PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​भारतले नाकाबन्दी गरेर नेपालीमाथि अपराध गरेको छ : गगन थापा



​भारतले नाकाबन्दी गरेर नेपालीमाथि अपराध गरेको छ : गगन थापा
फाइल फोटो : पहिलोपोस्ट

  • रमेश वाग्ले -
काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले भारतले घोषित वा अघोषित जुनरुपमा नाकाबन्दी गरे पनि नेपाली नागरिकमाथि अपराध गरेको बताएका छन्। पहिलोपोस्टसँगको कुराकानीमा नेता थापाले भारतले नाकाबन्दी गरेर कुटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय कानुन दुवैको उल्लङ्घन गरेको बताए।

‘भारतले नाकबन्दी गरेर अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन मात्र गरेको छैन नेपाली जनतामाथि अपराध नै गरेको छ,’ थापाले भने, ‘यसको भारतले पनि भविष्यमा महङ्गो मूल्य चुकाउनु पर्नेछ। उनले भारतको गैरजिम्मेबार व्यवहारका विरुद्ध पहिलो चरणमा भारतका संघसंस्था र भारतीय नागरिक समाजबाट दवाव सृजना गर्नुपर्ने बताए।

‘त्यसबाहेक सरकारले पनि भारतीय सरकारसँगको ‘डिल’ मजबुत ढंगले अघि बढाउनुपर्छ,’ थापाले भने, ‘त्यसका लागि तीन दलले निर्णय गरेर विशेष टोली भारत सरकारसँग कुरा गर्न पठाउनुपर्छ।’ उनले भारत सरकारसँग इन्धनको शक्ति मात्र बाँकी रहेको भन्दै त्यसलाई स्वभाविक ढंगले संचालन गर्ने वा नसक्ने भन्ने विषयमा हाकाहाकी कुरा गर्ने समय आएको बताए। उनले तीन दलले तत्काल निर्णय गरेर वार्ता प्रक्रिया अघि बढाउनुपर्ने बताए।

‘हाम्रा नेताहरुले विगतका आन्दोलनमा सहयोगका लागि भारतीय नेताहरुलाई भान्सासम्म पुर्‍याउँदाको परिणाम अहिले भोगिरहेका छन्,’ उनले भने, ‘मधेसीले पनि तत्कालको फाइदाका लागि भारतको अनावश्यक सहयोग लिँदा पछि चुकाउनै नसक्ने मूल्ने पर्ने छ।’ उनले अहिले मधेसीहरुले आफ्ना माग पूरा गर्न भारतकै इशारामा सीमा बन्दको घोषणा गरेको भन्दै त्यसले उनीहरुलाई नै घाटा हुने बताए।

‘हाम्रो आन्तरिक राजनीतिमा पनि समस्या छन्, त्यसलाई राजनीतिक रुपमै संम्बोधन गर्नुपर्छ,’ उनले भने, ‘नेपालको राजनीतिक समस्यामा भारतले बोल्नु हुँदैन र पाउँदैन।’

उनले भारतले नेपालका विषयमा अनावश्यक चासो राखेका कारण अहिलेको द्वन्द्व भएको बताए। संविधान निर्माणको प्रक्रिया आन्तरिक सहमतिमा रोक्नै लागेका बेला भारतले विशेष दूत पठाएर रोक्न भने पछि प्रक्रिया अघि बढेको बताएको दावी गरे।

‘संविधान निर्माणमा मधेसका वास्तविक समस्या सम्बोधन गराउन प्रक्रिया रोक्नुपर्छ भनेर हामी पनि लागिरहेका थियौं,’ थापाले भने, ‘अन्तिम समयमा भारतले विशेष दूत पठाएर प्रक्रिया रोक्न र मधेसका माग सम्बोधन नगरे संविधानलाई नैं मान्यता नदिने धम्की दिएपछि बाध्यात्मकरुपमा प्रक्रिया अघि बढेको हो।’
 
उनले मधेस आन्दोलनमा पनि मधेसका मुद्दा उठाएर देश लुट्न खोज्ने व्यक्तिले अगुवाइ गरेका कारण समस्या आएको बताए।

‘हिजोदेखि मधेसका मुद्दा बोकेर देशलाई अप्ठेरोमा पार्ने व्यक्तिहरुले नै अगुवाइ गरेका कारण आन्दोलनलाई प्रमुख नेताहरुले नजरअन्दाज गर्नुभयो,’ उनले भने, ‘त्यसलाई सुधार गर्दै वास्तविक मधेसीका माग पूरा गरेर अहिलेको द्वन्द्वको व्यवस्थापन गर्नुपर्छ।’ उनले मधेसीहरु साँच्चीकै समस्यामा रहेको भन्दै मधेसका माफिया र वास्तविक जनता छुट्याएर 'डिल' गर्नु आवश्यक भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell