PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

फ्लाइओभर, बहुतले पार्किङ, ४ सय शौचालय : के-के छ बजेटमा राजधानीका लागि?



फ्लाइओभर, बहुतले पार्किङ, ४ सय शौचालय : के-के छ बजेटमा राजधानीका लागि?

  • पहिलोपोस्ट -
काठमाडौँ :  आगामी आर्थिक वर्षको बजेटमा मुलुक संघीय स्वरुपमा गएपछि काठमाडौँ उपत्यकालाई राष्ट्रिय राजधानीको रुपमा विकास गर्न जरुरी हुने भएको भन्दै काठमाडौँ उपत्यकाको विकासलाई प्याकेजको रुपमा अगाडि बढाउने भनिएको छ।

के के छ त त्यसका लागि यो आर्थिक वर्षमा गर्ने तयारी?

४० सिटमाथिका सवारी साधनलाई मात्र अनुमति

उपत्यकाका मूल सडकहरुमा ४० भन्दा बढी सिट भएका सार्वजनिक सवारी साधनलाई मात्र अनुमति दिइनेछ। यस्ता सवारी साधनमा अपाङ्गतामैत्री सिटसमेत हुनुपर्नेछ। अबदेखि टेम्पो, माइक्रो जस्ता साना सार्वजनिक सवारीलाई सहायक सडकमा मात्र सञ्चालन अनुमति दिइनेछ।

मेट्रो तथा मोनो रेल

उपत्यकामा सवारी चाप कम गर्न मेट्रो तथा मोनो रेल सञ्चालनको सम्भावना अध्ययन गर्न ८ करोड बजेट छुट्याइएको छ।

फ्लाइओभरको पूर्वतयारी

बजेटले सवारी चाप भएका चौबाटोहरुमा फ्लाइओभर निर्माणको पूर्व तयारी गर्ने भनेको छ। त्यस्तै चक्रपथको विस्तार तथा उपत्यकाका सडक मर्मत तथा विस्तार कार्यलाई पनि उच्च प्राथमिकतामा राखिएको छ। भक्तपुरको सूर्यविनायकबाट काभ्रेको धुलिखेलसम्मको सडकलाई छ लेनमा विस्तार गर्ने कार्यका लागि १ अर्ब ७ करोडको बजेट छुट्याइएको छ।

४ सय सार्वजनिक शौचालय

नगरपालिकाहरुसँगको सहकार्यमा काठमाडौँमा ४ सय सार्वजनिक शौचालयको निर्माण कार्य सुरु गर्ने लक्ष्य बजेटले राखेको छ। यस्ता शौचालय बनाउन र सञ्चालन गर्न निजी क्षेत्रलाई समेत सहभागी गराइनेछ।

भूमिगत र बहुतल्ले पार्किङ

राजधानीमा रहेको पार्किङ समस्यालाई समाधान गर्न नगरपालिकाहरुले तोकेको स्थानमा भूमिगत तथा बहुतले पार्किङस्थल निर्माण गर्ने लक्ष्य बजेटमा छ। तर त्यसका लागि बजेट नछुट्याई ‘निजी क्षेत्रलाई प्रोत्साहन गर्ने’ भनिएको छ।

राति अबेरसम्म बजार, रेस्टुँरा र गाडी चल्ने

बजेटमा महानगरको विशेषता अनुरुप राजधानी सहरका बजार रेस्टुराँ, व्यवसायिक कारोबार र सार्वजनिक यातायात राति अबेरसम्म खुल्ला रहने व्यवस्था गर्ने भनिएको छ। अहिले राति अबेरसम्म रेस्टुराँ खोल्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ। त्यस्तै सम्साँझैबाट सार्वजनिक सवारी साधन पाउन गाह्रो हुने गर्छ। बजेटमा यसका लागि शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आवश्यक सम्वद्ध निकायहरुलाई समन्वयात्मक ढङ्गमा परिचालन गर्ने उल्लेख छ।

सरकारले जग्गा किनेर खुला स्थान बनाउने

वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पहरुमा सार्वजनिक खुला स्थानको समस्या टड्कारो देखिएको थियो। यसैलाई ध्यानमा राख्दै बजेटले उपत्यकामा पर्याप्त खुला स्थानको व्यवस्था गर्न प्रति २५ हजार जनसंख्याका लागि एक खुला स्थानको व्यवस्था गर्ने भनेको छ। यसका लागि आवश्यकता अनुसार व्यक्तिगत जग्गासमेत किन्ने तयारी सरकारले गरेको छ।

खुला स्थानको साजसज्जा, सौन्दर्य, मर्मतसम्भारमा निजी र सार्वजनिक व्यवसायिक प्रतिष्ठानहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत संलग्न हुन प्रोत्साहित गर्ने योजना बजेटमा छ।

त्यस्तै काठमाडौँ उपत्यकाको खाली स्थानमा रुख रोप्ने कामलाई अभियानका रुपमा अगाडि बढाउने पनि बजेटमा उल्लेख छ।

वागमतीको ढल दुई वर्षभित्र

बजेटमा वागमती नदीको सुन्दरीजलदेखि सुन्दरीघाटसम्मको ढल आउँदो दुई वर्षभित्र सम्पन्न गर्ने उल्लेख छ। वागमती नदी सफाइ अभियानलाई संस्थागत गर्दै विष्णुमती, रुद्रमती, मनोहरा, हनुमन्ते र नख्खुखोलालाई पनि ढल तथा फोहरमुक्त बनाउने भनिएको छ।

पुल्चोक जग्गामा सार्क केन्द्र निर्माण गरिने

ललितपुरको साझा यातायातको खाली रहेको जग्गामा सार्वजनिक लगानीसहित दक्षिण एसियाली सम्मेलन केन्द्र निर्माण गर्ने घोषणा बजेटले गरेको छ। यसका लागि सरकारले विगतमा दिएको ९ करोड ऋणलाई शेयरको रुपमा परिणत गरिनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell