PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


दोलखाको अस्पतालका गेम चेन्जर डाक्टर विनोद, अर्थात् गाउँका सेक्रेट सुपरस्टार


सागर बुढाथोकी

दोलखाको अस्पतालका गेम चेन्जर डाक्टर विनोद, अर्थात् गाउँका सेक्रेट सुपरस्टार

आर्थिक अवस्था र सामाजिक वातावरणले एउटा औशत ‘शिक्षक’मात्र बनाउँथ्यो उनलाई। सपना पनि त्योभन्दा बढीको थिएन। तर, यतिखेर उनको नामका अगाडि डाक्टर पनि छ। अर्थात्, डाक्टर विनोद दंगाल। विनोद देशको 'नमुना अस्पताल'का निर्देशक पनि हुन्। ३२ वर्षको उमेरमा हिँडिरहेका उनी हामीसँगको भेटमा विगत कोट्याउँछन्। सोचमग्न हुन्छन्। र, बोल्छन् – ‘नदेखेको सपना पूरा भो।’  

विनोद ८ वर्ष नपुग्दै उनको बुबा विते। परिवार चरम आर्थिक संकटमा। सिन्धुपाल्चोकको सरकारी स्कुलमा पढ्दै थिए उनी। ठूलो सपना नदेख्नलाई यिनै कुरा पर्याप्त थिए। 

विनोद अहिले चरिकोट अस्पतालका डाइरेक्टर हुन्। चरिकोट अस्पताल नेपालको यस्तो अस्पताल हो, जहाँ अन्य अस्पतालमा दसौं लाख पर्ने सर्जरी नि:शुल्क हुन्छ। अमेरिकी प्रोजेक्ट पोसिबल हेल्थले सरकारसँग समन्वय गरेर सरकारी अस्पताललाई निजी भन्दा गुणस्तरीय बनाएको छ, विशेषज्ञ डाक्टर र अत्याधुनिक उपकरणसमेत। यी सबै हुनुमा विनोद नै जोडिन्छन्। गाउँका यी  सेक्रेट सुपरस्टार नै हुन्। 

विनोदकै समन्वयमा अस्पताल ‘नमुना’ बनेको छ। दोलखा आसपासका नागरिकहरुले राजधानीमा पाउने सेवा गाँउमै पाएका छन्। गम्भीर बिरामी काठमाडौं ल्याउनुपर्ने बाध्यता घटेको छ। 
+++
विनोदका बुबा बिरामी थिए। अस्पताल पुर्याउन नपाउँदै बाटैमा विते। डाक्टर बन्नु र गाउँको अस्पतालमै काम गर्न उनी प्रेरित हुने आधार यही थियो। 'सानै छँदा त्यो घटना नभएको भए म डाक्टर नबन्न पनि सक्थेँ,' उनले सुनाए।

विनोद सानैदेखि अरुभन्दा तेज थिए पढ्नमा। तर मेधावी बालकले एउटा प्रश्नको उत्तर पाइरहेको थिएन। त्यसैले घोत्लिरहन्थे। प्रश्न ज्यूँका त्यूँ थियो- बुबाको मृत्युको कारण के होला? 

चित्त बुझ्दो जवाफ फेला पारेको थिएन। उनी सात कक्षमा पढ्दै गर्दा इटलीबाट एकजना भोलेन्टियर गाउँमा पुगिन्। शिक्षिकाका रुपमा भित्रिएकी १९ वर्षीय तेरेजा निकोलीको आगमनले विनोदको जीवनले नयाँ मोड लियो। उनका कतिपय अनुत्तरित प्रश्नको जवाफ तिनै किशोरीले दिन्थिन्। विनोदका मनका कौतुहलताले उनको प्रतिभा बाहिर ल्याइरहेको थियो। विदेशबाट आएकी शिक्षिकाका लागि उनी विशेष विद्यार्थी भए। तेरेजालाई लाग्यो- 'यो केटोमा भोक छ। भविष्यमा केही गर्छ।'

स्वयम् सेवाका लागि गाउँमा पढाउन पुगेकी उनैले विनोदलाई काठमाडौंको भानुभक्त मेमोरियलमा भर्ना गराइन्। अभिभावकत्व नै ग्रहण गरिन्। गाउँमा पढेकाले सुरुमा अंग्रेजी स्कुल विनोदका लागि दिक्दार लाग्दो भयो। तर, विस्तारै त्यसमै झ्याम्मिँदै गए। राम्रो अकं ल्याएर एसएसली भानुभक्तबाटै पूरा गरे। प्लस टू पढ्न पनि स्कलरसिप हात लाग्यो। फेल हुने त कुरै भएन। 

'मानिसलाई कसरी बचाउँन सकिन्छ' भन्ने बाल्यकालको जिज्ञासा प्लस टु सकाएपछि उनमा जागृत भयो। सोझो हिसाबले उत्तर पाए — डाक्टर बनेर।

एमबीबीएस पढ्न त्यत्तिकै हुने कुरा त थिएन। इन्ट्रान्सका लागि तयारी थाले। आइओएम र शिक्षा मन्त्रालयको दुईवटै कोटामा नाम निक्लेन। १ वर्ष यत्तिकै खेर गयो। अनि विकल्प बन्यो, चीन। चीनमा जान फेरि तेरेजाले नै सहयोग गरिन्। जानासाथ छात्रवृत्ति पनि पाए। आफू पढ्दा उनी चाइनिजहरुलाई अंग्रेजी पढाउन थाले। एमबीबीएस सक्याउन उनलाई पार्ट टाइम कमाइले सघायो। अनि फर्किए नेपाल।

इन्टर्नसीप १ वर्ष नगरी जागिर त पाउने कुरै थिएन। काठमाडौं मोडल अस्पतालमा इन्टर्नसीपका लागि परीक्षा दिए। नाम एकै नम्बरमा निस्कियो। इन्टर्नका लागि कम्युनिटी पोस्टिङ दोलखामा पर्यो। 

तीन महिनाका लागि भएको दोलखाको पोस्टिङले जीवनमा अर्को मोड ल्यायो। भने, ‘मैले त्यहीँ देखेँ, नमर्नुपर्ने कारणले कति मानिस मरिरहेका छन्। सुत्केरी व्याथा लाग्दा काठमाडौँ आउनुपर्ने बाध्यता कति डरलाग्दो छ। अस्पतालमा सिटामोल मात्र भएको कारण कतिले अकालमा ज्यान गुमाएका छन्। अझै जटिल र इमर्जेन्सी उपचार त त्यहाँ कल्पना बाहिरको कुरा थियो।‘

डाक्टर बन्दाको सुरुवाती दिनहरु चुनौतीपूर्ण थिए उनका। चाहेर पनि उपचार गर्न सक्दैन थिए। अस्पतालमा कुनै उपकरणहरु नै थिएन। त्यतिखेरकै कुरा हो। एक दिन उनीकहाँ एक जना गर्भवती महिलालाई उपचारका लागि ल्याइयो। पेटमा ढुङगाले लागेर 'ब्लिडिङ' भइरहेको थियो। उपकरण नहुँदा त्यहाँ उपचार सम्भव भएन। काठमाडौँ 'रिफर' गरे। तर, बाटोमै महिलाको मृत्यु भयो। 

अस्पतालमा उपकरण र दक्ष डाक्टर नहुँदा ज्यान जोगाउन कठिन। त्यतिखेर उनी सोच्थे, 'के काठमाडौंका जनताले मात्र स्वास्थ्य सेवा पाउने हो त?' जति कुँडिए पनि एक्लैले गर्न सक्ने केही थिएन।

इन्टर्न सकेपछि फेरि दोलखा फर्किए। त्यो बेला 'रियलाइज' गरे, 'यत्तिले नपुग्ने रैछ। यहाँको मानिसहरु बचाउन अझै धेरै सिक्नुपर्ने रैछ।' अस्पतालमा उपकरण त थिएन नै उनी पनि सर्जरीमा पोख्त भइसकेका थिएनन्।

उनी चाहन्थे- आफैँ सिजेरियन सेक्सन लिड गर्न सकुँ। आफै अन्य जटिल अपरेसन गर्न सकुँ। 

तर, त्यही योग्यताले चाहना पूरा हुने अवस्था थिएन। त्यसका लागि एमडी जेनरल प्राक्टिस (एमडीजीपी) पढ्ने सोच बनाए। यो कोर्षले 'लाइफ सेभिङ सर्जरी' गर्ने अनुमति दिन्छ। यो कोर्ष अध्यन गरेका डाक्टरहरु ठूलाभन्दा ठूला अपरेसन गर्न सक्छन्।

त्रिवि शिक्षण अस्पताल, मेडिकल कलेजमा भर्ना भए। हाड जोर्नी, पेट फुटेको, आन्द्राहरु जोड्ने र सिजेरियन सेक्सन सर्जरीहरुमा फोकस गरे। तर, त्यतिले मात्र पुग्दैन थियो। त्यसलगत्तै इन्डोस्कोपी, अल्ट्रासाउण्ड, इकोकार्ड्रियोग्राफको ट्रेनिङ लिन भारत गए। पहिलाभन्दा धेरै सिप, क्षमता र अनुभव बोकेर तेस्रो पटक फेरि दोलखा फर्के। त्यसपछि त्यहाँ सफलतापूर्वक सिजेरियन सेक्सन हेन्डल गरे। हाडजोर्नीको अपरेसन गरे। कतिपय दुर्घटनामा परेका मानिसहरुको आन्द्रा जोडे।

त्यही बीचमा अर्को पटक 'पेडियाट्रिक सर्जरी'को ट्रेनिङ लिन लण्डन गए। त्यही उनले 'ट्रामा सर्जरी' पनि सिके। त्यसपछि धेरै किसिमका बिरामीहरु बचाउन सक्ने भए।  दोलखाको बाल मृत्युदर र मातृ मृत्युदर घट्यो। सन् २०१५ मा दोलखा जिल्लाको उत्कृष्ट डाक्टर घोषित भए।
+++
२०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछि २७ गते दोलखालाई मुख्य केन्द्रबिन्दु उत्तिकै ठूलो परकम्प गयो। जिल्लाका ९९ प्रतिशत हेल्थपोष्टहरु ध्वस्त भए। भूकम्प आउनासाथ चिकित्सकहरु घरतिर हिँडे। घाइतेको अवस्था विक्षिप्त बनाउने खालको। सबैतिर भद्रगोल। उपचार गर्न औषधि, न उपकरण नै। 

त्यही बीच बेल्जियमको एउटा संस्था उपचार सामाग्री बोकेर दोलखा पुग्यो। उनलाई ढुंगा खोज्दा देता मिलेजस्तो भयो। त्यही संस्थासँग जोडिएर काम गर्न थाले। टेन्टमै अपरेसन गरे। मृत्युको मुखमा पुगेकाहरुको ज्यान जोगाए। भूकम्प गएको १५ दिनसम्म जिल्लाकै एक्लो डाक्टर थिए उनी। भूकम्पले आफ्नै जिल्ला सिन्धुपाल्चोक तहसनहस पार्दा समेत गएनन्। नि:शुल्क उपचार गरेर धेरै घाइते बचाए।

भूकम्प आइरहदाँ 'सिजेरियन सेक्सन' मा थिएँ। बाहिर अवस्था कोलाहल थियो। त्यत्तिकै छोडेर भाग्दा बच्चा र आमा दुवैको ज्यान जान सक्थ्यो। तर, अपरेसन सफल गरेरै निस्केँ। बच्चा र आमा दुईजनालाई खेतको गह्रामा राखियो। 
+++
२०७२ माघ ५ गते अमेरिकन प्रोजेक्ट पोसिबल हेल्थ दोलखामा आयो। त्यसमै आवद्ध भए। त्यसपछि चरिकोट अस्पतालले उपचार खर्च, बस्न र खान समेत नि:शुल्क दिन थाल्यो उनलाई। सरकारी अस्पताल सुध्रिएपछि त्यहाँका निजी अस्पताल र क्लिनिकको व्यापार चौपट। खुट्टा तान्न सकेको बल लगाए तर सकेनन्। 

उनी चरिकोट अस्पताल पुगेको २ वर्षमात्रै भयो। २ वर्षमै सिन्धुली, रामेछाप, सिन्धुपाल्चोकका बिरामीको 'रिफरल सेन्टर' भएको छ अस्पताल। देशकै पहिलो र एकमात्र नमुना अस्पतालको 'ट्याग' पनि पाएको छ। डिजिटल हेल्थ रेकर्ड सिस्टम सञ्चालन गर्नेमा पनि अगुवा भयो।
+++
गाउँको अस्पतालमा डाक्टर नबस्नुको कारण अस्पताल नै भएको कथन छ उनको। सरकारी अस्पताल स्रोत साधन नहुँदा डाक्टर बेरोजगार भएको सुनाउँछन्। भने, 'विशेषज्ञ डाक्टरले गाउँ गएर सिटामोल बेचेर बस्दैनन्। काम गर्न उपकरण हुन्न, वातावरण हुन्न। सबै व्यवस्था हुने हो भने डाक्टर शहरमा हैन गाउँमा नै बस्छन्।'

चरिकोट अस्पतालमा अहिले ९ जना एमबीबीसएस सकेका डाक्टर छन्। विनोदजस्ता विशेषज्ञ डाक्टर २ जना। शल्यक्रिया गर्ने उपकरण पनि उपलब्ध छ। दैनिक ४ सय मानिसहरु त्यहाँबाट लाभान्वित हुन्छन्। 
+++
काठमाडौँका निजी अस्पतालमा काम गर्ने रुची छैन विनोदलाई। गाउँकै जनताको सेवा गर्नमा मन रमाउने बताउँछन्। डाक्टर गाउँमा नहुँदा मानिसहरु मर्नुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य छ उनको। त्यसैले सरकारसँग सहकार्य गरेको पोसिबल हेल्थमा काम गरेका छन्। 'यस्तै तरिकाले देशको अन्य ठाउँमा अस्पताल सञ्चालन गर्ने उद्देश्य लिएर अघि बढिरहेको छु,' उनले सुनाए।

आफ्नै कामबाट गाँउका जनताहरुले सेवा पाएकोमा खुशी छन्। सरकारी अस्पतालको संरचना परिवर्तन गर्न सफल भएकोमा सन्तोष पनि मिलेको छ। त्यस्तै अस्पताल अन्य ठाउँमा बनाउनको लागि बाटो खोलिदिएका छन् उनले। देशकै नमुना अस्पतालको सफल डाक्टर र डाइरेक्टरको 'ट्याग' उनीसँग जोडिएको छ। भन्छन्, 'यो अस्पताल देखेर अन्य सरकारी अस्पताल पनि चेन्च भयो भने म सफल भएको ठान्छु। नत्र यहाँ जनताले सेवा पाउँदा अन्य ठाउँको मरिरहेका छन् भने यो अस्पताल सफल हुनुको ठूलो अर्थ हुन्न।'

डाक्टर बनेर व्याक्तिगत जीवनमा जति पाएका छन् गुमाएका पनि उत्तिकै लाग्छ उनलाई। पारिवारिक र सामाजिक जीवन सधै 'मिस' गरिरहन्छन्। त्यसैले समाजसँग जोडिइराख्न हेल्थ क्याम्प सञ्चालन गर्छन्। आफू पढेको स्कुलमा छात्रवृत्तिहरु दिएर सहयोग गरेका छन्। सिन्धुपाल्चोकमै वृद्धाश्रमका लागि सहयोग गरेका छन्। भन्छन्, 'म अरुको सहयोगकै कारणले यस ठाउँसम्म आएको हुँ। त्यसैले दुर्गमका मानिसहरुको लागि काम गर्न पाउँदा खुशी मिल्छ।' गर्नुपर्ने कामहरुको लामो सूची छ उनीसँग।

आठ वर्षे उमेरमा पाएको सहयोगले अहिलेको स्थानमा आएको बिर्सेका छैनन् उनले। त्यसैले फेलोसिपको लागि लण्डन पुग्दा १९ वर्षपछि भेटे तेरेजा निकोलीलाई। अत्यन्तै खुशी भइन उनी। भन्छन्, 'अझै उनी नेपालको लागि केही गर्न चाहन्छिन्। त्यसको लागि म आफै पहल गर्दैछु।'

+++
योजना बनाएर काम नगरे अबको कयौ वर्षसम्म स्वास्थ्य स्थिति नसुध्रने बुझाइ छ उनको। टिचिङ, ट्रेनिङ र प्राक्टिस तिनै पक्षमा नेपाल कमजोर रहेको उनको ठम्याइ छ। 'इगो" भएको डाक्टर धेरै रहेको बताउँछन्। ‘सबैले मान्नुपर्ने’ सोचले थिचिएका डाक्टरहरु नै विरामी झै लाग्छ उनलाई। अनुभवको कमीले डाक्टरहरु ट्रिटमेन्टमा चुकेको पनि स्वीकार्छन्। महत्वकांक्षी धेरै भएकाले सेवा गर्ने भाव डाक्टरहरुमा हराउँदै गएको पनि अनुभूति छ उनमा। दुर्गममा काम गर्न 'रिस्क' मोल्ने डाक्टरहरु भेटाउन झन् मुस्किल। 

तर, सँगै लगनशील डाक्टरको पनि कमी नभएको बताउँछन। 'हेल्थ केयर सिस्टम' नै चेन्ज गर्ने क्षमता भएका डाक्टरहरुको क्षमताको मूल्यांकन नभएकोमा चिन्ता पनि गर्छन्। सरकारलाई नै 'फिडब्याक' दिने क्षमता भएका डाक्टहरु बेरोजगार देखेका छन्।

+++
दोलखाका आसपासका चर्चित छन् विनोद। धेरै बिरामीको ज्यान बचाएकाले 'गाउँका सुपरस्टार'को उपमा दिने धेरै भेटेका छन्। उनको जिन्दगीका कथा थाहा पाउनेहरु 'सेक्रेट सुपरस्टार' भनेर प्रसंसा गर्छन्। अनेकौँ फिल्मी प्लटको उदारण दिँदै नायकसँग तुलना गर्छन्। संघर्ष र सफलताको पाठ सिकेको सुनाउँछन। तर, उनी आफैलाई कुनै सुपरस्टार मान्दैनन्। 'हरेक मान्छेले संघर्ष गरेको छ। हरेक मान्छे आफ्नो जिन्दगीको नायक हो,' गम्भीर मुद्रामा बोले, 'मलाई कसैले भर्याङ लाइदियो, त्यसमा चढेको मात्रै हो। ७५ जिल्लामा नमुना अस्पताल बनाउन सफल  भए भने मात्रै  'नायक' हुन्छु। त्यसको लागि असली संघर्ष त बाँकी नै छ।'



दोलखाको अस्पतालका गेम चेन्जर डाक्टर विनोद, अर्थात् गाउँका सेक्रेट सुपरस्टार को लागी १ प्रतिक्रिया(हरु)

सुदर्शन बस्न्यात [ 2018-10-03 09:56:45 ]
सेवा नै परमो धर्म भन्ने पवित्र भवनालाइ चरितार्थ गर्दै आफ्नो कर्तब्यपथमा तल्लिन चिकित्सकलाई नमन । राज्य र जनस्तरबात पूरा सहयोग निजलाइ गर्नु राज्य र सचेत जनताको कर्तब्य हो । जय होस । जय देश जय जनता । अनि हुन्छ जय नेपाल ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट