PahiloPost

Sep 23, 2019 | ६ असोज २०७६


विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव (#WhoKilledNirmala शृङ्खला १७)


पहिलोपोस्ट

विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव (#WhoKilledNirmala शृङ्खला १७)

  • उमेश श्रेष्ठ/सविन ढकाल -
२४ वर्षअघि सन् १९९४, जुन १३ को मध्यरात लस एन्जल्समा निकोल ब्राउन र उनका ब्वाइफ्रेन्ड रोन गोल्डम्यानको शव भेटियो।

निकोलका पूर्वपति सेलिब्रिटी ओजे सिम्पसनलाई डबल मर्डरको चार्ज लाग्यो। उनको पक्राउदेखि उनलाई जुरीले सबै आरोपबाट सफाइ नदिएसम्मका ११ महिना यो केसको यति मिडिया कभरेज भयो कि यसलाई 'ट्रायल अफ दी सेन्चुरी'का उपमा नै दिइयो।

यस केसमा सिम्पसनले आफ्ना लागि नामी वकिलहरुको एउटा समूह बनाए जसलाई मिडियाले ‘ड्रिम टिम’ को संज्ञा दिएको थियो। टिममा कन्सलट्यान्टको रुपमा डाक्टर डान क्रेनले काम गरेका थिए।

सिम्पसनको केसमा पनि डिएनएले निकै चर्चा पाएको थियो। यही केसका क्रममा डिएनए स्याम्पल ह्यान्डलिङको क्रममा भएको लापरवाही छताछुल्ल भयो। क्राइम सिनमा पाइएको स्याम्पलसित तुलना गर्न लिइएको सिम्पसनको रगतको नमूना प्रहरीका एक वैज्ञानिकले परीक्षणका लागि दिनुअघि एक दिनसम्म आफ्नै ल्याबको कोटमा राखेको खुल्यो। प्रहरीले क्राइम सिनमा नक्कली प्रमाण बनाएको र डिएनए प्रमाणलाई दूषित बनाएको आरोप लाग्यो।

त्यही केसमा जोडिएका डाक्टर क्रेन अहिले विश्वकै नाम चलेका डिएनए एक्सपर्ट मध्येका एक हुन्। अमेरिकाको राइट स्टेट युनिभर्सिटीका प्रोफेसर समेत रहेका उनले सन् २०१२ मा फरेन्सिक बायोमेट्रिक्स नामको कम्पनी खोले जसले विश्वभरबाट अहिलेसम्म सयौं डिएनए टेस्टको रिभ्यु गरिसकेको छ। 

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पुग्न लाग्दा अझै पनि दोषी पत्ता लागेको छैन। तत्कालीन न्यायाधीश सुशीला कार्कीले शंकाको आधारमा डिएनए परीक्षणको रिपोर्टलाई नै अस्वीकार गरेको २०६७ सालको 'कुख्यात फैसला'पछि डिएनएको यति धेरै चर्चा भएको यो पहिलो 'केस' हो। 

हामीले नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको ०७५/०७६-सिपिइएसआई-४०२-(डि)डिएनए-१० र ०७५/०७६-सिपिएफएसएल-४०२(डि)-डिएनए-१० नम्बरका दुई रिपोर्टका आधारमा डिएनए एक्सपर्ट क्रेनसँग इन्टरनेटमार्फत् वार्ता गरेका थियौं। 

Y STR टेस्ट किन?

क्रेनका अनुसार बलात्कारको अनुसन्धानमा अक्सर Y STR नै परीक्षण गरिन्छ। किनभने, भेजिनल स्वाबको स्याम्पलमा धेरै परिमाणमा रहेका महिला डिएनएबाट पनि सानो परिमाणमा रहेको पुरुष डिएनएबाट डिएनए प्रोफाइलबारे जानकारी निकाल्न सकिन्छ।

प्रत्येक मान्छेको शरीरमा २३ जोडी क्रोमोजोम हुन्छ। त्यसमध्ये २२ वटा अटोजोम र एउटा सेक्स क्रोमोजोम हुन्छ। 

प्रत्येक क्रोमोजोममा एक-एक वटा डिएनए हुन्छ। 

सेक्स डिएनएमा दुई वटा हुन्छ। एउटा X, अर्को Y। पुरुषमा X र Y डिएनए हुन्छ भने महिलामा X डिएनएमात्रै हुन्छ। त्यसैले महिलाको योनीबाट निकालिएको स्याम्पलमा Y डिएनए भेटियो र त्यसको प्रोफाइलिङ गर्न सकियो भने पुरुष पत्ता लाग्छ।

निर्मलाको योनीमा भेटिएको पुरुष डिएनए कति जनाको?

क्रेनका अनुसार एउटै परिवारको आठ पुस्ता वा त्योभन्दा बढीसम्मको पुरुषको एउटै Y STR प्रोफाइल हुनसक्छ। 

Y क्रोमोजोम पुरुषको एउटै मात्र हुन्छ। दुई वा दुईभन्दा बढी पुरुषको Y क्रोमोजोमलाई मिक्स्ड Y STR को प्रोफाइलमा तथ्याङ्कको रुपमा अङ्क दिन गाह्रो हुन्छ। 

प्रहरीको रिपोर्टमा उल्लेख भएका तथ्याङ्क हेर्दा मिसिएको (दुई पुरुषको मिक्स्चर भएको) कुनै संकेत नदेखिएको क्रेनले बताए। 

पानीले पखाल्दा पनि डिएनए आउँछ?

निर्मलाको शवलाई पानीले पखालेको आरोप लागेको छ। घटनास्थलको फोटो हेर्दा शव फेला पर्दा योनीपट्टीको भाग पानीमा डुबेको अवस्थामा देखिएको छ। फोटो हेर्न क्लिक गर्नस्

हत्या भएको करिब २४ घण्टापछि मात्रै पोस्टमार्टमका लागि लग्दा डाक्टरहरुले योनीभित्रबाट भेजिनल स्वाबका तीन वटा नमूना निकालेका थिए। 

यस्तो अवस्थामा डिएनए 'डिग्रेडेसन' हुने सम्भावना कत्तिको हुन्छ?

क्रेनका अनुसार डिएनए डिग्रेडेसन हुने कारणहरु धेरै हुन्छन्- जसमा तापक्रम र आद्रतास्तर (मोइस्चर लेभल) ले पनि असर गर्छ। 

'तर, एकदमै खराब अवस्थामा पनि डिएनए लामो समयसम्म रहन सक्छ। डिएनएको सबअप्टिमल क्वान्टिटी र क्वालिटीमा केही डिग्रेडेसनका संकेत देखिए पनि तपाईँले पठाउनु भएको रिपोर्ट हेर्दा झण्डै झण्डै पूर्ण Y STR प्रोफाइल आएको छ,'उनले भने। 

डिग्रेडेसनको संकेत कसरी थाहा पाउने?


रिपोर्टमा १६ वटा लोकीमध्ये एउटा स्याम्पलबाट चार वटाको तथ्याङ्क आएको छैन। अर्को स्याम्पलबाट भने एउटाको मात्र नआई १५ वटा लोकीको आएको छ। 

दुईवटै टेस्टबाट विभिन्न लोकीको एउटै तथ्याङ्क आएकोप्रति पनि इंगित गर्दै उनले भने, 'प्रमाणका रुपमा ल्याइएको नमूनाबाट राम्रो जानकारी निकालिएको छ। 

कसको डिएनए हो त त्यो?

क्रेनले प्रहरीको रिपोर्टमा डिएनए प्रोफाइलको उपस्थिति देखाए पनि एभिडेन्स स्याम्पलसित डिएनएको सम्बन्धको समय (टाइमफ्रेम) र कारण (सर्कुम्सटेन्सेज) बारे केही उल्लेख नभएको औंल्याए। 

त्यसो भए यो रिपोर्टका आधारमा निर्मलाको योनीमा भेटिएको पुरुष डिएनए कसको हुनसक्छ त?

'पीडितसित उनको मृत्यु हुनु केही घण्टाअघि वा केही दिनअघिसम्म सेक्स गरेको भए पनि यस्तो रिपोर्ट आउन सक्छ,' उनले भने। 

क्रेनका अनुसार भेजिनल स्वाब संकलनको समयमा वा त्यसपछि दूषित (कन्टामिनेसन) भएको अवस्थामा पनि यस्तो देखिन सम्भव छ।

अर्थात्, भेजिनल स्वाबमा कुनै पुरुषको डिएनए थिएन तर त्यसलाई संकलन गर्दा, त्यसलाई धनगढी एयरपोर्टसम्म गाडीमा पठाउँदा, विमानमा राख्दा, विमानबाट काठमाडौं ल्याउँदा, काठमाडौं विमानस्थलबाट सामाखुशीस्थित प्रहरीको ल्याबमा लग्दा र ल्याबमा खोलेर रिपोर्ट निकाल्दासम्मको चरणमा कुनै पुरुषले छोएर पनि यस्तो आएको हुनसक्ने सम्भावना छ। 

यस्तो भएको शंका लागेमा ती सबै चरणमा स्याम्पल छुने सबै पुरुषको डिएनए परीक्षण गरी हो कि होइन यकिन गर्न सकिन्छ।   

दीलिपसिंह विष्टको आठ वटा मिलेको छ, दोषी हुनसक्ला?

निर्मलाको योनीबाट निकालिएको भेजिनल स्वाबबाट तयार भएको Y STR का १६ वटा जेनेटिक लोकस/मार्करमध्ये प्रहरीले अभियुक्तका रुपमा खडा गरेका दीलिपसिंह विष्टको आठ वटा मिलेको छ। के उनी दोषी हुनसक्लान्?

क्रेन भन्छन्, 'एउटा मात्रै मार्कर नमिले पनि उसलाई एक्सक्लुड गर्नुपर्ने हुन्छ। यहाँ त आठ वटा मिलेको छैन। त्यही भएर न विष्ट, न उनका कुनै नजिकका नातेदार निकालिएको डिएनए प्रोफाइलको स्रोत हुनसक्छन्।'

चक्र बडुको १३ वटा मिलेको थिएन। त्यसैगरी एसपी विष्ट बाबु-छोराको ११ वटा र आयुष विष्टको पनि ११ वटा मिलेको थिएन। थप जानकारी हेर्नुस्- #WhoKilledNirmala शृङ्खला १४

भेजिनल स्वाबबाट निकालिएको डिएनए प्रोफाइल पर्याप्त छ?

डिएनएको सबअप्टिमल क्वान्टिटी र क्वालिटीमा केही कमी भए पनि उनका अनुसार प्रमाणको स्याम्पलका रुपमा संकलित भेजिनल स्वाबबाट फरेन्सिक सेटिङमा निकै सहयोग पुग्ने गरी पर्याप्त जानकारी भएको डिएनए प्रोफाइल तयार भएको छ। 

प्रहरीले आफ्नै भूमिकामा प्रश्न उठेको अवस्थामा पनि भेजिनल स्वाबको स्वतन्त्र ल्याबमा नगरी आफ्नै ल्याबमा परीक्षण गरेको छ। जनताको विश्वास जित्न अब के गर्नुपर्ला? पुनः परीक्षण?

स्याम्पल नै मिसह्यान्डल गरिएको हो भने पुनः परीक्षणले कुनै महत्त्वपूर्ण सहयोग नगर्ने क्रेनको राय छ। यस्तो अवस्थामा के गर्न सकिन्छ त?

क्रेनले सुझाएका उपाय यस्ता छन्-

•    स्वतन्त्र विज्ञहरुको समूह बनाउने
•    उनीहरुले ल्याबको टेस्ट रिजल्ट र टेस्टिङ ल्याबको केस फाइललाई स्वतन्त्र रुपमा समीक्षा गर्ने
•    के केको समीक्षा गर्न सकिन्छ? इलेक्ट्रोफेरोग्राम्स, बेञ्च नोटहरु, डिएनए क्वान्टिटेसन रिजल्ट, टेस्टिङ ल्याबको स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्योर र इन्टरप्रिटेसन गाइडलाइनहरु सबै समीक्षा गर्नुपर्छ। 

भेजिनल स्वाब कन्टामिनेसन भएको छ कि छैन थाहा पाउनलाई यी सब समीक्षा गर्नुपर्ने उनको भनाई छ। 

के चार्टको गलत व्याख्या गरेर नम्बर राखेको हुनसक्ला?

परीक्षण गरिएका १६ वटा जेनेटिक लोकस/मार्कर एलिलहरुको नम्बर गलत व्याख्या गरेर १३ को ठाउँमा १४ वा १२ राखेको हुनसक्ने कतिको सम्भावना छ? किनभने मेसिनबाट यो निस्कँदा नम्बरको रुपमा नभई चार्टको रुपमा आउँछ।

यो शंका उठे इलेक्ट्रोफेरोग्रामको चार्ट नै हेर्नुपर्ने उनी सुझाउँछन्। तर, रिपोर्टमा एलिल्सको टेबल हेर्दा गलत व्याख्या हुनसक्ने सम्भावना तुलनात्मक रुपमा निकै कम भएको उनी बताउँछन्। 

डा. क्रेनले सय वटाभन्दा बढी त्यस्ता क्रिमिनल ट्रायलमा विज्ञ साक्षीको रुपमा अदालतमा बयान दिएका छन्, जसमा डिएनए प्रमाणका रुपमा राखिएको थियो। 

५० वटाभन्दा बढी पियर रिभ्यु गरिएका पेपर प्रकाशन गरेका क्रेनका अधिकांश पेपर फरेन्सिक डिएनए टेस्टिङ, त्यसमा पनि अनुसन्धानका लागि सहयोग हुने गरी डिएनए प्रोफाइल जेनेरट गर्ने र डिएनएको संवेदनशीलताको विषयमा छ।  निर्मलाको केसमा डिएनएसम्बन्धी निकै प्रश्न प्राविधिक रुपमा पनि उठेको कारण हामीले विश्वका डिएनए विज्ञहरुसित सल्लाह गर्ने क्रममा क्रेनसित सम्पर्क भएको हो। 

यहाँ हामीले उठेका प्राविधिक पक्षको प्रश्नलाई कसरी हल गर्न सकिन्छ भनी उनले दिएका सुझाव पनि समेटेका छौँ। 

के निर्मलाको भेजिनल स्वाबमा जुन पुरुष डिएनए भेटियो, त्यसको आधारमा केही पत्ता लगाउन सकिन्छ त? 

उनका अनुसार जिनिलोजिकल डेटाबेस सर्च गरेर नातेदार पत्ता लगाउन सक्ने सम्भावना हुन्छ, रेसियल ब्याकग्राउन्ड पनि पत्ता लगाउन सकिन्छ। 

'म जनवरीदेखि नयाँ क्लास सुरु गर्दैछु। तपाईँ चाहनु हुन्छ भने मेरा विद्यार्थीलाई यसबारे खोज्न लगाउँला नि त', उनले कुराकानीको बिट मार्दै भने। 

 #WhokilledNirmala सिरिज जारी छ। सल्लाह, सुझाव र जानकारी nirmala@pahilopost.com मा पठाउन सक्नुहुन्छ। 

#WhoKilledNirmala शृङ्खला  

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 



 



विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव (#WhoKilledNirmala शृङ्खला १७) को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट