PahiloPost

Oct 18, 2018 | १ कात्तिक २०७५

सपना पछ्याएर हैन, संयोगले बनेका डाक्टर आशिष, नेपालका एकमात्र 'एमसीएच पेडियाट्रिक सर्जन'

सपना पछ्याएर हैन, संयोगले बनेका डाक्टर आशिष, नेपालका एकमात्र 'एमसीएच पेडियाट्रिक सर्जन'

सागर बुढाथोकी/पहिलोपोस्ट


'ठूलो भएपछि के बन्छौ?' 

स्कुलमा शिक्षकहरुले सोध्ने यो प्रश्न आशिषलाल श्रेष्ठलाई सबैभन्दा अफ्ठ्यारो लाग्थ्यो। साथीहरुको जवाफ हुन्थ्यो - 'डाक्टर, इन्जिनियर, पाइलट, ब्याङ्कर।' उनी भने अक्कमक्क पर्थे यद्यपि कमजोर विद्यार्थी थिएनन्। प्लस टू सक्दासम्म पनि सधैजसो सोधिने प्रश्नको जवाफ पाएनन्। 'कन्फ्युजनमै' दिन कटाइरहे। 

प्लस टूपछि आफैलाई प्रश्न गर्न थाले - साँच्ची के बनुँ म? 

धैरै सोचे। घरपरिवारसँग सल्लाह पनि गरे। अनि प्रोफेसनल लक्ष्य तय भयो।

डाक्टर।  

दिदी भिनाजु डाक्टर भएकाले त्यताबाट अलिअलि प्रभाव पर्‍यो। 'लक्ष्य'लाई लास्ट आवरमा लिएका श्रेष्ठ अहिले नेपालको पहिलो र एकमात्र 'एमसीएच पेडियाट्रिक सर्जन' भएका छन्। पेडियाट्रिक सर्जनमा 'एमसीएच' गरेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अभ्यास गरिरहेका छन् उनले। नवजात शिशु देखि किशोर बालबालिकाहरुको जटिलभन्दा जटिल अपरेशनका लागि उनको 'डिमाण्ड' हुन्छ। मतलब अहिलेसम्म एमसीएच पूरा गरेका पेडियाट्रिक सर्जनका 'एक्ला ब्राण्ड'।

श्रेष्ठ पेन्टिङमा रुचि राख्थे। तर, पेन्टर बन्ने हिम्मत गरेनन्। डाक्टर बन्ने कुनै उद्देश्यै थिएन। इन्जिनियरिङ पढ्न अमेरिका जाने तयारी भइसकेको थियो। तर, एकाएक प्राथमिकताहरु ओझेलमा परे। उनले विगत सम्झिए, 'म सपना पछ्याएर डाक्टर बनेको हैन। संयोगले डाक्टर बनेको हुँ।'

श्रेष्ठ काठमाडौँ जन्मे, यतै हुर्किए। सेन्ट जेभियर कलेजबाट प्लस टु गरे। एमबीबीएस पढ्न दक्षिण भारतको क्रिश्टियन मेडिकल कलेज (सिएमसी भेलोर) गए। छात्रवृत्तीमा एमबीबीएस सके। त्यहाँबाट फर्केपछि नेपालमै केही समय अभ्यास गरे। त्यसपछि फेरि भेलोर गए, 'एमएस जनरल सर्जरी'को थप अध्यन गर्न। त्यहाँ तीन वर्ष बिताए। 

नेपाल आएपछि तीन वर्ष फेरि व्यस्त भए। पेडियाट्रिक फिल्डमै काम गरे। सो क्रममा उनको आत्मविश्वास बढ्यो। पेडियाट्रिक सर्जन बन्ने उद्देश्य बोकेर फेरि भेलोर गए। हजारौ भारतीय सर्जन सम्मिलित परीक्षामा उत्कृष्ट अंक ल्याए। छात्रवृत्ती फेरि उनकै पोल्टामा पर्यो। तीन वर्ष 'एमसीएच पेडियाट्रिक' सर्जरीको कोर्ष गरे।

+++

केही दिनअघि जन्मेको बालक लिएर एउटा परिवार आयो। पेटको सानो आन्द्रा ब्लक भएको रहेछ। अवस्था निकै क्रिटिकल। श्रेष्ठले शल्यक्रिया गरे। बच्चा बाँच्न सफल भयो। अहिले पनि उनीहरु फलोअपको लागि आइरहेका छन्।

त्यस्तै प्रकृतिको बच्चा लिएर अर्को परिवार श्रेष्ठ कहाँ आए। बच्चालाई दूध चुसाउँदा छातीबाट भित्र छिरेन। जति खुवाए पनि बाहिर निकाल्ने। छातीमा नली ब्लक भएको कारण बच्चाले दूध निल्न सकेको थिएन। अपरेशन नगरी उपाय थिएन। त्यो अपरेशन पनि सफल भयो।

केही दिनअघि एउटा परिवार नवजात शिशु लिएर आइपुगे। जसको मलद्वार टालिएको थियो। अपरेशन नगरी त्यो बच्चाले दिसा गर्न सक्ने अवस्था थिएन। त्यो अपरेशन पनि सफल भयो।

त्यस्तै एउटा नवजात बच्चाको मेरुदण्ड निस्किएको थियो। अवस्था अत्यन्तै क्रिटिकल। श्रेष्ठले अपरेशन गरे। बच्चाले पुनर्जिवन पायो। 

यसरी बच्चाहरुलाई बचाएर सकुशल घर फर्काउँदा पदक नै जितेजस्तो खुशी प्राप्त हुने श्रेष्ठ बताउँछन्।

जन्मजात यस्ता जटिल रोग लिएर आउने बच्चाहरुको लिस्ट लामो भएको श्रेष्ठ सुनाउँछन। यस्ता रोगहरुको अपरेशन गर्न चुनौती रहेको श्रेष्ठको कथन छ। भन्छन्, 'जोखिम त छ तर शल्यक्रिया नगरे झनै बच्चा जोखिममा हुन्छ।' 


एमसीएच पेडियाट्रिक सर्जरी नेपालमा नयाँ विषय हो। यो विषयको नेपालमा पढाइ हुन्न। नेपालमा बच्चाहरुको ठूलो सर्जरी सुरु भएको ६ महिना मात्रै भएको छ। श्रेष्ठ आएपछि यो सर्जरी सुरु गरेको उनी बताउँछन। भन्छन्, 'नयाँ पढेर आउने तयारी गरिरहेका अरु पनि हुनुहुन्छ। उहाँहरु आएपछि अझै धेरै ठाउँमा यस्तो सर्जरी हुनसक्छ।'

धेरैले सोध्छन, 'जन्मने बित्तिकै पनि अपरेशन! नवजात शिशुलाई पनि यस्तो जटिल रोग!'

श्रेष्ठका अनुसार कतिपय बच्चाहरु जन्मनासाथ 'डेन्जर जोन'मा हुन्छन्। उनीहरुको विभिन्न अंग सही ठाँउमा र ठीक अवस्थामा हुन्न। ती अंग ठीक पार्न सर्जरी हुन्छ। मुटु कलेजो, किड्नी, ब्रेन, नशा सबैको। 

कतिपय अवस्थामा नवजात शिशुको ठूलो भन्दा ठूलो अपरेशन गर्नुपर्छ। स्पाइनल कर्ड बिग्रेको हुन्छ। छाती जोडिएको हुन्छ। दिमाग जोडिएको हुन्छ। टाउको जोडिएको हुन्छ। खानाको नली ब्लक हुन्छ। पिसाब थैली ब्लक हुन्छ। किड्नी, कलेजोमा ट्युमर जन्मजात नै हुनसक्छ। अण्डकोश नै बाहिर हुन्छ। धेरै बच्चाहरु अप्राकृतिक रुपमा जन्मन्छन्। यी सबैबाट बच्न सर्जरीको बिकल्प छैन।

+++

शल्यक्रिया पद्धति
श्रेष्ठका अनुसार बच्चाहरुको अपरेशन गर्ने औजार र पद्धति नै फरक हुन्छ। शल्यक्रिया पद्धति र  उपकरणहरु संवेदनशील हुन्छ। अपरेशन थियटर आइसियू सबै भिन्न हुन्छ। दुरविनको (ल्यापोस्क्रोपी) सहायताले अपरेशन गर्ने श्रेष्ठ सुनाउँछन्। भन्छन्, 'अपरेशन भन्ने बितिकै चिरफार हैन। बच्चाहरुको सर्जरीमा बयस्कको जस्तो चिरफार हुन्न।'

किन पेडियाट्रिक सर्जरी?
नेपालमा पेडियाट्रिक सर्जन गन्ने नै हो भने औलामा अटाउँछन्। अझ विशेषज्ञ भेटाउन मुस्किल छ। त्यसैले नेपालमा पेडियाट्रिक सर्जनको 'फ्युचर ब्राइट' छ। नयाँ विषय र उपचार पद्धति नयाँ भएकाले यसको प्रयोग नेपालमा भइसकेको छैन। श्रेष्ठ सोही कारण पेडियाट्रिक सर्जरीमा तानिए।
 
किन त ?
भेलोरमा एमबीबीएस पढ्दै गर्दा श्रेष्ठको संगत पेडियाट्रिक सर्जन डा सुदीप्ता सेनसँग भयो। भेलोरको पेड्रियाट्रिक डिपार्टमेन्ट हेड भएकाले श्रेष्ठले उनीबाट धेरै सिके। काम गर्दागर्दै बच्चाहरुको सर्जनमा मन रमायो। सोही कारण एमसीएच पेडियाट्रिक सर्जरी उनको रोजाइ बन्यो।

६ वर्ष एमबीबीएसको पढाइ। पेडियाट्रिक सर्जनसँगको संगत। एबबीबीएस पछि पेडियाट्रिकमै प्राक्टिस। त्यसपछिका ६ वर्ष एमसीएच पेडियाट्रिक सर्जरीको अभ्यास। यति गरेपछि उनी पेडियाट्रिक सर्जनको स्पेशलिस्ट भए। र, नेपाल आएर अभ्यास सुरु गरे। उनी नेपाल आएको १ वर्ष मात्रै भएको छ।

अनविज्ञ छन् धेरै
नवजात शिशुहरुको अपरेशन गर्नुपर्ने बच्चाहरुको सङ्ख्या बड्दै गएको श्रेष्ठ बताउँछन। नेपालमा पनि शल्यक्रिया हुन्छ भन्ने थाहा नपाएर धैरै बच्चाहरु जन्मनासाथ मर्ने गरेको उनको कथन छ। नवजात शिशुहरु जन्मनासाथ राम्रो केयर र ट्रिटमेन्ट नपाए जीवनभर अपांग बन्न सक्छन्। भन्छन्, 'बच्चाहरुको यस्तो शल्यक्रिया नेपालमै हुन्छ भन्ने धेरैलाई थाहा नै छैन। म आएको ६ महिना भयो। बल्ल त यस्तो शल्यक्रिया हुन्छ भन्ने जनताहरुले थाहा पाउँदै छन्।'


जर्नलमा रिसर्च
श्रेष्ठको अधिकांश समय अस्पताल र रिसर्चमा बित्छ। विश्वप्रख्यात साइन्टिफिक जर्नलहरुमा उनको रिसर्चहरु प्रकाशित भएको छ। अस्पताल र रिसर्च बाहेक अन्य कामको 'इम्याजिन' गर्न नसक्ने बताउँछन् उनी।  'जीन्दगीभर म विद्यार्थी नै रहन्छु। हरेक माध्यमबाट पढिरहेको हुन्छु। अध्यन बाहेक मेरो अर्को संसार छैन,' उनले भने, 'विश्वप्रख्यात जर्नलहरुमा रिसर्चहरु पब्लिश गरेको छु। मोस्ट लिस्टेड रिसर्चमा मेरो पनि छ।'

श्रेष्ठ बच्चाको सबै विधाको शल्यक्रिया नेपालमै सम्भव तुल्याउन लागिपर्ने बताउँछन्। अझै धेरै नयाँ टेक्नोलोजी भित्राउन फोकस हुने उनको तर्क छ। पेडियाट्रिक सर्जरीमा नेपाललाई नयाँ हाइटमा पुर्याउने उनको 'ड्रिम प्रोजेक्ट' हो।

यो पनि पढ्नुहोस्:

प्रम ओलीकी निजी चिकित्सक भन्छिन्, 'डाक्टरलाई थाक्ने अधिकार हुँदैन'

नेपालका एकमात्र 'जेरियाट्रिक मेडिसिन' स्पेसलिस्ट : ३२ वर्षीय डाक्टरको यस्तो छ 'ड्रिम प्रोजेक्ट'

एसएलसी बोर्ड टपर विशाल: 'जो कलिलै उमेरमा बने क्यान्सर विशेषज्ञ'

‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने एक्ला डाक्टर, जसले उपचारकै लागि विदेश जानु पर्ने बाध्यता अन्त्य गर

इबोलाको औषधि पत्ता लगाउने टिमका सुदीप खड्काको जीवनका टर्निङ र ट्विस्टहरु, भन्छन् : नेपालमै केही गर्छु

पोस्टमार्टमका 'ब्रान्ड' वस्तीको कसैले सुन्न नचाहेको कथा


 


ट्रेन्डिङ पोस्ट