PahiloPost

Dec 14, 2018 | २८ मंसिर २०७५


इबोलाको औषधि पत्ता लगाउने टिमका सुदीप खड्काको जीवनका टर्निङ र ट्विस्टहरु, भन्छन् : नेपालमै केही गर्छु


सागर बुढाथोकी

इबोलाको औषधि पत्ता लगाउने टिमका सुदीप खड्काको जीवनका टर्निङ र ट्विस्टहरु, भन्छन् : नेपालमै केही गर्छु

‘बधाई छ तपाईँलाई!  इबोला भाइरसजस्तो भयानक रोगको औषधि पत्ता लगाउन योगदान दिनुभएकोमा।’

उताबाट रिप्लाई आयो–  ‘डिफेनेट्ली वाज अ पर्सनल  माइलस्टोन फोर मी। अ ड्रिम कम ट्रु।’

यतिबेला संसारको खतरनाक मानिने  ‘इबोला’  भाइरसको औषधि पत्ता लागेको खबर विश्वभर चर्चामा छ। औषधि पत्ता लगाउने ११ जना वैज्ञानिकको टिममा छन्, नेपाली युवा वैज्ञानिक सुदीप खड्का। उनको चर्चा पनि विश्वभर चुलिँदै गएको छ। 

‘कस्तो प्रतिक्रया आइरहेको छ त? ’

‘हाम्रो टिम ‘फिडब्याक’ भन्दा प्रोजेक्टमा ‘फोकस’ छ। केही महत्वपूर्ण प्रोजेक्टको अन्तिम चरणको काम भइरहेको छ,’ उनले सुनाए।

खड्का अमेरिकाको जर्जिया राज्यको इनिस्च्युट फर बायोमेडिकल साइन्स मा  कार्यरत छन। उनी संग्लग्न टोलीले इबोला भाइरसको औषधि पत्ता लगाएको सोधपत्र प्रतिष्ठित एण्टी भाइरल  जर्नलमा प्रकाशित भएसँगै एकाएक उनको चर्चा चुलिएको हो। अब इबोला भाइरसको महामारी फैलिए रोकथाम गर्न सकिने छ।

+++

कसरी संग्लग्न भए त्यो टिममा खड्का? उनी अनुभव सुनाउन तयार भए।
 
‘अ विग ट्रयाजिडी इन माइ लाइफ। माइ ड्याड वाज डेड बाइ कार एक्सिडेन्ट। आइ वाज टोटल्ली फ्रस्टेडेट।’ उनले विगत कोट्याए, ‘त्यसपछि म नेपाल आएँ अमेरिका नफर्कने सोचेर।’

घटना २०७१ साल मंसिरको महिनाको हो। बाग्लुङ क्याम्पसको महायज्ञ उद्घाटन गर्न सभासद हरि बहादुर खड्का जाँदै थिए। बाटोमा उनी चढेको जिप दुर्घटना भयो। उपचारको क्रममा काठमाडौँमा मृत्यु भयो। तिनै सभासदको छोरा हुन् सुदीप।

सुदीप त्यतिबेला अमेरिकामा पिएचडी सकेर बसेका थिए। अवसरहरुको चाङ थियो। विभिन्न रिसर्चहरुमा व्यस्त। दिनानुदिन एकपछि अर्को रिसर्च गर्दै थिए। व्यस्तता जस्तै नाम र दामको कमी थिएन। अचानक बुबाको मृत्यु भएको खबर पाए। नेपाल फर्किए।

बाग्लुङका चर्चित कांग्रेस नेता थिए खड्का। २०७० सालको संविधानसभाको चुनावमा बाग्लुङ क्षेत्र नम्बर १ बाट विजयी भएका। खड्काको मृत्युपछि त्यहाँ उप निर्वाचन हुने भयो। केन्द्रबाट सुदीपले टिकट पाए। तर, सुदीप राजनीतिमा आए आफ्नो ‘पोलिटिकल करियर’ सकिने सोचेर स्थानीय नेताहरुले विरोध जनाए। सुदीपको आमा चम्पादेवीले टिकट पाइन् र जितिन् पनि। अहिले उनी सहकारी तथा गरिवी निवारण राज्य मन्त्री छिन्।



‘आफैँ राजनीति गरेर बुबाको सपना पुरा गर्ने धोको थियो। सम्भव देखिन। ममीलाई सहयोग गर्न बसेँ,’ सुदीपले सुनाए, ‘२ वर्ष नेपाल बसेँ। न त राजनीतिमा केही गर्न सकिने जस्तो लाग्यो। न त अन्य ठाउँमा अवसर। यहाँ केही नहुने देखेपछि आफ्नो रिसर्च सक्न र अध्यन अघि बढाउन म फेरि अमेरिका फर्केँ।’

त्यही घटना नै जीवनको दोस्रो ‘टर्निङ पोइन्ट’ भएको सुनाउँछन् खड्का। यस्ता घटनाले नै त्यस्तो महत्वपूर्ण काममा संग्लग्न हुन सहयोग गरेको उनको कथन छ।
+++


जीवनको दोस्रो टर्निङ पोइन्ट !  पहिलो के त?  उनी ‘फ्लासब्याकमा’ फर्किए।

गाउँको स्कुलमा सोभियत संघले पठाएको विभिन्न किसिमको पुस्तकहरु हुन्थे। उनी सानै देखि  पुस्तकमा रमाउँथे। पुस्तकहरुमा विभिन्न वैज्ञानिकहरुले गरेको खोज अनुसन्धानहरु हुन्थे। सानै उमेरमा ठूला ठूला आविष्कार गरेको वैज्ञानिकहरुको सफलताको कथा पढ्थे। 

‘म त्यस्तै बुकहरुबाट प्रभावित भएँ। त्यतिबेलै मैलै सपना देखिसकेको थिएँ। म सानै उमेरमा वैज्ञानिक बन्छु,’ उनले बाल्यकाल सम्झिए।

उनले ग्यालेक्सी स्कुल काठमाडौंबाट एसएलसी दिए। काठमाडौं युनिभर्सिटीबाट आइएस्सी सके। स्कुलमा सधै फस्ट। आइएस्सीमा राम्रै अंक आएको थियो। घर परिवार सबैको इच्छा छोरा डाक्टर बनोस् भन्ने थियो। तर, सुदीपलाई डाक्टरीमा कुनै चासो थिएन। 

उनले बुबालाई हिम्मत गरेर भने, ‘म यहाँ एमबिबिएस पढ्दिन। अमेरिका गएर ‘जेनेटिक’ पढ्छु। साइन्टिस्ट बन्छु।’ बुवाले झपार्दै भने,  ‘तैलै नाम निकाल्न सकिनस् अनि ठूलो कुरा गर्छस्।’

बुबाको सपना छोरो डाक्टर बनोस् भन्ने थियो, उनी साइन्टिस्ट बन्न चाहन्थे। बाबु छोराको सपना बीच अन्तरद्वन्द्व भयो। उनको सपनालाई बुबाको सपनाले जित्यो। 

सोचे एमबिबिएसमा नाम निकाल्छु, तर पढ्दिन।  काठमाडौं विश्वविद्यालयमा इन्ट्रान्स दिए। नाम निकाले, भर्ना पनि भए। तर, आफ्नो सपना त्यागेनन्।  किनकि उनी मेडिकल एजुकेसनमा रमाउन सक्दैन थिए। एमबिबिएस भर्ना भएको वर्ष दिन नपुग्दै साइन्टिस्ट बन्ने सपना पूरा गर्न अमेरिका हानिए।



‘जीवनको पहिलो टर्निङ पोइन्ट हो यो मेरो,’ विगत सम्झिँदै उनले भने, ‘त्यतिबेला मेरो निर्णयमा बुबा खुशी हुनुभएको थिएन। अहिले बाँचिरहनु भएको भए। साँच्चिकै खुशी हुनुहुन्थ्यो।’
+++


एमबिबिएसको तयारी र एक वर्ष एमबिबिएसको पढाइले दुई वर्ष त्यतिकै खेर गएको बताउँछन उनी।  ‘नेपालमा सँगै पढेको साथी थर्ड सेमेस्टरमा पुग्दा म अमेरिकामा फर्स्ट सेमेस्टरमा थिएँ। मलाई कैलै थर्ड सेमेस्टरमा पुगौँ भन्ने भयो,’ उनले अमेरिकाको सुरुवाती दिनहरु सम्झिए।

कलेजको डिपार्टमेन्ट हेडलाई एक्स्ट्रा टाइम मिलाउन आग्रह गरे। कलेजले धेरैमा १८ क्रेडिट आवर दिन्थ्यो। सुदीपको जिपिए अत्यन्तै राम्रो थियो। कलेज ‘कन्भिन्स’ भयो। एउटा सेमेस्टरमा २४ क्रेडिड आवर पाए। 

सेल एण्ड मोलिक्युलर वायोजोजीको पढाई।  २४ क्रेडिट आवर। न खान टाइम हुन्थ्यो, न सुत्नै नै। दिन रात पढाई र रिसर्चमा घोटिनुपर्थ्यो। भने, ‘४ वर्ष लाग्ने पढाई ३ वर्षमा सकेँ। गोल्ड मेडलिस्ट थिएँ म।’

त्यही क्रममा उनले साथीहरुलाई ट्युसन पढाए। कलेजको फूड कोर्डमा काम गरे। केही समय मिनिपोलिस शहरको आर एण्ड डी सिस्टम्स र इवा राज्यको  मोनस्यान्टो कम्पनीमा काम गरे। उनको मेहनत र क्षमताले कलेजभर पहिचान बनाएको थियो। विश्व राजनीति, इतिहास भूगोलको गहिरो ज्ञान भएकाले उनलाई साथीहरुले जिउँदो ‘इन्साइक्लोपेडिया’ भनेर जिस्काउँथे।

तर,   बुबाको निधनपछि २ वर्ष रिसर्चको काममा ब्रेक लाग्यो। त्यो बेला बाग्लुङमा नेपालकै दोस्रो ट्रमा सेन्टर बनाउन सहयोग गरे। आमालाई सहयोग गर्नु उनको कतर्व्य नै थियो।

नेपालमा सोचेजस्तो केही भएन। अमेरिका फर्केपछि उनी पुरानै दैनिकीमा फर्के। रिसर्च टिममा संग्लग्न भए। सफलता हात पार्न लामो समय कुर्नु परेन।
 
+++

संसारभर खतरनाक मानिने इबोलाको हालसम्म कुनै औषधि छैन। इबोला लागेका ९०% प्रतिशत मानिसहरु चाँडै मर्छन्। अत्यन्तै चाँडो सर्ने रोग भएकाले यसले केही दिनमै सम्पूर्ण बस्ती सखाप पार्न सक्छ। त्यसैले पनि यो रोगको ‍औषधि उत्पादन विश्वकै प्रतीक्षाको विषय रहेको खड्का सुनाउँछन्।

 

इबोला रोगको उपचार गर्ने क्रममा थुप्रै स्वास्थ्यकर्मीहरुको मृत्यु भएको छ। इबोला नफैलियोस् भनेर संसारभरका विमानस्थलमा विदेश यात्राबाट फर्किने यात्रुहरुलाई ‘इन्फ्रारेड क्यामेरा’ को प्रयोग गरेर सम्भावित संक्रमित यात्रुको पहिचान गरिन्छ। त्यसैले पनि उनीहरुको कामको चर्चा विश्वभर भएको छ।

भाइरस अध्यन गर्न संसारका अत्यन्तै सीमित केन्द्रहरुमा मात्र सम्भव हुन्छ। इबोलाको अध्यन गर्न सुरक्षाको दृष्टिले सबैभन्दा संवेदनशील मानिने चौथो तह (बायोसेफ्टी लेभल ४) को प्रयोगशाला चाहिन्छ। संसारका सीमित बैज्ञानिकहरुको मात्र त्यस्तो प्रयोगशालामा पहुँच भएको उनको तर्क छ। भने,  ‘चीनमा यस्तो प्रयोगशाला भर्खर स्थापना भए पनि सुरक्षाको दृष्टिले जोखिम भएकाले चलाउन सकेको छैन। यस्तो प्रयोगशालामा काम गर्ने म नेपालको पहिलो वैज्ञानिक हुँ।’

उनले प्रष्ट पार्दै थपे, ‘यस्तो  प्रयोगशालामा काम गर्न लामो सुरक्षा जाँच र तालिमपछि मात्र अमेरिकी सरकारले अनुमति दिन्छ। तपाईँ यसरी बुझ्नुस् कि, यस्तो प्रयोगशालामा काम गर्न पाउनु भनेको प्लेन चलाउने पाइलटले ‘रकेट’ चलाउने अवसर पाएजस्तै हो।’
+++

सयौंको संख्यामा नयाँ औषधिको अनुसन्धानबाट ५६ प्रकारका सम्भावित औषधिहरु पत्ता लागेको छ। बेन्जोक्युलिन  समूहको औषधिको बिस्तृत अध्यन भएको खड्काको तर्क छ। इबोला मात्र हैन हालै संसारमा तहल्का मचाई राखेको अर्को ‘जीका’ भाइरस बिरुद्ध पनि औषधि प्रभावकारी देखिएको छ।

‘अहिले तत्काल मेरो फोकस भनेको इबोला र जीका भाइरस विरुद्धको औषधिमा हो। यो सकिएपछि धेरै कामहरु सजिलै हुन्छ। प्रारम्भिक अनुसन्धानबाट चाडै नै इबोला र जीका को उपचार हुन सक्ने सम्भावना बढेको छ,’ सुदीपले भने, ‘तर, बजारमा आउन भन्दा पहिले यो औषधिको ‘साइडइफेक्टको’ थप अनुसन्धान गर्न केही समय लाग्छ।’

यो औषधि पत्ता लगाउनु पहिले उनले मानिसलाई कसरी डेंगु र हेपाटाटिस सीले प्रभाव पार्छ भन्ने गम्भीर अनुसन्धान गरिसकेका छन्। उनका अनुसन्धानहरु महत्वपूर्ण जर्नलहरुमा प्रकाशित भइसकेको छ। डेंगु र मलेरियाको शोधपत्रमा पनि उनले काम गरिसकेका छन्।
‌+++

अबको १ दशकपछि राम्रो प्लान बनाएर नेपाल फर्किने बताउँछन् उनी। राजनीतिमा तथा अर्थव्यवस्थामा रुची रहेकाले देशमै काम गर्ने सुनाउँछन्। भन्छन, ‘देशको अर्थव्यवस्था सुधार्न के गर्न सकिन्छ त्यो सोच्दैछु। राष्ट्रिय योजना आयोगमा बसेर काम गर्ने धोको छ।’



इबोलाको औषधि पत्ता लगाउने टिमका सुदीप खड्काको जीवनका टर्निङ र ट्विस्टहरु, भन्छन् : नेपालमै केही गर्छु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट