PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पोस्टमार्टमका 'ब्रान्ड' वस्तीको कसैले सुन्न नचाहेको कथा



सागर बुढाथोकी

पोस्टमार्टमका 'ब्रान्ड' वस्तीको कसैले सुन्न नचाहेको कथा

"मर्ने कसैलाई रहर हुँदैन,

तर नमरेको प्रहर हुँदैन"

डाक्टर कृष्णहरि बरालका यी शब्द पर्याप्त छन् – जीवन बुझ्न। तर, सबै मृत्यु एकै हुँदैन। कालगति र कल्पनाभन्दा बाहिरको मृत्यु पनि जीवनकै अंश हुन्। ‘अप्राकृतिक मृत्यु’अनपेक्षित हो जसमा धेरैकुरा जोडिन सक्छ। अपराध, सेक्स वा दुर्घटना। मर्नु र मारिनुका वृत्ताकारहरु पनि हुन्छन् किनकि – मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन।

कसरी मर्‍यो? कसैले मार्‍यो कि? कसैले यातना? सेक्स, क्राइम?’ अप्राकृतिक मृत्युमाथि यस्ता आशंकाका पहाड खडा हुन्छ।


आशंकाका तिनै पहाडलाई मानिसको शरीर चिरेर गरिन्छ -  पोस्टमार्टम। अर्थात् अपराधको ‘मेडिकोलिगल इभिडेन्स’ खोजी।


पोस्टमार्टममा भन्ने बितिकै नेपालीले सम्झने एउटै नाम हो डाक्टर हरिहर वस्ती। अरु पनि छन् तर ब्रान्ड वस्तीकै छ।

२५ वर्षदेखि लाशसँग संगत गरेका वस्ती नेपालका फोरेन्सिक विशेषज्ञ मध्येका एक हुन्। पोस्टमार्टम अनुभवको खानी वस्तीलाई फोरेन्सिक विभागको ‘ब्रान्ड’ मान्ने धेरै छन्।

 

अध्ययन, अनुसन्धान र अनुभवले खारिएका वस्तीसँग ऐतिहासिक पोस्टमार्टमको अनुभव धेरै छन्। उनले जीवनमा अनेक प्रकृतिका मृत्युसँग साक्षात्कार गरेका छन्।

ती मध्येका एक हो – मदन, आश्रितको पोष्टमार्टम।

 

वस्तीको कथा धेरै पत्रपत्रिकामा छापिइसकेका छन्। सफलता धेरैले पढिसकेका छन्। काम हेरिसक्ने धेरै छन्।  अनुभव र अनुभूति विभिन्न सञ्चारमाध्यममा सुनाइसकेका छन्। त्यसैले त उनी ब्रान्ड छन्।

अब कथा सुनाउने मुडमा छैनन् वस्ती। उनी आफ्नो ‘विज्ञापन’चाहँदैनन्। तर, समय त्यस्तै भइदियो। उनले मन नगर्दा नगर्दै उनको कथाहरु धेरै छापिए।

 

तर,  वस्ती वास्तविक कथा कसैले नसुनेको गुनासो गर्छन्। के सुनाउन चाहन्छन् उनी?

 

फोरेन्सिक विभागको कुनै शाखा, महाशाखा अहिलेसम्म स्थापना भएको छैन यहाँ। त्यसैले उपत्यका बाहिर पोस्टमार्टम नजानेकाले नै काम गरेका छन्। गलत रिर्पोट निस्किएर भद्रगोल छ। काठमाडौंमा केही विशेषज्ञ भए पनि संस्थागत रुपमा प्रगति भएको छैन।

 

वस्तीका अनुसार राज्यका महत्वपूर्ण निकायमा बसेका अधिकारीहरुलाई नै पोस्टमार्टम भनेको थाहा छैन। जिल्लाका स्वास्थ्यकर्मीहरुको अवस्था उस्तै।

 

पोस्टमार्टम नजानेका चिकित्सकहरुले पोस्टमार्टम गर्दा प्रहरी, अदालत र पीडित परिवार सबैलाई गाह्रो भएको वस्तीको निष्कर्ष छ।

‘नजान्ने चिकित्सकहरुले पोस्टमार्टम गर्दा निर्दोष व्याक्ति दोषी देखिन्छ। अदालतले त्यही रिर्पोट हेरेर कारवाही गर्छ,' वस्ती सुनाउँछन्।

वस्ती यो क्षेत्रलाई सुधार गर्न धेरै ढिलो भइसकेको बताउँछन। सरकार मौन रहँदा समाजमा मानव अंग सम्बन्धी अपराध बढेको उनको बुझाई छ। २ दशकदेखि फोरेन्सिक क्षेत्र सुधार गर्न लागिपर्दा सम्बन्धित निकायले ध्यान नदिएको गुनासो गर्छन्। भन्छन्, ‘यो क्षेत्र कस्ले हेर्ने? कस्ले सुधार गर्ने?  कहिले सुधार हुने?’  

 

के हो त पोस्टमार्टम ?

लाश चिर्नु मात्र पोष्टमार्टम होइन।‘‘मेडिकोलिगल’ अर्थात कानुनी प्रयोजनको लागि लाशलाई वैज्ञानिक परीक्षण गर्ने काम पोस्टमार्टम हो। यो अत्यन्तै जटिल र सम्वेदनशील हुन्छ,’ वस्तीले भने, ‘त्यसैले यो क्षेत्रको छुट्टै विभाग बनाउनुपर्छ। ७७ वटै जिल्लामा त्यसको शाखा विस्तार गरेर दक्ष जनशक्तिले मात्र काम गर्ने वातावरण बनाउनु पर्छ।’

 

वस्तीका अनुसार शंकास्पद मृत्यु, हत्या, बलात्कारका केसहरु, शारीरिक यातना भएका घटनाहरु पोष्टमार्टमको लागि ल्याइन्छ। कतिपय मृत्यु कसरी भयो भन्ने बारेमा यसै भन्न सकिन्न। अपराधसँग जोडिएका घटनाहरु  भएकाले रिस्की पनि छ।

 

विशेषज्ञ बेरोजगार, लाश चिर्ने सिकारु

व्यक्ति हत्या वा मृत्युका तरिकाहरु बढ्दै गएका छन्। अपराध दिनानुदिन बढ्दैछ। तर, पोस्टमार्टमका लागि आवश्यक पूर्वाधार छैन। काठमाडौंमा ५० जना भन्दा बढी फोरेन्सिक विशेषज्ञहरु बेरोजगार छन्। ७७ जिल्लामा पोस्टमार्टम गर्ने डाक्टर छैनन्। मेडिकल कलेजका विद्यार्थीहरुले क्याडभर अध्यन गर्न पाएका छैनन्।

 

वस्ती दुखेसो पोख्छन्, ‘राज्यले फोरेन्सिकको विकास गरे मानव अंग सम्बन्धी अपराध घट्ने थियो। पोस्टमार्टमको गलत रिर्पोट आएर कसैले पनि दुख पाउँदैन थिए।’

 

निर्दोषलाई जेल, दोषीलाई सजाय

उपत्यका बाहिर विशेषज्ञ नभएको कारण पोस्टमार्टम रिर्पोटहरु गलत निस्किएको बस्ती बताउँछन्। भर्खरै एमबिबिएस सकाएका डाक्टहरुले पोस्टमार्टम गर्ने भएकाले जे नहुनुपर्ने त्यही भइरहेको वस्तीको तर्क छ।

 

'हत्याराहरु खुलेआम नेपाली समाजमा छाती फुलाएर हिड्ने गरेका छन्। कारागारमा कति निर्दोषहरु दोषीको रुपमा जेल जीवन भोगिरहेका छन्,’ वस्तीको अनुभव बोल्यो।

 


पोस्टमार्टमको २५ वर्षे अनुभव

उनी मदन आश्रितको पोस्टमार्टमको प्रसँग धेरैजसो अन्तर्वातामा दोहोर्‍यउँछन्।

 

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा दुर्घटनामा निधन भयो। एमालेले षड्यन्त्रपूर्वक आफ्ना नेता मारिएको निष्कर्ष निकाल्यो। सडकमा आन्दोलन चर्किरहेको थियो।

 

पानीले ढाडिएको मदन र आश्रितको शब परीक्षण गर्दा वस्तीको मन चसक्क भयो। मृत शरीरमा चोटसमेत देखियो। वस्तीसहितको टोलीले रिपोर्ट दियो- मदन आश्रितको निधन चोटका कारणले भएको हो।  मदन आश्रितको हत्या कि दुर्घटना भन्नेमा अझै यकिन छिनोफानो भइसकेको छैन।

 

अनुभवको खानी उनीसँग बताउन लायक अनुभवहरु धेरै छन्। भन्छन्, ‘यो पेशामा हामी सबैको नजर नै खराब छ। यो काम गर्नेलाई समाजले राम्रो मान्दैन।’

 

सबै मानिस आफुले चाहेजस्तो रिपोर्ट आइदिओस् भन्ने चाहन्छन्। तर, परीक्षणमा जे हो त्यही देखिन्छ। कसैको चाहनाले परीक्षणमा काम गर्दैन। अनि मान्छेहरु आरोप लगाउँछन्, ‘पुलिस र डाक्टर मिले।’ तर, उनी यस्ता कुरामा ध्यान नै दिँदैनन्।

 

किन त?

'सोच।'

वस्ती सुनाउँछन्, ‘उपत्यका बाहिर गर्दा गलत रिर्पोट आएकाले त्यसको टार्गेट हामी पनि पर्छौ। कति जनालाई हामीले बुझाएर सकिन्छ र?’

 

कहिलेकाहिँ बाहिरको चर्चा र व्यक्तिको मृत्युको कारणका बीचमा व्यापक अन्तर हुन्छ। वैज्ञानिक परीक्षणलाई समेत भिडले चुनौति दिइरहेको हुन्छ। वस्ती कडा अडान राख्छन्- एक पटक गरिएको शब परीक्षण फेरि गरिँदैन।

 

'लास चिर्न डर लाग्दैन?’

वस्तीले जीवनमा सर्वाधिक सामना गरेको प्रश्न हो यो। जीवनको साढे २ दशक लाशसँग खेलिरहेका उनलाई यस्तो प्रश्न वाइयात लाग्छ। काममा मनोरञ्जन गरेकै कारण लामो समय एउटै क्षेत्रमा टिक्न सकेको उनको अनुभव छ।

 

नियुक्ति एकातिर, काम अर्कैतिर

वस्ती ५६ सालअघि वीर अस्पतालमा कार्यरत थिए। राम्रो ल्याब र सहयोगी नभएर राजिनामा दिने अडान कसे। जापान सरकारले त्रिभुवन शिक्षण अस्पताललाई भवन बनाएर दियो।

 

तत्कालीन श्री ५ को सरकारले वस्तीलाई महारागंज शिक्षण अस्पताल सिफ्ट गरिदियो। त्यसपछि उनी वीर अस्पतालकै नियुक्तिमा काम गरिरहेका छन्।

 

उनको एउटै गुनासो छ, ‘२०५६ सालमा राजाले यता सिफ्ट गरेपछि हुनुपर्ने विकास केही हुन सकेको छैन।’

 

'कतिवटा शवमा कैंची चलाउनुभयो?’

यसको उत्तर दिँदादिँदै उनी थाकिसकेका छन्। ‘२५ वर्षको काममा कतिवटामा चलाए होला?,’ उनी उत्तर आफै दिन्छन् ‘१८ हजार पुगिसक्यो कि!’

 

डाक्टर वस्तीसँग पूर्व महान्यायधिवक्ता रमन श्रेष्ठ सहमत छन्। गलत पोस्टमार्टम रिर्पोटले १५ देखि २० प्रतिशत निर्दोषहरु दोषी र दोषीहरु निर्दोष देखिएको श्रेष्ठ बताउँछन्।

सरकारको उदासिनताको कारण मेडिकोलिगल इभिडेन्सहरुमा अदालत र प्रहरीले निर्दोषलाई न्याय दिन गाह्रो भएको यथार्थ स्वीकार गर्छन श्रेष्ठ।

 

‘कानुन कागज हेरेर फैसला गर्छ। कसैको हत्या भएको भएपनि कागजमा मृत्युको कारण देखिएको छैन भने हत्यारा छुट्छ,’श्रेष्ठले भने, ‘यस्तो केसहरु धेरै देखिएका छन्।’

अधिकाशं पोष्टमार्टम रिर्पोटमा ‘केस हिस्ट्री’ (घटनाको विवरण) उल्लेख नभई मृत्युको कारण मात्र लेखेकाले अपराधीहरु छुट्ने गरेको श्रेष्ठको तर्क छ।

श्रेष्ठ ३ वटा उदाहरण प्रस्तुत गर्छन्।

उदाहरण १ :  कसैले कसैलाई विष खुवाएर मार्न खोज्यो भने त्यो मान्छे तत्कालै नमर्न पनि सक्छ। १ हप्तासम्म उपचार गरेपछि मर्‍यो भने त्यहाँ विष खुवाउने फुत्किन्छ। किनकि, औषधि उपचारले गर्दा विषको मात्रा हराउँछ। पोष्टमार्टममा विष सेवन गरको देखिँदैन।

 

किनकि, केस हिस्ट्री नहेरिकन पोष्टमार्टम रिर्पोट आउँछ।

मृतकको परिवारले हत्या भनेको दावी गरे पनि पोष्टमार्टम कागज हेरेर अदालतले फैसला गर्छ। अपराधी छुट्छ। पीडितले न्याय पाउँदैन्। त्यसैले पोष्टमार्टम गर्ने डाक्टरहरु अत्यन्तै दक्ष हुनुपर्छ।

 

उदाहरण २ : श्रेष्ठका अनुसार झुण्डिएर आत्महत्या गरेको या झुण्याइएको विषयमा सधै ठूलो विवाद हुन्छ। झुण्डिएर मान्छे २ कारणले मर्छ। एउटा स्वासप्रस्वास बन्द र अर्को मष्तिकमा रगत पास नभएर। यस्तो अवस्थामा हत्या र आत्महत्या दुवै हुनसक्छ।

 

तर, केस हिस्ट्री नहेरिकन पोस्टमार्टम रिर्पोटले भन्छ—घाटीमा दवाव भएको कारणले मृत्यु भयो। हत्या वा आत्महत्या दुवै हुन सक्छ।

 

‘सय जना अपराधी छुटोस् तर, एउटा निर्दोष जेल नपरोस्।’

कानुनको यही मान्यताको कारण यस्ता केसहरुमा अपराधी छुट्ने र निर्दोषले न्याय नपाउने श्रेष्ठको तर्क छ।

 

उदाहरण ३ : ‘वयस्क पुरुषले वयस्क महिलालाई सजिलै बलात्कार गर्न सक्दैन। महिला बिरामी भएको बेला वा बेहोस हुने औषधि सेवन गराए मात्रै सम्भव हुन्छ।’ श्रेष्ठले भने, ‘कतिपय केसहरु सहमतिले नै यौनसम्पर्क गरेपछि कुरा नमिल्दा बलात्कार भनेर मुद्धा दर्ता हुन्छ। यसरी निर्दोष पुरुष फस्न पनि सक्छ।’

 

कतिपय बलात्कारको केसमा दोषी उम्किन पनि सक्छ।

'मेडिकोलिगल इभिडेन्स’भएको केसमा अत्यन्तै ठूलो भद्रगोल भएको श्रेष्ठ बताउँछन्। भन्छन्, ‘सरकारले लगानी गरेर दक्ष फोरेन्सिक विशेषज्ञहरु ७७ वटै जिल्लामा नखटाउने हो भने, यसको असर दीर्घकालीन रुपमै घातक हुन्छ।’

 

सवेन्द्र खनाल भन्छन् : भित्री कुरो अवगत छैन

नेपाल प्रहरीका डिआइजी सवेन्द्र खनाल पोष्टमार्टम कागजलाई आधार मानेर प्रहरीले कारवाही गर्ने बताउँछन्। पोष्टमार्टम रिर्पोट र अदालतको कागज अनुसार प्रहरीले कारवाही गर्ने भएकाले पोष्टमार्टमको भित्री कुरा अवगत नभएको खनालको भनाई छ।

‘सुन्नमा आएको यस्तै कुरो हो। तर, अरुको क्षेत्रअधिकारको कुरो हामीले यसै हुन्छ भनेर ठोकुवा गर्न मिल्दैन्,’ खनालले भने, ‘पोष्टमार्टम रिर्पोट नै गलत आएपछि त दोषी उम्किने र निर्दोषले सजाय पाउने त हुन्छ नै।’

 

स्वास्थ्य सचिव भन्छिन् : काम चलेकै छ

स्वास्थ्य सचिव डा. किरण रेग्मी फोरेन्सिक डिपार्टमेन्टको विकास नभएको यथार्थ स्वीकार गर्छिन्। ‘म आएपछि डा. वस्तीसँग बसेर छलफल भएको छ। अब केही प्रक्रिया अगाडि बढ्छ,’उनले भनिन्।

 

फोरेन्सिक मेडिसिनमा चिकित्सकहरुको आर्कषण नभएर विकास हुन नसकेको रेग्मी बताउँछिन्। ‘छुट्टै क्षेत्रको रुपमा विकास नभए पनि काम भइरहेको छ। जिल्ला बाहिर फोरेन्सिक विशेषज्ञ नहुँदैमा रिर्पोट गलत आउँछ भन्ने हैन। एमबिबिएस पढेकाले नि गर्न सक्छन्,’रेग्मीले भनिन्, ‘केही त्यस्तो ठूलो घटना भयो भने काठमाडौँबाट विशेषज्ञ गएर हेर्छन्।’

 

उनी आफु १० वर्ष  फोरेन्सिक विभागमा काम गर्दा गलत पोस्टमार्टम रिर्पोट नआएको तर्क गर्छिन्।

देशभरि यो क्षेत्रलाई विकास गर्न शिक्षा मन्त्रालय र मेडिकल कलेजहरुले अग्रसरता देखाउनुपर्ने रेग्मी बताउँछिन्। भन्छिन, ‘फोरेन्सिक विषयमा विशेषज्ञ डाक्टर उत्पादन गर्ने देशभरि कार्यक्षेत्र फैलाउने अहिले आवश्यकता हो। तर, स्वास्थ्य मन्त्रलालयले मात्रै यो विषय सुल्झाउन सक्दैन् ।’

 

तर वस्ती फोरेन्सिक विभाग विकासको विषय निजी कलेजहरुले चासोको विषय नभएको बताउँछन्। स्वास्थ्य मन्त्रलायले चासो दिएर अगाडि नबढाए काम अघि बढ्न नसक्ने वस्तीको बुझाइ छ।

 

‘स्वास्थ्य मन्त्रलायले पहल नगरे कस्ले पहल गर्छ त? वस्ती प्रश्न गर्छन्, ‘ फोरेन्सिक विभागको लागि स्वास्थ्य मन्लायले नै पहल गर्ने हो। काम स्वास्थ्य मन्त्रालयले नै गर्ने हो। यस्तै जवाफको कारणले गर्दा आजसम्म फोरेन्सिक विभाग बन्न नसककेको हो।’

लाशमा आत्मनिर्भर नभएको देश : किन आवश्यक छ मृत शरीर?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell