PahiloPost

Oct 18, 2018 | १ कात्तिक २०७५

विराटनगरको 'बदमास केटो' : बिनासर्जरी आँखाको नानी प्रत्यारोपण गर्ने विश्वकै पहिलो डाक्टर

विराटनगरको 'बदमास केटो' : बिनासर्जरी आँखाको नानी प्रत्यारोपण गर्ने विश्वकै पहिलो डाक्टर

सागर बुढाथोकी/पहिलोपोस्ट


उनी बच्चैदेखि थिए, चकचके। नर्सरीमै पटक पटक फेल। बदमासीको हद पार हुन थालेपछि परिवारले सम्हाल्न सकेन। सात वर्षकै उमेरदेखि नै होस्टेल हाल्नपर्‍यो। 

यो बदमास केटो 'डाक्टर' हैन 'ड्राइभर' बन्छ - सबै त्यस्तै भन्थे, उनको चर्तिकला देख्दा।

विराटनगरको 'बदमास केटो' लाई त्यतिखेर देख्ने जो कसैले अहिले देख्यो भने छक्कै पर्छन्। त्यो चकचके केटोको नाम हो किशोरराज प्रधान जसका अगाडि छ – डाक्टर। डाक्टरमात्र होइन, चर्चित डाक्टर। रेटिना स्पेसलिस्ट। 

सानोमा सबैले चकचके र वदमास देखेको किशोरराजले यतिखेर धेरैको आँखाको पर्दा खोलिसकेका छन्। 

रेटिना, अर्थात् आँखाको पर्दा जसलाई हामी खुल्ला आँखाले देख्न सक्दैनौँ। यसमा समस्या आउँदा उपचार नभए आँखाको ज्योति नै बन्द हुन्छ।

आँखाको संवेदनशील विषयका विज्ञ डाक्टर किशोरराज केटाकेटी छँदा विराटनगरमा वदनाम थिए तर अहिले विश्वभर चर्चित छन्। उनी आँखाको नानीमा 'स्माइल लेजर' हाल्ने नेपालका एक्ला डाक्टर हुन्। उनको परिचय यतिमै सीमित छैन।

उनले विश्वमै पहिलोपटक 'सुचरलेस फर्मिङ ट्रान्सप्लान्ट' गरे। विकसित देशका डाक्टरहरुले हात पार्न नसकेको सफलता उनको पोल्टामा छ। तिलगंगा अस्पतालको पहिचानलाई विश्वमा थप उचाई दिए उनले। 

'सुचरलेस ट्रान्सप्लान्ट' अर्थात् आखाँको नानी फेर्दा टाँका नलगाइकन गर्ने सर्जरी। १ वर्षमात्रै भयो यो सर्जरी तिलगंगा आँखा अस्पतालमै सफल भएको। पोखराका सुनिल बरालको 'सुचरलेस ट्रान्सप्लान्ट' गरेका थिए उनले। हङकङमा गएर यसको रिपोर्ट पनि प्रस्तुत गरिसके। यसपछि उनीसँग अर्का विरामी पनि छन् जो यही प्रविधिबाट सर्जरी गराउँदैछन्।

'वर्ल्ड वाइड वन अफ दि सक्सेसफुल स्टोरिज्,' मुस्कुराउँदै भने, 'अ बिग एचिभमेन्ट। एभ्रिबडी इज ह्याप्पी। यो 'सेक्रेट' हो। सफ्टवेयर मसँग मात्रै छ। कसरी गर्ने कसैलाई थाहा छैन।'

'सक्सेस होला त?' 



'प्रश्न झर्न नपाउँदै भने, 'इट्स क्वाइट सक्सेसफुल। काम गर्ने हो, हल्ला हैन। लेजर भनेको आरा जस्तै हो। भने जसरी काट्नुपर्छ। दिमाग त आफैँले लाउने हो।'

उनले सुचरलेस ट्रान्सप्लान्टको सफ्टवेयर आफैँ बनाए। नेपालमै क्लिनिकल ट्रायल गरे। सफ्टवेयर बनाउन वर्षौ लाग्यो। ट्रायल गर्न पनि उत्तिकै वर्ष। सुरुमा आँखा नदेख्नेहरुमा ट्रायल गरे। त्यसपछि विस्तारै कम आँखा देख्नेहरुमा। चार लेयरमा ट्रायल गर्दा आफैँलाई प्रमाणित गरे। त्यसपछि सुनिल बरालमा अप्लाई गरे आफ्नो अनुभव जुन सफल भयो।

सुचरलेस फर्मिङ ट्रान्सप्लान्टको रिपोर्ट प्रस्तुत गर्न उनलाई चीनदेखि बेलायतबाटसमेत निम्तो आइसकेको छ। धेरै ठाउँ पुगेर आफ्नो कथा सुनाइसकेका छन्। यतिखेर चर्चित डाक्टरहरु उनलाई सुन्न चाहन्छन्। किनकि, आँखाको क्षेत्रमा यो ठूलो उपलब्धि हो।

***
सफलताको यो स्टेजमा आइपुग्न उनको संघर्षको बाटो लामो छ। दैनिक हातमुख जोड्न र पढाई खर्चको अभावसित पनि संघर्ष गरे। सात वर्षमै बुवाको मृत्यु भयो। बुवा नहुँदाको तनाव छुट्टै भोगे। भोक झेले, शोक झेले। अभाव र तनावसँग जुध्न सिके। तर, दु:खका कथा लम्ब्याउन चाहँदैनन्। हाँस्दै भने, 'दु:खका कथा सुनाउँदा छोरीले त पत्याउँदिन। अरुले पत्याउँला र?'

हाँस्दै आफ्ना कुरा राख्दा आँखाको उपचारमा सक्रिय उनका आँखा भने रसाइसकेका थिए। छचल्किन नदिइ आँशु लुकाए उनले।
 
उनी सानैदेखि भारतमा बसे। त्यतै पढे। त्यतै बढे। नेपालमा आएर काम गर्ने सोच थिएन। जीवनको लक्ष्य सर्जन बन्ने र बेलायत जाने थियो। 

तर, न सर्जन बने न बेलायत पलायन नै। 

नाटकीय रुपमा ठूलो बुवा उनको जीवनमा 'टर्निङ पोइन्ट' बनेर आए। 

सन् १९९२ को कुरा हो। उनी दिल्लीबाट काठमाडौँ ओर्लिए। एयरपोर्टको प्रतीक्षालयमा ट्याक्सी कुरिरहेका थिए। 

त्यसैबेला कसैले धाप मार्‍यो, 'किशोर तँ चाहिँ आँखाको डाक्टर बन्नुपर्छ है।'



ती थिए उनका ठुलाबुवा, आँखाका पुराना डाक्टर हेमन्तमणि प्रधान। त्यसपछि जतिपटक भेटे पनि हेमन्तमणिले त्यही डाइलग दोहोर्याइरहे। उनी एक कानले सुन्थे, अर्कोले उडाइदिन्थे। उनमा डाक्टर बन्ने 'इन्ट्रेस्ट' नै थिएन।

एमबीबीएस पूरा गरिसकेपछि एक दिन ठूलोबाबाले आँखाको क्याम्पका लागि जाजरकोट जाउँ भने। सुरुमा मानेनन् उनले। तर, ठूलो बाबाको जिद्धि अगाडि 'नो' भन्न सकेनन्। जाजरकोटको त्यही यात्राले नै उनको जीवनको बाटो मोडिदियो।

माओवादी द्वन्द्व भर्खरै सुरु भएको थियो। आँखाको डाक्टर शरदचन्द्र राईसँगै थिए उनी। त्यहाँ मोतीबिन्दु भएका धेरै मानिसहरुको अपरेसन गरियो। आँखा नदेख्ने मानिसहरुले आँखा देख्न थाले। दृष्टि गुमाएकाहरुले फेरि दृष्टि पाउँदाको खुशी अनुभव गरे। 

जाजरकोटका मानिसका दु:ख देखे। सुख पनि देखे। आफैँले पनि दु:ख भोगे। त्यसपछि ती मानिसहरुको माया लाग्न थाल्यो। मनस्थिति परिवर्तन भयो। आफूले आफैलाई भने, 'तेरो आवश्यकता बेलायतमा हैन। नेपालमा छ। तँ यही बस्नुपर्छ। अब, आँखाको डाक्टर बन्नुपर्छ।'

त्यहाँबाट फर्केपछि ठूलोबाबालाई भने, 'म आँखाको डाक्टर बन्छु।'

ठूलोबाबाले मुस्कुराउँदै भने, 'वेल डन केटा। बल्ल तेरो घैटोमा घाम लाग्यो।'

ठुलोबुवालाई मनमनै जवाफ फर्काए, 'थ्यांक यू बाबा। तपाईँले मेरो आँखा खोलिदिनु भयो।'

त्यसपछि आँखा सम्बन्धी अर्को कोर्स गर्न भारतकै कर्नाटक गए, बेलायत जाने सपना त्यागे।

कर्नाटकबाट २ वर्ष पछि पढाइ सकेर आए। झापाको दमकमा आँखा अस्पताल सञ्चालन गरे। त्यहाँ सामान्य अपरेसन हुन्थ्यो। त्यसमा मन रमाएन। त्यहाँ २ वर्ष काम गरेर काठमाडौँ फर्के। त्यसपछि लायन्स आइ क्लबमा तीन वर्ष काम गरे। त्यहाँ काम गरेर पनि खुशी हुन सकेनन्। 

उनलाई केही 'एक्स्ट्रा' गर्न मन थियो। नेपालमा भइरहेको काम भन्दा एक लेभल माथि जान चाहन्थे। त्यसको लागि पढ्नु र सिक्नु जरुरी थियो। लगत्तै पढ्नका लागि बेलायत नै हानिए।

बेलायतबाट पढाइ सकेर फर्किएपछि तिलगंगा आँखा अस्पतालले सञ्चालन गरेको हेटौडा आँखा अस्पताल गए। त्यहाँ डा सन्दुक रुइतसँग २ वर्ष काम गरे। त्यसपछि आँखाको नयाँ क्षेत्र 'रिफयाट्रिभ' आयो। डा रुइतले त्यसमा काम गर्न सल्लाह दिए। नयाँ फिल्ड भएकाले अरुले रुची देखाएनन्। यो फिल्ड अलि फरक पनि थियो। उनलाई पनि खासै 'इन्ट्रेस' थिएन। तर, रुइतले भने, 'यसको लागि तिम्रो जस्तो 'एटिट्यूड' भएको मान्छे चाहिन्छ। तिम्रो 'कन्सेप्ट' फरक छ। तिमी जस्तो अरुले गर्न सक्दैन।'

त्यो नयाँ विषय सिक्न अमेरिका जानुपर्ने भयो। खर्च तिलगंगा आँखा अस्पतालले बेहोर्ने। तर, उनका गुरुले लण्डन बोलाए। अमेरिका क्यान्सिल। 'द लण्डन भिजन क्लिनिक' मा काम सिक्न गए। त्यहाँ झनै फाइदा भयो। किनकि अमेरिकाभन्दा लण्डनको लेजरको गुणस्तर राम्रो थियो। महँगो पनि। विश्वप्रसिद्ध लेजर (आखाँको नानीको प्रकाश) 'काल्सजाइज'मा काम गर्न पाए। विश्वका सबैभन्दा धनी मानिसहरु त्यो लेजर प्रयोग गर्थे।

एकदिन उनले काम गरेको 'काल्सजाइज' कम्पनीले एउटा ठूलो कार्यक्रमको आयोजना गर्यो। त्यसमा विश्वप्रसिद्ध नेतादेखि सेलिब्रेटीसम्म आएका थिए। टाइम म्यागेजिनका पत्रकारदेखि ठूला व्यवसायी 'कार्ल्सजाइज' लेजर प्रयोग गर्थे। काल्सजाइज लेजर प्रयोगकर्ताको ठूलो जमघट थियो त्यहाँ।

त्यो कार्यक्रममा उनलाई पनि बोल्न दिइयो। उनले नेपालको अवस्थाको बारेमा बोले। डोल्पा र जाजरकोट जस्तो विकट ठाउँमा गएर गरेका आइ क्याम्पको भिडियो देखाए। कथा सुनाए, व्यथाहरु देखाए। नेपालको आँखा क्षेत्रको चुनौती र आवश्यकता बारेमा 'ब्रिफिङ' गरे। उनीहरु'आइ क्याम्प' को कन्सेप्ट देखेर आउनेहरु छक्क परे। 

तर, त्यहाँ एउटा अनेपेक्षित घटना भयो। वपेल आस्ट्रा कार कम्पनीका मालिककी श्रीमती भोन वोपेल एकाएक रुन थालिन्। नेपालको कथाले उनलाई रुवायो। किशोरको नजिक आएर भनिन्, 'म के सहयोग गर्न सक्छु नेपालको लागि?'

उनले दायाँबाया नसोचि फ्याट्टै भने, 'नेपालमा लेजर नभएर आँखाको नानीको समस्या समाधान गर्न सकेका छैनौं।'



उनले त्यति नै बेला चेक काटेर दिइन्, काल्सजाइजले धेरै डिस्काउन्टमा नेपालको लागि स्माइल लेजर (आँखाको नानीमा लगाउने) दिने भयो। यो सन् २०१० को कुरा हो। त्यही सालबाट नेपालमा पहिलोपटक विश्वकै महँगो लेजर काल्सजाइज आयो, अत्यन्तै सस्तोमा। अहिले काल्सलाइजले नेपालको आँखा क्षेत्रमा धेरै नै सहयोग गर्दै आएको छ। अमेरिकीहरुले ३ सय डलर तिर्ने त्यही लेजर नेपालीहरुले सय डलर मात्र तिर्दा हुन्छ। यो सब उनकै कारण सम्भव भएको हो।

***
आँखाको काम अत्यन्तै संवेदशील। आँखाको नानीमा छुट्टै लेजर हुन्छ। रेटिनाको छुट्टै। छालाको छुट्टै। मोतियाबिन्दु र डायबिटिजको छुट्टै। हरेक लेयरको छुट्टै लेजर हुन्छ। 'लेसिक लेजर' ड्राइ हुने भएकाले उनी 'स्माइल लेजर' मात्रै प्रयोग गर्छन्। उनी नेपालको पहिलो र एकमात्र आँखाको नानीको सर्जरी स्पेसलिस्ट हुन। भन्छन्, 'अब नयाँलाई ट्रेनिङ दिइरहेका छौं। केही वर्षमा अरु पनि आउनुहुन्छ। तर इन्भेष्ट सबैले गर्न सक्दैनन्।'

आखाँको नानीमा 'स्माइल लेजर' हाल्ने मानिस अत्यन्तै कम छन्। महँगो भएकाले सबैले लेजर हाल्न सक्दैनन्। त्यसैले पनि आँखाको डाक्टरहरुको यो फिल्डमा रुची कम छ। विदेशबाट नेपालमा आएर लेजर हाल्नेहरु बढेको अनुभव छ उनमा। विदेश गएका र ब्रिटिस सेनाका परिवारको रोजाइमा लेचर परेको छ यतिखेर। भन्छन्, 'हामीले हाल्ने लेजर अन्य देशमा २ लाख भन्दा बढी पर्छ। नेपालमा ९८ हजार मात्र। त्यसैले पनि यहाँ सधै भिड नै हुन्छ। तर, धनी क्लाइन्ट मात्र छन् आउनेमा।'

अन्य देशभन्दा सस्तो भए पनि नेपालीका लागि लेजर रोजाइ बन्न नसकेको बताउँछन्। भन्छन्, 'एकदम प्रोफेसनल र पैसा भएका मानिसहरुको रोजाइ हो लेजर। आर्मी पुलिस र सेलिब्रेटीका लागि बाध्यता हो यो।'
***

उनले अन्य देशमा नभएको धेरै काम नेपालमा पहिलो पटक गरे। अहिले ती कामहरु अन्य देशमा सुरु भइसकेको  छ। अन्य देशमा भन्दा पहिले 'इन्डोकेयरटोफेकिया' नेपालमै सुरु भएको हो। अहिले यो प्रविधि पुरानो भइसकेको छ। अन्य देशभन्दा तिलगंगा केही कदम अगाडि रहेको सुनाउँछन् उनी।

'अब नेक्स्ट के त?'

मुस्कुराउँदै भने, 'रिसर्च, रिसर्च एण्ड रिसर्च।' 

उनका अनुसार आँखा संवेदनशील क्षेत्र भएकाले अध्ययन अनुसन्धान धेरै गर्नुपर्छ। हरेक अपरेसन गर्दा अत्यधिक प्रेसर हुन्छ। बिरामी अनुसार आँखाको कन्डिसन फरक हुन्छ। हरेक केसलाई पहिलोपटक गरेजस्तै सिरियस रुपमा गर्नुपर्छ। अन्य सर्जरी भन्दा आँखाको सर्जरीमा जोखिम बढी छ। भन्छन्, 'जो डाक्टर बढी डराउँछ, हरेक केसमा सिरियस हुन्छ। त्यस्तो व्यक्तिबाट कहिल्यै लापरवाही हुँदैन। जसले केसलाई 'लाइट' रुपमा लिएर सर्जरी गर्छ उसबाट लापरवाही हुने सम्भावना अधिक छ।'

अन्य देशबाट उनीसँग काम सिक्न आउने पनि धेरै छन् अहिले। उनी पनि विभिन्न ठाउँमा गएर अपडेट भइरहेका हुन्छन्। भन्छन्, 'लर्निङ प्रोसेस नेभर स्टप। सिक्ने सिकाउने र नयाँ कुरा खोजी गर्ने बराबर हुन्छ।'

***

सर्जरी गर्ने काम १ मिनेट सकिए पनि तयारी गर्न चार दिन लाग्छ। दृढ संकल्प नभए काम गर्न गाह्रो छ। चुनौती धेरै भए पनि जे गर्दैछु ठीक गर्दैछु भनेर लाग्नुपर्ने बताउँछन् उनी। गहन भएर नलागे बिरामीले समेत नपत्याउने उनको बुझाइ छ। भन्छन्, 'खुट्टा तान्ने हरेक ठाउँमा हुन्छन्। कुकुर भुक्दै गर्छ, हात्ती लम्किँदै। यही फर्मुला अपनाउनुपर्छ जीवनमा।'

कामप्रतिको सिरियसनेस र अरुले प्राप्त गर्न नसकेको उपलब्धी कसरी त? 

धेरै डाक्टर साथीबाट उनले सामना गर्ने प्रश्न हो यो। उनको सदावहार जवाफ हुन्छ, 'फेमेली सपोर्ट।'

उनकी श्रीमती डाक्टर सविना श्रेष्ठ ओम अस्पतालमा टेस्ट्युब बेबी शाखाकी प्रमुख हुन्। श्रीमतीको साथ र सहयोगले यहाँसम्म आइपुगेको बताउँछन्। भाँडा माँझ्नेदेखि लुगा धुने काम मिलेर गर्ने भएकाले दुवैजना सफल डाक्टर भएको सुनाउँछन्। फेमेलीसपोर्ट बिना केही गर्न नसकिने उनको कथन छ। भन्छन्, 'हामी दुवैजना सफल छौं। कारण, हामी मिलेर काम गर्छौं। डाक्टर रुइत सफल हुनु पनि उहाँको श्रीमतीको सपोर्टले हो।'

'डाक्टरले पनि भाँडा माझ्ने?' सहकर्मीहरुले नै गिज्याउँछन् उनलाई।

मुस्कानबाहेक केही जवाफ हुन्न उनीसँग। आँखाको सर्जन रुढीवादी मानसिकताको सर्जन बनिरहनुपर्ने ठान्दैनन्।
***
काल्सजाइज स्माइल लेजरको ठूलो ठूलो अनुसन्धान नेपालमा भएको दाबी गर्छन् किशोर। नेपालमै डेभलप भएका धेरै प्रविधि अन्य देशमा प्रयोग भएको सुनाउँछन्।  नेपालमा भएका अपरेसनहरुको तथ्यांक अन्य देशमा अनुसन्धानको लागि प्रयोग भएको छ। उनका अनुसन्धानमुलक लेखहरु विश्वप्रसिद्ध जर्नलहरुमा छापिएको छ।
 


तिलगंगा अस्पतालले छिट्टै नै रिफयाट्रिक सर्भिसेज सुरु गर्न लागेको छ। चस्मा बेच्नेदेखि बनाउनेसम्मको काम हुने तयारी छ यसैबाट। स्पोर्टसदेखि अन्य काम गर्नेहरुको लागि उपयुक्त हुने लेजर बनाउने सुनाउँछन् उनी। त्यसैको लागि अनुसन्धान गर्दैछन्। सर्जरी, अनुसन्धान र अध्ययन गरेर नै बित्छ उनको दिन।

त्यतिमात्रै कहाँ हो र! उनी दुर्गमका जिल्लामा अझै 'आइ क्याम्प'का लागि पुग्छन्। त्यहाँको समस्या हेरेर अध्ययन अनुसन्धान गर्छन्। भन्छन्, 'अब मेरो लक्ष्य भनेकै यो सर्जरी कसरी सस्तो बनाउने भन्ने हो। त्यसको लागि अनुसन्धान गर्दैछु।'

यो पनि पढ्नुहोस् :

दोलखाको अस्पतालका गेम चेन्जर डाक्टर विनोद, अर्थात् गाउँका सेक्रेट सुपरस्टार

ह्विलचेयरबाटै राजुको डाक्टरी दौड : बने नेपालकै पहिलो र एकमात्र फिजियाट्री विशेषज्ञ

सपना पछ्याएर हैन, संयोगले बनेका डाक्टर आशिष, नेपालका एकमात्र 'एमसीएच पेडियाट्रिक सर्जन'

प्रम ओलीकी निजी चिकित्सक भन्छिन्, 'डाक्टरलाई थाक्ने अधिकार हुँदैन'

नेपालका एकमात्र 'जेरियाट्रिक मेडिसिन' स्पेसलिस्ट : ३२ वर्षीय डाक्टरको यस्तो छ 'ड्रिम प्रोजेक्ट'

एसएलसी बोर्ड टपर विशाल: 'जो कलिलै उमेरमा बने क्यान्सर विशेषज्ञ'

‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने एक्ला डाक्टर, जसले उपचारकै लागि विदेश जानु पर्ने बाध्यता अन्त्य गरे

इबोलाको औषधि पत्ता लगाउने टिमका सुदीप खड्काको जीवनका टर्निङ र ट्विस्टहरु, भन्छन् : नेपालमै केही गर्छु

पोस्टमार्टमका 'ब्रान्ड' वस्तीको कसैले सुन्न नचाहेको कथा



ट्रेन्डिङ पोस्ट