PahiloPost

Oct 24, 2017 | ७ कात्तिक २०७४


लाशमा आत्मनिर्भर नभएको देश : किन आवश्यक छ मृत शरीर?


सागर बुढाथोकी/पहिलोपोस्ट

लाशमा आत्मनिर्भर नभएको देश : किन आवश्यक छ मृत शरीर?
काठमाडौँ : चार वर्षअघि साहित्यकार क्षेत्रपताप अधिकारीको शव बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेज धरानमा राखियो। अधिकारीले मर्नुभन्दा अघि अस्पतालसँग शरीरदान गर्ने सम्झौता गरेका थिए। अधिकारीको इच्छालाई सम्मान गर्दै उनका छोराहरु अजर र अमनले शव दाहसंस्कार नगरी अस्पतालमा बुझाए।

दुई वर्षअघि आत्महत्या गरेका पूर्वप्रधानन्यायाधीश भरतराज उप्रेतीको शव पनि महाराजगञ्ज टिचिङ शिक्षण अस्पतालमा बुझाइएको थियो। उप्रेतीले सुसाइड नोटमै शरीरदानको इच्छा व्यक्त गरेकाले उनको परिवारले शव टिचिङमा बुझाएको थियो।
 
त्यसैगरी, डाक्टर योगी विकासानन्दले आफ्नो आमाको शव पनि त्यसैगरी महाराजगञ्ज मेडिकल कलेजको लागि दिए। पत्रकार भैरव रिसाल र उनकी पत्नी सुशीलाले  मरणोपरान्त शरीरदान गर्ने निर्णय गरेको ६ वर्ष भयो। रिसालले मेडिकल साइन्सका विद्यार्थीहरुको आफ्नो मृत शरीर काम लागोस् र मृत शरीरको लागि भारतमा निर्भर हुनु नपरोस् भनेर शरीरदानको निर्णय गरेको बताएका थिए।

उनीहरुको शरीरदानको एउटै उद्देश्य थियो– आफ्नो शरीर मेडिकल साइन्सका विद्यार्थीहरुको अभ्यासको लागि काम लागोस्।
 

'लाशमा आत्मनिर्भर नभएको देश'

उनीहरुको निर्णय हेर्दा प्रष्ट हुन्छ, मेडिकल साइन्स पढ्ने विद्यार्थीहरुलाई मृत शरीर  (क्याडभर) अभाव छ। तर, यति हुँदाहुँदै पनि नेपालमा शरीरदानको प्रावधान अझैसम्म बनेको छैन।

उनीहरुको कसरी सम्भव भयो त ?

उनीहरुको सम्भव हुनुको एकमात्र कारण थियो– मृतकको इच्छा र उनीहरुका स—परिवारको स्वीकृति।
 
शरीरदान गर्ने घोषणा गरेपछि रिसालले भनेका थिए, ‘मृत शरीर समेत विदेशबाट किन्नुपर्छ। कम्तिमा लाशमा त आत्मनिर्भर बनौँ। राज्यले शरीरदान गर्न पाउने नियम बनाउनुपर्छ।’

रिसालको निर्णय त्यतिबेला सञ्चार माध्यमहरुमा प्रमुखताका साथ अटाएको थियो। उनको सो कदमले राज्यले शरीरदानको नियम लागू गर्ने विश्वास गरिएको थियो। तर, कानुनमा आँखादानको प्रावधान बनिसक्दा शरीरदानको छैन।

किन चाहिन्छ मृत शरीर (क्याडभर)?

नेपालको छिमेकी देश बंगलादेशमा शरीरदान गर्ने चलन छ। त्यस्तै बेलायत, अमेरिका र भारतमा समेत शरीरदान गर्नेहरु धेरै छन्। नेपालमा शरीरदानको आवश्यकताको महसुस धेरै पहिलादेखि भएको हो। किनकि, नेपालमा मेडिकल पढ्ने विद्यार्थीहरुको लागि क्याडभर अभाव हुँदै आएको थियो।

त्यो अभाव अहिलेसम्म छँदैछ ।

‘शरीरदानको नियम नै नभएको देशमा कहाँबाट क्याडभर आउँछ? मेडिकल साइन्स पढ्ने विद्यार्थीहरुले कसरी अभ्यास गरिरहेका छन्?’

मेडिकल साइन्सका विद्यार्थीहरुलाई अभ्यासका लागि क्याडभरको आवश्यकता पर्दछ। त्यसैगरी विभिन्न अध्ययन, अनुसन्धानको लागि क्याडभर प्रयोग हुदै आएको छ। नेपालमा वैज्ञानिक अध्ययन, अनुसन्धान नभएपनि मेडिकल कलेजका विद्यार्थीहरुको लागि क्याडभर आवश्यक पर्छ। मेडिकल कलेजमा विद्यार्थीहरुलाई विभिन्न अंग चिरफार (डाइसेक्सन) गर्न लगाइन्छ। यस्तै अभ्यास गरेर नै  विद्यार्थीहरु दक्ष डाक्टर बन्दछन्।

मेडिकल साइन्सका जानकारहरुका अनुसार डाक्टर बन्नको लागि क्याडभर डाइसेक्सनको विकल्प नै छैन। क्याडभर डाइसेक्सनको अभ्यास नगरी डाक्टर बन्न सकिँदैन। यो एमबिबिएसको ‘एनोटोमी’ कोर्समा अनिवार्य पढ्नुपर्छ। त्यसैले, सामान्य डाक्टर होस् या शल्यक्रिया विशेषज्ञ, डाक्टर बन्नको लागि एमबिबिएस पढ्ने सबैले क्याडभर डाइसेक्सनको अभ्यास गर्नै पर्छ।

‘एमबिबिएस पढ्ने विद्यार्थीहरुको अभ्यासको लागि क्याडभर कहाँबाट आउँछ?  सबै विद्यार्थीहरुले अभ्यास गर्न पाउँछन् कि पाउँदैनन् ? यसको बारेमा धेरैलाई जानकारी हुँदैन।
 
डाक्टर गोविन्द केसीको एउटा मागभित्र विद्यार्थीको पर्याप्त अभ्यासका बारेमा छ, जुन क्याडभर डाइसेक्सनसँग पनि सम्बन्धित छ ।

बंगलादेशमा डाक्टरी पढाइ गुणस्तरीय हुने बंगलादेश मेडिकल कलेजमा एमबिबिएस सकेर फर्केका संजिव सिंह बताउँछन्। उनी भन्छन् ‘बंगलादेशमा क्याडभर सक्कली पाइन्छ। बोन, मुटु, तथा अन्य आन्तरिक अंगहरु सक्कली नै हुन्छ। क्याडभरमा धेरैभन्दा धेरै डाइसेक्सन गर्न पाइन्छ। किनकि, त्यहाँ शरीरदानको प्रावधान छ। मेडिकल पढ्ने विद्यार्थीहरुको लागि क्याडभरको कमी कहिल्यै हुँदैन।’

उनको अनुसार बंगलादेशको कलेजमा एउटा समूहले डाइसेक्सनको लागि एउटा क्याडभर बढीमा २ देखि ३ महिना मात्र चलाउँछन्। त्यसपछि नयाँ क्याडभर उपलब्ध हुन्छ। थोरै समूहले धेरै क्याडभरमा अभ्यास गर्न पाइन्छ।

 नेपालमा बंगलादेशको भन्दा ठीक उल्टो छ। ४० सिट भएको मेडिकल कलेजले १५० जनासम्म विद्यार्थी भर्ना गरिरहेका छन्। महाराजगंज मेडिकल क्याम्पसमा अध्यनरत एक विद्यार्थी भन्छन ‘डाइसेक्सन अभ्यास ठूलो समूहमा गर्नुपर्ने हुन्छ।’

महाराजगंज मेडिकल क्याम्पसका उपप्राध्यापक डाक्टर डा. मणि मर्हजनका अनुसार विसं २०५७ सालभन्दा अगाडि नेपालमा मेडिकल पढ्ने विद्यार्थीहरुको अभ्यासको लागि क्याडभर भारतबाट आउँथ्यो। सबै मेडिकल कलेजहरु क्याडभरको लागि भारतसँग निर्भर रहन्थे। ‘२०५७ सालमा फोरेन्सिक मेडिसिन विभाग खुलेपछि भारतबाट ल्याउनुपर्ने झन्झट हटेको छ। अहिले डेथ बडी हामीसँगै छ।’ उनी भन्छन ‘हाम्रो कलेजमा एउटा ब्याचको लागि कम्तिमा ५ देखि ७ वटा क्याडभर चाहिन्छ, त्यो पर्याप्त छ।’


कहाँबाट आउँछ क्याडभर ?

त्रिवि शिक्षण अस्पताल महाराजगंजमा विभिन्न किसिमका बेवारिसे लाशहरु आउँछन्। बेवारिसे रुपमा आएका लाशहरुको आफन्तको खोजी प्रहरीले गर्छ। २८ दिनसम्म खोजीसक्दा पनि बेवारिसे लाशहरुको आफन्त नभेटेपछि लाशलाई प्रहरीले फोरेन्सिक मेडिसिन विभागमा बुझाइदिन्छ। 

मेडिकल साइन्सका विद्यार्थीहरुको लागि उपयुक्त नहुने शव प्रहरीले नै दाहसंस्कार गर्छ।

‘फोरेन्सिक मेडिसिन विभागमा विभिन्न मेडिकल कलेजहरुले क्याडभर माग गरेर निवेदन दिन्छ । उक्त निवेदन प्राप्त भएपछि प्रहरीलाई फोरेन्सिक मेडिसिन विभागले निवेदन दिन्छ । प्रहरीले स्वीकृति दिएपछि मेडिकल कलेजहरुले अभ्यासको लागि क्याडभर पाउँछन्।’

उपप्राध्यापक मर्हजनले भने, ‘मेडिकल कलेजले एउटा क्याडभर लगेबापत सात हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो दर नेपाल सरकारले तोकेको हो।’

विद्यार्थीले अभ्यास गर्न पाएका छैनन् 

एउटा कलेजलाई वार्षिक ७ देखि १२ वटासम्म क्याडभर आवश्यक पर्दा २० वटा कलेजलाई वर्षमा १६० वटा भन्दा बढी क्याडभर चाहिन्छ। 
वर्षमा कसरी र कहाँबाट त्यतिधेरै बेवारिसे लाशहरु आउँछन्? आएका बेवारिसे लाशहरु मेडिकल साइन्सका विद्यार्थीहरुलाई पर्याप्त छ त ?

‘बेवारिसे शवहरु ठूलो संख्यामा आउन सम्भव हुँदैन। बेवारिसे लाश धेरै आउनु अपराध बढ्नु हो। थोरै आउँछन्। ती मध्ये विद्यार्थीको लागि उपयुक्त हुने कम हुन्छ । त्यसैले विद्यार्थीहरुको लागि क्याडभर पर्याप्त छैन,’ नाम नबताउने सर्तमा महाराजगंज मेडिकल कलेजका एक प्राध्यापक भन्छन्, ‘धेरै कलेजमा क्याडभर अभ्यास राम्रो भएको छैन् । टिचिङबाट क्याडभर नलाने कलेजहरु धेरै छन् ।’

दुई वर्षमा एउटा क्याडभर कोट्याउने चलन

फोरेन्सिक विभागका वरिष्ठ डाक्टर हरिहर वस्तीका अनुसार विद्यार्थीहरुले राम्रोसँग अभ्यास गर्न पाएका छैनन्। जनशक्ति पर्याप्त भएपनि क्याडभर नहुने भएकाले त्यहाँका विद्यार्थीहरु सैद्धान्तिक ज्ञान मात्रै लिइरहेका छन्।

‘दुई वर्षसम्म एउटा क्याडभर कोट्याएर पढेको विद्यार्थी कसरी दक्ष डाक्टर बन्न सक्छ? लाश कोट्याएर हेरेको भरमा कसरी अपरेसन गर्न सक्छ ? यहाँ जे नहुनुपर्ने हो त्यही भइरहेको छ,’ वस्तीले थपे, ‘राज्यले नीति बनाएर पोस्टमार्टमको लागि आएका शवहरु मेडिकल कलेजमा पठाउने हो भने, विद्यार्थीले राम्रो अभ्यास गर्न पाउँछन्। ५० जनाभन्दा बढी विशेषज्ञ डाक्टरले रोजगार पाउँछन् । विद्यार्थीहरुले अभ्यास गर्न पाउँछन्।’

महाराजगंज मेडिकल क्याम्पसका प्राध्यापक डाक्टर गोविन्द श्रेष्ठका अनुसार फोरेन्सिक विभागसँग बेवारिशे लाश कति आए र कुन कलेजले कति लगे यकिन डाटा छैन।
 
‘क्याडभर नलाने कलेजहरुले कहाँबाट ल्याएर विद्यार्थीहरुलाई अभ्यास गराउँछन् उनीहरुले नै जानुन्,’ श्रेष्ठले भने, ‘अन्य अस्पतालमा आएका बेवारिसे लाशहरु प्रहरीको स्वीकृतिमा  प्रयोग गर्न सकिन्छ। तर, सबै अस्पतालमा ‘डिप फ्रिज’ नभएकाले त्यो सम्भव छैन।’
 

शरीरदान किन गाह्रो?

हिन्दु धर्ममा समाजमा दाहस‌ंस्कार नगरी मृतकको आत्माले शान्ति पाउँदैन भन्ने विश्वास छ। धेरै दिनसम्म बेपत्ता भएको मानिसको समेत कुशको लाश बनाएर दाहसंस्कार गर्ने गरिन्छ। धार्मिक मनोविज्ञानको कारणले पनि नेपालमा शरीरदान गर्ने प्रावधान ल्याउन गाह्हो भएको प्राध्यापकहरु बताउँछन्।

पाटन अस्पतालको प्रशासन अधिकृत तीर्थराज भुजेल भन्छन ‘हाम्रो अस्पतालमा शरीरदान गर्न इच्छा व्यक्त गरेर धेरै आइसकेका छन्। धेरै दम्पतिहरुले बुझेर गएका छन्। तर, धेरै कुराहरुले शरीरदान असम्भव छ।’

उपप्राध्यापक महर्जनका अनुसार शरीरदानको नियम बन्नको लागि भौतिक पूर्वाधार, शव राख्ने घर र नीति नियम बन्नुपर्छ। शरीरदानको महत्व र आवश्यकता बुझाउन सक्नुपर्छ। उनी भन्छन्, ‘त्यो बन्ने हो भने नेपालको मेडिकल शिक्षामा चमत्कार हुनेछ । विद्यार्थीहरुले राम्रोसंग अभ्यास गर्न पाउनेछन्।’

शरीदान गर्न इच्छुकहरुले परिवारका सम्पूर्ण सदस्यहरुसँग स्वीकृति लिएर अस्पतालसँग सम्पर्क गर्न सक्छन्। अस्पतालमा व्यवस्थापन गर्ने स्थान भएमा त्यो सम्भव हुन्छ। शरीरदान गर्न चाहनेको परिवारहरुले कानुनी कारवाहीको लागि उजुरी नगर्ने सम्झौता पत्रमा हस्तान्तरण गर्नुपर्ने प्राध्यापक श्रेष्ठ बताउछँन्।
 
‘कसैले इच्छा देखाएपनि परिवारबाट स्वीकृति हुुुँदैन। परिवारबाट स्वीकृति थोरै मात्रले दिएका छन्। तर, यस्ता हिम्मत गरेर आउने थोरै मानिसहरुको धेरै समय प्रतिक्षा गर्नुपर्छ,’ उनी प्रश्न गर्छन्, ‘नियम नै नबनेको देशमा शरीरदान गर्छु भन्दै आउन सम्भव छ र?’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal