PahiloPost

Apr 20, 2018 | ७ बैशाख २०७५

प्रम ओलीकी निजी डाक्टर दिब्या सिंह : 'डाक्टरलाई थाक्ने अधिकार हुँदैन'


सागर बुढाथोकी/पहिलोपोस्ट

प्रम ओलीकी निजी डाक्टर दिब्या सिंह : 'डाक्टरलाई थाक्ने अधिकार हुँदैन'
सन २००८ अगस्ट ८ शुक्रबार। नेपालमा पहिलोपटक सफल मिर्गौला प्रत्यारोपण भएको दिन। धेरैको लागि 'गूड न्युज' र कतिपयको लागि 'सरप्राइज'। र, मेडिकल क्षेत्रका लागि नयाँ उपलब्धिको दिन। 

'अत्यन्तै खुशी! अत्यन्तै आनन्द! वर्षौदेखिको सपना यथार्थमा परिणत भएको दिन,' डाक्टर दिव्या सिंह ट्रान्सप्लान्ट सफल भएको क्षण सुनाउँछिन, 'त्यो दिन सम्झँदा पनि गर्वले छाती ढक्क फुल्छ।'

****
फ्ल्यास ब्याक : सन् १९९२।

'डोन्ट फरगेट द्याट यू आर दि फिमेल' 

भारतको मोतिलाल कलेजमा 'म्याम'ले थर्काउँदा समेत दिब्या सिंहले 'गाइनो' (स्त्रीरोग) पढिनन्। अधिकांश लेडिजहरुले 'गाइनो' पढ्थे। केही बचेकाहरु 'एनेस्थेसिया' (बिरामी बेहोस बनाउने)। यी बाहेक अन्य विषयमा लेडिज डाक्टरहरुको नाम भेट्न मुस्किल पर्थ्यो। 

'गाइनो' पढ्नेहरु रुचिले भन्दा पनि 'फ्युचर' हेरेर पढ्थे। 'गाइनो' बाहेक अन्य विषय लेडिजहरुको लागि 'ब्ल्याक लिस्ट' जस्तै थियो। 

'डार्क फ्युचरलाई' चुनौती दिँदै अन्य विषय पढ्न हिम्मत गर्ने लेडिज डाक्टरहरुसामु प्रश्न तेर्सिन्थ्यो, 'गाइनो क्यूँ नही लिया?'

अधिकांश प्रश्नको आशय हुन्थ्यो- 'महिला डाक्टरसामु अन्य रोग जचाउन बिरामी आउँदैनन्? पछि बेरोजगार हुन किन अन्य विषय पढ्नु? लेडिज ले त 'गाइनो' पो पढ्नुपर्छ।'

त्यस समयमा 'गाइनोकोलोजीमा इन्ट्रेस्ट छैन' भन्दा डाक्टर सिंहले म्यामबाट गाली पाउनु स्वाभाविक थियो। तर, लेडिजहरुको 'डार्क फ्युचर' मानिने विषय पढिन्। पूरै क्लासमा एक मात्र लेडिज भए पनि। यो सन् १९९२ को कुरा हो। त्यतिबेला दिब्या एमबीबीएस सकेर एमडी पढ्ने तरखरमा थिइन्।

छिमेकी देशमा मिर्गौला प्रत्यारोपणले नयाँ उचाइ लिइसकेको थियो। नेपालमा मिर्गौला फेल भएकाहरु कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेका थिए। वीर अस्पतालमा डाइलाइसिस मात्रै हुन्थ्यो। प्रत्यारोपण हुने कुनै छाँटकाट थिएन।

दिब्याको त्यही हिम्मतले नेपालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण सफल भयो। मिर्गौला फेल भएकै कारण मर्नु पर्ने बाध्यताको अन्त्य पनि।




नेपालमा मिर्गौला प्रत्यारोपणको इतिहास पुरानो छैन। १० वर्ष मात्र भयो प्रत्यारोपण सफल भएको। यस बीचमा फरक -फरक ब्लड ग्रुप, फरक परिवारमा समेत प्रत्यारोपण हुन थालेको छ। यो सबैको 'जस' जान्छ सिंहलाई नै।

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक हुन् उनी। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल 'नेफ्रोलोजी' विभागका प्रमुख। डा. सिंह सदावहार 'लाइफलाइन'मा छाइरहने चिकित्सक हुन्। मेडिकल क्षेत्रमा बाहेक अन्य क्षेत्रमा पनि उनको चासो र चर्चा भइरहेको हुन्छ। औँलामा गन्न सकिने चर्चित डाक्टरहरुको लिस्टमा उनको नाम छुट्दैन।

*****

यतिखेर शिक्षण अस्पतालको 'नेफ्रोलोजी' विभागमा छिन् डा. सिंह। व्यस्त समयको बाबजुद हामीसँग गफिन तयार छिन्। पुरानो समयमा फर्कदा कहिले उत्साहित हुन्छिन् त कहिले भावुक। अतीतका किस्साहरू सुनाउँदै मुस्कुराउँछिन् पनि।

उनको परिवार न त गरिब थियो न त अशिक्षित नै। छोरी भए पनि शिक्षाबाट बञ्चित हुने कुरै थिएन। स्कुलताका पढाइमा अब्बल उनी स्पोर्टसमा पनि  'नम्बर वान प्लेयर'। नाच्न गाउन पनि पोख्त। स्कुलदेखि एमबीबीएस पढ्दासम्म क्लासको 'सेन्टर अफ अट्राक्सन'। धेरै मेडल पाउनेमा सधैँ 'नम्बर वान'।

बच्चैदेखि डाक्टर बन्ने सोच कसरी र कसले ल्याइदियो याद छैन उनलाई। 'डाक्टर बाहेक अरु केही बन्छु' भन्ने कल्पना सम्म गरेकी थिइनन्। घरको वातावरण नै पढ्न प्रेरक थियो। बुवा टोपबहादुर सिंह जतिबेला पनि पढिरहेकै हुने। कानुन संकायका डीन र सर्वोच्च अदालतका न्यायाधीश भएका टोपबहादुर पनि दिव्या डाक्टर बनेकै हेर्न चाहन्थे। दिब्याको जीवनको एकमात्र 'ड्रिम एण्ड डेस्टिनेशन' डाक्टर बन्नु थियो।

भारतको मोतिलाल नेहरू मेडिकल कलेजमा एमबीबीएस पढ्न पुगेकी दिव्याको सुरुवाती समय 'कन्फ्युजन'मै बित्यो। आफूभन्दा सिनियरहरुले गर्ने 'र्‍यागिङ'बाट आजित थिइन्। सहन नसक्ने हर्कत भए पनि सहनुको विकल्प थिएन। समय बित्दै गएपछि उनीहरुले माया गर्न थाले।  त्यसपछि 'इन्जोय' गर्न थालिन्।

एमबीबीएस रमाइलैसँग बित्यो। अब पालो एमडीको। एमबीबीएसमा जस्तो एमडीमा छात्रवृत्ति पाउन सजिलो थिएन। २० प्रतिशतले पाउने छात्रवृत्तिमा प्रतिस्पर्धा कडा। तै पनि नाम निक्ल्यो। मोतिलाल नेहरू मेडिकल कलेजको अस्पतालमा मेडिसिनमा रेजिडेन्टको रूपमा अध्ययनको अवसर पाइन्। चुनौती धेरै हुदाँहुदै पनि मेडिसिन नै पढिन्।

एमडी पढ्दै गर्दा उनको भेट डा. गोविन्द शर्मासँग भयो। शर्माले 'चाडै नेपाल फर्केर यतै काम गर्नु' भन्दै जागिरको अफर गरे। एमडी सक्नासाथ नेपाल आइन्। शिक्षण अस्पतालबाट पेसा सुरु गरिन्।

शिक्षण अस्पतालमा पनि रोजेको विभाग पाइनन्। 'गाइनो' जस्तै 'नेफ्रोलोजी' पनि रुचिको विषय थिएन। 'कार्डियोलोजिस्ट' विभाग प्याक थियो। नेफ्रोलोजी विभागमा काम थालिन्। 'कार्डियोलोजिस्ट' बन्ने चाहना त्यहीबाट ब्रेक लाग्यो।

शिक्षण अस्पतालमा डायलासिस भर्खरै सुरु भएको थियो। प्रत्यारोपण सम्भव थिएन। डायलायसिस गर्नेहरुको चाप थेगिनसक्नु। त्यहाँ उनको 'डिमाण्ड हाइ' थियो। 'इन्टर्नल मेडिसिन' मा एमडी गरेकाले किड्नीसँग सम्बन्धित बायप्सी, डाइलाइसिस जस्ता कुराहरूमा पोख्त थिइन्। 

डायलासिस मात्रै गर्न अस्पतालले धान्न नसक्ने अवस्था थियो। डायलासिस मेसिन अत्यन्तै कम। बिरामीहरू बढैकै बढ्यै। स्थिति भयावह। कतिपय बिरामीहरू डायलासिसमा पालो नपाएर अकालमै मर्न बाध्य। बिरामी बचाउन नसक्दा छट्पटी हुन्थ्यो उनलाई। ती बाहेक भारत गएर प्रत्यारोपण गराउनेका दुखद् कथा हजारौँ थिए।

दिब्याले समस्या समाधान गर्न पहल गरिन्। एक्लै केही गर्न सक्ने अवस्था थिएन। विकल्प एउटै थियो, अन्तर्राष्ट्रिय कन्फ्रेन्समा गएर यही समस्या सुनाउने। त्यही बेला जापानको कन्फ्रेन्समा भाग लिने अवसर मिल्यो। प्रस्तुति दिइन्। प्रस्तुति टप फाइभमा पर्‍यो। त्यही प्रस्तुतिले 'इन्टरनेशनल एक्सपोजर' मिल्यो। अष्ट्रेलियाको मोलस मेडिकल सेन्टरमा 'ट्रान्सप्लान्ट मेडिसिन विशेषज्ञ कोर्स' अध्ययनको फेलोसिप पनि पाइन्।

अष्ट्रेलियामा ३ वर्ष बसिन्। त्यो बसाइमा ज्ञान, सिप र सिस्टम सिकिन्। आफ्ना कमजोरी पत्ता लगाइन्। आत्मविश्वास थप बढ्यो। नेपालमा आएर केही गर्छु भन्ने दृढ संकल्प गरिन। अस्पताल बिरामी र डाक्टरको रिलेसनले नयाँ कुरा सिकायो। अष्ट्रेलिया बसाई जीवनको 'टर्निङ पोइन्ट' बन्यो उनका लागि।

किड्नी ट्रान्सप्लान्टलाई पूर्ण सफल पार्ने विधि, रिजेक्सन रोक्ने जुक्ति र प्यासेन्ट केयर अष्ट्रेलियामै सिकिन्।

उनी अष्ट्रेलियामा थिइन्। वीर अस्पतालमा पहिलोपटक मृगौला प्रत्यारोपण हुँदै थियो। खबर सुनिन्, 'प्रत्यारोपण असफल भयो।' समाचारले दु:खी मात्र बनाएन चुनौती पनि थप्यो। यो सन् २००४ को कुरा थियो।

तीन वर्षपछि नेपाल आइन्। अब काम गर्ने कसरी? अवस्था पहिलेको भन्दा सुध्रिएको थिएन। नेपालमै प्रत्यारोपण गराउने वातावरण मिलाउन धेरै ठाउँ धाइन्। धेरै नेता भेटिन्। कतैबाट 'ग्रिन सिग्नल' मिलेन। वीर अस्पतालभन्दा बाहिर प्रत्यारोपण गर्न नीति नै बनाउनु पर्थ्यो। त्यसको लागि गम्भीर भएर सोच्ने कोही थिएन। 

सन् २००६ को समय। प्रत्यारोपण सम्बन्धी नीति नबनेको अवस्था। न त प्रविधि नै थियो। न त विशेषज्ञ डाक्टरको टिम। चिकित्सकलाई मात्रै हैन अस्पताललाई समेत अङ्ग प्रत्यारोपण गर्ने अनुमति थिएन। उनी निराश भइसकेकी थिइन्।

सन् २००७ को अन्तिम महिना। काठमाडौँमै सार्क स्तरीय मिर्गौला रोगको सम्मेलन हुँदै थियो। तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मिर्गौला प्रत्यारोपणको प्रस्ताव राखे। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले यसबारे अध्ययनका लागि समिति बनाइदिए। बिग्रिँदै गएका कुराहरू मिल्दै आए। 

त्यसैबेला अष्ट्रेलियामा चिनजान भएको डाक्टर डेभिड फ्रान्सिसले डा. सिंहलाई सहयोग गर्ने बाचा गरे। उनी नेपालको मिर्गौला पीडित बिरामीको अवस्था बारे जानकार थिए। मेलवर्न अस्पतालका ट्रान्सप्लान्ट सर्जन डा. फ्रान्सिस धेरै पटक नेपाल आइसकेका थिए। 

निराशाका बीच केही आशाको त्यान्द्रो देखिए। शिक्षण अस्पतालका तत्कालीन निर्देशक डाक्टर महेश खकुरेललाई प्रस्ताव राखिन्। डा खकुरेलबाट 'ग्रिन सिग्नल' पाइन्। नर्स, प्याथोलोजिस्ट एनेस्थेसियोजोजिस्ट लगायतका  प्रत्यारोणलाई चाहिने टिम तयार गर्न लागिन्। टिम तयार गर्न सहयोग मागेका ठाउँमा 'नेगेटिभ फिडब्याक' आएन।

तर, प्रशासनिक झमेलाले भने छोडेन। शिक्षण अस्पतालमा प्रत्यारोपण सम्भव छैन भन्नेहरू थिए। नेपालमा अङ्ग प्रत्यारोपण अवैधानिक छ भन्ने इमेल डा फ्रान्सिसकोमा पुगिरहेको थिए। एकातिर मिल्दै गएका कुराहरू अर्कातिर बिग्रँदै पनि गएका थिए।

उनी फेरि अष्ट्रेलिया गइन्। त्यसपछि फ्रान्सिस नेपाल आए। शिक्षण अस्पतालको प्रत्यारोपण गर्ने प्रविधि अवलोकन गरे। अनिमात्र 'कन्भिन्सड' भए डा फ्रान्सिस। तर, सरकारले प्रत्यारोपणको अनुमति दिने कुनै सङ्केत गरेन। मन्त्रालय धाउँदा-धाउँदा उनी थाकिसकेकी थिइन्। प्रचण्डले समिति बनाएको १८ महिनापछि बल्लतल्ल मृगौला प्रत्यारोपण हुने सङ्केत देखियो। प्रत्यारोपणको लागि तयार भएका बिरामी ढुक्क भए।

****

प्रत्यारोपणको लागि सबै तयार भइसकेको थियो। पहिलो प्रत्यारोपण भएकाले धेरै कुरामा ध्यान दिनुपर्ने। अन्तिममा भारतबाट मगाएको 'प्रिजर्भेटिभ फ्रुट्स' ल्याउने मान्छेले धोका दियो। 'प्रिजर्भेटिभ फ्रुट्स' नराखी प्रत्यारोपण सम्भव थिएन। उनलाई सङ्कट आइलाग्यो। एयरलाइन्ससँग सहयोग मागिन्। 'प्रिजर्भेटिभ फ्रुट्स' आयो। पहिलो प्रत्यारोपणमै लापरबाही भन्ने आरोप खेप्नु परेन।

र, प्रत्यारोपण सफल भयो। 

प्रत्यारोपण सफल भएको खबर मिडियामा छायो। उनीहरू 'सेलिब्रेटी' भए। त्यो टिममा थिए डा फ्रान्सिस। सर्जन डा बि आर जोशी। नेफ्रोलोजी डिपार्टमेन्टको तर्फबाट टिम लिडर डा दिब्या सिंह।

त्यो दिन सम्झँदा अझै भाबुक हुन्छिन् उनी। सन्तुष्टिको सास फैर्दै भन्छिन्, 'ट्रान्सप्लान्ट गर्न गरेको सङ्घर्ष शब्दमा व्यक्त गरेर साध्य छैन। ट्रान्सप्लान्ट सफल हुँदाको क्षण 'आइरन गेट'को रिजल्ट कुरेर बसेको विद्यार्थी पास हुँदाको जस्तो।'

सङ्घर्षको परिणाम अहिले देखिएको बताउँछिन्। नयाँ प्रयोग र प्रविधि भित्रिन त्यही ट्रान्सप्लान्ट 'माइलस्टोन' बनेको तर्क छ उनको। नेफ्रोलोजी विभाग विकासको 'डिजाइनर' उनी आफूले स्थापित गरेको 'ट्रयाक' पछ्याएकै भरमा नयाँ प्रयोग र प्रगति भइरहेकोमा गर्व गर्छिन्।

नेपालमा अझै पनि मिर्गौला प्रत्यारोपण सहज भइसकेको छैन। चेतनाको अभावले दिन मिल्नेले पनि मृर्गौला दिँदैनन्न। काउन्सिलिङ लगायत अन्य धेरै समस्याको चाङ छ। तै पनि दिनरात खटिरहेकी छिन्। अस्पताल, कलेज र प्राइभेट क्लिनिकलाई समय दिन भ्याइरहेकै छिन्। धेरैले सोध्छन्, 'थकाइ लाग्दैन?' उनको जवाफ, 'डाक्टरहरूलाई थाक्ने अधिकार हुँदैन।'

अहिले अङ्ग प्रत्यारोपणमा नयाँ नयाँ सम्भावना खुलेको छ। ब्रेन डेथका अङ्ग निकालेर प्रत्यारोपण गर्न सकिने नियम बनेको छ। तै पनि अवस्था सहज नभएको उनको तर्क छ। दिब्याका अनुसार आफन्तलाई काउन्सिलिङ गर्न १२/१४ घण्टा लाग्छ। एचएलए परीक्षण, मिल्ने मान्छे खोज्नु, क्रस म्याच भेरिफिकेसन आदि इत्यादि झन्झट धेरै छ। तै पनि ब्रेन डेथका अङ्ग प्रत्यारोपणले आशा जगाएको सुनाउँछिन्।


'केपी ओली कनेक्शन'प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक पनि हुन् डा दिब्या। केपी ओली पहिलादेखि नै बिरामी। विभिन्न ठाउँमा देखाउँदा समेत उनको रोग ठिक भएको थिएन। ओली स्पेसलिस्ट डाक्टरको खोजीमा थिए। दिब्याको विद्यार्थी केपी ओलीको आफन्त पर्ने रहेछन्। उनले नै ओलीलाई डाक्टर सिंहसँग भेट्न सुझाव दिइन्। बिरामी ओलीले 'नाइँ' भनेनन्। ओलीले सिंहसँग 'अपोइन्मेन्ट' लिए। भेट गरे, नियमित जस्तो सल्लाह लिन थाले। ओलीको अवस्था सुध्रिँदै गयो।

सन् २०१३ देखि ओलीको निजी चिकित्सक छिन् उनी। भन्छिन, 'मेन्जाइटिस जस्ता कडा कडा रोग लागेपछि म उहाँको निजी डाक्टर भए। अहिले पहिलाभन्दा धेरै ठिक हुनुभएको छ।'

ओलीले सुरुमा फुच्ची देखेर विश्वास नगरेको प्रतिक्रिया पाएकी थिइन् उनले। उपचार गर्दै गएपछि राम्रो डाक्टर मानेको सुनाउँछिन्। भन्छिन्, 'उहाँ उपचार जहाँ गरे पनि मेरो निर्देशनहरू फलो गर्नुहुन्छ। पहिलेभन्दा धेरै ठिक हुनुभएको छ।'


'ड्रिम प्रोजेक्ट'

छुट्टै ट्रान्सप्लान्ट सेन्टर बनाउने ड्रिम प्रोजेक्ट छ उनको। मिर्गौला सम्बन्धी सबै विधाको स्पेसलिस्ट राखेर छुट्टै अस्पताल चलाउन चाहन्छिन् उनी। रिसर्च, प्यासेन्ट केयर, र उपचार पद्धतिमा नमुना अस्पताल बनाउने सोच छ उनको।

जीवनमा बिर्सन नसक्ने क्षण धेरै छ उनीसँग। तितो होस् या मीठो, हरेक घटनाको प्रत्यक्षदर्शी बनिरहन्छिन्। खुःसीको आँसु र दुःखको आँसु दुबै देखेको छिन्। प्रत्यारोपण गर्न आएका परिवारका पीडा र अभाव महसुस गरेकी छिन्। उनीसँग हजारौँ हृदयविदारक कथाको पोको छ। ती कथाको पोको किताबमा खोल्ने सोच छ । तिनै कथाहरू किताबमा उतार्नु उनको अर्को 'ड्रिम प्रोजेक्ट' हो। उनको चाहना छ – मिर्गौला पीडितका कथा सबैले सुनुन् र हृदयविदारक कथा सधैँलाई अन्त्य होस्।
 

यो पनि पढ्नुहोस्:

नेपालका एकमात्र 'जेरियाट्रिक मेडिसिन' स्पेसलिस्ट : ३२ वर्षीय डाक्टरको यस्तो छ 'ड्रिम प्रोजेक्ट'

एसएलसी बोर्ड टपर विशाल: 'जो कलिलै उमेरमा बने क्यान्सर विशेषज्ञ'

‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने एक्ला डाक्टर, जसले उपचारकै लागि विदेश जानु पर्ने बाध्यता अन्त्य गरे

इबोलाको औषधि पत्ता लगाउने टिमका सुदीप खड्काको जीवनका टर्निङ र ट्विस्टहरु, भन्छन् : नेपालमै केही गर्छु

पोस्टमार्टमका 'ब्रान्ड' वस्तीको कसैले सुन्न नचाहेको कथा




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट