PahiloPost

Apr 18, 2019 | ५ बैशाख २०७६

आयोगको प्रतिवेदनलाई प्रहरीको काउन्टर अट्याक : यसकारण आमासित डिएनए मिल्दैमा शंका हट्दैन


पहिलोपोस्ट

आयोगको प्रतिवेदनलाई प्रहरीको काउन्टर अट्याक : यसकारण आमासित डिएनए मिल्दैमा शंका हट्दैन

  • उमेश श्रेष्ठ/सविन ढकाल-

काठमाडौ : आइतबार राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा आफूले गठन गरेको विज्ञसहितको टोलीको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्‍यो। प्रतिवेदनले प्रहरीको प्राविधिक अनुसन्धान मै प्रश्न उठाएको छ। 

आयोगले प्रतिवेदनमा डिएनए संकलन र परीक्षण प्रक्रियामै प्रश्न उठाउँदै त्यसमा संलग्न प्राविधिकहरुलाई समेत आवश्यक छानबिनको दायरामा ल्याउन सिफारिस गरेको छ।

अनुसन्धानमा त्रुटि भएको खबर छरपष्ट भएपछि प्रहरीले आफ्नो बचाउ गर्दै सोमवार आयोगको प्रतिवेदन माथि काउन्टर अट्याक गरेको छ। 

निर्मलाको भेजिनल स्वाबमाथि नै प्रश्न उठेपछि प्रहरीले गत पुस २५ गते निर्मलाकी आमा दुर्गादेवी पन्तको रगतको नमुना संकलन गरेको थियो। रगतको माध्यमबाट डिएनए चेक गराएर निर्मलाको भेजिनल स्वाब निर्मलाकै हो कि होइन भन्ने पुष्टि गर्नु यसको उद्देश्य थियो।

आयोगको प्रतिवेदन सार्वजनिक भएको २४ घण्टा नबित्दै प्रहरी हेडक्वार्टरले सूचना चुहायो - निर्मलाकी आमाको रगतबाट निकालिएको डिएनए र निर्मलाको भेजिनल स्वाबको डिएनए (अटोजोमल एसटिआर) मिलेको रिपोर्ट आएको छ। अब भेजिनल स्वाबमा शंका गरिरहनु पर्दैन। 

हामीले कञ्चनपुरका डिएसपी कृष्णराज ओझालाई यसबारे सोध्यौँ। उनले निर्मलाको भेजिनल स्वाबको डिएनए आमासँग शतप्रतिशत मिलेको पुष्टि गरे। 

निर्मलाको भेजिनल स्वाब निर्मलाकै हो कि हैन भन्ने पुष्टि निर्मलाको शवबाट निकालिएको रगतको डिएनएको अटोजोमल एसटिआरबाटै भइसकेको थियो। भदौ २४ गते नै केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले यस्तो रिपोर्ट दिइसकेको थियो।

तर, पनि निर्मलाकी आमाको रगतको डिएनएसँग म्याच गराएपछि यसको थप पुष्टि भएको पक्कै हो।

यद्यपि, यसले मात्रै भेजिनल स्वाबको परीक्षणमा उठेको शंका प्रहरी हेडक्वार्टरले भने जसरी क्लिन चिट पाउने होइन। 

किन?

भेजिनल स्वाबको परीक्षण गर्दा  बलात्कार भएको हो कि हैन हेर्नलाई वाई एसटिआर विधिबाट परीक्षण गर्न सकिन्छ। भेजिनल स्वाबमा वाई क्रोमोजोम भेटिएपछि पुरुष संलग्न भएको पुष्टि हुन्छ किनभने महिलाको वाई क्रोमोजोम हुन्न। 

व्यक्ति किटान गर्न भने अटोजोमल विधिबाट डिएनए परीक्षण गर्नुपर्ने हुन्छ। मानवअधिकार आयोगले यस विधिबाट परीक्षण नगरेको भन्दै प्रहरीको ल्याबको काममाथि प्रश्न उठाएको छ। 

तर, नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला प्रमुख एसपी डाक्टर राकेश सिंह डिएनए परीक्षणमा कुनै त्रुटि नभएको दावी गर्छन्। उनले भेजिनल स्वाबको अटोजोमल प्रोफाइलिङ गरिएको बताए। 

अटोजोमल प्रोफाइलिङ नगरेको भए अहिले निर्मलाको भेजिनल स्वाब र निर्मलाकी आमाको रगतको डिएनए म्याच गरेको रिपोर्ट आउन सक्दैन थियो। 

त्यसो भए त्रुटि केमा त?

वाई एसटिआर परीक्षणमा पुरुषको डिएनए भेटिएको छ तर अटोजोमल परीक्षण गर्दा भने पुरुष डिएनए भेटिएको छैन। यसले थप शंका जन्माएको हो।

भेजिनल स्वाबको नमूना नै कम भएकाले पुरुषको अटोजोमल प्रोफाइलिङ गर्न नसकिएको एसपी सिंहको दावी छ। 'हामीले अटोजोमल एसटिआरमा पुरुषको डिएनए निकाल्न खोजेका हौं, तर अनुपात कम भएकाले गर्न सकिएन,‘ उनले भने।

तर, फरेन्सिक एक्स्पर्ट तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक जीवन रिजाल फरेन्सिक स्याम्पल भनेकै प्याथोलोजी स्याम्पल जस्तो धेरै नपाई थोरै नै हुने तर्क गर्छन्। 

ल्याबको कमिकमजोरीतर्फ औँल्याउँदै उनले सम्भव भएसम्म थोरै स्याम्पलबाट नै एक्स निकाल्नुपर्ने बताए। 


‘ट्रेस अमाउन्टबाट ज्यादाभन्दा ज्यादा रिजल्ट निकाल्न सक्नुपर्छ। यसमा पूरै चुकेको छ प्रहरी,’ रिजालले भने, ‘अझै निकाल्न सकिन्छ कि। चेक गर्नुपर्छ। निकालेको सही छ कि गलत हेर्नुपर्छ।‘

सेलिब्रिटी ओजे सिम्पसनलाई डबल मर्डर चार्ज लाग्दा उनले आफ्ना लागि बनाएको नामी वकिलहरुको एउटा समूहमा कन्सलट्यान्टको रुपमा काम गरेका डाक्टर डान क्रेनले पनि पहिलोपोस्टसितको इमेल कुराकानीमा पुरुष (बलात्कारी) को डिएनए अटोजोमल एसटिआरमा भेटिनु पर्ने बताउँछन्।

तर, उनी मेजर र माइनर कन्ट्रिब्युटरको रेसियो ५:१ भन्दा बढी भएको अवस्थामा व्याख्या गर्ने अनुभवी नभएमा यस्तो हुनसक्ने तर्फ सचेत पनि गराउँछन्। यो कुरा डाक्टर सिंहले पनि स्वीकारे। उनले भने, ‘अनुपात १:१० भन्दा बढी भयो। यस्तो अवस्थामा पुरुषको भेटिएन।‘

भेजिनल स्वाबमा भेटिएको वीर्यलाई अलग्गै छुट्याएर अलग अलग गरेर डिएनए टेस्ट गरेको भए यस्तो समस्या नहुने तर मिक्स्चर रुपमा गर्न खोजेकोले यस्तो भएको रिजाल बताउँछन्। 

‘पीडितकै भेजिनाबाट स्वाब निकालिएको हो। त्यो धेरै हुने नै भयो। स्पर्म (वीर्य) भनेको फरेन बडी हो , थोरै मात्र हुन्छ,’ उनले भने। 
रिजालका अनुसार स्पर्म र भेजिनल स्वाब छुट्याउने प्रविधि प्रयोग गरेर लो कन्सन्ट्रेसन भएकोलाई म्याक्सिमम एम्प्लिफाइ गरेर हेर्नु पर्नेमा प्रहरीको ल्याब चुकेको छ। 

त्यही भएर पनि आयोगले ‘त्रुटिपूर्ण परीक्षणमा संलग्न प्राविधिकहरुलाई आवश्यक छानबिनको दायरामा ल्याउन'  सरकारलाई सिफारिश गरेको छ। 

के वाई एसटिआर निकाल्नु गलत हो?
बलात्कारका अधिकांश घटनामा वाई एसटिआर विधिबाट परीक्षण गरिन्छ। 

तर, वाई एसटिआर प्रोफाइलिङले वंश पहिचानमात्र गर्न सकिन्छ। बाबु, छोरा, काकाको छोरासहित पाँच पुस्तासम्मका पुरुषहरुको वाई एसटिआर डिएनए एउटै हुन्छ। यसले शंकितहरुको न्यारो डाउन गर्न सघाउँछ। थप अरु प्रमाणले न्यारो डाउन भएकाहरुलाई अनुसन्धान गरी दोषी पत्ता लगाउन सकिन्छ। 


नेदरल्यान्ड्सको ब्रुन्स्सुममा ११ वर्षका किशोर निकी भेर्स्टाप्पेनको हत्या भएको २० वर्षपछि हत्यारा  नजिकका आफन्तको डिएनए टेस्टबाट नै ट्रेस गरी पत्ता लगाइएको थियो। किनभने उनी हत्यापछि स्पेन भागिसकेका थिए।

पीडकको वाई एसटिआर प्रोफाइलिङ एउटा उपलब्धि हो। तर, यसैमा मात्र भर पर्न भने मिल्दैन। अर्थात् डिएनए सबै मिल्यो भन्दैमा दोषी उही नै हो भनेर किटान गर्न भने सकिँदैन। अरु प्रमाण पनि त्यसका लागि आवश्यक हुन्छ। 
 
अब के गर्न सकिन्छ?
रिजाल भेजिनल स्वाबको बाँकी बचेका स्याम्पललाई परीक्षणका लागि विदेशमा पठाउनु पर्नेमा जोड दिन्छन्। ‘बाहिरका ल्याबहरुले  राम्रो टेक्नोलोजी युज गर्छन्। त्यसैले थोरै अमाउन्टबाट पनि धेरै गर्न सक्छन्,’ उनी भन्छन्, ‘बाँकी रहेकोबाट गर्न गाह्रो त हुन्छ तर यो विकल्प छाडेर डिएनएबाटै केही हुन्न भनेर निराश हुनुपर्ने पक्षमा म छैन।’ 

डिएनए परीक्षणमा उठेको शंकालाई विज्ञहरुको टोली बनाएर निवारण गर्नुपर्ने र आयोगले औँल्याए जस्तै प्रहरीको ल्याबका अधिकारीहरुलाई पनि छानबिनको दायरामा ल्याउनु पर्नेमा टेक्निकल ज्ञान नभएका सर्वसाधारणलाई ‘आमाको डिएनएसित निर्मलाको मिल्यो, अब प्रश्न उठाउनु पर्दैन’ जस्ता प्रोपोगान्डामा लाग्ने हो भने निर्मला प्रकरण सधैँ कुहिरोको काग नै बनिरहनेछ। 

आयोगले ‍औँल्याए जस्तै ह्युमन इन्टेलिजेन्स प्रयोग गर्नुपर्छ र यस क्रममा डिएनए नमिलेका तर बलियो शंका भएकाहरुमाथि पनि पुनः कुनै कोणबाट अनुसन्धान थालेर अनुसन्धानलाई बृहत् बनाउन सकिन्छ। 



आयोगको प्रतिवेदनलाई प्रहरीको काउन्टर अट्याक : यसकारण आमासित डिएनए मिल्दैमा शंका हट्दैन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट