PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आजका मुख्य १० हेडलाइन, के हुँदैछ नेपालमा?



आजका मुख्य १० हेडलाइन, के हुँदैछ नेपालमा?

काठमाडौं : आज २०७२ असोज १९ गते मंगलबार। आजका मुख्य मुख्य खबर पढ्नुहोस्। 

१. सीमांकनको ठोस प्रस्ताव ल्याउन मधेसी मोर्चाको माग



तराईमा दुई प्रदेशको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारी पक्षको स्पष्ट प्रस्ताव माग गरेको छ। मंगलबार दिउँसो सिंहदरबारमा भएको डेढ घण्टा लामो छलफलमा आफूहरुको  माग तराईमा दुई प्रदेश हुनुपर्ने रहेकोले सीमांकनको ठोस प्रस्ताव ल्याउन मधेसी मोर्चाले सरकारी वार्ता टोलीलाई आग्रह गरेको छ। वार्ता भोलि फेरि बस्नेछ।

२. नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदुको राजीनामा



कप्तान पारस खड्कालाई हटाइएको समाचारले 'सक' भएका क्रिकेट फ्यानहरुलाई आज अर्को झट्का त्यतिबेला लाग्यो जब उनीहरुले सुने नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन्। तर पारसलाई हटाइएको जस्तो यो खबर गलत भने भएन।किन दिए पुबुदुले राजीनामा? 

३. कस्तो बन्ला नयाँ सरकार? सत्ताको खेलमा यस्तो हुनसक्छ समीकरण



सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आउँदो २२ गते सकिदैँछ। तर सहमतीय सरकार गठनको सम्भावना लगभग अन्त्य भइसकेको छ। संसदको निर्वाचन मार्फत् बहुमतीय प्रधानमन्त्री चयनका लागि २९९ सांसद आवश्यक पर्छ। ६०१ सदस्यीय रुपान्तरित संसद भएपनि अहिले ५९८ सांसद छन्। संसदमा पहिलो र दोश्रो हैसियतमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले आ-आफ्नो नेतृत्वमा सरकार गठनको तीव्र तयारी थालेका छन्। बहुमतीय सरकार गठनको रस्साकस्सीमा कस्तो बन्ला समीकरण?

४. गगन थापा भन्छन्- नाकाबन्दी गरेर भारतले नेपालीमाथि अपराध गरेको छ



नेपाली कांग्रेसका युवा नेता गगन थापाले भारतले घोषित वा अघोषित जुनरुपमा नाकाबन्दी गरे पनि नेपाली नागरिकमाथि अपराध गरेको आरोप लगाएका छन्। भारतले नाकाबन्दी गरेर कुटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय कानुन दुवैको उल्लङ्घन गरेको उनले बताए।

५. कांग्रेसलाई महाधिवेशनको टन्टोः फागुन पहिलो साता गर्ने प्रस्ताव


नेपाली कांग्रेसले पार्टीको १३ औं महाधिवेशन आगामी फागुनको पहिलो सातामा गर्न प्रस्ताव गरेको छ। यो प्रस्ताव बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय पदाधिकारी बैठकले गरेको हो।  बैठकले माघ महिनाभित्र पार्टीको क्षेत्र, जिल्ला र गाउँ अधिवेशन सम्पन्न गर्ने र फागुनमा महाधिवेशन गर्न प्रस्ताव गरेको छ। 

६. नेपालमा गुड्ला त इथियोपियन मोडलको चिनियाँ रेल?



असोज ३ गते नेपालमा संविधान घोषणा हुँदै गर्दा अफ्रिकन मुलुक इथियोपियाले समृद्धिको खुड्किलो तय गर्‍यो। हामीजस्तै भूपरिवेष्ठित देश इथियोपियाले आफूलाई समृद्धिको बाटोमा डोर्‍याउन विद्युतीय रेल सञ्चालन गर्‍यो, चीनको सहयोगमा। संविधान जारी भए लगत्तै  भारतले लगाएको नाकाबन्दीले नेपालीहरु सार्वजनिक सवारी साधनमा असहजता भोग्दैछन्। इथियोपिया भने चीनको सहयोगमा सार्वजनिक सवारी साधनमा क्रान्ति गर्दैछ। के नेपालमा पनि सम्भव छ?

७. नेपाल चीनसित नजिकिने दक्षिणको चिन्ता



भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले नेपालसँगको ऐतिहासिक सम्बन्ध बिग्रिएर छिमेकी देश चीनतिर ढल्कन लागेकोमा गम्भीर चासो र चिन्ता जनाएको छ। कांग्रेस नेता प्रमोद तिवारीलाई उद्धृत गर्दै पिटिआईले लेखेको छ, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले तत्काल कदम चाली यो ऐतिहासिक सम्बन्धलाई पुनर्स्थापना गर्दै भारतको हितको रक्षा गर्न जरुरी छ।‘

८. दसैँमा घर जानुछ? कार र मोटरसाइकलले पाउँछन् पेट्रोल



सरकारले दसैँको लागि घर जान आवश्यक सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। दसैँको समयमा घर जानबाट वञ्चित नहुन भनेर निजी सवारी साधनलाई समेत पेट्रोलियम पदार्थ दिन लागेको हो।

९. बन्दले तराईका बैंकमा रकम अभाव



झन्डै दुई महिनादेखिको बन्दले तराईका बैंक तथा वित्तीय संस्थाहरुमा रकम अभाव भएको छ। विभिन्न बैंकका त्यहाँका शाखा कार्यालयहरुले आफ्नो केन्द्रीय कार्यालयमा रकम अभाव सुरु भएको पत्र पठाउन थालेका छन्। दुई महिनादेखिको यातायात बन्दले नोट कोष वा राष्ट्र बैंक कार्यालयहरुबाट पैसा ल्याउन नसकिएकाले बैंक शाखाहरुमा रकम अभाव हुन थालेको हो।

१०. फेसबुकले उठायो नेपालका लागि डेढ अर्ब चन्दा, हेर्नुस् जुकरबर्गको भिडियो



फेसबुकका संस्थापक मार्क जुकरबर्गले मंगलबार एउटा भिडियो सार्वजनिक गर्दै नेपालको भूकम्पपछि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले १५ मिलियन अमेरिकी डलर सहयोग भएको जानकारी पनि दिए। सहयोग रकम कसरी खर्च भयो भन्ने बारे उनले भिडियो सार्वजनिक गरेका हुन्। भिडियोमा उनले भूकम्प आएपछिका अनुभवहरु समेटेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell