PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कमल थापाले उठाए मस्यौदाकै वैधानिकतामा तीन प्रश्न



कमल थापाले उठाए मस्यौदाकै वैधानिकतामा तीन प्रश्न

काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानको मस्यौदाकै वैधानिकतामै प्रश्न उठाएका छन्। बिहीबार संविधानसभा बैठकमा बोल्दै उनले अहिले संविधानसभामा  मस्यौदा समितिले पारित गररिसकेपछि पनि मस्यौदा हेरफेर गरिएको भन्दै बैधानिकतामा प्रश्न उठाएका हुन्। 

नियम निलम्बन गरी फास्ट ट्रयाकबाट संविधानको मस्यौदामा छलफल आजदेखि सुरु गर्न बैठक डाकिएको थियो। 

बैठकको सुरुमै थापाले मस्यौदाको वैधानिकताबारे तीन प्रश्न उठाएका हुन्-

१) स्थानीय निकायको चुनाव ६ महिनामा हुने किन हटाइयो?

थापाले आफूभन्दा अघि बोल्ने सभासद् सुशील श्रेष्ठको भनाई उद्धृ त गर्दै स्थानीय निकायको चुनाव छ महिनाभित्र हुने भनी मस्यौदा समितिले सर्वसम्मतिले पास गरे पनि किन रातारात हटाइयो भनेर प्रश्न राखे। वर्षौँदेखि संविधानसभाको अधिकार केही सीमित नेताहरुले अपहरण गरेको भन्दै यस पटक पनि त्यस्तै भएको आरोप लगाए। सीमित नेताबीच भागवण्डाको सेटिङ मिलेपछि यो प्रावधान मस्यौदाबाट हटाइएको उनले बताए। 

२) धर्म परिवर्तन मौलिक हकमा कसरी?

थापाले उठाएको अर्को विषय थियो, धर्म परिवर्तन। सभाध्यक्ष सुवास नेम्वाङले यसअघि नै बैठकमा षड्यन्त्र जस्ता शब्द प्रयोग नगर्न सुझाएका थिए। तर उनले भने, माननीय अध्यक्ष ज्यु, म एक पटक षड्यन्त्र भन्ने शब्द प्रयोग गर्न चाहन्छु। उनले उदाहरण दिए- केही अघि इयुले लिखित रुपमा प्रमलाई ज्ञापनपत्र दिएको थियो राइट टु कन्भर्सन हुनुपर्छ भन्दै। यही विषयमा विरोध भएपछि बेलायती राजदुतले स्पष्टीकरणसमेत दिनुपरेको उनले सम्झाए। मस्यौदामा नभएको रातारात फेरबदल गरेर धर्म परिवर्तनलाई मौलिक हक अन्तर्गत राखिएकोमा उनको विरोध थियो।

३) संविधानको प्रस्तावनामा समाजवाद कसरी?

‘संविधान कुनै पनि वाद मुक्त हुनुपर्छ। तर मस्यौदाको प्रस्तावनामा नै समाजवाद राखिएको छ। मस्यौदा समितिले नराखेको यो विषय कसरी राखियो?’, उनले भने, ‘यसले मस्यौदाकै वैधानिकतामा प्रश्न उठेको छ।‘ थापाले षड्यन्त्र शब्द प्रयोग गर्न नपाए पनि यसमा जालझेल पक्कै भएको बताए। 

राप्रपा नेपालले आफ्नो एजेन्डा स्थापित नभए पनि विधि र प्रक्रिया अनुसार भएर स्वीकार गर्छौँ भनेको छ। तर अहिले कुन मस्यौदामा छलफल गर्ने? उनको प्रश्न थियो। 

आफ्नो विचार राखिसकेपछि कमल थापासहित राप्रपा नेपालका सभासद्हरुले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए। संघीय समाजवादी फोरम लगायतका केही मधेशकेन्द्रित दलहरु पनि संविधानसभामा सुरु भएको छलफलको विपक्षमा छन्। उनीहरुले पनि बैठक अवरुद्ध पार्न सहयोग गरेका थिए। 
 

यो पनि हेर्नुस्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell