PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​मोर्चाले सरकारलाई भन्यो 'सीमांकनको स्पष्ट प्रस्ताव लेउ'



​मोर्चाले सरकारलाई भन्यो 'सीमांकनको स्पष्ट प्रस्ताव लेउ'

  • रमेश वाग्ले/पहिलोपोस्ट-
काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफुहरुको मुख्य माग तराईमा २ प्रदेश हुनुपर्ने रहेकाले यसमा सरकारी पक्षको स्पष्ट प्रस्ताव माग गरेको छ। आज दिउँसो सिंहदरबारमा डेढ घण्टा लामो छलफल भएपनि मधेशी मोर्चाले प्रस्ताव माग गरेपछि वार्ता भोलि फेरि बस्ने गरी टुंगिएको छ।

मधेशी मोर्चाले आफुहरुको माग तराईमा दुई प्रदेश हुनुपर्ने रहेको भन्दै सीमांकनको स्पष्ट प्रस्ताव लिएर आउन सरकारी वार्ता टोलीलाई आग्रह गरेको छ। 'हाम्रो मुख्य माग सीमांकनकै विषय हो, तराईमा २ प्रदेश हुन्छ कि हुन्न भोलि स्पष्ट खाका लिएर आउनुस् भनेका छौं' मोर्चाका वार्ता टोली सदस्य तथा तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव सर्वेन्द्रनाथ शुक्लले भने 'त्यसपछि फेरि छलफल गरौं भनेका छौं।'

सरकारी वार्ता टोलीका सदस्य तथा वनमन्त्री महेश आचार्यले वार्ता सकारात्मक भएको र मोर्चाले सीमांकनमा सरकारको प्रस्ताव लिएर आउन आग्रह गरेको बताए। 'वार्ता सकारात्मक ढंगले अघि बढेको छ' उनले भने ' उहाँहरुले सीमांकनमा भोलि प्रस्ट खाका लिएर आइदिनुस् भन्नुभएको छ।' मन्त्री आचार्यले एउटा पक्षले मात्र प्रस्ताव ल्याएर समस्या समाधान नहुने भएकाले मोर्चालाई पनि आप्नो प्रस्ताव लिएर आउन आग्रह गरेको बताए।

छलफलमा मोर्चाले आफुहरुको मुख्य माग सीमांकन नै रहेको भन्दै त्यसमा संबोधन भएमा समस्या समाधान हुने बताएको थियो। मोर्चाले सरकारले आन्दोलनमा घाइते भएकाको उपचार गर्ने प्रतिवद्धता पूरा नगरेको, सबै मृतकका परिवारले राहत नपाएको, निषेधाज्ञा फिर्ता नभएकाले वार्ताका ती पूर्वशर्तहरु पनि पूरा गरेमा वार्ताको वातावरण बन्ने बताएको थियो।

मधेशमा ५० दिनभन्दा लामो समय आन्दोलन चलेपछि दुई पक्षबीच पहिलोपटक औपचारिक वार्ता भएको हो। वार्तामा प्रमुख तीन दलका तर्फबाट वनमन्त्री तथा कांग्रेस नेता महेश आचार्य, एमाले प्रमुख सचेतक अग्नि खरेल र एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए।

त्यस्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणकाल कर्ण, संघीय समाजवादी फोरमका लालबाबु राउत, तराई मधेश लोकतान्त्रिक वार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल र तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय थिए।

सीमांकन,समानुपातिक समावेशीको व्यवस्था, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र लगायतको माग राख्दै आन्दोलनरत मधेसी मोर्चाले दुई हप्तायता भन्सार र राजमार्ग केन्द्रित आन्दोलन गरिरहेका छन्। मधेसी मोर्चाका कार्यकर्ताले भन्सार नाकामा प्रदर्शन गरेको कारणले भारतले पेट्रोलियम पदार्थ लगायतका सामानहरु पठाउन छाडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell