PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कमल थापा सभासद्हरुसहित ६ घण्टा कराए, नाराबाजीकै बीच छलफल सुरु



कमल थापा सभासद्हरुसहित ६ घण्टा कराए, नाराबाजीकै बीच छलफल सुरु

  • मनोज सत्याल -
काठमाडौँ : नाराबाजीबीच संविधानसभामा मस्यौदामाथिको छलफल शुक्रबार सुरु भएको छ। राप्रपा नेपालको अवरोध र नाराबाजीबीच मस्यौदामा कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका सभासद्ले छलफलमा भाग लिएका हुन्।

बैठकमा राप्रपा नेपालका सभासद्हरुले २ बजेर १२ मिनेटदेखि ६ घण्टा निरन्तर नाराबाजी गरेका थिए। नाराबाजीबीच सभासद्हरुले धारणा राखेका हुन्।

राप्रपा नेपाललाई नै गाली

छलफलमा सहभागी एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले राप्रपा नेपाललाई विधिसम्मत बाटोबाट संविधान निर्माण प्रक्रियामा सहभागी हुन आग्रह गरे।

पोखरेलले राप्रपा नेपालका सभासद्हरुलाई आफूहरुले पनि मतभेद रहँदारहँदै पनि विधिसम्मत् ढंगले असहमति भएका विषयहरु भिन्न मतको रुपमा राखेर अगाडि बढेको उदाहरण दिए।

बैठकमा राप्रपा नेपालका सभासद्हरु हिन्दु राष्ट्र चाहिन्छ भन्दै नाराबाजी गरिरहेका थिए। तर पोखरेलले ठीक विपरीत धारणा राखे। ‘धर्मनिरपेक्षता संस्थागत गर्नु हामी सबैको कर्तव्य हो’, पोखरेलको धारणा थियो।

उनले आफ्नो पार्टीले मजदुर, किसान, जनजातिको मुद्दा नछाडेको दावी गरे।

कांग्रेस सभासद् धनराज गुरुङले राप्रपा नेपालले गरेको नाराबाजी संविधान निर्माणमा अवरोध गर्ने षड्यन्त्र भएको आरोप लगाए। नाराबाजी जारी रहँदा ठूलो ठूलो स्वरमा धारणा राखेका गुरुङले संविधान परिवर्तनशील भएको बताउँदै नारा जुलुस गरेर संविधान परिवर्तन हुन नसक्ने बताए। मस्यौदा समितिले पारित गरेको भन्दा फरक प्रतिवेदन आउनु जालझेल भएको राप्रपा नेपालको भनाईको गुरुङ्ले खण्डन गरे।

'मस्यौदा लेख्दा जालझेल र षड्यन्त्र भएको छैन, बरु आशंका उब्जिएको छ संविधान ल्याउन निदिने, जनताको चाहाना पुरा गर्न नदिने षड्यन्त्र र जालझेल भएको छ’, गुरुङले भने।

उनले आफ्ना कुरा विधिसम्मत् ढङ्गबाट राख्न राप्रपा नेपाललाई चेतावनी दिए। यो हर्कतलाई नेपाली जनताले ठाडो जवाफ दिन हामीहरुलाई नेपाली जनताले यहाँ पठाएको हो’, गुरुङले भने।

एमाले सभासद् भानुभक्त ढकालले राप्रपा नेपालले यसअघि संविधान बनाउन प्रतिबद्ध छु भन्दै ओठेभक्ति देखाएको प्रष्ट भएको बताए। धर्म परिवर्तन गर्न पाउने व्यवस्था मौलिक हकमा मस्यौदा परिवर्तन गरेर गरियो भन्नु सरासर झुट भएको जिकिर उनले गरे।

फोरम लोकतान्त्रिकका सभासद् जितेन्द्र नारायण देवले संघीय लोकतान्त्रिक गणतन्त्रको जहाज उडिसकेको बताउँदै अब सुरक्षित अवतरण गराउनुपर्ने बताए। कांग्रेस र एमालेलाई सिमाङ्कन पनि सँगै टुङ्ग्याउनुपर्ने माग राख्दै आन्दोलन गरिराखेका मधेशकेन्द्रित दललाई पनि साथ लिन आग्रह गरे।

‘सिमाङ्कनको विषयमा पनि टुङ्गो लगाउँ, चार/पाँच महिना संविधानसभा कायम राखौँ तर रुपान्तरित नबनाउँ’, उनले भने। संघीयताका लागि मधेशी दलहरुले माटोमा रगत बगाएकाले उनीहरुसँग कुराकानी गरेर जानुपर्ने उनको तर्क थियो।

चिच्याउने र धारणा राख्नेको होड

बैठकमा मस्यौदामाथि धारणा राख्ने सभासद् र नाराबाजी गर्ने सभासद्हरुबीच को ठूलो स्वरमा बोल्ने भन्ने प्रतिष्पर्धा नै भएको थियो। राप्रपा नेपालका सभासद्हरु ठूलो ठूलो स्वरमा नाराबाजीमा उत्रिएका थिए। त्यस्तै रोष्ट्रममा माइक प्रयोग गरेर बोल्ने सभासद्हरु समेत चिच्याएका थिए।

सभाध्यक्ष नेम्वाङको आग्रह राप्रपाले लत्यायो

बैठकमा छलफल प्रारम्भ गर्नुअघि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सभासद्हरुलाई बस्न आग्रह गरेका थिए। उनले अहिले पेश भएको मस्यौदा अन्तिम नभएको र परिमार्जनको बाटो बाँकी रहेको उल्लेख गर्दै नाराबाजी नगर्न र प्रक्रियामा सहयोग गर्न आग्रह गरेका थिए।

यसबीच संविधानसभाको बैठक शनिबार पनि बस्ने भएको छ। शनिबार बिहान ११ बजेदेखि मस्यौदामाथिको छलफल पुन: सुरु हुने भएको हो।


वैधानिकतामा जवाफ नआएसम्म नाराबाजी

बैठकपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैधानिकताको प्रश्नमा जवाफ नआएसम्म नाराबाजी जारी राख्ने बताए। उनले वैधानिकताको प्रश्न सम्बोधन गर्नुको साटो जबरजस्ती पेलेरै जाने कार्य खेदजनक भएको टिप्पणी गरे।











@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell