PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​कमल थापालाई कृष्ण सिटौलाको तीन प्रश्न



​कमल थापालाई कृष्ण सिटौलाको तीन प्रश्न

काठमाडौँ : राप्रपा नेपालले शुक्रबार संविधानसभामा नाराबाजी गर्‍यो। उनीहरुको मुख्य भनाई थियो – मस्यौदा समितिले असार १३ गते पारित गरेको मस्यौदा १५ गते संविधानसभामा पेश हुँदा परिवर्तन भयो। तर राप्रपा नेपालको नाराबाजीका विषयमा मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले प्रश्न गरेका छन्।

१) धर्म परिवर्तनको स्वतन्त्रता विषयमा संवाद समितिमा किन विरोध गर्नुभएन?

धर्म परिवर्तनको विषय संविधान अभिलेख निर्क्यौल समितिबाट राजनीतिक संवाद तथा सहमति समिति हुँदै संविधानसभाबाट मस्यौदा समितिमा आएको हो। यो विषय पहिलादेखि नै उल्लेख छ। उहाँहरुले किन संवाद समितिमा उठाउनु भएन? हामीले धार्मिक स्वतन्त्रताको हक शीर्षकमा थपेको भनेकै – ‘जबरजस्ती धर्म परिवर्तन गराउनु कानुन बमोजिम दण्डनीय हुनेछ भन्ने मात्र हो’। म उहाँलाई प्रतिवेदन हेर्न आग्रह गर्दछु।

२) राष्ट्रिय चिन्हमा जनावर गाई राखेकोमा धन्यवाद किन दिनुहुन्न?

विगत लामो समयदेखि राष्ट्रिय चिह्नको रुपमा रहेको गाईलाई राष्ट्रिय जनावरको रुपमा मान्यता दिइएको छ। मलाई लागेको थियो उहाँहरुले धन्यवाद दिनुहुनेछ र थप सहयोग गर्नुहुनेछ। परापूर्वकालदेखि झण्डाको रंग सिम्रिक, राष्ट्रिय फूल लालिगुराँस रहेकोमा गाईलाई पनि हामीले राखेका छौँ। अन्तरिम संविधानको व्यवस्था नभए पनि। अरु केही सहयोग गर्न सकिन्छ कि भनेर सोध्नु भन्दा पनि कमल थापा जस्तो मान्छेले यस्तो धारणा राख्दा दु:ख लागेको छ।

३) समानुपातिक पद्दति नभएको भए के हालत हुन्थ्यो?

प्रमुख दलहरुकै आन्दोलनको उपलब्धि स्वरुप आएको समानुपातिक समावेशी पद्दतिका कारण उहाँहरु संविधानसभामा हुनुहुन्छ। समानुपातिक निर्वाचन प्रणालीकै कारण चौथो शक्ति बन्नुभयो। उहाँले त निर्वाचन प्रणालीको विषयमा समेत धन्यवाद दिनुपर्ने हो। किन उल्टो बाटो हिँडनुभयो?

यसैबीच सभापति सिटौलाले राप्रपा नेपाललाई संविधानसभामा अवरोध नगर्न आग्रह गरेका छन्। अवरोध गर्दा राप्रपा नेपालको बोली रेकर्ड नहुने भन्दै बैठक प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन्। 

‘जनताबाट प्राप्त सुझावका आधारमा परिमार्जन हुन सक्ने ठाउँ छ’, सिटौलाले सुझाव दिँदै भने, ‘संविधानसभा अध्यक्षले अब बैठकलाई अवरुद्ध हुन दिनुहुन्न भन्ने हाम्रो विश्वास छ, उहाँलाई हाम्रो समर्थन छ। 
 

यो पनि हेर्नुस्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell