PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

संविधानसभामा शब्दको चलखेल: 'षड्यन्त्र' कि 'जालझेल'?



संविधानसभामा शब्दको चलखेल: 'षड्यन्त्र' कि 'जालझेल'?

  • मनोज सत्याल -
काठमाडौँ :  शुक्रबारदेखि निर्धारित कार्यक्रम अनुसार संविधान सभामा प्रारम्भिक मस्यौदामा छलफल हुनुपर्थ्यो। तर त्यसको बाधक बन्यो राप्रपा नेपाल।

बैठक सुरु भए गत्तै राप्रपा नेपालका सभासद् सुशील श्रेष्ठले मस्यौदाको वैधानिकतामा प्रश्न उठाए। 'मस्यौदा समितिबाट पारित मस्यौदा दुई दिनसम्म संविधानसभामा पेश गरिएन। त्यसपछि षड्यन्त्रपूर्ण ढंगबाट स्थानीय निकायको मिति तय भएको पनि हटाइयो। यहाँ षड्यन्त्रपूर्ण ढंगबाट काम भइराखेको छ', श्रेष्ठले भने।

लगत्तै संविधानसभाका अध्यक्षले 'षड्यन्त्र' शब्द प्रयोग नगर्न भने। 'षड्यन्त्र थियो भन्नु हुँदैन, मैले विषयलाई गम्भीरतापूर्वक लिएको छु, यो मस्यौदा अझै परिमार्जित हुन सक्छ', नेम्वाङले भने।

तर नेम्वाङको जवाफमा राप्रपा नेपाल अध्यक्ष कमल थापाले चित्त बुझाएनन्। तर उनले षड्यन्त्र भएरै मस्यौदामा परिवर्तन भएको जिकिर गरे।

'सम्माननीय अध्यक्ष ज्यूले षड्यन्त्र शब्द प्रयोग नगर्नु भनेकाले म गर्दिनँ तर जालझेल त भएकै छ। यहाँ शब्द हेरफेर भयो, छ महिनामा स्थानीय निकाय निर्वाचन गर्ने भनेर पास गरेको सारा दुनियाँलाई थाहा छ तर यहाँ केही दलको सेटिङ मिलेपछि छ महिना हटाइयो', थापाले भने।

थापाले षड्यन्त्र प्रयोग नगर्ने भन्दै जालझेल भनेपछि सभासद्हरु गल्लल हाँसे।

थापा त्यसपछि पनि रोकिएनन्।

'षड्यन्त्र नभन्दा भन्दै पनि के शब्द प्रयोग गर्ने? धर्म परिवर्तन मौलिक हकमा थिएन, मौलिक हकमा धर्म परिवर्तनलाई प्रोत्साहित गर्नु कुरा कहाँबाट आयो', थापाले भने, 'षड्यन्त्र शब्द एकपटक प्रयोग गर्न अनुमति चाहन्छु।'

सभासद्हरु माझ हाँसो गुञ्जियो।

नेम्वाङले थापालाई तत्काल जवाफ फर्काए - 'अनुमति छैन माननीय सदस्य।'

नेम्वाङको जवाफमा पनि सभासद्हरुमा हाँसो गुञ्जियो।

वैधानिकताको प्रश्नमाथि नेम्वाङले राप्रपा नेपाल उठाएको प्रश्नमा ध्यानाकर्षण भएको भन्दै विश्वासमा लिन खोजे पनि राप्रपा नेपालका सभासद्ले मानेनन्। फलस्वरुप उनीहरु नाराबाजीमा उत्रिए र संविधानसभाको कार्यसुची अनुसारको काम गर्नबाट अवरोध गरे। 

 

यो पनि हेर्नुस्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell