PahiloPost

Sep 23, 2019 | ६ असोज २०७६


Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' ( #WhoKilledNirmala शृङ्खला १४)


पहिलोपोस्ट

Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' ( #WhoKilledNirmala शृङ्खला १४)

  • कञ्चनपुरबाट फर्केर उमेश श्रेष्ठ/सविन ढकाल -

निर्मला पन्तको सामूहिक बलात्कार भएको खबर मिडियामा 'लिक' गराए पनि प्रहरीले आफ्नै प्रयोगशालामा गरेको परीक्षणमा एक जना पुरुषको मात्र डिएनए भेटिएको खुलेको छ। 

पहिलोपोस्टले प्राप्त गरेको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गत भदौ २४ गते दिएको रिपोर्टमा निर्मलाको भेजिनल स्वाबबाट संकलित नमूनामा एउटामात्र 'वाई' एसटिआर प्रोफाइल भेटिएको उल्लेख छ। 

हामीसँग रहेको नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको ०७५/०७६-सिपिइएसआई-४०२-(डि)डिएनए-१० नम्बरको रिपोर्टको नक्कल हेरेपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले भने, 'यो रिपोर्टबाट एक जनामात्र 'मेल कन्ट्रिब्युटर' भएको खुल्छ।'

अर्थात्, निर्मलाको योनीभित्रबाट संकलन गरिएको नमूनामा एक जनामात्र पुरुषको डिएनए भेटिएको छ।

कसरी थाहा हुन्छ?

प्रत्येक मान्छेको शरीरमा २३ जोडी क्रोमोजोम हुन्छ। त्यसमध्ये २२ वटा अटोजोम र एउटा सेक्स क्रोमोजोम हुन्छ। 

प्रत्येक क्रोमोजोममा एक-एक वटा डिएनए हुन्छ। 

सेक्स डिएनएमा दुई वटा हुन्छ। एउटा X, अर्को Y। पुरुषमा X र Y डिएनए हुन्छ भने महिलामा X डिएनएमात्रै हुन्छ। 

६ महिनाअघि मात्रै जागिरबाट अवकाश पाएका रिजाल भन्छन्, 'बलात्कारको केसमा योनीबाट निकालिएको नमूनामा Y डिएनएको मात्र खोजी गरिन्छ। किनभने महिलामा Y डिएनए हुन्न।' 

यदि नमूनामा Y  डिएनए भेटियो भने बलात्कारीले आफ्नो पहिचान छाडेको छ भन्ने थाहा हुन्छ। 

उनका अनुसार Y डिएनएमा कति थरिको (एलिल) छ भन्ने खुलेपछि बलात्कारमा कति जना पुरुष संलग्न  भन्ने खुल्छ। किनभने एक जना पुरुषमा एउटा मात्रै Y डिएनए हुन्छ। 

एक जना व्यक्तिको डिएनए अर्कोसँग मेल नखाने हुनाले अपराधी र पितृत्व पहिचानका लागि यसलाई विश्वासिलो विधि मानिन्छ। तर, यसका लागि नमूना संकलन गर्दा, ढुवानी गर्दा, भण्डारण गर्दा र परीक्षण गर्दाका कुनै पनि चरणमा नमूना दूषित हुनुहुँदैन। दूषित भए नभएको परीक्षणबाट प्रष्टै थाहा हुन्छ। 

प्रहरीको गम्भीर गल्ती

निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीको अनुसन्धान सुरुदेखि नै विवादमा पर्दै आएको थियो।

साउन ११ गते निर्मलाको शव उखुबारीमा भेटिँदा खिचिएका भिडियो दृश्य त्यही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियोमा देखिन्छ, घटनास्थलमा  खटिएको 'सिन अफ क्राइम' (सोको अफिसर) ले क्राइम सिन प्रोटेक्सन (पहेँलो) टेप लगाएर प्रवेश निषेध गरेको छैन। अझ घोप्टो अवस्थामा फेला परेको निर्मलाको शवलाई उत्तानो पार्दा गुप्ताङ छोप्न शवकै छेउमा भेटिएको उनको सुरुवाल प्रयोग गरिएको छ। त्यो पनि पानीले पखाल्दै।

साउन १३ गतेको प्रतिनिधि सभाको बैठकमा नै अनुसन्धान प्रकृयाको विरोधमा सांसदहरुले आवाज उठाएका थिए। त्यस दिन संघीय समाजवादी फोरम नेपालकी सांसद सरिता गिरीले प्रमाण मेट्ने काम भएको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेकी थिइन्। 

गिरीले पहिलोपोस्टलाई भनिन्, 'मैले एउटा भिडियो सामाजिक सञ्जालमा देखेको थिएँ। भिडियोमा प्रस्ट देखिन्थ्यो, पुलिसका कर्मचारीहरु उभिएका छन्, पुलिसका अन्य पदाधिकारीहरु उभिएका छन्। र, निर्मालाको ट्राउजर चाहिँ पानीमा पखालिरहेको छ। यो त प्रमाण मेटाउने काम भइरहेको छ। अनि मैले त्यो दिन हाउसमा गएर भन्या हो, एउटा त अपराध भयो, त्यसमा पनि अपराध मिटाउने काम भइरहेको छ। त्यो पनि सरकारी अधिकारीहरुमार्फत्। यो त बलात्कारभन्दा पनि ठूलो अपराध हो। यसका बारेमा गृहमन्त्रीले तुरुन्त संसदलाई जानकारी गराउनु पर्छ।'

अर्थात्, यस घटनामा प्रहरीको भूमिका विवादित रहेको विषय साउन १३ गते नै सांसदहरुले उठाइसकेका थिए। 

महाकाली अञ्चल अस्पतालमा साउन ११ गते लगिएको शवको पोस्टमार्टम गर्दा डाक्टरहरुले शवको योनी भित्रबाट कटन स्वाब स्टिक प्रयोग गर्दै तीन थरिका नमूना संकलन गरी टेस्ट ट्युबमा राखेका थिए। 

ती टेस्ट ट्युब बाहिर लेबल टाँसिएको थियो- 1O, 2M र 3H। 

प्रहरीले यी तीन वटै टेस्ट टयुबमा प्राप्त नमूना आफ्नै ल्याबमा मात्र परीक्षण गर्‍यो। यसलाई गम्भीर गल्ती मान्छन् रिजाल। 

'नवराज सिलवालको केसमा बाहेक प्रहरीले आफू विवादमा परेको केसको फरेन्सिक जाँच आफ्नो ल्याबमा नगरी विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउने गरेको थियो,' उनले भने। 

सिलवालले कार्यसम्पादन मूल्याङ्कनको कीर्ते कागजात अदालतमा प्रस्तुत गरेको हो कि हैन भनी निर्क्यौल गर्न प्रहरीले आफ्नै ल्याबमा परीक्षण गरेको थियो। 

प्रहरीले आफूमाथि विश्वासको संकट उब्जिएको यो केसमा किन तीन वटै नमूना आफ्नै ल्याबमा मात्र परीक्षण गर्‍यो?

हामीलाई प्राप्त रिपोर्ट अनुसार 2M लेबल लगाइएको टेस्ट ट्युबमा राखिएको भेजिनल स्वाबबाट नै १६ जेनेटिक लोकस/मार्कर मध्ये १२ वटामा प्रष्ट तथ्याङ्क आएको थियो भने एउटामा निश्कर्षमा पुग्न मिल्ने तथ्याङ्क आएको थिएन। 

'आफ्नो अनुसन्धानमा प्रश्न उठिसकेपछि प्रहरीले अर्को नमूना अर्कै स्वतन्त्र ल्याबमा पठाउनु पर्थ्यो,' रिजालले बताए। 

नेपालमा डिएनए परीक्षण दुई ठाउँमा मात्रै हुन्छ-

एक, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला
दुई, खुमलटारमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला

प्रहरीको प्रयोगशालामा अन्तर्राष्ट्रिय मापदण्ड नपुग्ने परीक्षण

नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा गरिएको डिएनए परीक्षण अन्तर्राष्ट्रिय मापदण्ड नपुग्ने भेटिएको छ। 

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए प्रमुख दिनेशकुमार झाका अनुसार जति धेरै ह्याप्लोटाइपहरु (एसटिआर लोकी) को नम्बर निकालिन्छ, त्यति डिएनए प्रोफाइलिङ स्पष्ट हुन्छ। अर्थात्, जति बढी एसटिआर लोकीको परीक्षण गरिन्छ, त्यति विश्वसनीय हुन्छ। 

कति वटा एसटिआर लोकीको परीक्षण गर्ने हो, त्यसको देश अनुसार मापदण्ड फरक हुन्छ। तर, अन्तर्राष्ट्रिय मापदण्ड २० वटालाई मान्ने प्रचलन छ।
 
अमेरिकाको एफबिआईले पनि सन् २०१७ को जनवरी १ देखि कम्तिमा २० वटा हुनुपर्ने गाइडलाइन्स बनाएको छ। 

तर, नेपाल प्रहरीको ल्याबमा पुरानो मापदण्ड अनुसार १६ वटाको मात्रै परीक्षण हुने गरेको छ। अन्तर्राष्ट्रिय रुपमा हाल प्रचलनमा रहेको नयाँ मापदण्ड अनुसार डिएनए प्रोफाइलिङका लागि Y एसटिआरको  1D1S1656, 2D2S441, 2D2S1338, SD10S1248, SD12S391, SD19S433, र SD22S1045 को परीक्षण प्रहरीको ल्याबमा भएको देखिँदैन। 

'राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा २० भन्दा बढी २४/२५ वटासम्म एसटिआर लोकीको परीक्षण हुन्छ,' झाले पहिलोपोस्टलाई बताए। 

यसको तथ्याङ्क डिजिटल भ्यालुमा आउने गर्छ।

त्यसो भए, प्रहरीले किन निर्मलाको योनीबाट संकलन गरिएको कम्तिमा एउटा नमूना आफ्नो ल्याबमा परीक्षणका लागि राखे पनि अर्को नमूना राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएन? यसको पछाडि नियत के हो? प्रश्न स्वभाविक रुपमा उठेको छ। 

जबकि, गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनको पेज नम्बर २४ र २५ मा पनि महाकाली अञ्चल अस्पतालमा साउन १३ गते गरिएको शव परीक्षणको रिपोर्टमा भेजिनल स्वाब (हाइ, मिड र लो) नेसनल फरेन्सिकमा पठाउने भनिएको पत्र थियो। 

समितिको प्रतिवेदनको अंश

तर, प्रहरीले गत साउन १५ गते निर्मलाको योनीबाट निकालिएको भेजिनल स्वाब विमानबाट परीक्षणका लागि नेसनल फरेन्सिक अर्थात् खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला नलगी सामखुशीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पुर्‍यायो। त्यहीँ तीन वटै टेस्टट्युबमा संकलित भेजिनल स्वाबको परीक्षण गरियो।

बलात्कारको हैन लापरवाहीको आरोप लागेका एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र मेयरका भतिजा आयुष विष्टबाट संकलित डिएनए नमूना भने प्रहरीले आफ्नो ल्याबमा मात्र नभई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि परीक्षणका लागि पठाएको थियो। 

किरण विष्टले पहिलोपोस्टसितको कुराकानीमा आफू र आयुषको डिएनए परीक्षणका लागि रगत मात्र नभएर खुमलटारमा मुखबाट बकल स्वाबसमेत संकलन गरिएको जानकारी दिए। 

'अपराधीको डिएनए प्रोफाइलिङ ठूलो उपलब्धि'

फरेन्सिक एक्सपर्ट जीवनप्रसाद रिजाल अपराधीको डिएनए प्रोफाइलिङ हुनु ठूलो उपलब्धि भएको बताउँछन्। जुन नतिजा रिपोर्टमा देखिएको छ, त्यो यदि सही हो भने थुप्रै नकारात्मकताका बीच एउटा सकरात्मकता भेटिएको उनको कथन छ। 

रिपोर्टमा देखिएको तथ्याङ्कमा एक थरी मात्र Y डिएनए भेटिएका कारण नमूना दूषित भएको नदेखिएको उनको राय छ। 

यसैबाट अपराधी पहिचान गर्न सम्भव हुने रिजालको तर्क छ। निर्मलाको भेजिनल स्वाबबाट निकालेको डिएनए प्रष्ट भएको उनी बताउँछन्। भन्छन्, 'तपाईहरुसँग भएको रिपोर्ट हेर्दा डिएनए क्लियर छ। कि त डिएनए नै आउँदैन, आयो भने प्रष्ट नै आउँछ।' 

निर्मलाको भेजिनल स्वाब हो कि हैन?

संकलित भेजिनल स्वाब निर्मलाको हो कि हैन? यो प्रश्न पनि उठेको छ। 

'के थाहा, अर्कैको पठाएको हो कि,'  हामीलाई महेन्द्रनगरमा यस्तो शंका सुनाउने धेरै थिए। स्वयं निर्मलाका बुबाले भेजिनल स्वाब निर्मलाकै हो कि हैन भनी आफू वा आमाको डिएनए परीक्षण गरी पुष्टि गर्नुपर्ने माग गरेका थिए। 

'पहिला त मेरी छोरीबाटै निकालिएको हो कि हैन भन्ने विश्वास मलाई दिलाउनु पर्‍यो। मलाई त पुलिस, प्रशासनले गरेको कुनै काममा विश्वास छैन,' जिल्ला प्रशासन कार्यालय अगाडि अनशन बसेका बेला उनले हामीलाई क्यामेरामा भनेका थिए। हाल उनी काठमाडौँमा उपचार गराइरहेका छन्। 

'इन्डिया लैजान्छु, नेपालमा त म दिँदै दिन्न गर्न,' उनले त्यतिखेर भनेका थिए।


रिजाल भेजिनल स्वाब संकलन प्रहरीले नगरी डाक्टरले गर्ने हुँदा त्यति धेरै शंका गर्नुपर्ने स्थिति नरहे पनि सुरुदेखि विश्वासको संकट भोगिरहेको यो केसमा विश्वास दिलाउनका लागि स्वतन्त्र फरेन्सिक विज्ञहरुको टोली गठन गर्नुपर्नेमा जोड दिन्छन्। 

'त्यही टोलीले विदेशमा परीक्षण गर्नुपर्ने हो कि यहीँ प्रहरीको बाहेक अन्यत्र ल्याबमा परीक्षण गर्ने हो भनेर राय दिन सक्छ। त्यसको आधारमा सरकारले पीडित लगायत सबैको विश्वास जित्ने गरी कदम चाल्दा उपयुक्त हुन्छ,' उनले भने।

धेरै किसिमबाट गिजोलिएको यो घटनामा प्राविधिक रुपमा विश्वास जित्न सजिलो भएको उनको राय छ। 

भेजिनल स्वाबमा संकलित नमूनाको अटोजोम निर्मलाका आमा वा बुबाको डिएनएसित परीक्षण गरेमा त्यो निर्मलाको शवबाटै संकलन गरिएको हो कि हैन भनेर प्रष्ट हुने उनी बताउँछन्।    

प्रहरीको परीक्षणमा शंका लागे अरु विकल्प नभएको अवस्थामा त्यही नमूनाबाटै पुनः परीक्षण गर्न सकिने रिजाल र झा दुवैको राय छ। 

त्यसो भए नमूना सुरक्षित राखिएको छ कि नष्ट गरिसकियो त?

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीका अनुसार आयोगले प्रहरीलाई 'नमूना सुरक्षित राख्न' निर्देशन दिँदै पत्राचार गरेको थियो।
 
अनुसन्धान भइरहेको कारण देखाउँदै प्रहरीको पत्र पहिलोपोस्टलाई देखाउन अस्वीकार गरेकी अन्सारीले नमूना सुरक्षित राखिएको जानकारी प्रहरीले दिएको दावी गरिन्। 

पत्र अध्ययनका लागि उपलब्ध गराउन हामीले आयोगमा सूचनाको हक अनुसार निवेदन दिएका छौँ।

के नक्कली अभियुक्त खडा गर्न सम्भव छ?

प्रहरीले मिडियामा प्रोपोगान्डा गर्नु, आधिकारिक रुपमा प्रहरीले अभियुक्त पहिचान 'न्यारो डाउन' भएको प्रतिक्रिया दिनु र सरकारका मन्त्रीहरुले अपराधी पत्ता लगाइसकेको भन्दै भाषण गर्नुले अभियुक्त पहिचान भइसकेको संकेत गर्छ। 

तर, मिडियामा प्रहरीले 'सामूहिक बलात्कार भएको' सूचना लिक गराएको छ। लिक गराइएको सूचना छाप्ने मिडियालाई पत्याउने हो भने प्रदीप रावलले बलात्कार गरेको साबिती बयान दिएका छन्। 

उनी १७ वर्षका मात्र भएकाले एक्लै बलात्कार सम्भव नहुने देखिएपछि सामूहिक बलात्कारको 'प्लट' रचिएको हुनसक्ने प्रवल सम्भावना छ। 
तर, प्रहरीले आफ्नै ल्याबमा गरेको डिएनए परीक्षणको रिपोर्टले सामूहिक बलात्कार देखाएको छैन।

एउटै वंशका नजिकका नाता पर्ने दुई जनाले बलात्कार गरेमा मात्र यसरी एक थरी मात्र Y डिएनए भेटिन सक्छ तर त्यसलाई पनि अटोजोम परीक्षण गरे दुई जना हो भनेर छुट्टिने रिजाल बताउँछन्। प्रहरीको रिपोर्टमा अटोजोम परीक्षण गरिएको छैन। र, प्रहरीले मिडियामा लिक गरेको खबरमा एकै परिवारका दुई जनाले बलात्कार गरेको भनिएको पनि छैन। 

के बलात्कार नगरे पनि राज्य संयन्त्र नै परिचालित गरेर नमिलेको डिएनए मिल्यो भनेर प्रस्तुत गर्न सम्भव छ?

हामीले यो प्रश्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए प्रमुख दिनेशकुमार झासित राख्यौँ। 

'यति विधि नेगेटिभ पनि नबनौँ,' हाम्रो प्रश्नपछि एकछिन मौन बसेका उनले आशय बुझेपछि हाँस्दै जवाफ फर्काए। 

त्यसो त, डिएनए मिल्यो भन्दैमा वा कागजमा जे मन लाग्यो त्यही तथ्याङ्क दिएर मात्र नभई इलेक्ट्रोफेरोग्रामको चार्टमा पनि देखिनु पर्ने फरेन्सिक एक्सपर्ट रिजाल बताउँछन्। 

रिजाल यो केसलाई सहज बनाउँदै लानु पर्नेमा झन् जटिल बनाउँदै लगेकोमा असन्तुष्ट छन्। उनले तत्काल फरेन्सिक विज्ञको टोली गठन गरी यसबारे जिम्मा दिनुपर्ने सुझाव दिन्छन्।

यदि नक्कली अभियुक्त खडा गरिएको आरोप लाग्यो भने सरकारले इलेक्ट्रोफेरोग्रामको चार्ट सार्वजनिक गर्नुपर्ने हुन्छ।  

प्रहरीले सामूहिक बलात्कार हुँदा एक जनाले मात्र गरेको तर मतियार अरु पनि भएको देखाउन सक्ने सम्भावना पनि छ। अथवा मिडियामा जसले साबिती बयान दिएको भनिएको छ, उसले बलात्कार गरेर वीर्यपतन योनीमा नगरी बाहिर गरेको प्लट रच्ने सम्भावना पनि हुनसक्छ। र, त्यो प्लटमा मुख्य अभियुक्त फरार रहेकाले डिएनए नमिलेको भन्न सक्ने अवस्था पनि हुनसक्छ। प्रहरीले नियन्त्रणमा लिएको रावल समूहका चन्द थरका एक युवक फरार रहेको र प्रहरीले उसलाई खोज्दै गरेको जानकारी पनि हामीले पाएका छौं।

तर, प्रहरीले आफ्नै ल्याबमा गरेको डिएनए प्रोफाइलिङमा प्रष्ट रुपमा जुन Y एसटिआर प्रोफाइल देखिएको छ, त्यो एक जनाको मात्र देखिएको छ।
 
नक्कली अभियुक्त खडा गरिएको भन्ने विवाद भएमा कागजमा दिइएका नम्बरको साटो स्वतन्त्र फरेन्सिक विज्ञहरुको टोलीले ल्याबमै गएर इलेक्ट्रोफेरोग्रामको चार्ट हेरी पुष्टि गरेपछि मात्रै निर्मलालाई बलात्कार गर्ने उही हो भनी वैज्ञानिक पुष्टि सम्भव हुन्छ। नत्र, सुरुदेखि नै नियतमा समेत विवादित रहेको यो केसको सहज अवतरण सम्भव छैन।

एक पटक दीलिपसिंह विष्टलाई नक्कली 'प्लट' बनाएर अभियुक्तका रुपमा खडा गरिसकेको प्रहरीले यस पटक फेरि त्यस्तै गल्ती दोहोर्‍याए त्यो उसको लागि मात्र होइन, अपराध अनुसन्धान गर्ने सिंगो निकायको विश्वासमाथि नै घातक हुनसक्छ।  

 

यस्तो छ डिएनए रिपोर्ट

(प्रतिवेदनको छायाप्रति हामीसित सुरक्षित छ)



यसमा निर्मलाको भेजिनल स्वाबमा भेटिएको Y डिएनएको १६ वटा जेनेटिक लोकस/मार्कर मध्ये ९ वटा अङ्क दीलिपसिंह विष्टको डिएनएसित मिलेको छ। 

के त्यसो भए प्रहरीले सुरुमा अभियुक्त बनाई सार्वजनिक गरिएका विष्टलाई अभियुक्त मान्न सकिन्छ? 

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए प्रमुख दिनेशकुमार झाका अनुसार पितृत्व पहिचानका क्रममा एक दुईवटा लोकस मार्करको अङ्कमा एक दुई अङ्कको अन्तर भए पनि त्यसलाई अपवाद मानेर स्वीकार गर्ने प्रचलन छ। तर, अपराधी पहिचान गर्न गरिने डिएनए परीक्षणमा शत् प्रतिशत मिल्न जरुरी हुन्छ।
 
फरेन्सिक एक्सपर्ट रिजालले  अपराधी पहिचानमा शत् प्रतिशत डिएनए मिल्नुपर्ने दावी गर्छन्। 


त्यस्तै प्रहरीको ल्याबले गत असोज ७ गते तयार पारेको रिपोर्टमा पनि निर्मलाको भेजिनल स्वाबबाट तयार भएको Y डिएनएका १६ जेनेटिक लोकस/मार्कर मध्ये एसपी दिल्लीराज विष्ट र उनका छोरा किरण विष्टको ६ वटा मिलेको छ। बाँकी १० वटा नमिलेकाले उनीहरुको डिएनए म्याच भएको मान्न सकिँदैन। 

भीमदत्त नगरपालिका मेयरका भतिजा आयुष विष्टको पनि पाँच वटा जेनेटिक लोकस/मार्कर मात्र मिलेको छ। 

प्रहरीले अब कसैलाई निर्मलाको भेजिनल स्वाबमा भेटिएको पुरुष Y डिएनएसित नमिली अभियुक्त भनी सार्वजनिक गर्न सक्दैन।  

के हुनसक्छ सम्भावित उपाय?

२० वर्षअघि अगस्त १० तारिखका दिन नेदरल्यान्ड्सको ब्रुन्स्सुममा ११ वर्षका किशोर निकी भेर्स्टाप्पेन हराए। 

भोलिपल्ट साँझ उनको लाश एक किलोमिटर जति पर फेला पर्‍यो कम्मरभन्दा माथि नाङ्गो हालतमा। लाशको प्रकृति हेर्दा यौन दुर्व्यवहार भएको जस्तो देखिन्थ्यो। तर, पोस्टमार्टममा मृत्युको स्पष्ट कारण खुलेन। 

हत्यारा पत्ता लगाउन डच प्रहरीले बृहत् अनुसन्धान गर्‍यो। तर, अनुसन्धानले छेउटुप्पो केही नतिजा ल्याउन सकेन। 

लामो समयसम्म डच प्रहरीले हत्यारा पत्ता लगाउन नसकेकोमा आलोचना खेप्नु पर्‍यो। कयौँ अनुसन्धान टोली बने, विघटन भए। तर, नतिजा शून्य।
 
हत्या गरिएका निकी। फोटो साभार : बिबिसी

निकीको शरीरमा अरुको डिएनए पनि भेटिएन। लाश भेटिएको ठाउँ नजिकै एउटा टिस्यु र चुरोटको ठूटो भेटियो जसमा मानव डिएनएको नमूना थियो।

डिसेम्बर १९९९ देखि जनवरी २००० सम्म घटनास्थलमा भएका ३५ जनाको डिएनए टेस्ट गरियो। सबको रिजल्ट आयो नेगेटिभ। 

हत्या भएको १२ वर्षपछि निकीको शरीरमा अरुको (फरेन) डिएनए पनि भेटियो। त्यसपछि ८० जनाको डिएनए स्याम्पल लिएर परीक्षण गरियो। अझै केही नतिजा आएन। 

यतिसम्म कि किशोर सहभागी भएको समर क्याम्पका सात वर्षअघि मरिसकेका संस्थापक जोस बार्टेनको शव उत्खनन् गरेर डिएनए स्याम्पल समेत लिइयो। तर, त्यो पनि म्याच भएन। 

त्यसपछि, यसै वर्षको सुरुमा अर्थात् सन् २०१८ को जनवरीमा लिम्बर्ग प्रान्तका साढे २१ हजार पुरुषलाई डिएनए स्याम्पल दिन आह्वान गरिने घोषणा भयो। डच इतिहासकै सबैभन्दा ठूलो डिएनए स्क्रिनिङ कार्यक्रम थियो त्यो। फेब्रुअरीदेखि जुन महिनासम्ममा १५ हजारभन्दा बढी स्याम्पल संकलन भए। 

अन्ततः २० वर्ष पुरानो हत्याको रहस्य पत्ता लगाउन यसैले सघायो। एक ५५ वर्षीय पुरुष जोस ब्रेचको डिएनए निकीको लुगामा भेटिएको डिएनएसित मिल्यो। ब्रेचले यसअघि बच्चाहरुलाई यौन दुर्व्यवहार गर्ने गरेको पनि खुल्यो। 

हत्या भएकै बेला उनी घटनास्थल वरपर भएको त पहिले नै पत्ता लागिसकेको थियो। तर त्यतिबेला उनी त्यहाँबाट यत्तिकै गुज्रिएकोमात्र अनुमान गरिएको थियो। ब्रेच आफैले डिएनए स्याम्पल त दिएका थिएनन्, तर उनका एक आफन्तको डिएनए स्याम्पलको मद्दतले प्रहरीलाई सर्च न्यारो डाउन गर्न सघायो।  

तर, अभियुक्त चार महिनाअघि नै आफ्नो घर छाडेर टाप कसिसकेका थिए। प्रहरीले स्पेनमा उनलाई २६ अगस्तमा फेला पार्‍यो र पक्रियो। अनि ६ सेप्टेम्बरमा नेदरल्यान्डसमा ल्याइयो। 

प्रहरीले उसको जाँच गरेपछि डिएनए शतप्रतिशत मिल्यो।

अरु सबै प्रमाण लोप भइसकेको अवस्थामा अहिले निर्मलाको केसमा पनि यही मोडल लागू हुनसक्छ। निर्मलाको बलात्कार तथा हत्या गर्ने व्यक्ति फरार भए पनि उसको निकट आफन्तको डिएनएबाट शंकित व्यक्तिलाई न्यारो डाउन गरी अन्ततः अरु प्रमाणसमेतको आधारमा पत्ता लगाउन सकिन्छ।

मास डिएनए टेस्ट विश्वमै कहिलेकाहीँ मात्र हुन्छ। तर, यसलाई स्थानीय बासिन्दाले प्रहरीले दुःख दिएको रुपमा नबुझी निर्मलालाई न्याय दिलाउन चालिएको कदमका रुपमा लिनुपर्छ।

 सन् २०१४ मा पश्चिमी फ्रान्सको एउटा स्कूलको ट्वाइलेटमा एक १६ वर्षीया किशोरीको बलात्कार हुँदा ४ सय ७५ स्कूले विद्यार्थी, ३१ शिक्षक र २१ स्टाफको डिएनए स्याम्पल लिइएको थियो। त्यसैगरी सन् १९९८ मा एउटा बेलायती हत्याको केसमा ८ सय जनाको स्याम्पल लिइएको थियो। सन् १९८६ मा डन एस्वर्थको बलात्कार र हत्या केसमा प्रहरीले ४ हजार पुरुषको डिएनए टेस्ट गरेको थियो र कोलिन पिचवर्थ दोषी भएको पत्ता लगाएको थियो।   

निर्मलाको केसमा प्रहरी र राज्यले विश्वास गुमाउँदै गएका कारण स्वतन्त्र फरेन्सिक विज्ञहरुको टोली गठन गरी त्यसको प्रत्यक्ष निगरानीमा अनुसन्धानलाई थप अगाडि बढाउनु पर्छ। 

(काठमाडौँमा सागर बुढाथोकी र कञ्चनपुरमा महेन्द्र बमको सहयोगमा) 

#WhoKilledNirmala शृङ्खला  

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
 



Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' ( #WhoKilledNirmala शृङ्खला १४) को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट