PahiloPost

Dec 15, 2017 | २९ मंसिर २०७४

‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने एक्ला डाक्टर, जसले उपचारकै लागि विदेश जानु पर्ने बाध्यता अन्त्य गरे


सागर बुढाथोकी/पहिलोपोस्ट

‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने एक्ला डाक्टर, जसले उपचारकै लागि विदेश जानु पर्ने बाध्यता अन्त्य गरे

काठमाडौं : नेपालमा पहिलो पटक बोनम्यारो ट्रान्सप्लान्ट गर्ने डा. विशेष पौडेल नाम जस्तै विशेष छन्। विशेष यसर्थमा पनि विशेष छन् –उनले नेपालमा बोनम्यारो ट्रान्सप्लान्ट सुरुवात गरेका थिए र अहिले पनि एक्ला डाक्टर हुन्।
 

उनको परिचय यत्तिमै सीमित छैन्। नेपालमै 'हेमाटोलोजी'को सबै उपचार गर्न सम्भव तुल्याउने पनि उनै हुन्। अहिले नेपालमै बोनम्यारो ट्रान्सप्लान्ट लगायत रगत सम्बन्धी धेरै रोगहरुको उपचार हुन्छ। यसको श्रेय पौडेललाई जान्छ।

डा. विशेषका अनुसार बोनम्यारो ट्रान्सप्लान्टमा रगतका कोष ट्रान्सप्लान्ट गरिन्छ। किड्नी वा अन्य अंग जस्तो बोनम्यारो ट्रान्सप्लान्ट अंग प्रत्यारोपण हैन्।
 

‘शरीरको ठूला करङ, कम्मरको हड्डीभित्र रगतको सेल बन्छ। रगत सम्बन्धी विभिन्न रोग लागेका मानिसलाई त्यही सेल ट्रान्सप्लान्ट गर्नु पर्छ। त्यो नै बोनम्यारो ट्रान्सप्लान्ट हो। अरु कुनै मानिस वा आफैबाट पनि यस्ता सेलहरु ट्रान्सप्लान्ट गर्न मिल्छ’ पौडेलले भने।



पौडेल नेपाल आउनुअघि बोनम्यारो ट्रान्सप्लान्ट मात्र हैन रगत सम्बन्धी रोगहरुको पनि उपचार हुने गरेको थिएन। बिरामी बाध्य भएर उपचारकै लागि विदेश जान्थे। अहिले त्यो बाध्यता हटेको छ। तर, धेरै बिरामीलाई नेपालमा उपचार हुन्छ भन्ने जानकारी छैन्।
 

पौडेल सन् २००७ मा चाइना मेडिकल युनिभर्सिटीबाट एमबीबीएस र एमडी सकेर नेपाल फर्के। सरकारी छात्रवृत्तिमा पढेकाले २ वर्ष सरकारी अस्पतालमा काम गरे। त्यसमा उनले वीर अस्पताल रोजे। उनको भित्री उद्देश्य नेपालका सरकारी अस्पतालमा हेमाटोलजीको सबै उपचार गर्न सक्ने बनाउनु थियो। त्यही अनुसार गृहकार्य गर्न व्यस्त भए।
 

वीरको बेवास्ता

सन् २००७ मा वीर अस्पताल पुग्दा युनिट ४ अर्थात् हेमाटोलोजी डिपार्टमेन्ट नाम मात्रै थियो। ६ महिनासम्म कोही बिरामी आएनन्। बिरामीहरुलाई थाहा नै थिएन्, उपचार हुन्छ भन्ने। डा. पौडेल अस्पताल कुरुवा जस्तै भए।
 

त्यतिबेला क्यान्सरका १० प्रतिशत बिरामी भरतपुर अस्पताल जान्थे भने ९० प्रतिशत बिरामी भारत। वीर अस्पतालको हेमाटोलोजी डिपार्टमेन्ट सुनसान हुन्थ्यो। सुनसान भवनमा त्यतिकै पीडादायी क्षण थियो।
 

पौडेल त्यतिकै घाम तापेर अस्पतालमा बस्ने पक्षमा थिएनन्। ठूलो सपना बोकेर नेपाल आएका उनीमा २९ वर्षीय जोश जाँगर र गरेरै छोड्छु भन्ने अठोट थियो।
 

उनले अस्पतालसँग हेमाटोलोजीको सबै उपचार गर्न प्रविधि माग गरे। उनको मागमा अस्पताल सकरात्मक भएन। पौडैलले भने, ‘ मेरो प्रस्ताव एक कानले सुनेर अर्को कानले उडाइयो।’

वीर अस्पतालले उनको सपना पूरा गर्ने वातावरण दिएन। जसको मार धेरै बिरामीहरुलाई पर्‍यो। उनले भने, ‘सरकारी अस्पतालबाट नै हेमाटोलोजीलाई विकास गर्ने सोच थियो। त्यहीँबाट बोनम्यारो ट्रान्सप्लान्ट गरेर जनतालाई थोरै पैसामा उपचार गर्ने सोचेको थिएँ। तर, वीर अस्पतालले चाहेन।’
 

सन् २०११ मा उनी नोवेल अस्पताल गए। वीर छोडेको एक वर्षमै उनले देशमै बोनम्यारो ट्रान्सप्लान्ट गर्न सकिन्छ र आफूले सक्छु भन्ने प्रमाणित गरिदिए।
 

नोवेल अस्पतालमा पनि उनी धेरै बसेनन्। बानेश्वरस्थित सिभिल अस्पतालले उनको सपना पूरा गर्न सहयोग गर्ने भएपछि उनी सिभिल अस्पताल गए।

 

टर्निङ प्वाइन्ट

डा. पौडेल वीर अस्पतालमै हुँदा उनलाई भेट्न हेमोफिलियाको बिरामी (रगत नरोकिने) आए। जसलाई भारतको चर्चित भेगोर अस्पतालले उपचार नहुने भन्दै फर्काएको थियो। ती बिरामीको उपचार गर्न पौडेल एक्लैले रिस्क लिए। महङ्गा औषधि विदेशबाट मगाए। आफै व्यवस्थापन गरेर सम्पूर्ण तयारी गरे। ठूलो जोखिम मोलेर गरेको अपरेशन सफल भयो। पौडैल त्यही घटना नै आफ्नो जीवनको टर्निङ पोइन्ट भएको बताउँछन्।
 

भन्छन्, ‘रिस्क नलिएको भए म केही हुँदैनथेँ।’
 

भेलोर अस्पतालले फर्काएको बिरामी पौडेलले निको पारेको खबर भेलोरसम्म पुग्यो। भेलोर अस्पतालका चिफ डाइरेक्टर डा. चामोडी नेपाल आए डा. विशेषलाई भेट्न।
 

डा. चामोडीले विशेषलाई भेलोर अस्पताल लान धेरै अफर गरे। तर उनी राजी भएनन्।
 

भन्छन्, ‘म भेलोर गएको भए पैसा कमाउथेँ। त्यहाँ नजाँदा पनि कोही मर्दैनथे। तर, म यहाँ नहुँदा हजारौँ मर्छन्।’
 

चामोडीसँग उनी भेलोर गए बोनम्यारो ट्रान्सप्लान्टको १४ महिने ट्रेनिङ लिन। १४ महिनाको भेलोरको ट्रेनिङले उनलाई धेरै आत्मविश्वासी बनायो।

 

जिरोबाट सुरुवात

हेमाटोलोजीको सबै उपचार नेपालमै गर्न त्यतिकै सजिलो थिएन। उच्चस्तरीय प्रविधि र जनशक्ति केही नभएको ठाउँमा जिरोबाट काम सुरु गर्नु पर्थ्यो। पौडेल जस्तो सुकै जोखिम मोल्न पनि तयार थिए। किनकि, उनले आफ्नो सपना पूरा गर्ने अठोट लिएका थिए। गर्न सक्दैनन् भनेर निरुत्साहित पार्नेलाई पनि उनले गरेर देखाउनु थियो।
 

उनी भन्छन् , ‘एक किसिमको इगो थियो। त्यही इगोले रिजल्ट राम्रै आएको छ।’
 

युनिभर्सिटी अफ युलिनियस अफ सिकागोसँग उनको राम्रो चिनजान थियो। उनले त्यही युनिभर्सिटीमा केही डाक्टर र नर्सहरुलाई तालिम लिन पठाए। युनिभर्सिटीले विश्वकै अत्याधुनिक प्रविधि सिभिल भित्र्याउन प्राविधिक सहायता गर्‍यो। सिभिल अस्पतालले सिकाकोको युनिर्भसिटीमा प्रयोग गर्ने यन्त्रहरु नेपालमै भित्र्यायो। त्यो पनि सरकारी खर्चमा।

 

सिभिल र हेमाटोलोजी

अहिले विश्वमा हुने सबै हेमाटोलोजी सम्बन्धी प्रत्यारोपण सिभिल अस्पतालमै हुन्छ। सिभिलबाहेक अन्य अस्पतालले यस्तो सेवा विस्तार गर्न सकेका छैनन्।
 

ब्लड इराइडेटर, मलिकुलर ल्याब, बोनम्यारो प्रत्यारोपण, सेफ्टी ब्लड ब्यांक र क्यान्सर पत्ता लगाउने अत्याधुनिक मेशिन सिभिल अस्पतालसँग मात्र रहेको डा. पौडेल बताउँछन्।
 

पौडेलका अनुसार सिभिलमा भएको रगत झिक्ने मेशिनले रगतको जुन तत्व आवश्यक हो त्यो मात्र झिक्न मिल्छ।  विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार रगत दिँदा सेकेर मात्र दिनुपर्छ। रगत सेक्ने ब्लड इराइडेटर मेसिन सिभिल अस्पतालसँग मात्र रहेको पौडेलको दाबी छ।
 

धेरै मानिसमा नशाको रगत र कलेजोको रगत बिग्रन्छ। यस्तो जटिल रोगको उपचार स्टामसिल थेरापीसमेत सिभिलमा सम्भव छ।
 

डा. पौडेल भन्छन्, ‘आजभन्दा दश वर्षअघि यस्तो उपचार नेपालमा थिएन अहिले सिभिलमा मात्र छ। भारतको कतिपय ठाउँमा अझै यस्तो उपचार हुने अस्पताल छैनन्।’

 

पौडैलका बाँकी सपना

डा. पौडेल आफूसँग २ वटा सपना भएको बताउँछन्।
 

पहिलो -हेमाटोलोजीको पढाई नेपालमै गर्ने र विशेषज्ञ नेपालमै उत्पादन गर्ने।
 

दोस्रो - सरकारी अस्पताललाई सक्षम बनाएर गरिव जनताले उपचारमा पहुँच पुर्‍याउने।
 

तर,  पढाइ सुरु गराउन पौडेलले धेरै चुनौती भोग्नु परेको छ। १ वर्षभित्र नाम्ससँग सम्वन्धन लिएर हेमाटोलोजी पढाइ नेपालमै गर्ने तयारी गरिरहेका छन् पौडैल। त्यसको लागि पनि धेरै हण्डर खाइरहेको उनी बताउँछन्।


सरकार, स्वास्थ्य सेवा विभाग र अन्य निकायले गरेको असहयोग अहिले बताउने मुडमा छैनन् पौडैल। सरकारको गलत स्वास्थ्य नीतिको एक्लै विरोध गरेर परिवर्तन नहुने उनले बुझिसकेका छन्।
 

कतिपय रगतको रोग बोनम्यारो ट्रान्सप्लान्ट नगरी पूरै निदान हुँदैन्थ्यो। तर, नेपालमा बोनम्यारो ट्रान्सप्लान्ट गर्न सम्भव थिएन्। किनकि, त्यतिबेला सरकारले बोनम्यारो ट्रान्सप्लान्टलाई अंग दान भन्ने बुझ्थ्यो।
 

यति सामान्य कुरा बुझाउन वर्षौँ लाग्यो। ती दिन सम्झदै पौडेल भन्छन्  ‘बोनम्यारो ट्रान्सप्लान्ट गलत हो भने व्लड डोनेशन नि गलत हो भनेपछि बल्ल अनुमति पायौँ।’
 

पौडेल विगत कोट्याउँछन्,  ‘पढाइ सकाएर नेपाल आउँदा म २९ वर्षको थिए। योङ थिए,  इनर्जी थियो। केही गर्नुपर्छ भन्ने भित्रदेखि नै लागेको थियो। धेरै हण्डर खाएँ। म अलिपछि नेपाल आएको भए यति गर्न सम्भव थिएन। किनकि, यहाँ कसैले नगरेको काम गर्न धेरै हण्डर खानु पर्ने रहेछ।’
 

सिभिल अस्पतालले उनी एक्लैलाई विश्वास गरेकाले हेमाटोलोजीको उपचार सम्भव भएको सुनाउँछन्।
 

‘केही पछि म किताव लेख्छु। त्यति बेला भन्छु जनताका लागि काम गर्न खोज्दा कति पावरफुल मानिस त्यसको विरुद्धमा लाग्दा रहेछन्।’
 

उनी आत्मविश्वासी सुनिन्छन्, ‘गर्छु भनेर हिँडेको छोरालाई गाह्रो हुन्छ। तर, अठोट लिए नसकिने केही रहेनछ।’

 

सरकारी अस्पताल सक्षम हुनुपर्छ

पौडेलका अनुसार हेमाटोफेलिया भएका मानिसहरुमा अत्याधिक रक्तश्राव हुन्छ। एक दिनको उपचारको लागि ८ हजार डलर लाग्छ भने वर्षमा २ सय दिन उपचार गर्नु पर्छ।
 

यति महंङ्गो उपचार धेरै जनताले निजी अस्पतालमा गराउन सक्दैनन्।

त्यसैले पौडेल यस्ता रोगहरुको उपचार सरकारी अस्पतालमा हुनु पर्ने तर्क राख्छन् । ‘जबसम्म देशमा स्वास्थ्य र शिक्षामा सरकारीभन्दा निजी क्षेत्र हावी हुन्छ तबसम्म देश विकास हुन्न’ पौडेल भन्छन्, ‘जनताको पहुँच निजीसम्म पुग्दैन्। अझै काठमाडौँमा अर्को अत्याधुनिक सरकारी अस्पतालको खाँचो छ।’
 

उनको एउटै मान्यता छ 'प्राइभेट अस्पताल बलियो भएर सरकारी कमजोर हुँदा देशकै स्वास्थ्य बिग्रन्छ।'
 

उनको यही मान्यताले धेरै साथीभाइहरुले नराम्रो भनेको सुनाउँछन्। भन्छन्,  ‘साथीहरु सरकारी-सरकारी भनेर बसेर पैसा चाहिँ के गरी कमाउनु भन्छन्।'

 

नयाँ उपचार पद्धति

जेनेटिक पद्धतिबाट उपचार गरिरहेको सिभिल अस्पतालमा नेक्स्ट जेनेरशन सिक्विनिङ पद्धति यही वर्ष भित्रिने पौडेल सुनाउँछन्। यो पद्धतिले गर्भवती आमालाई क्यान्सर छ भने बच्चा पेटमा हुँदै चेक गरेर समस्याको समाधान गर्न सहयोग गर्छ।

 

कामले पाएको चर्चा

उनले गरेको विभिन्न अध्ययन अनुसन्धान विश्व प्रसिद्ध जर्नलहरुमा प्रकाशित भएका छन्। विभिन्न देशमा जाँदा उनको अनुसन्धानको चर्चा हुन्छ। कामको प्रसंशा हुन्छ।
 

अनुसन्धान फेलोसिप र सेमिनारको लागि पौडैल विश्वका धेरै अस्पताल पुगिसकेका छन्। कतिपय देशको उपचार पद्धतिभन्दा नेपालको उपचार पद्धति राम्रो भएको उनको दावी छ। अन्य देशबाट नेपाल आएका डाक्टरहरुले सिभिल अस्पतालको प्रविधि  र उपचार पद्धतिको प्रसंशा गरेको उनी सुनाउँछन्।

 

 नयाँ डाक्टरलाई सुझाव

उनी विदेश बसेका डाक्टरहरुलाई देशमै आएर काम गर्न आग्रह गर्छन्। सरकारले देशमा विकास गर्ला र देश आउँला भनेर उतै बसे देश कहिल्यै नबन्ने उनको भनाइ छ।
 

‘विदेशमा सहज होला। पैसा पनि होला। नेपालको जस्तो महत्व त्यहाँ छैन। त्यहाँ तपाइँहरु नहुँदा एकजना मर्लान् यहाँ हजारौँ मर्छन्’ पौडेल भन्छन्।
 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal