PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यी हुन् भरतपुरमा कांग्रेस र माओवादीसित सिङ्गल भिडिरहेका 'मुन्ना' अर्थात् देवी ज्ञवाली



मनोज सत्याल

यी हुन् भरतपुरमा कांग्रेस र माओवादीसित सिङ्गल भिडिरहेका 'मुन्ना' अर्थात् देवी ज्ञवाली

भरतपुर :  अहिले देशकै ध्यान तानेको छ यो एउटा प्रश्नले- ‘प्रचण्डकी छोरीले जित्छिन् कि हार्छिन्?’

भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार रेणु दाहालका लागि सत्तारुढ दुई दल कांग्रेस र माओवादीको गठबन्धन चुनावी तालेमलमा मात्र सीमित थिएन, तालमेल सत्ताको साँचो हस्तान्तरणसम्म थियो। 

दुई ध्रुवको राजनीतिबाट  रेणुका लागि माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवा उभिएपछि एमाले अध्यक्ष केपी ओली पनि उभिदिए देवी ज्ञवालीका पछाडि। 

को हुन् त देवी? उनै देवी जसको राजनीतिमा इन्ट्री 'मुन्ना'को रुपमा भयो।

चितवनबाहिर खासै परिचित नभएका उनको यो इन्ट्रीको रोचक पाटोबारे चर्चा गर्नु अघि प्रचण्ड र देउवाको गठबन्धन उम्मेद्वारबारे के सोच्छन्? त्यसमा जाउँ।  

'रेणु दाहाल तपाईँका लागि कस्ती प्रतिस्पर्धी हुन् ?' 

'बिचरा, रेणुजी। मसँग भिड्न आफैँ आउनु भएको हैन,' ज्ञवालीको मुखबाट निस्किएको पहिलो वाक्य।

रेणुलाई उम्मेद्वार बनाएर कांग्रेसलाई माओवादी अध्यक्ष प्रचण्डले डोको बोकाएको बताउँछन् ज्ञवाली। मेयर पदको दाबेदार माओवादी केन्द्रले १२ वटा वडाको मतगणना गर्दा एक जना सदस्य जित्न नसकेबाट उसको हैसियत देखिएको दावी गर्छन् ज्ञवाली । 

'प्रचण्ड सफल यसकारण हुनुभयो कि उहाँले त्यति कमजोर भए पनि आफ्नो भारी तुलनात्मक रुपमा बलियो रहेको कांग्रेसलाई बोक्न लगाउनुभयो,' रेणुलाई प्रतिष्पर्धी पाएका ज्ञवाली भन्छन्, 'सिंगल सिंगलको मज्जा अब चितवनको एमालेले मान्दैन। सिंगलको प्रतिष्पर्धा एमालेका लागि कान्छी औँला जस्तो भयो।'

हुन पनि हो, एकातर्फ कांग्रेस र माओवादी अर्कोतर्फ एक्लो एमाले। तैपनि आठ दिनसम्म जारी मतगणनामा अहिलेसम्म रेणुले दिनभर मतमा अग्रता लिएको दिन कुनै छैन। र पनि मेयरको बाजी कसले मार्छ टुङ्गो भइसकेको छैन। 

ज्ञवाली पनि भन्छन् – 'यो निर्वाचन प्रचण्ड र शेरबहादुर एकापट्टी र एमाले अर्कोपट्टीको हो। यो रेणु र मेरो मात्र होइन।' 
... 

ज्ञवालीको जन्म चितवनमा भएको होइन। उनको पुर्ख्यौली पर्वत हो। चितवन झर्नु अघि नै राजनीतिक आकर्षणले उनलाई तानिसकेको थियो। 
उनको राजनीतिक यात्राको सुरुवात भने एउटा नाटकबाट भएको थियो। 

ज्ञवाली सम्झन्छन् – पुष्पलाल श्रेष्ठ नेतृत्वमा बाल सांस्कृतिक मञ्च थियो। त्यसमा दाजु र मामाहरु हुनुहुन्थ्यो। एक दिन मलाई नाटक गर्न लगाउनुभयो। 

'पचास रुपैँयाको तमसुक' भन्ने नाटकमा मैले बाल कलाकारको भूमिका गरेँ।' 

'मुन्ना' पात्रको मेरो भूमिका निकै राम्रो भएछ। तारिफ भयो। मलाई पनि तारिफ दिलाउन सहयोग गर्नेहरुप्रति आकर्षण बढ्यो। मैले थाहा पाएँ ती कम्युनिष्ट रहेछन्। हो, त्यसकै प्रभावले मलाई राजनीतिमा आकर्षित गर्‍यो र कम्युनिष्ट बनायो।' 

चितवनको एमाले निर्माणमा मालेदेखि कै संगठकका रुपमा काम गरेका उनी २०५४ सालको स्थानीय निकाय निर्वाचनमा उपमेयर निर्वाचित भए। 
उनी भन्छन् – कामको मूल्याङ्कन भएरै होला, अहिले पहिला भरतपुर नगरपालिका क्षेत्र रहेको स्थानबाट मलाई राम्रो मत आइरहेको छ।
त्यसो त भरतपुरमा मतगणना जारी रहँदा उनले बाहिर हल्ला भए जस्ता विषयहरु पनि नसुनेका हैनन्। मतगणनामा रेणु दाहाललाई साथ दिए 'राजदूत बनाउनेदेखि सांसद बनाउनेसम्मको' चर्चा उनले पनि सुनेका छन्। 

तर उनी सिधा जवाफ फर्काउँछन् – 'त्यसमा तुक छैन। बाकसका मतपत्र नखोली यो प्रक्रिया टुङ्गिँदैन।' 

रेणुसँगको प्रतिष्पर्धाले उनलाई चर्चामा ल्याएको त छ नै। परिवारलाई चिन्ता पनि थपेको छ। परिवारका सदस्यले कहाँ हुनुहुन्छ? साथमा को को छन् भनेर प्रश्न गरिरहन्छन्। 

'मलाई त डर केही छैन, बाहिर धेरै थोक चर्चा छ, परिवारका सदस्य चिन्ता गर्छन्', देवी भन्छन्।

रेणुले मेयरको पद हाँक्न सक्नेमा शंका व्यक्त गर्छन् उनी।

'उनले के गर्छिन् जवाफ दिन सक्दिन तर नगरपालिकामा राजश्व कसरी जम्मा हुन्छ? कसरी परिचालन हुन्छ? कसरी अगाडि बढ्नपर्ला भन्ने कुरा मलाइ जानकारी प्राप्त छ। त्यो खालको अनुभव रेणुजीलाइ छ कि छैन म जान्दिन।'

मतगणना स्थलमा देवीको भेट रेणुसँग पनि भएको छ। अनि केही प्रत्यक्ष प्रसारणका अन्तर्वाताका कार्यक्रमहरुमा पनि।  

'हामी दुई पार्टी छौँ, बलिया पार्टी छौँ, जित्छौँ भन्नुहुन्छ', रेणुसँग भेट हुँदा हुने कुराकानीबारे देवी भन्छन्। 

‘५० रुपैयाँको तमसुक’ नाटकमा परिवर्तनका लागि मुन्ना बनेर चेतना फैलाएका देवी ज्ञवालीलाई फेरि मुन्ना बनेर कुशल व्यवस्थापकको परिवर्तनको संवाहक बन्ने अवसर छ। 

तर मतगणनामा अग्रता र जीत त्यसको आधार हो।

'म मतगणनाबाट जित्दैछु', देवी विश्वासका साथ भन्छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell