PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भरतपुर महानगरपालिका : देवी र रेणु दुवैलाई कांग्रेसको भोटको भर

भरतपुर महानगरपालिका : देवी र रेणु दुवैलाई कांग्रेसको भोटको भर

मनोज सत्याल/पहिलोपोस्ट


चितवन : उखु पेल्ने मेसिन घुमिरहेछ। अनि जुस पिउने पनि उत्तिकै छन्। सडकको ताप जुत्ताको सोल छेडेर पैताला पोल्ने छ। छाता ओढेर मात्र मानिसहरु सडकमा निस्कन्छन्। ३७ डिग्रीको तापले चितवनको भरतपुरमा पसिना नचुहाउने कमै छन्। 

तर भरतपुरको यो गर्मीलाई बिर्साउने गरी अहिले चुनावको गर्मी बढेको छ। कांग्रेस र माओवादी गठबन्धनबाट प्रधानमन्त्री पुत्री रेणु दाहाल र एमालेका तर्फबाट देवी ज्ञवाली भरतपुर महानगरपालिकाको सत्ता हत्याउने दाउमा छन्। 

भरतपुरको जिल्ला समन्वय समिति छेवैमा रहेको सभा हलमा मतगणनामा जारी छ। जस्ताले छाएको ठूलो हलमा हपहप गर्मी छ। फ्यान चलाउँदा मतपत्र उड्ने डर, त्यसैले फ्यान चलाइएको छैन। तर दिन रात नभनी आठ दिनदेखि यहाँ महानगरको मतगणना जारी छ। 

मेयर पदका प्रत्यासी रेणु दाहाल र देवी ज्ञवाली। मतअन्तर झिनो। सबैको चासो छ संविधानले शक्तिशाली बनाइसकेपछि बनेको यो महानगरको सत्ता कसको हातमा जाला? अनि वडाहरुबाट हुने मत परिणामको घोषणाले चितवनको तातो सडकमा र्‍याली निस्कन्छन्।

सूर्य निर्वाचन चिह्न लिएर जित्नेहरु पनि चितवनको गर्मीमा रुखको छहारीमा बस्न बाध्य छन्। अनि बोतलको पानी किन्नु उनीहरुको बाध्यता बनेको छ। 

हालसम्म भरतपुरको १२ वटा वडाको मतपरिणाम आएको छ। २९ वडा रहेको भरतपुरमा माओवादीले अहिलेसम्म एउटै वडा जित्न सकेको छैन। चुनावी तालमेलमा कांग्रेसले रेणुलाई दह्रो साथ दिएको देखिन्छ। माओवादी उम्मेद्वार रेणु कांग्रेसकै मतको साथले दह्रो खुट्टा टेकेर उभिएकी छिन्। तर माओवादी वडा स्तरमै भने कमजोर देखिएको छ।

चितवनमा स्थानीयको आफ्नो आफ्नै दावी छ। कांग्रेस र माओवादी केन्द्र निकटकाहरु मेयरमा रेणुले जित्नेमा बाजी राख्न तयार हुन्छन्। अनि एमाले समर्थकहरु कसरी जित्छ भनेर हिसाब गर्न तम्सन्छन्। 

मतगणना जारी रहँदा एमाले ठूलो जनसंख्या रहेको वडा नं १५ बाट तर्सिएको छ। वडा नं १५ र १६ मा कांग्रेसको मत धेरै आउने आंकलन उनीहरुको छ। 

तर अन्य स्थानमा पनि कांग्रेसले साथ दिएकाले आफ्नो स्थान अगाडि आउने विश्वास एमाले नेताहरुमा छ। एमालेका चितवन जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल मतको हिसाब देखाउँछन् – 'वडा नं १ मा कांग्रेसले जिते पनि एमाले मेयर उम्मेद्वारले ४ सय मत प्रतिष्पर्धी भन्दा बढी पाएका छन्। चितवनको पाँच स्थानीय तह मध्ये ४ मा एमाले अगाडि आएको र त्यसको रिफ्लेक्सन भरतपुरमा पनि पर्ने उनको विश्लेषण छ।' 
एमाले उम्मेद्वार सँधै भरतपुरमै रहेकाले भावनात्मक सम्बन्धले पनि जित्ने अवस्था रहेको पोखरेल बताउँछन्। 

माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले पनि एमाले बाहुल्य क्षेत्रमा गणनाका कारण मतमा पछाडि परेपनि कमब्याकको सम्भावना अझै रहेको बताउँछन्। 

भरतपुरको मतगणनामा सोमबार दिउँसोसम्म देवीले रेणु भन्दा दुई हजार बढी मत ल्याएर अग्रता हासिल गरिरहेका छन्।

'वडा नं २८, १२ गणना भयो, त्यहाँ एमाले बाहुल्य थियो, अब वडा नं १३ बाट हाम्रो गठबन्धनको मत आउँछ', उनले विश्वासका साथ भने। 
तर वडाहरुमा प्रतिष्पर्धाका बीच पराजय भोग्नु परेको उनले स्वीकार गरे। 

तर एमाले जिल्ला अध्यक्ष पोखरेल भने सुशील कोइराला बितेको र क्षेत्र नं ५ मा विगतमा एमालेले जितेका कारण माओवादी र कांग्रेस गठबन्धनको पकड भनिएको स्थानमा पनि मत आउनेमा विश्वस्त देखिन्छन् । 


यो पनि पढ्नुहोस्

यी हुन् भरतपुरमा कांग्रेस र माओवादीसित सिङ्गल भिडिरहेका 'मुन्ना' अर्थात् देवी ज्ञवाली

रेणु दाहालमाथि 'प्रेसर' का चार कारण, भन्छिन् – 'कांग्रेसको मत सोचे जस्तो आएन'

रोमाञ्चक मोडमा ललितपुर महानगरको मत परिणाम

गोरखा : २५ वर्ष पछि फर्कियो कांग्रेसको शाख, एमाले र बाबुरामको पत्तासाफ

सुनील प्रजापतिले बनाए फराकिलो जितको कीर्तिमान, भक्तपुरमा ‘क्लिनस्विप'पछि भन्छन्- 'उत्तरकोरिया जस्तो हुन पाए त झन् राम्रो'

एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली
मतगणना भइरहेको ठाउँ


ट्रेन्डिङ पोस्ट

Ncell