PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

ह्विलचेयरबाटै राजुको डाक्टरी दौड : बने नेपालकै पहिलो र एकमात्र फिजियाट्री विशेषज्ञ

ह्विलचेयरबाटै राजुको डाक्टरी दौड : बने नेपालकै पहिलो र एकमात्र फिजियाट्री विशेषज्ञ

सागर बुढाथोकी/पहिलोपोस्ट


जोरपाटीको धुलाम्मे सडक पार गर्दै 'थ्री ह्विलर' स्कुटरमा आउँछन् एक व्यक्ति। अभिवादन गर्दै  भन्छन् - 'फलो मी'। 

कालोपत्रेको अवशेषसमेत नभेटिने बाटो हुँदै नारायणटारतिर लाग्छन् उनी। धुले सडकमा हामी उनको पछिपछि छौं।  पुलपारि पुगेर दायाँतिर मोडिँदै वाग्मती करिडरमा केही समय गुडेपछि थ्री ह्विलर रोकिन्छ। शिवचोकमा रहेको मिठाई पसलको टेबलमा बसेपछि हाँस्दै भन्छन्, 'खै के पो छ र मेरो बारेमा लेख्न?'

यिनी हुन् डाक्टर राजु ढकाल। नेपालका एक मात्र फिजिकल मेडिसिन एन्ड रिह्याबिटेसन (फिजियाट्री) विशेषज्ञ। स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र साँगा (काभ्रे)का मेडिकल डाइरेक्टर। शारीरिक रुपमा अशक्त- सानैदेखि ह्विलचियर प्रयोगकर्ता।

उनै ढकाल गफिँदै छन् यतिखेर। डक्टरी यात्राको आरोह अवरोह सुनाउँदै। ‘अशक्त शरीर’ लिएर भाग लिएको डाक्टरी दौडको स्मरण पनि गरिरहेका छन्। अतित सम्झँदा घरि भावुक हुन्छन त घरि मज्जाले हाँस्छन्। भोगिरहेको वर्तमानको तीतामीठा किस्सा सुनाउँदै भन्छन्, 'जे जस्तो भोगे पनि रमाइरहेको छु।'

उनी बाल्यकालको समयतिर फर्कन्छन्।

२ वर्षका थिए। पोलियो लाग्यो, खुट्टा चलेन। गोरखाबाट काठमाडौं ल्याइयो। उपचार भयो तर खुट्टा सामान्य स्थितिमा फर्केन। निराश भएर गोर्खा फर्किए। ७ वर्ष भएपछि पढ्नका लागि काठमाडौँ आए। खगेन्द्र नवजीवन केन्द्रले आश्रय दियो। त्यसकै सामुन्नेमा रहेको चामुण्डा माध्यमिक विद्यालयमा भर्ना भए। एसएलसी त्यहीँबाट पास गरे।

ढकाल शारीरिक रुपमा अशक्त भए पनि मानसिक रुपमा सशक्त थिए। ह्विलचियर प्रयोगकर्ता भए पनि दिमागी दौडमा भेट्न अन्य साथीहरु मुस्किल मान्थे। कक्षा १ नपढिकन ३ मा भर्ना भए। कक्षा ४ देखि सधैं पहिलो। क्लासको ग्रुप लिडर। संगीतमा अत्यन्तै रुचि। गितार बजाउँदै गुन्गुनाउने सौख। अन्तरस्कुल अतिरिक्त प्रतियोगितामा पनि 'विनर'। जताततै उनकै चर्चा। 'राजुले यस्तो गर्‍यो। त्यस्तो गर्‍यो,' शिक्षकहरुबाट यस्तो सुन्दा प्रफुल्ल हुन्थे।

साथीभाइ पनि मिल्ने भेटेका। कहिल्यै अशक्त महसुस गरेनन्। स्कूल, साथीभाइ सबैबाट राम्रो आशा थियो। त्यसमा खरो उत्रिए। राम्रो अंकका साथ एसएलसी पास भए।

एसएलसी पास भएपछि के पढ्ने? चिन्ता थियो। एसओएस बालग्राममा बसेका उनलाई परिवारले खर्च गर्ने अवस्था थिएन। हिम्मत गरेर साइन्स रोजे। एसओएस हर्मन जेम्नर स्कुलबाट प्लस टु सकाए।

साइन्स रोज्नुको एकमात्र कारण डाक्टर बन्नु थियो। मन गरेर मात्र डाक्टर बनिन्नथ्यो। पढ्ने खर्च जुटाउन मुस्किल। न खर्च गरिदिने कोही थिए न प्रोत्साहन दिने नै। शारीरिक अवस्थाले पनि साथ दिएको थिएन। डाक्टर बन्ने बाटो सबैतिरबाट बन्द भए जत्तिकै थियो। साथीभाइले नै भन्थे, 'ल्याबको काम, अपरेसन , धपेडी हुन्छ। पागल नबन्, डाक्टर बन्न सक्दैनस्।'  

उनले अशक्त पनि डाक्टर भएको सुनेका थिए। विदेशमा अशक्त डाक्टर बन्न सक्दा नेपालमा किन सक्दैनन्? त्यसैले हार मानेनन्। पागल भन्नेहरुलाई जवाफ हुन्थ्यो, 'नबौलाइकन सफल भइँदैन।' उनलाई यो पनि थाहा थियो — 'सबै बौलाहा सफल हुँदैनन्।'

उनीसामु अवरोध भनेको एकमात्र थियो -  खर्च। विरक्तिएर बसिरहेका थिए। एसओएसका डाइरेक्टर रमेश पौडैलले  बोलाए। अफिसमा छिर्नासाथ कानमा आवाज गुन्जियो, 'छोरा तिमीलाई डाक्टर बनाउँछु।' 

गला अवरुद्ध भयो। आखाँबाट आँसु झरे। बोल्न नसकेर त्यहाँबाट बाहिरिए। 

'द्याट डे वाज मोस्ट मेमोरेवल डे इन माइ लाइफ,' उत्साहित हुँदै थपे, ' त्यस दिनबाट मेरो सपनाले आकार लियो।'

खर्चको व्यवस्था त मिल्यो। तर, कलेजले फेरि निरुत्साहित पार्दै भन्यो,  'बिरामीको उपचार गर्ने, राउन्ड लिने काम कसरी गर्छौ?  बुद्धि नबिगार पछि गएर बीचमै छोड्नुपर्ला। एजुकेसन पढ, टिचर बन।' 

उनको चाहनाको अगाडि कसैको केही लागेन। हिम्मत बच्चैदेखि थियो। खर्च जुटिहाल्यो। डाक्टरी पास गरे। बिरामीको उपचार पनि थाले। अहिले त उनी एक्ला 'ब्राण्ड' भइसकेका छन्।

डाक्टर बन्न गरेको संघर्ष बताउन चाहँदैनन् उनी। अभाव, दवाव र बाध्यताको कथा सुनाउने पक्षमा छैनन्। दिनहुँ आइलाग्ने झन्झटहरुलाई समस्या मान्दैनन्। हरेक कुरामा प्रतिक्रिया दिन आदतले नै मान्दैन। उनी पहिला पनि खुशी थिए, अहिले पनि खुशी नै छन्। उनकै शब्दमा भन्नुपर्दा, 'आदत से मजबुर। बिन्दास र नकरात्मक वस्तुहरुदेखि दुर।' 

भन्छन्, 'आफ्नै रहर हो। यस्तो संघर्ष गरेँ, उस्तो गरेँ भनेर हिरो बन्नु छैन मलाई। हरेक मान्छेको आफ्नै संघर्षको कथा हुन्छ।'

+++

अशक्त शरीरकै कारण पढ्दा र अभ्यास गर्दा धेरै किसिमको अनुभूति भोगे। कसैले शंकालु नजरले हेर्थे। कोही सेतो कोट नलगाइकन राउण्डमा जाँदा विश्वास गर्दैनथे।

अहिले पनि बिचरा यति राम्रो मान्छे उपचार किन नगरेको भन्छन्। कोही रामदेवकोमा जानु भनेर सल्लाह दिन पनि भ्याइहाल्छन्। कोही तन्त्र मन्त्रकोमा जान सल्लाह दिन्छन्। कोही खुट्टादेखि टाउकोसम्म ठीक गर्ने उपचार पद्धति आएको छ भनेर सुनाउँछन्। आफै डाक्टर हूँ भन्दा, 'डाक्टरलाई चाहिँ जचाउनु हुन्न' भनेर सल्लाह दिनेहरु पनि छन्। यस्ता तथानाम प्रतिक्रियाको वास्ता लाग्दैन उनलाई।

एमबीबीएस सक्नासाथ काठमाडौँ मेडिकल कलेज सिनामंगलमा काम गरे। त्यहाँ काम गर्दा स्पाइनल इन्जुरीका बिरामीहरु धेरै भेट्थे। सबै किसिमका बिरामीहरु एउटै ओपीडीमा। त्यस्ता बिरामी नबोलिकन भित्ता कोट्याएर बस्थे। मानसिक रुपमा पनि विक्षिप्त। सही उपचार पाएका नहुने। उनीहरुलाई काउन्सिलिङ जरुरी हुन्थ्यो। ढकाललाई उपचार पद्धति चित्त बुझेको थिएन। त्यही देखेर उनले 'फिजियाट्री विशेषज्ञ' बन्ने निधो गरे। 

सन् २०१० उनको जीवनले टर्निङ पोइन्ट लिएको वर्ष। दिल्लीमा स्पाइनल इन्जुरीका डाक्टरहरु सम्मेलन थियो। उनी स्पाइनल इन्जुरी सेन्टरको प्रतिनिधित्व गर्दै त्यहाँ पुगे। दिल्लीको कार्यक्रममा आफ्नो पेपर प्रस्तुत गरे। ६० भन्दा बढी देशका २ हजार भन्दा बढी डाक्टर सहभागी थिए त्यहाँ। उनको पेपरले अवार्ड जित्यो। त्यहीबाट नेसनल रिह्याबिलिटेसन हस्पिटल  आयरल्याण्डमा ट्रेनिङको अफर पाए। त्यही ट्रेनिङबाट उपचार पद्धति,प्यासेन्ट केयर लगायतका कुराहरु सिके। नयाँ नयाँ प्रविधिमा पनि अपडेट भए।

त्यतिबेला उनी 'फिजियाट्री विशेषज्ञ' भइसकेका थिएनन्।

आयरल्याण्डबाट फर्के। साथमा थियो साथी सुमन विक्रम अधिकारीलाई ल्याइदिएको गिफ्ट —ह्विस्की। सुमन पढ्न बंगलादेश पुगिसकेको थियो। अधिकारीसँग सम्पर्क गरे। उसले फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (फिजियाट्री) पढ्न बोलायो। अमेरिका अष्ट्रेलियाको कलेजमा एप्लाई गरिरहेका उनी एकपटक सोच्न बाध्य भए। बंगलादेशको कलेज उनको लिस्टमै थिएन। त्यसपछि रिसर्च गर्न थाले। स्पाइनल इन्जुरीको उत्कृष्ट कलेज बंगलादेशमा रहेको थाहा भयो। ढाकामा रहेको बंगबन्धु सेख मुजिव मेडिकल युनिभर्सिटी रोजाइमा पर्‍यो। उनी त्यतै पढ्ने भए।

बंगलादेशमा ५ जना प्रोफेसरले अन्तर्वार्ता लिए। सबैको एउटै आशय थियो, 'तँ ५ वर्ष बंगलादेशमा बस्न सक्छस्? गाह्रो छ लाइफ। बीचमै फर्कन्छस्।' उनको जवाफ थियो, 'मैले यो विषयको लागि ३ वर्ष 'स्याक्रिफाइस' गरेको छु। यो बाहेक मेरो अर्को 'ड्रिम' छैन।'

उनी सेलेक्ट भए।

यो विषय पढ्न क्यानाडाको एक डाक्टर दम्पतीले खर्च जोहो गरिदिए। बंगलादेशको ५ वर्ष पनि अद्भभूत रुपमा बित्यो। त्यहाँ उनको मेहनत र लगनशीलता देखेर सबै छक्क पर्थे। रातभर अस्पतालमा खटिन्थे। कोही सबलाङ्ग भन्दा कम थिएनन्। अरु भन्दा 'एक्स्ट्रा' थिए उनी। 

बंगलादेशमा पढ्दै गर्दा क्यानडा, अस्ट्रेलिया, आयरल्यानड र स्विट्जरल्यान्ड जस्ता देशहरुले बोलायो। त्यहाँ उपचार पद्धतिमात्र हैन फिजियाट्री विशेषज्ञ कस्तो हुनुपर्छ भन्ने थाहा पाए। बिरामीलाई काउन्सिलिङको महत्त्व बुझे। त्यही सीप र ज्ञान अहिले प्रयोग गरिरहेका छन्। 

उनको उपचार पद्धति अन्य डाक्टरको भन्दा फरक छ। बिरामीको 'केस हिस्ट्री' बुझ्छन्। परीक्षणमा लामो समय लिन्छन्। परिवारको सदस्यजस्तै व्यवहार गर्छन्। काउन्सिलिङ दिन्छन्। अनिमात्रै डाक्टरको रुपमा प्रस्तुत हुन्छन्। त्यसैले त निराश बनेर उपचार गर्न आएका खुशी हुँदै फर्किन्छन्। धेरैले त उनकै जीवनबाट प्रेरणा लिन्छन्।

फिजियाट्री विषयको उद्देश्य विरामीको शारीरिक अवस्थामा गतिशीलता ल्याउनु हो। यसमा चिकित्सक, नर्स, फिजियोथेरापिस्ट, अक्युपेसनल थेरापिस्ट र फिजिसियनहरु सबै पर्छन्। विरामी काउन्सिलिङका लागि साइकोलोजिस्टको पनि जरुरत पर्छ। त्यसैले यसको उपचारका लागि छुट्टै अस्पताल हुन जरुरी हुन्छ।

ढकाल हामीसँग गफिँदै थिए। घडीले रातको ८ बजाइसकेको संकेत दिइसकेको थियो। अनि धुम्मिएको आकाशले पानीको संकेत। दुई घण्टा भलाकुसारीपछि उनी छुट्टिए। भोलिपल्ट फेरि भेट्ने तय भयो।

भोलिपल्ट,

उनलाई पछ्याउँदै हामी काठमाडौं उपत्यका छिर्ने र बाहिरिने एउटा भञ्ज्याङ साँगा पुग्यौं। साँगामै रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रको ग्राउण्ड फ्लोरमा देखिए डाक्टर राजु। हिजो थ्री ह्विलरमा भेटिएका उनी अस्पताल भित्रै फोर ह्विलर इलेक्ट्रिक ह्विल चेयरमा थिए। हाँस्दै अभिवादन गरे र भने, 'फलो मी।'

कार्यकक्षमा उनलाई तीन जना वृद्धा कुरिरहेका थिए। उनीहरुले चिन्तित हुँदै समस्या सुनाए - 'सबैतिरबाट आशा मर्‍यो डाक्टर बाबु। अब तपाईँकै भरोसा।' 

राजुले जवाफ दिए,  'तपाईँहरुको छोरा जस्तै धेरै बिरामी निको भएर गएका छन्। मेरो विश्वास गर्नुस्, तपाईँको छोरा चाँडै फुटबल खेल्न सक्ने हुन्छ।'

त्यसपछि राजु निस्किए ओपीडीतिर।

ओपीडीको बेड सबै भरिभरिराउ। त्यहाँ गएर बिरामीसँग गफिए एकछिन। उनीहरुले समस्या सुनाउँदै गए। उनी सुनिरहे। र, समाधानको उपाय पनि दिए। त्यसैगरी २ घण्टाभित्रमा सबै बेड चहारे। सबैको कुरा सुने। कसैलाई हसाउँथे त कसैलाई 'डन्ट वरी सब ठीक' हुन्छ भन्थे।
 
अस्पतालको प्यासेजमा ह्विल चियर गुडाँउदै एक युवाले उनलाई 'नमस्कार' गरे।

'के छ कान्छा सन्चै?' युवाले लजाउँदै भने,  'सबै ठीक छ पढिरहेको छु। दुखाइ कम भएको छ।'

'ल गुड, सबै ठीक हुन्छ। परीक्षा आउदाँसम्म ठीक हुन्छौं। राम्रो गर्नुपर्छ।'

ती युवा हाँसेमात्र। ढकालले भने, 'अरु केही समस्या छ। टेल मी।'

अंग्रेजीमा जवाफ आयो, 'नो सर इभ्रिथिंग इज फाइन।'

ढकाल ती युवाको परिवारसँग गफिन थाले। पारिवारिक कुरा गरे। स्वास्थ्य अवस्थाको जानकारी लिए। हिँड्दै गर्दा भने, 'त्यो हिजो लेखिदिएको औषधि खुवाउनु। अनि थाहा छ नि, के खानु हुन्छ के हुन्न?'

'थाहा छ डाक्टर साप। हजुरले भने अनुसार नै गरिरहेका छौँ,' उताबाट जवाफ आयो।
 
धेरैलाई बेडमै पुगेर हौसला दिए उनले। बिरामीहरु नडराइकन जिज्ञासा राख्थे। उनी हाँसीहाँसी जवाफ दिन्थे। त्यसरी नै अस्पतालको ओपीडी हुँदै एक्सरसाइज कक्ष, हाइड्रोथेरपी कक्ष, अक्युपंचर कक्ष र फिजियोथेरापी कक्ष चहारे। हिँड्दै, बोल्दै काउन्सिलिङ गर्दै औषधि बताए उनले। बिरामीसँग गफिँदै चार बज्यो। अस्पताल प्राङ्गणमा गाडी आयो। र, उनी फेरि भेट्ने भन्दै बिदा भए। 

साँगादेखि घरसम्म अस्पतालको गाडीले छोडिदिन्छ उनलाई। अन्दाजी डेढ घण्टामा घर आइपुग्छन् उनी। बीचको समय अन्त क्लिनिकमा काम गर्दैनन्। बचेको समय परिवारलाई दिन्छन्। विभिन्न अध्ययन अनुसन्धानमा व्यस्त हुन्छन्। नयाँ उपचार पद्धतिमा दिनहुँ अपडेट हुन्छन्। फुर्सदको समय यसरी नै बित्छ उनको।


+++

फोन डायल गरेँ।

उताबाट आवाज आयो, 'हेल्लो सागर भाइ नमस्ते।'

'नमस्ते।'

'भेट्न सकिन्छ आज?'

'आज हैन भोलि,' फेरि केही क्षण सोच्दै भने, 'ओहो सागर भाइ भोलि पनि धेरै ठाउँ जानु छ। अलि व्यस्त हुने भएँ। पर्सि भेटुम् हुन्न?'

दुई पटक भेट्दा धेरै कुरा भइसकेको थियो। अब केही कुरा आउन मात्र बाँकी थियो। मैले भने, 'अँ यसो गरुम्, धेरै कुरा आइसकेको छ। बाँकी फोनमै भन्नुस्।'

उताबाट आवाज आयो, 'हुन्छ।'

डक्टर ढकाल केही दिन यता अत्यन्तै व्यस्त रहेछन्। बिरामीको चाप बढेकाले धेरै समय अस्पतालमै बिताउँछन्। विभिन्न कार्यक्रममा अतिथि बनेर पुग्छन्। धेरै मानिसको प्रेरणाको स्रोत बनेका उनलाई अनुभव सुनाउनको लागि समेत निम्तो आउने गर्छ।

स्पाइनल इन्जुरी केन्द्र सस्तो अस्पताल रहेको ढकाल बताउँछन्। अपांगमैत्री अस्पतालमा शारीरिक, मानसिक र आर्थिक सबै पक्ष हेर्ने उनको तर्क छ। एउटा रिहावमा हुने सबै कम्पोनेन्ट उक्त अस्पतालमा उपलब्ध रहेको बताउँछन्। भन्छन्, 'दैनिक ८५० मा बाथ, नशा र ब्रेन इन्जुरी लगायतको उपचार हुन्छ।'

गरिव तथा विपन्न परिवारहरुलाई छुट दिने गरेको बताउँछन् ढकाल। समाजसेवामा पनि उनको चासो छ। ह्विल चियर किन्न नसक्ने बिरामीलाई सहयोग जुटाएर ह्विल चियर किनिदिएका छन्। कतिपय विपन्न परिवारलाई आफ्नै खर्चले समेत उपचार गराएका छन्। भन्छन्, 'केही कुराले मन  छोयो भने सहयोग नगरी बस्न सक्दिन। उनीहरुलाई सहयोग गर्न पाउदा आत्मसन्तुष्टि मिल्छ। सकेअनुसार गर्छु।'
उनले फोनमा ती कुरा बताइरहेका थिए- जुन हामीले अस्पताल परिसरभित्रै देखिएरहेका थियौं। ती दृश्य जसलाई हामीले क्यामराबाट कैद गरिरहेका थियौं।

राष्ट्रिय स्तरको रिहाविटेसन अस्पताल खोल्ने 'ड्रिम प्रोजेक्ट' हो ढकालको। फिजियाट्री मेडिसिनमा एमडी तहको नेपालमै पढाइ गर्ने लक्ष्य छ। त्यसको प्रकिया थालिसकेका छन् उनले। त्यो सपना पूरा भएमा फिजियाट्री विशेषज्ञ नेपालमै उत्पादन हुन्छन्। जनशक्ति बढेपछि छुट्टै अस्पताल खोल्न बाटो खुल्ने उनको तर्क छ।

प्यारालाइसिस,  मष्तिक पक्षघात, स्पाइनल इन्जुरी र बाथ लगायतका उपचार एउटै ठाउँमा सम्भव तुल्याउन लागि परेका छन उनी। त्यसको लागि सरकारसँग पहल गरिरहेका छन्। 'अपांग पुनर्स्थापना तथा रोकथामको १० वर्षे योजना तयार गरेका छौँ,' भने, 'अबको एकमात्र ड्रिम एण्ड डेस्टिनेसन भनेको रिहाविटेसन मेडिसिनको स्तर उकास्ने हो। देशकै नमुना सेन्टर बनाउने हो।' 

अपाङ्ग मैत्री शब्दलाई शब्दकोषबाट व्यवहारमा उतार्न मुलत: असफल छ देश। उनको दैनिकी जोडिएको जोरपाटीदेखि नारायणटारबीचको सडकलाई अपाङ्ग मैत्री भनेर घोषणा नगरिएको होइन। तर, अपाङ्ग त के यो सडक कसैको पनि मैत्री बन्न सकेको छैन। छ भने धुलो र प्रदुषणका लागि मात्र। यही प्रदुषित वातावरणभित्रैबाट केही परिवर्तनको संकेत गरिरहेका छन् राजुले। डाक्टर राजुलाई हाम्रो शुभकामना।

यो पनि पढ्नुहोस्:

सपना पछ्याएर हैन, संयोगले बनेका डाक्टर आशिष, नेपालका एकमात्र 'एमसीएच पेडियाट्रिक सर्जन'

प्रम ओलीकी निजी चिकित्सक भन्छिन्, 'डाक्टरलाई थाक्ने अधिकार हुँदैन'

नेपालका एकमात्र 'जेरियाट्रिक मेडिसिन' स्पेसलिस्ट : ३२ वर्षीय डाक्टरको यस्तो छ 'ड्रिम प्रोजेक्ट'

एसएलसी बोर्ड टपर विशाल: 'जो कलिलै उमेरमा बने क्यान्सर विशेषज्ञ'

‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने एक्ला डाक्टर, जसले उपचारकै लागि विदेश जानु पर्ने बाध्यता अन्त्य गर

इबोलाको औषधि पत्ता लगाउने टिमका सुदीप खड्काको जीवनका टर्निङ र ट्विस्टहरु, भन्छन् : नेपालमै केही गर्छु

पोस्टमार्टमका 'ब्रान्ड' वस्तीको कसैले सुन्न नचाहेको कथा



ट्रेन्डिङ पोस्ट