PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए? (#WhoKilledNirmala शृङ्खला १८)



पहिलोपोस्ट

को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए? (#WhoKilledNirmala शृङ्खला १८)
सांकेतिक फोटो

  • उमेश श्रेष्ठ र सविन ढकाल -

साउन १० गते बिहान उल्टाखामबाट निर्मला पन्त साथी रोशनी बमको घर गइन्। 

त्यहाँबाट उनी कहाँ गइन्, कसैले यकिन भन्न सकेका छैनन्। 

भोलिपल्ट उखुबारीमा शव भेटियो।

धेरैको शंका छ - बम दिदी बहिनीसहित निर्मला महेन्द्रनगर बजारमा रहेको ओपेरा होटलतर्फ लागिन्। त्यहाँ एसपी दिल्लीराज विष्टका छोरा किरण विष्ट आफ्ना साथीहरुसहित फोटो सेसन गर्दै थिए। 

हामीलाई बजारमा धेरैले 'रे'का आधारमा सुनेको कुरा बताए, 'एसपीका छोराको बर्थ डे पार्टी त्यहाँ भएको थियो। त्यही पार्टीमा मोडल बनाइदिन्छु भन्ने आश्वासन दिएर निर्मला र बम दिदी बहिनी पनि पुगेकी थिइन्।'

हामीसित गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन थियो, जसमा विष्टलाई शंकास्पद भनिएको छ। कारण उनले आफ्नो बयानमा साउन १० गते (जुन दिन निर्मला हराएकी थिइन्) दिउँसो २ बजेपछि होटल ओपेरामा 'मैले नचिनेका तीन जना केटीहरु पनि थिए' भनेका थिए। 

ती तीन केटीमध्ये एक निर्मला हो कि भन्ने शंका उनका बुबा यज्ञराजले नै गरेको खबर मिडियामा आएको थियो। अर्का दुई जना बम दिदी बहिनी हुनुपर्ने 'हल्ला' भयो। 

***

‘तँ नै होस् निर्मलाको बलात्कारी भनेर तिम्रै अगाडि नै कसैले भन्यो भने के गर्छौ?’

हाम्रो सोझो प्रश्नको झटारो।

‘हजुSSSर! (प्रमाण) खोजेर ल्या, मलाई जेल लग,’ दुई हात जोड्दै उनले छोटकरीमा जवाफ दिए। 

ल्याङफ्याङे शैलीमा अनुहार आधा छोपिने गरी कालो मास्क लगाएर दरबारमार्गको सडकमा कसैलाई कुरेर बसिरहेका अग्लो कदको एक युवक नै किरण विष्ट होलान् भनेर हामीले अनुमान नै गरेका थिएनौं।  

किरण अर्थात् एसपी दिल्लीराज विष्टका छोरालाई पहिलोपटक भेट्दा हामीले धेरैको मनमा रहेको प्रश्न सिधै सोधेका थियौं।

‘प्रमाण त सबै मेटाइसक्यो होला नि। कहाँबाट भेटिन्छ?,’ हामी छाड्ने पक्षमा थिएनौं।
 
‘म बम दिदीबहिनीहरुको घरमा जान्छु भनेका छन् हैन? ल एक दिनको पनि उनीहरुलाई मैले फोन गरेको कल डिटेल रेकर्ड लिएर आउनु। बाइ चान्स उनीहरुको नम्बरमा कल गएको रहेछ भने पनि म जान्छु जेल ल,' उनले चुनौती नै दिए। 

हामीलाई उनको भनाइमात्र राखेर दावीकारिता गर्नु थिएन। त्यसैले दुई महिनासम्म उनको भनाईलाई अनुसन्धानमा संलग्न प्रहरी, उनीसँग रहेका भनिएका साथी, प्रतिवेदन र अन्य उपलब्ध डकुमेन्टहरुमा रहेका तथ्यसँग भेरिफाइ गर्दै रह्यौं।  
  
किरण विष्टलाई केही मिडिया, फेसबुक, ट्विटर र युट्युब लगायतका सोसल मिडिया र भिडले समेत आफ्नै इजलासबाट बलात्कारी र हत्याको दोषी ठहर गरिरहेका थिए।
 
निजामती कर्मचारी (सहसचिव हरिप्रसाद मैनाली) को नेतृत्वमा गृह मन्त्रालयले बनाएको विशेष छानबिन समितिले समेत प्रतिवेदनको पेज २७ मा रहेको ‘प्राप्त तथ्यहरुको मूल्याङ्कन र विश्लेषण’ खण्डमा उनको ‘व्यहोरा शंकास्पद देखिएको’ उल्लेख गरिएको छ।
 
तर, अनुसन्धान गर्ने निकायले भने केही भेट्टाउनै सकेन। छिसिक्क केही प्रमाण भेटिए भिडले देखाइदिएको 'व्यक्ति'लाई अनुसन्धान गर्न पाए त आफूहरुलाई नै हाइसन्चो हुने अनौपचारिक कुराकानीमा प्रहरीहरु नै बताउँछन्।

एसपी विष्टका छोराको नाम घटना भएको लगभग एक महिनापछि मात्रै जोडियो। त्यसैले अनुसन्धान गर्ने पहिलो टोलीले त उनलाई अनुसन्धानको घेरामा समेत राखेको थिएन।

प्रहरीको पहिलो टोलीलाई प्रतिस्थापन गरी दोस्रो टोलीले कमान्ड सम्हालेपछि जनआवाजका कारण एसपी विष्टका छोरामाथि अनुसन्धान भएको थियो। जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले भने, 'हामीले किरण विष्टको प्राविधिक पक्षदेखि सबै कुरा हेरेका थियौं। तर, कुनै पनि कनेक्सन देखिएन।' 

उनको कल डिटेल रेकर्ड, कल लोकेसन रेकर्ड, एसएमएस, फेसबुक लगायतका सम्पूर्ण विवरण हेर्दा पनि घटनासँगको कुनै लिङ्क नभेटिएको ओझाको भनाई छ। 

त्यसमाथि, डिएनए म्याच भएन। 

'डिएनए नभइदिएको भए कति महिना पुर्पक्षका लागि थुनामा जाकिन्थ्यो होला त्यो केटो,' हामीले भेटेका धेरै अनुसन्धानकर्मीले यस्तै आशयसमेत सुनाए। 

डिएनएको रिपोर्ट उनका लागि भगवान बनिदियो।


सांकेतिक फोटो। 

***

'भगवानले हेरेको छ के सब कुरा!'

हामीसित कुरा गर्दा उनी पटकपटक भगवानप्रतिको विश्वास व्यक्त गरिरहेका हुन्थे।
 
'डिएनए टेस्ट गर्ने भन्ने बित्तिकै दिमागमा के आयो त?' हामीले सोध्यौँ।

‘केही नि आएन, बालै भएन,’ पहिलो भेटमा उनले जवाफ फर्काएका थिए, ‘गल्ती छैन भने किन डराउने, चेक गर्नुस्।'

दोस्रो पटक हामीले उनलाई महेन्द्रनगरमा स्थलगत रिपोर्टिङबाट फर्किएपछि भेट्यौं। फेरि सोध्यौं, ‘डिएनए केही गरी मिल्यो भनिदिने पनि सम्भावना हुन्थ्यो नि। डर लागेन?’

'कसरी मिल्छ?’, विष्टले ‘छ’ अक्षरलाई लामो समयसम्म उच्चारण गर्दै आत्मविश्वासी शैलीमा जवाफ फर्काए।

‘मिल्दैन हो, तर मिल्ने देखाइदिन त सकिन्छ नि’  

‘एक ठाउँमा मिलेको देखाउला रे, सबै ठाउँमा मिलेको कसरी देखाउन सकिन्छ? विदेशमा गरायो भने के हुन्छ?’

किरणलाई सानैदेखि इन्जेक्सन भनेपछि साह्रै डर लाग्ने रहेछ। तर, डिएनए टेस्टका लागि महेन्द्रनगरमा इन्जेक्सनबाटै उनको रगत निकालियो।

रगतको नमूनाले नपुगेर राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा उनको मुखबाट ‘बकल स्वाब’को नमूना पनि लिइयो। 

'१० मिनेटसम्म मुखमा के कोच्चायो, के कोच्चायो। यता कोचेको छ, उता कोचेको छ। मुखै दुख्यो कति दिनसम्म,’ हाँस्दै सुनाए, ‘डिएनए त जहाँको गरे पनि एउटै आउने हो नि, हैन?'

डिएनए नमिलेपछि उनलाई शंका गर्नेहरुको संख्या केही कम त पक्कै भएको हो। तर, पूरै रोकिएको छैन। फेसबुकको मेसेन्जरमा उनलाई व्यक्तिगत रुपमा नै गालीगलौज र धम्की आउने क्रम जारी छ।
 
त्यतिमात्र होइन, मोबाइलमा फोन गरेर मार्ने धम्कीसमेत आइरहे। 

‘मैले समितिका मानिसलाई मेरो सबै मोबाइल हेर्नुहोस्, चेक गर्नुहोस् तर मोबाइल नम्बर सार्वजनिक नगर्नुहोस् भनेको थिएँ। समितिको प्रतिवेदन सार्वजनिक गर्दा मेरो मोबाइल नम्बर पनि राखेको रहेछ। पछि त मोबाइलमा फोन गरेर मार्ने धम्कीसमेत आउन थाल्यो,’ उनले भने।

जब 'मिडिया ट्रायल'ले दोषी बनायो

साउन १० गते निर्मला पन्त हराएकी थिइन्। भोलिपल्ट शव भेटिएको थियो। तर, झण्डै एक महिनापछि मात्रै उनको नाम जोडियो।
 
किरण सम्झन्छन्, भदौ ८ गते अनलाइनमा उनको नाम पहिलो पटक मुछिएको। त्यसमा लेखिएको थियो
 

स्थानीयका अनुसार त्यो (बम दिदी बहिनीको) घरमा दुईजना केटाहरु प्राय आवत् - जावत गरिरहन्थे। पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन्। अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन्। स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने-जाने गर्थे। (समाचारको लिङ्क)


उनले फोन गरेर सोधे मिडियामा। तर, उनका अनुसार 'हामीसँग प्रमाण छ' भनेर जवाफ दिइयो। 'खै त प्रमाण?,' उनले हामीलाई पो सोधे। 

तर त्यो समाचार थुप्रै अनलाइनहरुमा कपिपेस्ट हुँदै झन् झन् फैलँदै गयो। 

सुरुमा हल्ला मेयरका छोरा भन्ने थियो। पछि मेयरका छोरा सानै उमेरका छन् भन्ने चाल पाएपछि उनीसँगै बम दिदी बहिनीको घरमा आउजाउ  गरिरहने अर्का युवक चाहिँ मेयरका भतिजा हुन् भन्न थालियो। 

अनि उनलाई कुनै मिडियाले पनि उनको भनाई के छ भनेर सोधेन त?

'कसैले मलाई केही सोधेको छैन। तपाईँहरुसित हो फर्स्ट टाइम मैले कुरा गरेको। तपाईँहरु पनि ह्युमन राइट्सवाला हो कि के हो, मलाई थाहा भएन,’ उनले हामीमाथि नै शंका गरे। 

र भने, ‘मेरो पनि ह्युमन राइट्स छ। गलत भएको भए मलाई समात्नुस्।‘

मिडियामा किन नगएको त?

‘मिडियामा जाउँ भनेको। कोहीसँग कन्ट्याक्ट छैन। बाउलाई भन्यो, झन् टेन्सन हुन्छ। त्यसैले चुपचाप,’ लाचारी देखाउँदै उनले भने। 

आफ्नो नाम मुछिएपछिको पहिलो हप्ता त उनलाई अति प्रेसर भयो। किन यस्तो भयो, मैले के गरेको थिएँ र भन्ने भइरह्यो,’ उनले भने, ‘अहिलेसम्म शक मै छु, किन यस्तो भयो भनेर।‘

डिएनए रिपोर्ट सार्वजनिक भइसकेपछि उनले कात्तिकमा आफ्नो फेसबुकमा खुलापत्र लेखेर राखेका थिए। ‘म नेपालीमा अलि कमजोर छु। त्यसैले दाइहरुलाई यसलाई नेपालीमा के हुन्छ भनेर सोधी सोधी लेखेको हुँ,’ उनले प्रष्ट्याए। 

किन त नेपालीमा नै?

'इंग्लिसमा लेख्यो भने त कसैले बुझ्दै बुझ्दैन। बुझ्दै नबुझी जेपिटी कमेन्ट हानिरा हुन्छन्।'

'युट्युब च्यानल पनि कसैले सम्पर्क राखेका छैनन्?' भनेर सोध्दा उनले जवाफ फर्काए, 'मेरो आफ्नै छ त युट्युब च्यानल।' आफ्नो कुरा हालौं कि जस्तो पनि लागेको रहेछ उनलाई। 

तर, अरु भिडियोहरुमा बुझ्दै नबुझी आएका कमेन्टहरु देखेर तर्सिएछन्। ‘ह्या यस्तो पनि हाल्छ, आफ्नै बिल्ला हुन्छ’ भन्ने लाग्यो उनलाई।

युट्युबसँगै जोडिएको एउटा प्रसंग पनि सुनाए उनले। 

‘निर्मला केसमा कसैले ६/७ लाख कसैले १० लाख कमाए। अस्ती नै एउटा दाइलाई भेटेको थिएँ। भने, 'यार यो केसले त मलाई धनी बनायो।'

‘कुन केस?’

‘निर्मला’

‘ह्याँ आफ्नो यत्रो बेइज्जत भइरा'छ। उसको कमाउ धन्दा।'
 

‘रे’ले गुमेको इज्जत

‘पहिले इज्जत थियो, अहिले इज्जत छैन। डुबिसक्यो,’ पीडा मिसिएको हाँसोमा उनले सुनाए।
 
एसपीको छोराले यस्तो गर्‍यो  ‘रे’, उस्तो गर्‍यो ‘रे’ भनी चलेको हल्लाले उनलाई डुबायो।
 
‘जिन्दगीमा केटी साथीहरुको घर त गएको छैन, बम दिदी बहिनीहरुको घरमा जान्छ रे! नाम पनि थाहा थिएन मलाई त। ठाउँ पनि थाहा थिएन। पेन्ट पसलभित्र कहिले छिरेको छैन, पेन्ट किन्न गयो रे!'

बम दिदीबहिनीको घरमा घटनापछि नयाँ रङ लगाइएको र रङ किन्न किरण गएको भन्ने हल्ला थियो। 

‘एसपीको छोरा, एसपीको छोरा… म त पागल भइसकेँ। मेरो कामै बिग्रिरा'छ।’

विष्टलाई फोटोग्राफीमा रुची छ। त्यसमा पनि विशेषगरी फेसन र मोडलिङमा। मोडलहरुसित राम्रो चिनजान र संगत छ। तर, अहिले उनी राम्रोसित कामै गर्न सकिरहेका छैनन्। 

‘नाम बनाउन कति समय लागेको थियो। अहिले एकदमै प्रेसर भएको छ। कहिलेकाहीँ त म आफैँ-आफैँ बोल्छु। यो इमेज बनाएको थिएँ। बरु मलाई गोली हानेर मारेको भए हुन्थ्यो तर नाम नै बदनाम भयो,’ उनले सुनाए। 

ओपेरा होटलमा आएका तीन केटीहरु को थिए त?

जुन दिन निर्मला हराएकी थिइन्, त्यस दिन एसपी विष्टका छोरा ओपेरा होटलमा थिए।

यसलाई उनी स्वीकार्छन्। 

'त्यहाँ बर्थ डे पार्टी पनि भएको थियो रे। त्यही पार्टीमा मोडल बनाइदिन्छु भन्ने आश्वासन दिएर निर्मला र बम दिदी बहिनी पनि पुगेका थिए रे।' 

पुष्टि हुन नसकेको यही हल्लाले विष्टलाई शंकास्पद बनाएको हो। त्यसमाथि होटलको सिसिटिभी फुटेज पनि भेटिएन। 

जतिबेला सिसिटिभीको फुटेजको कुरा उठ्यो, त्यतिबेलासम्म १५ दिनमात्रको क्षमता भएको हार्ड डिस्क भरिसकिएको थियो र त्यसमाथि अर्को दृश्य ओभरल्याप हुनेगरी रेकर्ड भइसकेको थियो। पछि काठमाडौं पठाउँदा पनि डिलिट भइसकेको फुटेज रिकभर भएन। 

गृह मन्त्रालयले गठन गरेको समितिले विष्टको बयानका रुपमा 'साउन १० गते (जुन दिन निर्मला हराएकी थिइन्) दिउँसो २ बजेपछि होटल ओपेरामा ऐश्वर्या विष्ट, शिशिर तथा उनीहरुसँग आएका तर मैले नचिनेका तीन जना केटीहरु पनि थिए' भनेको प्रतिवेदनमा राखेको छ। 

सत्यतथ्य पत्ता लगाउने कार्यादेशसहित गठित समितिले बयानमात्र संकलन गर्‍यो, तथ्य खोज्नतर्फ लागेन। हत्यारा पत्ता लगाउने आशा गरिएको समितिले ओपेरा होटलमा बर्थ डे पार्टी भएको हो कि हैन पत्ता लगाउन त सकेन नै, फोटो सेसनमा को-को थिए भन्ने सामान्य तथ्यसमेत खोजेर भेरिफाइ गर्न सकेन।
 
ती तीन केटीहरु को थिए त? 

खासमा त्यस दिन 'मोडल हन्ट फारवेस्ट नेपाल'का लागि धनगढीकी मोडल ऐश्वर्या विष्टको फोटोसुटका लागि किरण विष्ट साथी शिशिर ठगुन्नाको करकापमा होटल ओपेरा पुगेका थिए। मोडल हन्टको पहिलो अडिसन साउन १२ र दोस्रो अडिसन साउन १५ मा हुँदै थियो। 
 
होटलको फेमिली रेस्टुरेन्टमा फोटोसुट भयो। त्यहाँ जम्मा तीन जना युवती थिए- मोडल ऐश्वर्या, मेकअप आर्टिस्ट अंकिता चन्द र उनकी डान्सर साथी अञ्जली चन्द।

किरणको कुरालाई भेरिफाइ गर्न हामीले ऐश्वर्या र अंकिता दुवैलाई सोध्यौँ।

'म दुई बजेतिर होटल पुगेको थिएँ। उनीहरु खाजा खाइरहेका थिए,' अंकिताले हामीसँग भनिन्, 'मैले मेकअप गर्दिएँ। साढे ५ बजेतिर फोटोसुट सकिएपछि हामी सँगै निस्किएका हौं।' 

निर्मला प्रकरणमा प्रहरीले अंकितासँग पनि सोधपुछ गरेको थियो। प्रहरीले उनलाई सोधेको थियो - त्यो दिन पार्टी थियो?

उनले भनिन्, 'फोटोसुटमात्र गरेको हो, पार्टी थिएन।' 

हामीसँग उनले फोटोग्राफर प्रहरीका छोरा हुन् भन्ने पनि पछि मात्रै चाल पाएको सुनाइन्। 'प्रहरीले घरी किरण विष्ट भन्थ्यो, घरी एसपीको छोरा भन्थ्यो,' उनले भनिन्, 'मैले त किरण विष्टमात्रै चिन्छु, एसपीको छोराचाहिँ चिन्दिन भनेँ।' 

त्यस दिन ऐश्वर्यालाई आफैले धनगढीमा मोटरसाइकलबाट लिएर आएको हुनाले चिनेको तर अरुलाई त्यतिबेला नचिनेको किरणको पनि जिकिर छ। 

पछि जिल्ला प्रहरी कार्यालयमा बयान दिन जाने क्रममा भेटघाट भएपछि बल्ल उनीहरुसँग राम्ररी चिनजान भएको विष्टले बताए। 

किरणका अनुसार त्यस दिन बिहान ११ बजे ऐश्वर्यालाई लिन मोटरसाइकलबाट धनगढी गएका थिए। साथी शिशिरले फोन नम्बर दिएका थिए। त्यसैमा फोन गरे र लिएर साढे १२ देखि १ बजेभित्र त्यहाँबाट महेन्द्रनगर फर्के। दिउँसो २ देखि साढे २ बजेसम्म होटल ओपेरा पुगे। 

त्यसपछि साढे दुई बजेदेखि साँझ ५ बजेसम्म ओपेरा होटलमा फोटोसुट गर्दै, खाजा खाँदै बसे। फेरि ऐश्वर्यालाई पुर्‍याउन साँझ ६ बजेदेखि साढे ६ बजेभित्र धनगढी गए र त्यहाँबाट फर्केर घर आए।

निर्मलाको हत्या भने त्यो दिन दिउँसो २ बजेदेखि साँझ ४ बजेको भित्र भएको प्रहरीले अनुमान गरेको छ। 
 
ऐश्वर्याले पनि हामीलाई यस्तै विवरण सुनाइन्, ‘करिब सवा १२ बजेतिर मलाई लिन किरण आइपुग्नुभएको थियो। हामी मोटरसाइकलमा धनगढीबाट महेन्द्रनगरको ओपेरा होटेल पुग्दा करिब २ बजेको थियो।' 

हामी पाँच जना थियौं होटेलमा। करिब सवा ५ बजेसम्म फोटोसुट गरेपछि किरणले मलाई धनगढी लगेर छोडेको हो। २ बजेदेखि ६ बजेसम्म किरण हामीसँग नै थियो।'

प्रहरीले अनुसन्धानका क्रममा कल डिटेल निकाल्दा किरणको ९८१२…२६ मोबाइलबाट शिशिरलाई र ९८६५…६८ बाट ऐश्वर्यालाई फोन गरेको र उनले बयानमा भनेकै ठाउँमा कल लोकेसन ट्रेस भएको समेत भेटेको थियो। 

त्यसैगरी फोटो सेसनका ‘र’ (प्रोफेसनल फोटोग्राफरहरुले प्रयोग गर्ने फोटोको फाइल फरम्याट) फोटोहरु प्रहरीलाई बुझाएको र त्यसमा फोटो खिच्दाको समय पनि उनीहरुले बयानमा भने अनुसारकै देखिएको थियो। 

'मनाउँदै नमनाएको' बर्थ डे पार्टी

छानबिन समितिले किरण विष्टको नागरिकतामा वैशाख १० गते जन्मदिन उल्लेख भएको तर साउन १० गते बर्थ डे मनाएको र फेसबुकमा दिदीले बाहेक अरुले शुभकामना दिएको नदेखिएकोलाई शंकास्पद भनेको छ। 

किरणले अरु धेरै मान्छेको जस्तो सर्टिफिकेट र नागरिकतामा जन्मदिन वैशाख १० मा लेखिदिएको तर वास्तविक जन्मदिन साउन १० मा रहेको बताए। 

फेसबुकको प्रोफाइलमा बर्थ डेट 'हाइड' गरेर राखेको हुनाले अरुले बर्थ डे भनेर थाहा नपाएको र शुभकामना नदिएको उनको तर्क छ। 

समितिले त्यही मितिमा फेसबुकको पुरानो पोस्ट हेर्दा पनि बर्थ डे हो कि होइन भन्ने सजिलै थाहा पाउन सक्थ्यो। 


 
तर, बर्थ डे पार्टी चाहिँ नगरेको उनको दावी छ, ‘म साढे ५ बजेसम्म होटेलमा नै थिएँ। खल्तीमा २ हजार मात्र थियो कसरी पार्टी गर्नु? ओपेरा होटेलको फेमिली रेष्टुरेन्टमा नै फोटोसुट गरेको हुँ। मैले होटलमा रुमसमेत बुक गरेको छैन। खल्तीमा पैसा त थिएन।' 

ओपेरा होटलमा टेबल नम्बर बीजी६ का लागि दिउँसो ३ बजेर ५४ मिनेटमा १ हजार ९ सय ३१ रुपैयाँ ६७ पैसाको बिल काटेको देखिएको छ। आरबी-०००१९४ नम्बरको बिलमा दुई वटा ब्रेड अम्लेट, दुई चिकेन फ्राइड राइस, दुई वटा आइसक्रिम, एउटा कोल्ड कफी विद् आइसक्रिम, एउटा लस्सी, दुई वटा मिनरल वाटर र दुई वटा सफ्ट ड्रिङ्क देखिन्छ। 

उनले त्यो खाजा खाएको बिल पनि आफ्नै गोजीको पैसाले तिरेको दावी गरे।

'मनाएकै थिएन, केही नि गरेको थिएन, बर्थ डे पार्टी रे', उनले रिसाउँदै सुनाए।

होटलबाट मोडल ऐश्वर्यालाई धनगढी पुर्‍याएर आएपछि साजन बुढाऐरलाई राति करिब ८ बजेतिर उनले 'मेरो बर्थ डे हो, आइज' भनेर बोलाएका थिए। भासी पुगेर उनलाई मोटरसाइकलमा लिएर आफ्नै घर आएका थिए। ‘खल्तीमा धेरै पैसा थिएन। पाँच वटा लड्डु किनेँ। दुई वटा मैले खाएँ। ममीलाई पनि दिएँ। साजनलाई पनि दिएँ। त्यसपछि रातभरि फोटो एडिटिङ गरेँ,' उनले भने।

उनले खिचेको ऐश्वर्याको एडिटेड फोटो साउन १२ गते मध्याह्न १२ बजेर ३६ मिनेटमा मोडल हन्ट फारवेस्ट नेपालको फेसबुक पेजमा अपलोड गरिएको थियो। 

 

मनाउँदै नमनाएको बर्थ डे पार्टी 'कोतपर्व' सरह मच्चिएपछि अहिले उनलाई बर्थ डे र चाडबाड भन्ने बित्तिकै डर लाग्छ।
 
'१० किलोमिटर टाढा बसौं जस्तो। धत् यार। यस्तो नि हुन्छ? रुनै मन गर्छ के !', झण्डै आँसु झारे विष्टले दरबारमार्गमा हामीले भेटेको रेस्टुरेन्टमा।

‘म जस्तो पायो त्यस्तो मान्छेको फोटो पनि खिच्दिनँ,' उनले भने, 'निर्मलाको फोटो कसरी खिच्छु? फेरि १६ वर्षभन्दा कम उमेरको केटीको फोटो खिच्दिनँ।' 

डिएनए टेस्टले अरुलाई जस्तै उनलाई पनि निर्दोषिताको प्रमाणपत्र दिए पनि नबुझ्नेहरुले अझै उनलाई नै गाली गरिरहेको यथार्थ भोगिरहेका छन्।

आफ्नो मातहतका कर्मचारीलाई कमान्डमा राखेर जिम्मेवारी पूरा गर्न नसकेको भन्दै उनका बुबा एसपी दिल्लीराज विष्टलाई सरकारले सेवाबाट हटाइसक्यो। प्रहरीमाथि पहिलो दिनदेखि नै पीडित र स्थानीय बासिन्दाको विश्वास जित्न नसकेर अहिले यो स्थिति आइपरेको बुझाइ हाइकमान्डसम्मलाई छ। 

उनलाई चाहिँ के लाग्छ त? बाबुको कारण आफ्नो नाम मुछिएको हो कि आफ्नो कारण बाबुको नाम मुछिएको हो?

'थाहै छैन मलाई,' उनले भने, 'मेरो नाम आएपछि मात्र निलम्बन हुनुभो नि। त्यसैले आफ्नै कारण जस्तो लाग्छ। अहिलेसम्म सोच्दैछु स्टिल किन? जवाफ पाएको छैन।'

बाबुको नाम प्रयोग नगर्ने हुनाले आफूलाई एसपीको छोरा भनेर कमैले चिन्ने उनी बताउँछन्। 

'अस्ति मात्र एउटा म्युजिसियन दाइ भेटेको थिएँ। उहाँसँग यो प्रकरणमा कुरा गर्दा सबै उल्टैउल्टा पाएँ,' उनीमाथिको टिप्पणीका विषयमा सुनाए, 'अनि मैले अन्तिममा भने एसपी विष्टको छोरा किरण विष्ट चिन्नुहुन्छ?' 

किरणको प्रश्नमा ती म्युजिसियनले भने- 'चिन्दिनँ।'

प्रसंग अगाडि बढाउँदै उनले सुनाए, 'म हो भनेको त शक हुनुभयो। उहाँको नशा नै उत्रिएछ।'

'अहिले मेरो त्यस्तै अवस्था छ। मलाई राम्रोसँग चिन्नेहरुले मलाई कहिल्यै शंका गरेनन्। तर केही थाहा नपाएकाहरुले मलाई नानाभाँती भन्छन्,' किरणले भने।

यो अवस्थाको अन्त्य कहिले हुने हो, उनलाई थाहा छैन। 

छुट्टिनु अघि उनले भने, 'दुनियाँले जे भनोस्, भगवान छ नि। गड होस्, जिसस होस्, अल्लाह होस्, बुद्ध होस्, एक न एकले त हेर्छ नि। जजसले अहिले बोलेका छन्, तिनीहरुलाई पोल्छ होला नि !'

महेन्द्रनगरमा महेन्द्र बमको सहयोगमा

(किरण विष्टले आफ्नो फोटो खिचाउन मानेनन्। त्यसैले हामीले यसमा प्रतीकात्मक फोटो प्रयोग गरेका छौँ) 

#WhokilledNirmala सिरिज जारी छ। सल्लाह, सुझाव र जानकारी [email protected] मा पठाउन सक्नुहुन्छ। 

#WhoKilledNirmala शृङ्खला  

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell