PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

सत्तासाझेदार एमालेले भन्यो : कांग्रेसले एकलौटी बजेट ल्यायो



सत्तासाझेदार एमालेले भन्यो : कांग्रेसले एकलौटी बजेट ल्यायो

  • मनोज सत्याल-
काठमाडौं : मंगलबार अर्थमन्त्री डा. रामशरण महतले प्रस्तुत गरेको बजेट बक्तब्यमा सत्ता साझेदार नेकपा एमालेले नै तिब्र असन्तुष्टी जनाएको छ। आफुहरुसँग सल्लाह नै नगरी कांग्रेसले एक पक्षीय रुपमा बजेट ल्याएको भन्दै एमालेले आपत्ति जनाएको हो। 

वजेट बक्तब्य सुनेर संसद भवनबाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै बाहिरिएका प्रमुख सचेक अग्नि खरेलले बजेट कांग्रेसले एकपक्षीय रुपमा तयार गरेको भन्दै विरोध जनाएका हुन्। अध्यक्ष केपी शर्मा ओलीले नै पार्टीको तर्फबाट खरेललाई धारणा राख्न निर्देशन दिएका थिए। अध्यक्ष ओलीले भने बजेटबारे प्रतिक्रिया दिएनन्। 

'यो बजेट कांग्रेसले एक पक्षीय ढंगले ल्याएको हो', उनले भने 'यो असन्तुलित र गैरजिम्मेवारपूर्ण छ, यसमा हाम्रो तिब्र असन्तुष्टी छ। भोली यसको समीक्षा गर्नेछौ।' एमालेले बुधबार बिहान बजेटको समीक्षाका लागि संसदीय दलको बैठकको समेत आव्हान गरेको छ।


त्यसअघि बजेटबारे प्रतिक्रिया दिदैँ पूर्व अर्थमन्त्री समेत रहेका भरतमोहन अधिकारीले बजेटबारे सकरात्मक प्रतिक्रिया दिएका थिए। उनले पुन: निर्माणमा बजेट केन्द्रीत रहेको बताए। तर बजेटले कृषिमा जोड कम दिएको तथा भूकम्पले क्षति पुगेको साना तथा घरेलु उद्योगलाई क्षतिपुर्ती दिनेबारे उल्लेख  नभएको भन्दै विरोध जनाए।


सचेतक खरेलले भने बजेट गैर जिम्मेवारीपूर्ण भएको टिप्पणी गरे। 'यो बजेट असन्तुलित र गैर जिम्मेवारीपूर्ण खालको छ, अझ भन्ने हो भने कांग्रेसले एकपक्षीय ढंगले प्रस्तुत गरेको छ', खरेलले भने। 

संसद बैठकमा बुधबार एक दिन मात्र बजेटमाथि छलफल हुदैँछ। भोली नै संसदमा छलफल पछि अर्थमन्त्री रामशरण महतले बजेट माथि उठेका प्रश्नमा जवाफ दिनेछन्। सभासद्हरु संविधानको मस्यौदामा सुझाव संकलनका लागि जिल्ला जानुपर्ने भएकाले बजेटमा एक दिनमै छलफल सिध्याएर पारित गर्न लागिएको हो। सभासद्हरु आउँदो १ गते देखि निर्वाचन क्षेत्रमा सुझाव संकलनका लागि खटिदैँछन्।

एमाओवादीको पनि बिरोध

एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले बजेट आशावादी नभएको टिप्पणी गरे। 'मुलुक नयाँ चरणमा प्रवेश गर्ने बेलामा गुणात्मक र आशावादी कार्यक्रम आउनुपर्थ्यो झन् खुद्रा खालका कार्यक्रम आए' उनले भने 'एक दशकदेखि मुलुकको औसत आर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारीमात्र  छ, त्यसैले आर्थिक क्रान्ति गर्ने खालको बजेट आवश्यक थियो तर त्यसतर्फ दिशाबोध भएन।'  

भट्टराईले पुनर्निर्माणका लागि बिनियोजन गरिएको बजेट पनि अपुग भएको बताए। अहिले बिनियोजन गरेको बजेटले भूकम्पबाट भत्किएको ८ लाख घर बनाउन नपुग्ने भन्दै उनले जनताले भत्किएको घर बनाउन ५ वर्षसम्म कुर्न नसक्ने बताए। 

सर्वगुण सम्पन्न नभएको कांग्रेसको स्वीकारोक्ति

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि बजेट सर्वगुण सम्पन्न नहुनु स्वभाविक भएको बताए। 'सर्वगुण सम्पन्न केही पनि हुँदैन', पौडेलले भने, 'यो बजेट सन्तुलित र अपेक्षित छ।' उनले बजेटमा सानातिना कमजोरी भएपनि अहिलेको आवश्यकता भरसक पूरा गर्न खोजेको प्रतिक्रिया दिए। उनले समयमा बजेट खर्च गर्न नसक्ने समस्या समाधान गर्न सकेमा बजेटले धेरै उपलब्धि हासिल गर्न सकिने बताए।
 

बजेटसँग सम्बन्धित थप समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell