PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुनील प्रजापतिले बनाए फराकिलो जितको कीर्तिमान, भक्तपुरमा ‘क्लिनस्विप'पछि भन्छन्- 'उत्तरकोरिया जस्तो हुन पाए त झन् राम्रो'



उमेश श्रेष्ठ

सुनील प्रजापतिले बनाए फराकिलो जितको कीर्तिमान, भक्तपुरमा ‘क्लिनस्विप'पछि भन्छन्- 'उत्तरकोरिया जस्तो हुन पाए त झन् राम्रो'

काठमाडौँ : राजधानी काठमाडौँ र नजिकैको ललितपुर महानगरमा समेत‘नयाँ’ र विकल्पको नारा बिकिरहेको बेला सँगै जोडिएको भक्तपुर नगरपालिका भने यो हावाबाट अछुतो छ। यस पटकको स्थानीय निर्वाचनमा यसले २० वर्ष अघिको नतिजालाई समेत उल्ट्याउँदै अर्को गजबको कीर्तिमान कायम गर्‍यो। अघिल्लो स्थानीय निर्वाचनमा दुई वटा वडामा अध्यक्ष कांग्रेस र राप्रपाले जितेको थियो। यस पटक भने नेपाल मजदूर किसान पार्टीकै एकछत्र राज।
 
अहिले यहाँ १० वडा छन्। सबै वडाका सबै अर्थात् ५० वटै पदमा प्रमुख राजनीतिक दलहरु पछारिए। न नयाँको आकर्षण, न विकल्पको सोच। जनमत यसरी एकोहोरियो मेयरका लागि सुनील प्रजापतिको पक्षमा कि जितको अन्तर देशभरका अरु उम्मेदवारले जिब्रो टोक्ने खालको थियो। यति फराकिलो कि स्वतन्त्रसहित अन्य दलले उठाएका सात जना प्रतिस्पर्धीहरुले ल्याएको कूल भोटलाई एकै ठाउँमा राखेर जोड्दा पनि ११ हजारभन्दा बढी भोटले उनकै अग्रता। 

स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी मत अन्तरले जित्न सफल मेयरलाई भेट्न हामी आइतबार पार्टीको केन्द्रीय कार्यालय गोल्मढी पुग्दा उनी कम्प्युटर स्क्रिनमा घोत्लिएका थिए। बिहान शपथ र पदबहालीपछि उनी हामीलाई भेट्न पार्टी कार्यालय आइपुगेका थिए। 

‘बहुमत मात्र पनि हैन, एकोहोरो मत सोहर्न कसरी सम्भव हुँदो रहेछ?’ हाम्रो पहिलो प्रश्नमा उनी मुस्कुराए। आफ्नो चिरपरिचित मन्द लवजमा उनले जनताको मन जितेपछि मत स्वतः जितिने सुनाए। आफ्नो पार्टीले पटक-पटक जितेर गरेका कामको फेहरिस्त राखे।

‘अरुले जस्तो न हामीले रेल चलाउने कुरा गर्यौँ , न पानी जहाज चलाउने’,  उनले भने, ‘हामीले जहाँ काम गर्न पायौँ, काम गरेरै देखायौँ। हामीले गर्न सक्ने कुरा मात्र घोषणापत्रमा राख्यौँ, असम्भव कुरातिर जाँदै गएनौँ।‘

हुन पनि हो, पार्टीको घोषणापत्रमा १० बुँदा छन्, सबै सामान्य। पुराना दलमात्र हैन, नयाँ वैकल्पिक दावी गर्ने दलहरुले समेत सपना बाँडिरहेका बेला नेमकिपाको घोषणापत्रमा भने मसानघाटलाई व्यवस्थित गर्ने, टेलिफोन र अन्य तार जमिनमुनि व्यवस्थित गर्ने, एनजिओ/आइएनजिओलाई नियमन गर्ने जस्ता जनजीविकालाई छुने विषयबाहेक अरु केही छैन। र पनि अरु कुनै दलले नगरपालिकामा गर्न नसकेको सबै पदमा ‘क्लिनस्विप’।

‘उत्तर कोरिया जस्तो हुन पाए त झन् राम्रो’

‘अब गठन हुने नगर सभा र नगर कार्यपालिकामा पनि विपक्षीको उपस्थिति शून्य, तपाईँहरुलाई त उत्तर कोरिया मोडलको शासन लागू गर्न लागेको आरोप पनि आलोचकहरुले लगाउँछन् नि !’

‘नबुझेर लगाएका हुन् त्यस्तो,’  मार्क्स, लेनिन, स्टालिन र माओको चित्र लहरै सजाइएको भित्ताको मुन्तिर राखिएको सोफामा बसेका उनले उल्टै यसो पो भने, ‘उत्तर कोरिया जस्तो भइदियो भने त झन् राम्रो नि।‘ 

किन त?

तर्क यस्तो उनको, ‘उत्तर कोरिया भनेको त समाजवादी राज्य हो। त्यहाँ उत्पादनका सबै साधनहरु राज्यको नियन्त्रणमा हुन्छ। त्यहाँ शिक्षा, स्वास्थ्यमा पैसा तिर्नुपर्दैन। विश्वमा कर फ्री कुनै देश छ भने त्यो उत्तर कोरिया हो। गरिब छ, खान पाउँदैन,  मागेर खान्छन् जस्ता असाध्यै झुट कुरा यहाँ कतिले गर्छन्। स्वर्ग कहीँ छ भने उत्तर कोरियामा छ। प्राकृतिक प्रकोप पर्दासमेत विदेशबाट सहयोग लिँदैन। त्यहाँ के छैन? नत्र नेपाल जस्तो एउटा सानो देशले संसारलाई नियन्त्रणमा राख्न सक्ने अमेरिका जस्तो देशलाई थर्काउन सक्छ?’

उनले यसो भनिरहँदा हाम्रो क्यामेराको भ्युफाइन्डरमा उनी धमिलो, उनी पछाडिको भित्तामा सजिएको किम जोङ इलको युवा अवस्थाको रङ्गिन तस्बिर प्रष्ट देखिएको थियो। किम जोङ इल उत्तर कोरियाका वर्तमान सर्वोच्च नेता किम जोङ उनका पिता हुन्।  



उत्तर कोरिया जस्तो गर्न सके त राम्रो हुने बताउने उनी तर नेपाल पूँजिवादी राज्य भएकोले त्यसो गर्न सम्भव नभएको बताउँछन्। त्यसो भए विपक्षीको शून्य उपस्थिति भएको एकमात्र नगरपालिकाको स्थानीय सरकार कसरी चलाउने तयारी छ त उनको?

नमूना बनाउने। 

भक्तपुरलाई यस्तो नमूना नगर बनाउने कि यहाँको काम देखेर अरुले पनि सिकून्। उनले सम्झिए, भक्तपुरको ताथली गाविसमा एक पटक नेमकिपाले जितेपछि नमूना गाविस बनाउने घोषणा गर्‍यो। पारदर्शीताको हिसाबले पाइपाइको हिसाब सार्वजनिक गर्‍यो। जनताको बीचमा जनप्रतिनिधि गइरहे। अनि स्थानीय बासिन्दाले आफै भन्न थाले, ’यस्तो त कसैले गर्नै सक्दैन।‘

‘अरुले जस्तो एनजिओ/आइएनजिओ चलाएर, विदेशीको पैसा ल्याएर हैन कि काम गरेकै कारण जनताले विश्वास गरेका हुन्’, उनको दावी छ। 

'ट्रेन्डसेटर' भक्तपुर

भक्तपुर नगरपालिका स्थानीय निकायको एउटा अर्को विषयमा पनि ‘ट्रेन्डसेटर’ बनेको छ- आफूकहाँ आउने पर्यटकसँग सेवा शुल्क उठाउने। 

‘विदेश जाँदा ठाउँठाउँमा जे सानो कुरा हेर्न पनि शुल्क तिर्नुपर्ने हुन्छ। हाम्रो यत्रो नगरमा हेर्ने सम्पदा पनि धेरै छन्। किन शुल्क नलिने भनेर हामीले यो सुरु गरेका थियौँ,‘२०५४ सालको कुरा सम्झिए उनले। त्यतिबेला ६० रुपैयाँ थियो एक डलरको मूल्य। एक डलर उठाइएको थियो।

तर सोचे जस्तो सजिलो भएन। 

भक्तपुर नगरपालिकाले यस्तो निर्णय गरेपछि तत्कालीन स्थानीय विकास मन्त्री रामचन्द्र पौडेलले ‘नराम्रो हुन्छ’ भन्ने गम्भीर चेतावनी दिए। 
त्यतिबेलाको कानुनमा स्थानीय निकाय भंग गर्ने अधिकार पनि सरकारलाई थियो (अहिले छैन)। भंग हुने जोखिम मोलेर पनि यस्तो निर्णय गर्ने आँट कसरी गरियो त?

‘भंग गरे पनि ६ महिनाभित्र अर्को चुनाव गर्नै पर्थ्यो। कानुनमै त्यही व्यवस्था थियो। अर्को चुनावमा हामीलाई फेरि जनताले चुनिहाल्छन् भन्ने थियो।’

पर्यटकसँग उठाइएको त्यो शुल्क सरसफाइ र विकास निर्माणको काममा खर्च भएको जनताले प्रत्यक्ष देखे। भक्तपुर सफा सहरको नमूना बन्यो। पछि यही मोडल छिमेकी ललितपुर र काठमाडौँ महानगरपालिकाले समेत पछ्याउन बाध्य भयो। 

‘हामीले सुरु नगरेको भए अरु कसैले लिने थिएनन्’, उनको ठहर। 

पाँच वर्षपछि भक्तपुर

यो भयो २० वर्षअगाडिको कुरा। निर्वाचित मेयरको पदावधि पाँच वर्षको हुन्छ। पाँच वर्षपछि भक्तपुर नगर कस्तो हुन्छ त?

मेयर सुनील प्रजापति भन्छन्- ‘नगरभित्रका बासिन्दाले आधा घण्टाभित्र आधारभूत आवश्यकताहरुको पहुँच भएको देख्न पाइनेछ। शिशु स्याहार केन्द्रदेखि विश्वविद्यालयसम्मको सुविधा आधा घण्टाको दूरीमा पाइनेछ।‘

के छ त उनका भावी कार्ययोजना-
•    भर्खरै स्वीकृति पाएको २५ शैय्याको ख्वप अस्पताललाई सुविधा सम्पन्न बनाउने। क्युबा मोडलको स्वास्थ्य सुविधा। 
•    सरकारले स्वीकृति दिए ख्वप विश्वविद्यालयलाई उदाहरणीय विश्वविद्यालय बनाएर देखाउने
•    आधार निकेतन खोल्ने (वृद्धवृद्धाहरु बस्ने ठाउँलाई सम्मानपूर्वक आफूहरुले आधार निकेतन भन्ने गरेको उनको भनाई छ)
•    नदी सफा गर्ने। 
•    पर्यटकलाई आकर्षित गर्न परम्परागत नाचलाई व्यवसायिक रुपमा उपयोग गर्ने
•    पर्यटकलाई गाइड गर्न युवालाई विभिन्न विदेशी भाषाको कक्षा सञ्चालन गर्ने।
•    सीपमूलक तालिम दिएर विदेशमा जानबाट रोक्ने।

सांसदबाट मेयर

२०६४ सालको संविधानसभाको निर्वाचनमा भक्तपुर २ बाट निर्वाचित भएका सुनील प्रदेश वा केन्द्र तहको चुनावमा भिड्न छाडेर किन स्थानीय तहको निर्वाचनमा उत्रिए त?

‘पार्टीले दिएको जिम्मेवारी पूरा गर्न,’ उनले बुझाए, ‘अधिकारसहितको यो स्थानीय तहलाई सरकार मात्रै नभनिएको हो। तर यो सरकारै हो। कानुन बनाउनु पर्ने, बजेट पेश गर्नुपर्ने – सीमित अधिकार छन् तर त्यसभित्र सरकारले गर्नुपर्ने सबै काम गर्नुपर्छ। केन्द्रीय सरकारमा त अझ व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको तीन वटा छुट्टाछुट्टै अंग हुन्छ, स्थानीय सरकारमा त सबै काम एउटैले गर्नुपर्ने हुन्छ।‘

स्थानीय सरकार सञ्चालनको उदाहरण प्रस्तुत गर्नुपर्ने भनी पार्टीभित्र छलफल भयो र यसका लागि अनुभवी व्यक्तिको खोजी हुँदा सुनील प्रजापतिको नाम विकल्पविहीन भयो। एउटा अप्ठेरो के पर्यो  भने उनी केन्द्रीय सचिव भएर पार्टी हाँकिरहेका थिए। नेमकिपाले उम्मेदवार घोषणा मात्र गर्नुपर्थ्यो, जित सुनिश्चित थियो। 

पार्टी कि भक्तपुर नगर? 

पार्टीले सचिवको जिम्मेवारी अरुलाई नै दिने गरी उनलाई भक्तपुर नगरलाई स्थानीय सरकार सञ्चालनको नमूना बनाउने जिम्मेवारी सुम्पियो। 
‘हाम्रो व्यक्तिगत स्वार्थ हुँदैन। पार्टीले जे निर्देशन दिन्छ, त्यही हुन्छ।पार्टीको जे घोषणापत्र हुन्छ, त्यही अनुसार चल्ने हो। अरु र हामीबीचको फरक भनेकै यही हो’, उनले भने। 

२०४४ सालमा पञ्चायत कालमै निर्विरोध वडा अध्यक्ष चुनिएका सुनील बहुदलीय व्यवस्था पुनर्स्थापनापछि भएको २०४९ सालको निर्वाचन र पाँच वर्षपछि २०५४ मा भएको अर्को स्थानीय निर्वाचनमा पनि वडाअध्यक्ष चुनिएका थिए। 

पहिलो संविधान सभामा उनी सभासद चुनिए पनि दोस्रो संविधानसभाको निर्वाचनमा राप्रपा र नेपाली कांग्रेसको गठबन्धनले थोरै मतमा उनी पराजित भए। तर त्यसको जवाफ अहिले सबैभन्दा फराकिलो अन्तरले जित्ने मेयर भएर दिए। 

इन्जिनियर बन्ने अधुरो सपना

इञ्जिनियर बन्ने सपना देखेका थिए उनले बाल्यकालमा। तर समयक्रमले उनलाई वकील बनाइदियो, शिक्षक बनाइदियोर नेता बनाइदियो। 
सबै सपना पूरा हुँदैनन्। तर कोही यस्ता हुन्छन् जो आफ्नो सपना पूरा नभए पनि उनी अरुको सपना पूरा गराउन सहायक बन्छन्। पार्टीकै पहलमा खुलेका ख्वप इन्जिनियरिङ कलेज र ख्पव कलेज अफ इन्जिनियरिङको व्यवस्थापन समितिका उपाध्यक्ष रहेका उनी त्यहाँ पढेर दक्ष इञ्जिनियर बन्ने सबैमा उनी आफ्नै प्रतिरुप देख्छन्। त्यसो त उनका दुई सन्तान पनि इन्जिनियर नै छन्।

इञ्जिनियर बनेको भए अरुका घर बनाइरहेका हुन्थे उनी, अब उनको काँधमा सिङ्गो नगर बनाउने जिम्मा छ। यस्तो नमूना नगर, जसबाट अरुले सिकून्।  (साथमा मनोज सत्याल)

यो पनि पढ्नुहोस्
रोमाञ्चक मोडमा ललितपुर महानगरको मत परिणाम

गोरखा : २५ वर्ष पछि फर्कियो कांग्रेसको शाख, एमाले र बाबुरामको पत्तासाफ

भरतपुर महानगरपालिका : देवी र रेणु दुवैलाई कांग्रेसको भोटको भर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell