिन्छ। 

'तपाईँ मोबाइल बोक्नु हुन्छ?'
 
प्रहरीले सपनालाई पहिलो प्रश्न गर्छ।

'अहँ, बोक्दिनँ।'

पहिलो प्रश्नमै झुटो बोलेपछि झन् शंका बढ्छ। मोबाइल चलाउने प्रमाण भेटिसकेको प्रहरी उनलाई त्यसै छाड्ने पक्षमा हुन्न। प्रहरीले विभिन्न तरिका लगाएर सपनाबाट साँचो ओकलाउने प्रयास गर्छ। 

अन्ततः उनले मोबाइल बोक्ने गरेको स्वीकार गर्छिन्।
 
प्रहरीले उनले बोक्ने गरेको मोबाइलको आइएमइआई नम्बरमा कुन कुन सिम एक्टिभ भएको छ भन्ने डिटेल खोज्छ। र, अर्को आश्चर्यजनक तथ्य फेला पर्छ - सपनाको त्यो मोबाइलमा एउटा हैन, १६ वटा सिम एक्टिभ भएको देखिन्छ। त्यो पनि छोटो समयको अन्तरालमै।

कलेज पढ्दै गरेकी युवतीले यति चाँडो यति धेरै सिम किन परिवर्तन गरिन्?

प्रहरीले सोध्छ। सपना आफूले त्यति धेरै सिम कार्ड बोकेको पनि स्वीकार गर्दिनन्।
 
पछि उनको कोठाको दलिनमा सिमकार्डहरु लुकाएको फेला पर्छ।
    
निर्मलाको हत्या साउन १० गते दिउँसो २ बजेदेखि ४ बजेको बीचमा भएको निष्कर्षमा पुगेको हुन्छ प्रहरी। सपना २ देखि ५ बजेको समयमा कहाँ थिइन्? उनीसँग अरू कोही थिए?  प्रहरीको लागि अनुसन्धानको विषय बनेको हुन्छ।

प्रहरीले फेरि एउटा नयाँ तथ्य फेला पार्छ। निर्मलाको शव भेटिएको स्थानमा जुन मोबाइल टावरको कभरेज हुन्छ, त्यही टावरकै सम्पर्कमा सपनाको मोबाइल पनि रहेको देखिन्छ। प्रहरीको शंका झन् झन् बलियो हुँदै जान्छ।

सपनाको मोबाइलमा एकै पटक धेरै केटाहरूसँग पनि सम्पर्क भएको देखिन्छ।

अब उसका प्रत्येक एसएमएसमाथि प्रहरीको अनुसन्धान हुन थाल्छ। एउटा एसएमएसले फेरि अनुसन्धानकर्मीहरु झस्किन्छन्, 

'त्यो केटी छाड्देऊ। त्यो भन्दा राम्री मिलाइदिन्छु।'

आखिर के गर्थिन् सपना?

एकपछि अर्को शङ्कास्पद गतिविधिले सपना फँस्दै जान्छिन्। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रहरीले दिनहुँ केरकार गरी सत्य ओकलाउन प्रयास गर्छ। 

अन्ततः सपनालाई साँचो नबोली धरै भएन।

जुन दिन निर्मला हराएकी थिइन्,  त्यो दिन बिहानको खाना खाएपछि उनी एउटा कामले महेन्द्रनगर बजार गएकी हुन्छिन्। सपना बजार जाने बाटो र निर्मलाको शव भेटिएको स्थान नजिकै हो। त्यसैले टावर एउटै देखिएको खुल्छ।

ढिलै सही, उनले १६ वटा सिम प्रयोग गरेको पनि स्वीकार गर्छिन्। 'निर्मला आज घरमा छैन, भोलि कल गर्नु' भनेर पनि आफूले नै म्यासेज गरेको पनि बताउँछिन्।

तर, नाम निर्मला भए पनि थर अर्कै भएकी सपनाकी साथीसित मोबाइल रहेनछ। तिनले सपनाकै मोबाइलबाट आफ्नो ब्वाइफ्रेन्डसँग कुरा गर्दी रहिछिन्। त्यही साथीले भने अनुसार उनले उसको ब्वाइफ्रेन्डलाई एसएमएस गरेर 'निर्मला आज छैन भोलि कल गर्नु' भनेको बताइन्।

पटक पटक झुट बोल्दै आएकी सपनाको कुरा सहजै विश्वास गर्ने पक्षमा अनुसन्धानकर्मी हुँदैनन्। को हो त त्यो ब्वाइफ्रेन्ड?  

सपनाले भनेको केटालाई झिकाएर सोधपूछ गर्दा उसको कुरा सत्य साबित हुन्छ। सपनाका शङ्कास्पद व्यवहार, संयोग मिल्न गएको म्यासेज र परिवार समेतलाई 'मोबाइल बोक्दिनँ' भन्ने झुटले उनी पनि शंकाको घेरामा परिन्। फरक थरकी निर्मलामात्र होइन, सपनाले एकै पटक ८ जना युवकसँग 'प्रेम' सन्देश आदानप्रदान गरेको तथ्य पनि उनकै मोबाइलको एसएमएसहरुबाट फेला पर्‍यो। 

पाँच दिनको अनुसन्धान पछि सपना प्रहरी शङ्काको घेराबाट बाहिरिइन्। र, उनीसँगै भेटिएको एउटा 'क्लु' र शंका समाप्त भयो। 

*स्थलगत अनुसन्धानमा जुटेका जानकारीहरुले देखाएका तथ्य र अनुसन्धानकर्मीले समेत निर्मला प्रकरणमा उनको कुनै संलग्नता नभएको भनेर क्लिन चिट दिइसकेका कारण हामीले युवतीको परिचय गोप्य राख्नका लागि नाम परिवर्तन गरेका हौं। 

महेन्द्रनगरमा महेन्द्र बमको सहयोगमा

(प्रहरी र गृहमन्त्रीको कमजोरीका कथाहरु एकएक गर्दै सार्वजनिक भएपछि धेरैलाई लाग्यो होला – WhoKilledNirmala शृङ्खला त सकियो। पहिलोपोस्टले थालेको शृङ्खलाको यो दशौं भाग हो र यो अहिले नै टुंगिने अवस्था छैन। धेरै पहेलीहरु अझै उजागर भएका छैनन्, प्रतीक्षा गर्नुस्।)
 

#WhoKilledNirmala शृङ्खला  

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell