PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गोरखा : २५ वर्ष पछि फर्कियो कांग्रेसको शाख, एमाले र बाबुरामको पत्तासाफ



रमेश वाग्ले

गोरखा : २५ वर्ष पछि फर्कियो कांग्रेसको शाख, एमाले र बाबुरामको पत्तासाफ

काठमाडौं :  भनिन्छ १२ वर्षमा खोला फर्कन्छ। तर नेपाली कांग्रेसलाई गोरखा जिल्लामा आफ्नो शाख फर्काउन २५ वर्ष लाग्यो।

२०४९ सालको स्थानीय निर्वाचनमा गोरखाका सबै स्थानीय निकायमा जितेको कांग्रेस त्यसपछिका चुनावमा भने खुम्चिएको थियो। तर यसपालि दुई नगरपालिकासहित ११ मध्ये नौ स्थानीय तहमा कांग्रेसले चारतारे झण्डा फहराएको हो। 

कांग्रेसको हैसियत फर्किएसँगै २०५४ सालमा गोरखामा 'क्लिन स्वीप' गरेको नेकपा एमाले भने शून्यमा झरेको छ। संविधान सभाको चुनावमा २०६४ र २०७० सालमा ‘क्लिनस्विप’ गरेको माओवादी पनि दुई वटा स्थानीय तहमा खुम्चिएको छ।
 
गोरखामा एमालेले कुनै पनि गाउँ तथा नगरपालिका जित्न सकेन भने माओवादी केन्द्र सहिद लखन गाउँपालिका र सुलिकोट गाउँपालिकामा सीमित भएको छ।

गोरखामा संविधान सभाको निर्वाचन सबैभन्दा बढी मत अन्तरले जित्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पनि शाख खस्काएको छ स्थानीय तहको निर्वाचनले। 

आफ्नै नगरपालिका जितेर गोरखामा नयाँ शक्ति पार्टीको शाख जोगाउन अघोषित रुपमा नेकपा एमालेसँग तालमेल गरेको चर्चा चले पनि भट्टराईको पार्टी नयाँ शक्ति गोरखामा शून्यमा पुगेको छ।

यस्तो छ गोरखामा कांग्रेसको चुनावी यात्रा   

२०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले सबै क्षेत्र जितेको थियो। नेपाली कांग्रेसले २०४९ सालको स्थानीय चुनावमा पनि सबै गाविसमा आफ्नै पकड स्थापित गरेको थियो। तर ०५४ सालको स्थानीय चुनावमा आउँदा भने परिस्थिति बदलियो। 

'नेपाली कांग्रेसका उम्मेदवारलाई माओवादीले उम्मेदवार बनिस् भने बाँच्दैनस् भनेर उम्मेदवारी दिनबाटै रोके। कतै तत्कालीन गृहमन्त्री वामदेव गौतमको प्रशासनको बलमा कब्जा गरियो,' कांग्रेसका प्रमुख सचेतकसमेत रहेका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले भने, 'त्यसपछि मसमेत संलग्न भएर स्थानीय चुनावको परिणामले वैधानिकता प्राप्त गर्नु हुँदैन र सक्दैन भनेर मुद्दा हालेका थियौँ।' 

तर मुद्दा हाले पनि त्यसले केही गरेन। 

त्यसपछि ५६ सालमा भएको संसदीय चुनावमा कांग्रेसले धेरै कम मतान्तरले प्राविधिकरुपमा मात्र तीन वटै निर्वाचन क्षेत्रमा सांसद जित्न सफल भएको थियो। 

'हाम्रै अगुवाईमा शान्ति प्रक्रिया अघि बढेपछि ०६४ सालमा भएको संविधानसभाको चुनावमा त राजनीति गतिविधि भन्दा माओवादीको दादागिरी ज्यादा भयो,' श्रेष्ठले भने, 'त्यसपछि हामी तीनवटै क्षेत्रमा हार्न बाध्य भयौँ।' 

उनले तीन जना केन्द्रीय सदस्य रहेको गोरखामा तीनजनाकै समझदारीबाट निर्णय गरेर 'हाम्रा भन्दा पनि राम्रा' उम्मेदवार छानेको परिणामस्वरुप विजय हासिल भएको दावी गरे।   

किन शून्यमा पुग्यो बाबुरामको नयाँ शक्ति?

नयाँ शक्ति पार्टीका गोरखा संयोजक रमेश पोखरेल संगठन निर्माणका लागि कम समय हुनु, निर्वाचन आयोगले चुनाव चिह्न नै नदिनु र अर्को पार्टीसँगको सहकार्यमा लिएको चुनाव चिह्न र नीति कार्यक्रम तल्लो तहसम्म पुर्याकउन नसक्नु हारको कारण भएको बताउँछन्। 

'पहिलो त राज्यले चुनाव चिह्न नदिएर समस्या भयो, दोस्रो संगठन विस्तार र आफ्ना कार्यक्रम तलसम्म लान समय भएन,' पोखरेलले भने, 'मूल कुरा संगठनको बलमा चुनाव जित्ने हो, चुनाव जित्ने गरी  हाम्रो संगठन पनि बनिसकेको रहेनछ।' 

उनले चुनावले संगठन निर्माणका लागि भने राम्रै काम भएको बताए। 'तीन वर्षसम्म गर्ने गतिविधि १० दिनमा गर्‍यौँ, अहिलेको सेन्टिमेन्ट र माहौललाई संगठनमा बदल्न सक्यौँ भने अर्कोपटक चुनाव जित्छौँ।' 

उनले चुनाव जित्ने आधार नै नभएका कारण चुनाव हारे पनि संगठन निर्माण महत्वपूर्ण उपलब्धि भएको बताए। 

एमाले हारेको स्वीकार गर्दैन

नेकपा एमालेले भने गोरखामा आफूले चुनाव हारेको नभएर प्राविधिक रुपमा नेतृत्वमा मात्र नआएको बताउँछ। 'हामीले चुनाव हारेका हैनौँ, प्राविधिक रुपमा नेतृत्वमा नजितेका मात्र हौँ। त्यसैले गोरखा पूरै हारेको भन्न मिल्दैन,' एमाले प्रचार विभागका सदस्य सूर्य थापाले भने, 'हामीले गोरखामा १४ वटा वडामा जितेका छौँ। एउटा गाउँपालिकामा सात वटा वडाको हिसाब गर्ने हो भने यो दुई वटा गाउँपालिका बराबर हो।' 

किन हार्‍यो माओवादी केन्द्र?

एमाले जस्तै नेकपा माओवादी केन्द्र पनि हार स्वीकार गर्न तयार छैन। 

'हामी हारेका हैनौँ, मत अन्तरकै कुरा गर्नुहुन्छ भने पनि कांग्रेसभन्दा थोरै मात्र कम मतमा हामी छौँ,' माओवादी केन्द्रका नेता तथा अध्यक्ष दाहालको सचिवालयसमेत सम्हालिसकेका चुडामणि खड्काले भने, 'हामी राजनीतिले हुन्छ होला भनेर बस्यौँ, तर संसद्वादीहरुले अन्तिममा मत किनिसकेछन्।' 

हार प्राविधिक मात्र भएको भन्दै मत आफूले नहारेको उनको दावी थियो। मतदाता किनिने हुँदा रहेछन् भन्ने प्रश्नमा खड्काले भने, 'जनताका पनि त आफ्ना सीमाहरु छन्।' 

जे भए पनि नेतृत्व त दुईवटा गाविसमा बाहेक छैन त्यसको असर के पर्छ त आगामी चुनावका लागि? खड्का भन्छन्, 'यसले कुनै पनि असर गर्दैन।' 

'हाम्रो संगठन कमजोर छैन, चुनाव जित्न के गर्नुपर्ने रहेछ भनेर बुझ्यौँ, त्यसैले अबको चुनाव हामी हार्दैनौँ,' खड्काले भने। 

सबै खुशी

गोरखाको चुनावी परिणामलाई लिएर सामाजिक सञ्जालमा एउटा व्यङ्ग्य चलेको छ- सबै दल खुली। कांग्रेस २५ वर्षपछि शाख फर्काएकोमा। एमाले र नयाँ शक्ति माओवादी केन्द्रलाई हराउन सकेकोमा। अनि माओवादी केन्द्र चाहिँ नयाँ शक्तिलाई हराउन सकेकोमा। 

यो पनि पढ्नुहोस्

रोमाञ्चक मोडमा ललितपुर महानगरको मत परिणाम

भरतपुर महानगरपालिका : देवी र रेणु दुवैलाई कांग्रेसको भोटको भर

सुनील प्रजापतिले बनाए फराकिलो जितको कीर्तिमान, भक्तपुरमा ‘क्लिनस्विप'पछि भन्छन्- 'उत्तरकोरिया जस्तो हुन पाए त झन् राम्रो'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell