PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रोमाञ्चक मोडमा ललितपुर महानगरको मत परिणाम



उमेश पौडेल

रोमाञ्चक मोडमा ललितपुर महानगरको मत परिणाम

ललितपुर : मुलुकका चारवटा महानगरमध्ये ललितपुर महानगर चर्चामा कम भए पनि चुनावी भिडन्तका कारण रोमाञ्चक मोडमा पुगेको छ। अन्य तीनवटा महानगरमा दुईहजार भन्दा धेरै मतको अन्तरमा मेयरका प्रतिस्पर्धी भिडिरहँदा ललितपुरमा भने हजार भन्दा कमको आँकडामा कांग्रेस र एमालेको चुनावी पैठेजोरी चलिरहेको छ। 

'फाइनल टच' मा ललितपुरको मतगणना

यतिखेरको मोडले ललितपुर महानगरमा मेयर कुन पार्टीले जित्ने भन्ने कसैले ठोकुवा गर्न सक्ने अवस्था छैन। एमाले र एमाओवादीले दावी गरेका र स्वयं कांग्रेसले समेत स्विकारेको 'फाइनल टच' चारवटा वडा हुन् जहाँ कम्युनिस्टको पकड छ।
 
अब मत गणना हुन बाँकी रहेका सुनाकोठी एरियामा पर्ने २६ र २७ नम्बर वडा एमाओवादी केन्द्रका मेयरका प्रत्यासी दिनेश महर्जनको क्षेत्र हो। यहाँका वार्डमा एमाओवादीका उम्मेद्वारले जित्ने धेरैको अनुमान रहेको छ भने यहाँका जनताले कम्युनिस्टलाई नै भोट दिने मेयरका प्रत्यासीले दावी गर्दै आएका छन्।

त्यस्तै २८ र २९ नम्बर वडा पनि पहिले एमालेको गढ र अहिले एमाले र कांग्रेसको आधाआधाको स्थितिमा रहेको क्षेत्र हो। चुनावको फाइनल टचको स्थितिलाई मूल्याङ्कन गर्नका लागि २६ र २७ वडाको गणना सकिनुपर्ने र त्यसपछिमात्र यसै भन्न सकिने स्थिति छ।

यसअघि कांग्रेस मेयरका प्रत्यासी चिरिबाबु र एमालेका मेयरका प्रत्यासी हरिकृष्णले आ-आफ्नो वडामा हारेका कारण २६ र २७ वडामा आफूहरुले जित्नेमा ढुक्क छन्। तर उक्त वडा आफ्नो पकड क्षेत्र भएका कारण आफुले नै जित्नेमा एमाओवादी केन्द्रका महर्जन ढुक्कजस्तै देखिएका छन्।

हाल अन्तिम चरणको मतगणनासम्म पुग्दा कुनै पनि उम्मेद्वार ढुक्कले जित्ने अवस्था छैन। कांग्रेस र एमाले बाहेक अन्य दलहरु मेयरको रेसबाट आउट भइसकेका छन्। जसले जिते पनि ३ सयदेखि ५ सयभित्रको अवस्थामा नै जित्ने दावी कांग्रेसका चिरिबाबुले गरे भने एमालेका व्यञ्जनकारले पनि ५ सयको हाराहारीको मतान्तरमा जितिने बताए।
 
ललितपुरमा एमाले र राप्रपा गठबन्धनमा छन्। दुवै स्थानमा कांग्रेस र एमाओवादीले भने छुट्टाछुट्टै भिडे।

कांग्रेसले सुरुवातमा एमालेका प्रत्यासी हरिकृष्ण व्यञ्जनकारभन्दा पछि परेको अवस्थालाई उल्टाउँदै निरन्तर रुपमा अगाडि बढिरहेको छ। कांग्रेसले वार्ड ११ बाट एमालेलाई पछाडि पार्दै मतान्तरको दुरीलाई कहिले तीन हजार त कहिले पाँच सयसम्म बढाउँदै निरन्तर लिड गरिरहेको छ।

चिरिबाबु महर्जनका अनुसार अब मतगणना हुन बाँकी वडाका जनताले हालेको भोटको ३० प्रतिशत मात्र कांग्रेसलाई आएमा उनको जित सुनिश्चित छ। हाल २५ वडासम्मको गणनामा कांग्रेसले करिब ६ सयको हाराहारीमा लिड गरिरहेको छ। यही ट्रेन्डमा मत आइरहने हो भने आफ्नो जित सुनिश्चित रहेको उनले बताए।

तर, एमाले राप्रपा गठबन्धनको अपेक्षाअनुसार  ललितपुरमा भने भोट नखसेको मेयरका प्रत्यासीले बताउँदै आएका छन्। कार्यकर्ताहरुमा चुनाव अगाडि कोर्डिनेसनको अभावमा भोट नखसेको एमालेको मेयरका प्रत्यासी हरिकृष्ण ब्यञ्जनकारले बताए। उनले अब आउने सबै वडामा कम्युनिस्टको प्रभाव रहेकाले एमालेले धेरै भोट ल्याउने बताए। अब चार वटा वडाको मत गन्न बाँकी छ भने दुईवटा वडामा मतगणना चलिरहेको छ।

कुन वडामा कुन पार्टी विजयी ?

जारी मतगणनामा एमाले र कांग्रेसले धेरैवटा वडामा जित हाँसिल गरेका छन्। ललितपुरका २९ वटा वडामध्ये एमालेले धेरै वडा जितेको छ। एमालेले वडा नम्बर २ देखि ८ सम्म लगातार र ११, १२, १५, १७, १८, १९ र २३ वडा जितेको छ भने कांग्रेसले १, ९, १३, १४, १६, २० नम्बर वडामा जितेको छ। १० नम्बर वडामा स्वतन्त्र उम्मेदवारले जितेका छन्  भने २१ र २२ एमाओवादी केन्द्रले जितेको छ ।

हाल मतगणना भइरहेको मध्ये २४ नम्बर र २५ नम्बर वडामा एमालेले सुरुवाती अग्रता लिइरहेको छ भने कांग्रेसले पछ्याइरहेको छ।
ललितपुरमा कुल ८७ हजार ६ सय ८१ मत खसेको थियो।२५ नम्बरसम्म आइपुग्दा ७९ हजार दुईसय ६ मत गणना भएको छ। अब ८ हजार चारसय ७५ मत गणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत बाल मुकुन्द दवाडीले जानकारी दिए।


मत गणनामा शान्त ललितपुर

चुनाव भएका अन्य तीन महानगरपालिकाहरु काठमाडौं, भरतपुर र पोखरामा भोट हालेपछि नै चुनावी परिणामको अपेक्षाका लागि धेरै डिस्कोर्सहरु भइरहे। तर, ललितपुर भने छायाँमा परेजस्तो भयो। चुनावभन्दा पहिले ललितपुरमा एमालले जित्छ भन्ने एक किसिमको सेन्टिमेन्ट हावी थियो तर चुनावपछिको मतगणनामा भने त्यो सेन्टिमन्टले उल्टो दिशा लियो। 

सुरुमा १० वडासम्म एमालले अग्रता लियो तर त्यसपछि धेरैको अनुमान विपरित ललितपुरमा कांग्रेसले निरन्तर लिड गरिरह्यो र त्यो हालसम्म नै जारी छ।

अन्य तीनवटा महानगरपालिकामा कहिले मतगणना स्थगित त कहिले नारावाजीले धेरै पटक मतगणना स्थगित नै भयो। तर, ललितपुरमा त्यस्तो भएन। किन भएन त भन्ने प्रश्नको जवाफमा कांग्रेसका मेयरका प्रत्यासी चिरिबाबु महर्जन भन्छन, 'ललितपुरको पहिचानलाई जोगाइराख्न मतगणनादेखि नै प्रयास गरिएको हो। हाम्रो योजना अनुसार नै यहाँ शान्त छ।' 

उनले थपे, 'खाली हो हल्लाको पछाडि लाग्ने र शान्त भइरहेको मतगणनालाई प्रभावित पार्न धेरै पटक कसरत त भए तर हामीले त्यसबाट जोगायौं।'

उस्तै प्रश्नमा एमालेका मेयरका प्रत्यासी हरिकृष्ण व्यञ्जनकारले पनि चिरिबाबुको भनाइमा समर्थन जनाए, 'हामीले चुनाव ताका नै जनतालाई दिएको प्रतिवद्धताअनुसार काम गरिरहेका छौं। हामीलाई जनताले अहिल्यैदेखि जज गरिरहेका हुन्छन।' 

उनले थपे, 'भोलि हामीले राजनीति गर्ने यहीँ हो। मर्निङ सोज द डेज भनेजस्तै हामी कस्तो स्थितिसम्म जाने भन्ने कुराको निर्धारण अहिलेदेखि नै देखाउनुपर्छ।'

ललितपुरको २१ र २२ वडाको मतपरिणाम सार्वजनिक हुँदै गर्दा उही प्रश्नको जवाफमा नेकपा माओवादी केन्द्रका मेयरका प्रत्यासी दिनेश महर्जनले हौसिँदै भने, 'आन्दोलन ढुङ्गामुडा र होहल्ला जति गर्नु थियो त्यो मैदानमा गर्ने हो। मतगणनास्थललाई शान्त बनाउनेमा हामी मेयरका उम्मेद्वार प्राय सबै सचेत थियौं र भइरह्यौं।' 

उनले थपे, 'हामीले नराम्रो हर्कत देखायौँ भने जनताले यहीबाट लेखाजोखा गरेर राख्ने भएका कारण सबै पार्टीको सहमतिमा शान्त बनाइराखेका हौं।'

त्यस्तै चुनावी मैदानमा रहेकी साझा पर्टीका उप प्रमुख उम्मेद्वार शोभा महर्जनले पनि शान्त रुपमा भइरहेको मतगणनालाई विथोल्न केही पार्टीका प्रतिनिधि लागिपरेको तर सबैको संयमताले काम गरेका कारण मतगणना स्थगितसम्मको अवस्थामा पुग्न नपरेको बताइन्।

प्रमुख पार्टीको संयमताका बाबजुद केही छिटफुट घटना भने भइरहे। तर, सारमा मतदान नै स्थगित हुनेसम्मको अवस्था ललितपुरमा अहिलेसम्म आएको छैन। 
 
यो पनि पढ्नुहोस्

रोमाञ्चक मोडमा ललितपुर महानगरको मत परिणाम

भरतपुर महानगरपालिका : देवी र रेणु दुवैलाई कांग्रेसको भोटको भर

सुनील प्रजापतिले बनाए फराकिलो जितको कीर्तिमान, भक्तपुरमा ‘क्लिनस्विप'पछि भन्छन्- 'उत्तरकोरिया जस्तो हुन पाए त झन् राम्रो'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell