PahiloPost

Jun 27, 2019 | १२ असार २०७६


निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि


उमेश श्रेष्ठ

निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि

तिहारको केही दिनअघिमात्र निधन भएका पद्मरत्न तुलाधर २०३८ साल ताका लाजिम्पाटमा रहेको आफ्नै छापाखानाबाट नेपालभाषाको दैनिक पत्रिका 'राजमति' चलाउँथे। पत्रिकामा एउटा स्तम्भ थियो - ‘प्रतिभा परिचय’।

यसै स्तम्भको एउटा श्रृंखलामा दुई दिदी बहिनीको तस्बिर छापियो – अमृत क्याम्पसका प्रतिभाशाली छात्रा भन्दै। कोलकातामा महावाणिज्यदूत रहेका माधवराज भण्डारीका यी दुई छोरी पद्मरत्नको पत्रिकाबाट सार्वजनिक भए। यी तिनै दिदी बहिनी हुन् जोसँग एउटा नसुल्झिएको गुत्थी छ।

र, जबजब बलात्कार र हत्याका घटनामा दोषी पहिचान हुँदैन यी दुवैका नाम फेरि स्मरण गरिन्छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यापछि फेरि धेरैले यी दुईको नाम र घटना सम्झिए – नमीता-सुनीता बलात्कार र हत्या, अपराधी अज्ञात!      

चार वर्ष भारतमा पढेर आएका नमीता र सुनीता स्मार्ट थिए। अङ्ग्रेजी राम्रोसँग बोल्ने पनि। ठमेलको अमृत साइन्स क्याम्पस पढ्दै गरेका उनीहरुका बारेमा छापिएको सामग्री धेरैका लागि प्रेरणाको स्रोत पनि बन्थ्यो। तर, केही आपराधिक मानसिकता भएका 'आवारा'हरुका लागि पत्रिकामा छापिएको त्यही विवरण सिकारको आधार बन्यो। 

माधवराज भण्डारीको घर लाजिम्पाट। घर नजिकै थियो – शंकर होटल। होटलका संचालक राम श्रेष्ठ राष्ट्रिय पञ्चायत सदस्यसमेत थिए। उनका छोरा विनोदशंकर भने त्यतिखेर 'आवारा' मानिन्थे। 'त्यो पत्रिका शंकर होटलमा पनि पुग्थ्यो,' नमीता सुनीता काण्डमा लामो अनुसन्धान गरेका पत्रकार किशोर श्रेष्ठ भन्छन्, 'सबै कुराले केटीहरू नोटिसमा भए। यिनीहरुलाई शिकार बनाउनु पर्छ भनेर प्लान बनाएर लागेको हुनुपर्छ।'

भएको थियो के?

२०३८ साल जेठ १८ गते काठमाडौंबाट आएको एउटा नीलो कार पोखराको ब्यारेकभित्र पस्यो। त्यतिबेला कास्कीका प्रमुख जिल्ला अधिकारी सूर्य सेन ओलीले आफ्नो आत्मकथामा लेखेअनुसार बा अ ११३२ नम्बरको त्यो नीलो कारमा विनोदशंकर श्रेष्ठ र राजु राणा आएको चर्चा थियो। त्यसको ठीक दुई दिनअघि काठमाडौंबाट पोखरा छुटेको एउटा बसमा तीन किशोरी थिए र उनीहरुलाई पछ्याइरहेका दुई युवक पनि।  

 ‘जेठ १६ गते दुईजना केटाहरू काठमाडौंबाट नमिता, सुनिता, नीरा (पराजुली) आएकै बसमा आए। बाटोमा ती केटीहरूलाई बिस्कुटहरू पनि दिँदै, पोखरामा कहाँकहाँ घुम्ने – कहाँ बस्ने – सोध्दै आए,' ओलीले लेखेका छन्, '१७ गते उनीहरू बसेको ठाउँ वरिपरि टहल्लिएर फर्किएका पनि थिए।'

काठमाडौंदेखिको ‘प्लान’ पोखरामा पुगेर पूरा हुँदै थियो। बसमा आएका केटाहरुले यी तीन युवतीमाथि लगातार ‘रेकी’मात्र गरेनन् नीलो कारमा आएकासँग भेटको चाँजोपाँजोसमेत मिलाउन सफल भए। जेठ २४ गते नमीता, सुनीता र नीरा तीनैजना पोखरा बजार ब्यारेकमा उनीहरुको निम्तालु बनेर पसेको र कहिल्यै नफर्केको चर्चा भयो। यसपछि पालैपालो उनीहरूको लाशमात्र फेला पर्न थाल्यो। पहिले नमीता अनि सुनीताको शव भेटियो।

त्यसपछि घटनाका प्रत्यक्षदर्शी ठानिएका वनपाले चुडामणि अधिकारीको पनि लाश भेटियो। नमीता, सुनीतासँगै पोखरा पुगेकी नीराको भने लाश भेटिएन। घटनाको पाँच महिनापछि भेटिएको एउटा लाश नीराको शंका गरियो। अहिले जस्तो डिएनएको प्रविधि नभएकाले यकिन भएन। 

हाइ प्रोफाइल हत्याले सनसनी

न मोबाइल, न सामाजिक सञ्जाल, न अहिले जस्ता मिडिया- सञ्चारका साधन कम भए पनि काठमाडौँबाट गएका तीन किशोरीहरु पोखरामा हराएको खबरले काठमाडौँमा सनसनी फैलिसकेको थियो। सरकारी सेवाका प्रभावशाली कर्मचारीमात्र हैन, तत्कालीन अर्थमन्त्री यादवप्रसाद पन्तका सम्धीसमेत भएकाले नमीता-सुनीताका बाबु माधवराजले छोरीहरु खोज्नका लागि निकै 'पावर' लगाए।   

वैशाख २९, २०३८। 

हराएको पाँच दिनपछि सेती नदीको किनारमा एउटा लाश फेला पर्‍यो। टाउको पूर्व फर्किएको र शरीर उत्तानो अवस्थामा। प्याजी रङ्गको पाइजामा (पञ्जाबी पोशाक) थियो भेटिएको शरीरमा। कम्मरमाथि लगभग निर्वस्त्र। शवको घाँटीमा झुण्डिरहेको ब्याग, दुवै दिदी–बहिनीका परिचयपत्र, सुनको लकेट फेला परेपछि माधवराजले सनाखत गरे - कान्छी छोरी नमीता। 

अर्की छोरी सुनीताको अत्तोपत्तो थिएन। शव भेटिएकै दिन पोष्टमार्टमका लागि गण्डकी अञ्चल अस्पतालका सुपरिटेण्डेन्ट डा. कुमारसमशेर राणा तयार भएनन्। भोलिपल्ट मात्रै पोष्टमार्टम गरियो। रिपोर्टमा ‘पानीमा डुबी श्वास लिन नसकी मरी’ भन्ने भाषा प्रयोग गरिएको थियो।

***
नमीताको शव फेला परेको ९ दिनपछि असार ६ गते, नमीताको लाश भेटिएभन्दा थोरै तलमात्र नदी किनार अर्को शव फेला पर्‍यो। घोप्टो परेर ढलेको अवस्थामा भेटिएको शवमा कलेजी रङ्गको हाफ – बाहुले कुर्ता र तल्लो भागमा कालो बुट्टे अण्डरवेयर थियो। त्यो शव थियो नमीताकै दिदी सुनीताको। 

'सुनीताको लाश नदीको छेवैमा फेला पर्दा उनको शरीरमा सुरुवाल थिएन, अण्डरवेयर दोब्रिएको थियो, घाँटीमा कालो (सल) चुनीले बेस्कन कसिएको थियो। छेवैमा लामो बाँस थियो,' किशोर श्रेष्ठ आफ्नो पुस्तकमा लेख्छन् - 'यसले के पुष्टि हुन्छ भने सुनीतालाई घटनास्थलबाटै उठाएर लगी कतै सामूहिक बलात्कार गरियो। पोल खुल्ने डरले उनकै चुन्नी (कुर्ता, सुरुवाल लगाउने केटीहरुले घाँटीमा प्रयोग गर्ने पातलो कपडा) ले घाँ“टी कसेर हत्या गरियो। हत्यापछि लाशलाई बोकेर ल्याई थपक्कसँ“ग त्यहाँ राखियो। अथवा यसो पनि भन्न सकिन्छ, लाश त्यसरी राखेर अपराधीहरुका तर्फबाट सुनीताका अभिभावकमाथि ‘दया’ देखाइयो।'

'सुनीताको शवको पोष्टमार्टम रिपोर्टमा सिभिल सर्जन डा. कुमार समशेर र मेडिकल अफिसर बृजकिशोर प्रसादले लेखे – ‘घाँ“टीलाई दोपट्टाले बेरी श्वास लिन नदिएर मारेको देखिन्छ।’

***

दिदी बहिनी दुवैको शव भेटियो। तर, हत्यारा भेटिएनन्। घटनाको सुराक दिनेलाई ५ हजार रुपैयाँ इनामको घोषणा प्रशासनले गरे पनि त्यसको प्रभाव परेन। दुई सन्तान गुमाएका बाबु माधवराज भण्डारीलाई प्रशासनको पारा देखेर दिक्क लाग्नु स्वभाविक थियो। उनी आफ्नै किसिमले खोजपड्तालमा जुटे। 

पृथ्वीनारायण क्याम्पसमुनि सेती नदीको खोंचबाट निकालिएको नमीताको शव र त्यसको प्रकृति हेर्दा घटना नजिकै कतै भएको अनुमान लगाउन सकिन्थ्यो। वारि क्याम्पस र पारी फूलबारी। फूलबारीबाट लाश भेटिएको ठाउँ प्रष्टसँग देख्न सकिन्थ्यो। फूलबारी डुल्ने क्रममा असार ३ गते माधवराजले एउटा महत्वपूर्ण सूत्र पाए - वनपाले चूडामणि अधिकारी।

अधिकारी प्रायःजसो कार्यालय समयपछि खाना खानका निम्ति क्याम्पसमुनिको काठेसाँ“घु तरी सेती पार गरेर घर जान्थे र खाना खाएर त्यसरी नै फर्कन्थे। साँ“झ–बिहान नियमित ओहोर–दोहोर गरिरहने चूडामणिले पृथ्वीनारायण क्याम्पसमुनि घटेको घटनालाई नजिकैबाट देखेको हुनसक्ने अनुमान थियो।  

माधवराजले चूडामणिलाई भेटेर वास्तविकता बताउन अनुरोध गरे। कुरा भइरहेकै थियो, अकस्मात् दुईजना प्रहरी त्यहाँ पुगे। चूडामणिसहित माधवराजलाई समेत डीएसपी कार्यालय लगे। कारण केही बताइएन। इन्स्पेक्टर बाबुराम पुनले चूडामणिलाई साँझसम्म थुनिराख्ने आदेश दिए। पछि चूडामणिलाई ‘भोलिपल्ट दश बजे हाजिर हुन आउने’ भन्दै बिना सोधपुछ डीएसपी कार्यालयबाट छोडियो। 

साँझ चूडामणि घर फर्किए। भोलिपल्ट बिहान ९ बजे चूडामणिले हातमा बाँधेको घडी फुकाले। श्रीमतीलाई दिए, पस्किएको भात खाए र हिँडे। प्रत्यक्षदर्शीले उनलाई सधैं हिँ“ड्ने छोटो बाटो नहिँ“डिकन ब्यारेकतिरको बाटोबाट हिँडिरहेको देखेका थिए। उनी पनि त्यसपछि कहिल्यै फर्किएनन्।

सुनीताको लाश भेटिएको ६ दिनपछि असार १२ गते रामघाटमा अर्को लाश फेला पर्‍यो। त्यो लाश उही वनपाले चूडामणि अधिकारीको थियो। श्रीमती टीकादेवीले एकफेर लाश हेर्न पाइन्। किशोर श्रेष्ठको पुस्तकमा उल्लेख छ - 'लोग्नेको हातको बूढी औंला भाँच्चिएको थियो, कोखामा एक रुपैयाँ“ (डबल) जत्रो प्वाल थियो, खुट्टामा एउटा चप्पल थियो, भर्खरै हातमा बाँ“धेको डोरो पनि केही भएको थिएन, शरीरचाहिँ“ कालै भइसकेको थियो।' 

केन्द्रीय गुप्तचर विभागका मुख्य अधिकृत चाँदबहादुर राई र अञ्चलाधीश गणेशमान श्रेष्ठ ‘राम्रोसँ“ग’ पोष्टमार्टम गरिदिने अनुरोध लिएर चिप्लेढुङ्गास्थित डा. कुमारको क्लिनिकमा गए। नमीता–सुनीताको पालामा झैं यसपटक पनि डाक्टरले भोलिपल्ट पोष्टमार्टम गर्ने भन्दै राई र श्रेष्ठलाई फर्काइदिए। भोलिपल्ट - ‘कुहेको, तिघ्रा भाँच्“चिएको र आन्द्राभूँडी नभएको हुनाले पोष्टमार्टम गर्न नसकिएको’ भनियो।
 
चूडामणिको शरीर परिवारलाई जिम्मा नदिइकन हतारहतार जलाइयो। लाश जलाउनुभन्दा केही घण्टाअघि उनको शरीरबाट कमीज गायब पारियो।

सिरियल किलिङको घटनाले सिङ्गो देश तात्तिएको थियो। हत्याविरुद्ध विशाल प्रदर्शनहरु भइरहेका थिए। सरकारले भदौ १७ गते कास्कीको सिडिओलाई फिर्ता बोलाएर सूर्यबहादुर सेन ओलीलाई खटायो। चूडामणिको शव फेला परेको ५ महिनापछि असोज ४ गते सेती त्रिवेणी नजिकै बोरामा एउटा पुरानो शव फेला पर्‍यो। शव महिलाको भन्ने त चिनियो तर उमेर र मृत्युको कारण खुलेन। ओलीले आफ्नो पुस्तकमा त्यो शव नीरा पराजुलीको हुनसक्ने लेखेका छन्। 

***
प्रतिध्वनि साप्ताहिकका रिपोर्टर किशोर नेपाल घटनाको स्थलगत रिपोर्टिङ गर्न घटनालगत्तै पोखरा पुगेका थिए। त्यहाँ स्वतन्त्र भएर रिपोर्टिङ गर्न सजिलो थिएन। 'रिपोर्टिङ गर्न म जहाँ-जहाँ जान्थेँ, उनीहरु चारैतिरबाट घेर्थे। पिटपाट गरौँला झैँ गरेर प्रस्तुत हुन्थे,' घटनाबारे नेपालले बताए, 'तँ किन आइराको यहाँ भन्थे। यहाँ कसैले केही गरेको छैन, पोखरा सुरक्षित ठाउँ हो भन्थे।'

नेपालका अनुसार त्यतिबेला पोखरा पुग्नै कठिन थियो। मुग्लिङ पुग्नै दिनभर लाग्थ्यो। त्यहाँबाट पनि पोखरा अझै टाढा। 'रिपोर्टिङमा जाँदा त्यहाँका केही मानिसले मलाई नै खेदे,' उनले भने।

प्रतिकूल परिस्थितिकै बीच उनले पोखराबाट हत्याकान्डसम्बन्धी रिपोर्टिङ गरे। प्रतिध्वनिमा एक अङ्क लामै डिटेल रिपोर्ट छापियो, उनकै बाइलाइनमा। घटनाको दोस्रो रिपोर्ट पनि उनले पठाए। तर, छापिएन। 

'पब्लिसरलाई पनि अप्ठेरो परेको जस्तो लाग्छ त्यतिबेला,' नेपाल सम्झिन्छन्।
     
उनले त्यहाँका स्थानीय साथीहरुसँग बुझे। 'उनीहरुले मलाई भने - हेर बाबु, यो पत्ता लाग्दैन। पार लाग्दैन,' नेपालले भने। त्यसपछि उनी पोखराबाट फर्किए।     

***
घटनाको १० वर्षपछि यही विषयमा खोजी गर्न अर्का पत्रकार पोखरामा उत्रिए। उनको नाम पनि किशोर नै थियो - किशोर श्रेष्ठ। घटना हुँदा उनी चार कक्षामा पढ्ने १२ वर्षका। 

'आजैजस्तो लाग्छ यो काण्डमा संलग्न ठूलाठालूहरुमाथि कारबाहीको माग गर्दै स्कूले हामी भुराहरुले बजारभरि वालिङ, पोष्टरिङ गर्दै हिँडेको,' उनी सम्झन्छन्। 

हाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष रहेका किशोरले पुरानो कुरा सम्झँदै भने, '२०४६ सालको जनआन्दोलनपछि राजा र राजदरबारबारे पनि केही लेख्न सकिने भयो। त्यसपछि अब केही त गर्नुपर्ने भयो भन्ने लाग्यो। सोच आयो क्राइममा नै केही लेख्नुपर्छ। पुराना घटना के भएका रहेछन् भनेर हेर्न थालेँ। एउटा घटनाले क्लिक गर्‍यो - नमीता-सुनीता हत्या प्रकरण।' 

२०४८ सालमा उनी पोखरा पुगे। लाश भेटिएको ठाउँ सेती खोँच हेरे। जहाँ नमीता सुनीता भिडियो हेर्न गएका भनिएको थियो, त्यो ठाउँ हेरे। घटनास्थलको अध्ययन र केही व्यक्तिलाई भेटेर उनी काठमाडौं फर्किए। 

उनी भन्छन्, 'घटना हुँदा अञ्चलाधीश गणेशमान श्रेष्ठ हुनुहुन्थ्यो। उहाँबाट केही जानकारी लिएँ। गुप्तचर लगायत घटनामा जोडिएका व्यक्तिलाई भेटेँ। कुमार उपाध्याय लगायत पुराना मानिसहरुलाई भेट्दै गएँ।'

धेरैजनासँगको भेटपछि दृष्टि साप्ताहिकमा घटनाबारे रिपोर्टिङको सिरिज सुरु भयो।

हरेक हप्ता नमीता-सुनीता हत्याकान्डबारे उनका खोजमूलक समाचार दृष्टिको एउटा पूरा पेजमा छापिन्थ्यो। यसैबारे उनले 'दरबार कान्डपछि दबाइएको अर्को हत्याकान्ड' पुस्तक लेखे, जसले यो घटनालाई विस्तारमा लिपिवद्ध गरेको छ। 

*** 

'ती राँ*हरु मर्दा के! राँ*हरुको चिलाउँदा हाम्रो सिडिओको सरुवा भयो'

नमीता - सुनीता हत्याकान्डबारे जानकारी दिने अर्को एउटा पुस्तक पनि छ सूर्यबहादुर सेन ओलीको आत्मकथा। घटनाको तीन महिनापछि कास्की जिल्लाको सिडिओलाई सरुवा गरेर उनलाई पठाइएको थियो। खटिएको भोलिपल्ट सरुवा हुन लागेका सिडिओ पद्मराज सुवेदीसँग विन्दवासिनी मन्दिर दर्शन गर्न जाँदा त्यहाँका पूजारी रुद्रनाथ बाहुनले भनेको भन्दै उनको आत्मकथामा उद्धृत गरिएका शब्द हुन् माथिका। उनले आत्मकथामा लेखेका छन्- 'यसैबेलादेखि नमीता-सुनीताको हत्यामा त्यस बाहुनप्रति मैले अनुसन्धान सुरु गरेँ।' 

***

पोस्टमार्टमको गडबड

ओलीले आत्मकथामा पोस्टमार्टममाथि प्रश्न गरेका छन्। शव बरामद गर्दाको प्रहरी मुचुल्का र अस्पतालको पोष्टमार्टम प्रतिवेदन बाझिएको उनको दावी छ। उदाहरणसहित उनले लेखेका छन् – 
'प्रहरीको प्रकृति मुचुल्कामा सुनीताको योनीबाट रगत निस्केको, च्यातिएको भन्छ भने पोष्टमार्टमले माछाले खाएको भन्छ। खाएको माछाले नै हो भन्ने डाक्टरलाई थाहा हुने कुरा हैन! साथै, माछाले खाएको भए मृत्युपछि खाएको हुनुपर्छ र मृत्युपछि खाएकोमा रगत आउनुपर्दैन।' 

'चूडामणिको प्रकृति मुचुल्कामा काखीमुनि एकातिर पाँच पैसा छिर्ने प्वाल अर्कोतर्फ लोटा छिर्ने भ्वाङ्ग भन्छ भने, पोष्टमार्टममा गिद्धले खाएको भ्वाङ भन्छ। गिद्धले नै खाएको भन्ने डाक्टरले थाहा पाउने कुरा हैन। साथै, शवको शरीरको अन्त पनि गिद्धले खाएको हुनुपर्ने – छैन।' 

गोली हानेकै देख्ने प्रत्यक्षदर्शी

ओलीले आफ्नो आत्मकथामा चूडामणिलाई गोली हानेकै देख्ने एक महिला प्रत्यक्षदर्शी रहेको समेत लेखेका छन्। ती महिलालाई उदृत गर्दै उनले लेखेका छन् ‘असार ५ गते साँझ भोल्गाजस्तो रसियन जीपमा राखी सैनिकले बन्दुक तालिम गर्ने ठाउँमुनि लगी पेस्तोलले हानी चूडामणिलाई मारी सेती नदीमा फालेका हुन्। त्यसरी हत्या गर्ने प्रहरी ४ जना हुन्। हवल्दार कृष्ण बहादुरलाई चिन्दछु। अरूलाई चिन्दिनँ। अरू कृष्णबहादुरबाट खुलोस्।’

यति जानकारी पाएपछि उनी काठमाडौं आए र गृह सचिवलाई घटना विवरण सुनाए। हवल्दार कृष्णबहादुरबाट नमिता, सुनिताको हत्या पत्ता लाग्ने जानकारी दिए।

खासमा उनी प्रधानमन्त्री सूर्यबहादुर थापालाई भेट्न काठमाडौँ आएका थिए। थापाले सुरुमा भेटै दिएनन्। बरु दरबारका प्रमुख सचिव रञ्जनराज खनालले उल्टै सचेत गराए,  ‘सतर्क हुनू, हत्याराले तपाईंलाई पनि मारिदेला। एक जनालाई मार्नेले अरूलाई पनि मार्न सक्छ …। तपाईंलाई पनि मार्ला है बच्नुस्।’

त्यही क्रममा उनलाई फोनबाटै अपरिचितले धम्क्याए। उनले लेखेका छन्, 'बिहान ६ बजे नै फोन आयो – कहाँ कताबाट को बोलेको भन्ने परिचय नदिइकन भन्यो – ‘सिडीओ हो?’

‘मैले भनेँ – ‘हो, म सिडीओमा काम गर्ने मान्छे बोल्दैछु’। 

उसले ‘ए। तँ सिडीओ, फूर्ती नगर है तैँले, जे गरिस्, यत्तिमा बस। अरू अगाडि बढिस् भने तेरो या त यहाँ बसाइ छैन, या खैरियत छैन। कुरो आफै बुझ। अगाडि नबढ !’ भन्यो।'

भिआइपी कनेक्सनले ज्यान जोगाउनै मुश्किल

घटनालाई डिटेलमा अध्ययन गरेका किशोर श्रेष्ठ भन्छन्- नमीता-सुनीता आफै पावरफूल परिवारका सदस्य थिए। उनले उनीहरुको घर चहारे। नजिकको वातावरण र मानिसका आवत जावतको अवस्था बुझे। 

नमीता-सुनीता पढेको अस्कल कलेज। राजाका सालो उदयशमशेरको घर पनि नजिकै। माधवराज  भण्डारी र राजाको एडिसी  शान्तकुमार मल्लको घर पनि सँगै। प्रधानमन्त्री निवास बालुवाटार पनि त्यहीँ। महावाणिज्यदूत भएर चार वर्ष माधवराज कलकत्ता (कोलकाता) बस्दा उतै पढेका छोरीहरू। 

'सबै अध्ययन गरेपछि मैले शङ्काको घेरा नम्बर एक, दुई, तीन भनेर लेखेँ। त्यतिखेर अहिले जस्तो फोन ट्रयाकिङ, फिङ्गर प्रिन्ट, डिएनए गर्ने अवस्था थिएन। जे देखियो, त्यो अनि मानिसको बयान र सर्कम्सटेन्सेजहरुका आधारमा लेखेँ,' श्रेष्ठले त्यतिखेर रिपोर्टिङ गर्दाको अवस्था सम्झिए, 'यस्तो काम ठूलो ग्याङ नभई सम्भव छैन भन्ने लाग्यो। सीधै प्वाइन्ट आउट गर्न सकिने स्थिति थिएन तर जति सकियो, मैले निष्पक्ष हिसाबले न्याय गर्ने हिसाबले लेखेँ।' 

‘त्यतिबेला ज्यान जोगाएर हिँड्न मुस्किल थियो। टेलिफोनमा कलर आइडी (टेलिफोनमा कल गर्नेको नम्बर देखिने प्रविधि) थिएन। थर्काउँदै ल्यान्डलाइनमा फोन आउँथ्यो घरमा। उनलाई फोनमा भन्थे, 'आज थापाथली पुल कट्न पाउँदैन, दाउरा ठीक पारेर राख।' 

'अफिसमा फोन गरेर कति बेला आउने कति बेला जाने सबै हामी वाच गरिरहेका छौँ भनेर धम्की आउँथ्यो। सानैदेखि अखिलको राजनीति गरेकाले जेल पर्न पनि डर नमान्ने भएकोले मरे मरिन्छ भन्ने लागेर मात्रै हो,' उनले भने। उनीमाथि शारीरिक रुपमा आक्रमण त भएन तर हतोत्साही पार्ने प्रयास ज्यादै भयो। 

जब नीर शाह अकमक्किए

सूर्य सेन ओलीले आत्मकथामा घटनामा शंकाको घेरामा रहेका नीर शाहलाई 'क्लिन चिट' दिएका छन्। तर, किशोर श्रेष्ठले भने शाहमाथि शंका गर्न छाडेका छैनन्। 

एउटा सानो प्रसंग उनले हामीसँग सेयर गरे -
 
'सम्भावित शंकाको पात्रमा नीर शाहको नाम पनि थियो। उहाँसँग पनि इन्टरभ्यु लिनपर्‍यो भनेर नेपाल टेलिभिजनको सिंहदरबारमा रहेको अफिसमा पुगेँ। मैले तपाईँ त्यति बेला कहाँ हुनुहुन्थ्यो? भनेर सोधेँ। उहाँले म 'स्मृतिको पर्खाल' भित्र नाटक गर्न जमलमा थिएँ भन्नुभयो। 

मैले फोटो देखाएर सोधेँ यी केटीहरूलाई चिन्नुहुन्छ?' 

'उहाँले चिन्दिनँ भन्नुभयो।'

नीरा पराजुलीको घर पनि माधवराजको नजिकै थियो। नीराका बुबा थीरमणि पराजुली मुद्रण विभागमा काम गर्ने। उनी तास खेल्नका एकदमै शोखिन। त्यो घरमा भिआइपीहरुको तास खेल्ने काम हुने रहेछ। 

पछि मैले थाहा पाएँ नीर शाह पनि त्यहाँ जानु हुँदोरहेछ। उहाँहरूको नोटिसमा केटी पर्न सक्छिन् भन्ने लाग्यो। यद्यपि त्यो असत्य हुनसक्छ। तर, उहाँ जानुभएको भन्ने कुरा थाहा पाएपछि मैले  फेरि नीर शाहलाई फोन गरेँ। 

'नीर जी, तपाईँ त्यहाँ जानुभएको रहेछ त। चिनजान रहेछ त। तपाईँले त चिन्दिनँ भन्नुभयो' भनेर मैले प्रश्न गरेपछि उहाँ अक्मकिनु भयो।'

श्रेष्ठले पुस्तकमा लेखेका छन्- ‘तत्कालीन गण्डकी अञ्चलाधीश गणेशमान श्रेष्ठका अनुसार, पोखरा आउ“दा चन्द्रध्वज गुरुङसँग नीर शाह, उदयसमशेर र विनोदशंकरको फोटो थियो तर त्यसलाई प्रयोगमा ल्याइएन।‘

पुस्तकमा श्रेष्ठले उत्तम पुनको नाम पनि उल्लेख गरेका छन् जसका संरक्षणकर्ता तत्कालीन अधिराजकुमार धीरेन्द्र थिए। घटना दरबारसँग सोझै जोडिएको मानिन्थ्यो।
 

केस ढिसमिस

२०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा राजा वीरेन्द्रको वंशनाश भयो। अधिराजकुमार ज्ञानेन्द्रलाई सिंहासनमा राखियो। त्यसको ठ्याक्कै १० दिनमा रहस्यमय ढंगबाट यो घटनालाई टुङ्गो लगाइयो।

२०३८ साल जेठ २४ गते पोखरामा भएको नमीता–सुनीता–नीरा–चूडामणि हत्याकाण्डसम्बन्धी मुद्दाको ठ्याक्कै २० वर्ष ६ दिनपछि २०५८ जेठ २९ मा पोखरास्थित पुनरावेदन सरकारी वकिल कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयलाई गोप्य पत्र पठायो। वादी श्री ५ को सरकार र प्रतिवादी ‘नखुलेको’ त्यो मुद्दा ‘सह–न्यायाधिवक्ताज्यूसमक्ष पेश हुँदा’ भन्दै पत्रमा ‘हाललाई कोही कसैउपर मुद्दा नचलाउने गरी मिति २०५८।२।२९ मा निकासा भएकाले कानूनबमोजिम गर्न’ आदेश दिइएको थियो। 

पत्रमा मुद्दाका जाहेरीवाल शेषमणि शर्मा कहाँ–कुन अवस्थामा छन्, भन्नेबारे केही उल्लेख थिएन। सोही हत्याकाण्डका भरपर्दा साक्षी वनपाले चूडामणि अधिकारीको लगत्तै भएको रहश्यमय मृत्युसम्बन्धी मुद्दाको बारेमा पनि ‘आदेश दिनेहरु’ चूपचाप छन्। पुनरावेदन सरकारी वकिलको कार्यालयले त्यसरी जिल्लालाई पत्र पठाएपछि जिल्लाले ‘पछि खोजी भएका बखत उपलब्ध गराउन सक्नेगरी’ भन्दै प्रशासनलाई कागजातहरु कसैले भेट्टाउनै नसक्नेगरी लुकाएर राख्न अनुरोध गर्दै अर्को पत्र पठायो।

जिल्ला प्रहरी कार्यालय, कास्कीले २०५८ को जेठमा नीरा पराजुलीको अवस्था अज्ञात रहेको र नमीता–सुनीता भण्डारीलाई कसले, कसरी हत्या गरी घटनास्थलमा फ्याँकेको भन्ने कुरा ‘हालसम्मको अनुसन्धानबाट खुल्न नआएको’ भन्दै पछि खुल्न आएको बखत कानूनबमोजिम गर्नेगरी उक्त मुद्दा टुङ्ग्याउने तारतम्य मिलाएको थियो।

राजा वीरेन्द्रको जूठो नसकिँदै नमिता–सुनीता हत्याकाण्डको मुद्दालाई किन ढिसमिस पारियो? यो कुरा अझै खुलेको छैन। शायद्, खुल्ने पनि छैन। 

निर्मला बलात्कार र हत्यासँगै स्मृतिमा

'त्यति बेला कुनै सबुत प्रमाण देखिने नहुँदा नहुँदै पनि को-को मान्छे संलग्न हुनसक्छन् भनेर नोटिस गर्ने गरी केस बाहिर आयो भने अहिले त यति प्रविधि हुँदाहुँदै पनि कुहिरोको काग जस्तै भइएको छ,' नमीता, सुनीता प्रकरणको अनुसन्धानमा लामो समय खटिएका किशोर श्रेष्ठ भन्छन्, 'निर्मलाको केसमा सरकार र सुरक्षा संयन्त्र मात्र होइन, मिडिया पनि फेलियर भएको छ।'

***
बलात्कारका घटना वर्षेनी हजारभन्दा बढी हुन्छन्। तर, केही मात्र यस्ता घटना हुन्छन्, जसले सिङ्गो देशलाई प्रभावित पार्छ। कञ्चनपुरकी १३ वर्षकी किशोरी निर्मला पन्तको बलात्कार पछि भएको विभत्स हत्या यस्तै घटना हो। आज १२१ दिन पुगे पनि हत्याराको छेउछाउ प्रहरी पुग्न नसकेकोमा आलोचना भइरहेको छ। निर्मलाको परिवार जिल्ला प्रशासन कार्यालय अगाडि दुई सातादेखि २४ घण्टे अनशनमा छ। भीमदत्त नगरपालिकाको चोकचोकमा अहिले पनि यही घटनाबारे चर्चा हुन्छ। 

यो साता पहिलोपोस्ट टिम स्थलगत रिपोर्टिङका लागि कञ्चनपुर पुग्‍दा तिवारी मेडिकल सेन्टरमा भेटिएका स्वास्थ्यकर्मी वीरेन्द्र तिवारीले भनेका थिए, निर्मला प्रकरण पनि नमीता सुनीता जस्तै हुने देखियो।  

अहिलेको पुस्ताले बिर्सिसकेको नमीता सुनीता घटना सान्दर्भिक हुने भएकाले प्रस्तुत गरिएको हो।

नोट : निर्मला प्रकरणमा अहिले के भइरहेको छ? किन प्रहरी अपराधीसामु पुग्न सकेका छैनन्? यस प्रकरण सम्बन्धी विस्तृत रिपोर्टहरुको शृङ्खला भोलिदेखि पहिलोपोस्टमा प्रकाशन हुनेछ।
 



निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि को लागी १ प्रतिक्रिया(हरु)

कल्पना पन्त [ 2018-11-27 21:39:12 ]
आशा गरौं 'निर्मला काण्ड' करीब ४० बर्ष अगाडीको 'नमिता सुमिता काण्ड' जस्तो ढीसमीस नहोस्। निर्मलाले न्याय पाउनैपर्छ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट