PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

रेणु दाहालमाथि 'प्रेसर' का चार कारण, भन्छिन् – 'कांग्रेसको मत सोचे जस्तो आएन'



मनोज सत्याल

रेणु दाहालमाथि 'प्रेसर' का चार कारण, भन्छिन् – 'कांग्रेसको मत सोचे जस्तो आएन'

भरतपुर (चितवन) : भरतपुरमा मतगणना जारी रहँदा माओवादी केन्द्र र नेपाली कांग्रेसका साझा उम्मेद्वार रेणु दाहाल प्रतिस्पर्धी नेकपा एमाले उम्मेद्वार देवी ज्ञवालीभन्दा पछाडि छिन्। ३ हजार ५ सय मत अन्तरले पछाडि परे पनि रेणुको 'कमब्याक' सम्भावना सकिएको छैन।
 
भरतपुरका वडा नं १५ र १६ मा कांग्रेसको दह्रो पकड छ। जनसंख्या पनि धेरै। रेणुको मेयरमा 'कमब्याक'को आशा यिनै वडाका मत पेटिकाभित्र सुरक्षित छ।
 
तर, उम्मेद्वार बन्दैगर्दा भएको प्रेसर अझै उनी झेलिरहेकी छिन्।

'ढिला गरी तालमेलको निर्णय हुँदा जनतामा जाने समय कम भयो,' रेणुले भनिन्, 'यो स्थानीय तहको निर्वाचनमा म केन्द्रमा परेँ। अनि मतगणनाले धेरै प्रेसरमा छु।'

रेणुले चरम दवावमा रहनुका चार कारण पहिचान गरेकी छिन्। 

अन्तिम समयको निर्णय
केन्द्रले तालमेलको निर्णय नोमिनेसन अगाडि गरेको भए राम्रो हुन्थ्यो। उम्मेद्वारी दर्ता पछि फिर्ता लिनुपर्ने अवस्थाले अलिकति असहजता निम्त्यायो। 

समयमै जानकारी दिन कठिन
केन्द्रले तालमेलको निर्णय गर्‍यो तर जिल्लामा त्यस किसिमले सम्प्रेसण गर्न ढिलो भयो। मतदान अगाडि पछिल्लो चरणमा कांग्रेस र हामीले संयुक्त पत्रकार सम्मेलन पनि गर्‍यौं। राष्ट्रका लागि आवश्यकता पनि भन्यौं। तैपनि यसमा पनि टाइमकै प्रेसर थियो।
 
रिसाए कांग्रेसी 
कांग्रेसमा थोरै आक्रोश भयो। माओवादी केन्द्रमा मेयर पद लिएका कारण उत्साह आयो। पार्टी पंक्तिमा त्यस्तो समस्या थिएन। तर कांग्रेसमा 'चितवनको ठूलो पार्टी, नोमिनेसन भइसकेपछि हामीलाई किन फिर्ता लिन लगाउने' भन्ने कौतुहलता देखियो। त्यसलाई मत्थर पार्न अलिक टाइम लाग्यो। यहाँ पनि प्रेसर भयो।
 
घरदैलो गर्न समय अभाव
पछिल्लो चरणमा जनतामा गयौं। सभा पनि गर्‍यौं। तर जनतामा पुग्नका लागि टाइम पुगेन। समयको प्रेसर फेरि पनि भयो।

यिनै दवावबीच मतगणना नियालिरहेकी  रेणु अपेक्षाकृत मत नआएकाले पनि चिन्तित देखिइन्। 

'जुन ढंगले अपेक्षा गरेको हो। ७० देखि ८० प्रतिशत मत कांग्रेसबाट हामीलाई आउँछ भन्ने थियो। त्यो संदेश तलसम्म नपुग्दा र आम मतदाता बीचमा हामी पुग्न नसक्दा गाह्रो भयो,' रेणुले भनिन्, 'पुराना र कांग्रेसका पाकाहरुलाई समिकरणको मर्म बोध गराउन नसक्दा सोचेजत्तिको मत हामीले प्राप्त गरेनौं।'

उनले मत गणना भइरहँदा कुनै वडामा त पचासदेखि ६० प्रतिशत मत आइरहेको बताइन्। 'म्याक्सिमम ६० प्रतिशत आएको छ', उनले भनिन्। 

चितवनमा कतिपय भोटरले मेयर पदको उम्मेदवार छान्दा रुखमा छाप लगाएका छन्। त्यसले मत बदर गराएको छ। बदर मतका कारण पनि कांग्रेस र माओवादी तालमेलबाट उम्मेद्वार बनेकी रेणुलाई दबाब छ।
 
मतगणनामा प्रतिनिधि रहेका माओवादी केन्द्रका प्रतिनिधि ईश्वर काफ्लेका अनुसार सय भोट रुखका अन्य पदहरुमा आउँदा ६५ भोटमात्र रेणुको पक्षमा खसेको छ।
 
उप प्रमुखसहित रुखमा भोट हाल्ने सय जनामा ५ देखि ८ जनाले एमाले उम्मेद्वार देवी ज्ञवालीलाई भोट दिएका छन्।
 
त्यसो त गाईमा भोट हाल्नेले पनि माओवादी केन्द्रलाई भोट दिएकाले माओवादी केन्द्रकी उम्मेद्वार रेणु आशावादी नै छिन्। 

'कांग्रेस र माओवादीको साझा सभाले गर्दा अलिक सहज भयो तर जनतामा जाने समय पुगेन,' प्रतिनिधि काफ्लेले भने।

 
'एमालेलाई वडा नं  १२ सम्म गणना हुँदा ५ देखि ६ हजार लिड गर्छौँ भन्ने थियो, हामीले पनि यहाँसम्म आउँदा ३५ सय देखि ४ हजारले लिड गर्नुहुन्छ भन्ने धारणा बनाएका थियौँ। वडा नं १३ देखि उता गणना गएपछि हामी त्यसलाइ क्रस गरेर अगाडि बढ्छौँ', रेणुले भन्छिन्, 'कांग्रेसका नेता कार्यकर्ता यति धेरै विश्वास दिलाउनु भएको छ कि,  तपाँइ कत्ति पनि हतोत्साही नहुनुस् भन्नुहुन्छ। नआत्तिनु हण्ड्रेड प्रतिशत हाम्रो जीत हुन्छ भन्नुहुन्छ।'

रेणु अबको गणना माओवादीको आधारक्षेत्र अनि कांग्रेसको गढमा हुने भएकाले ऋण तिरेर अगाडी बढ्ने विश्वासमा छिन्। 'ऋण तिरेर हामी ३५ सय देखि ५ हजार मत फरकले जित्छौँ', रेणु दावीका साथ भन्छिन्, 'अलिक अगाडि राम्रो मत आएको भए दश हजारले लिड गर्छौँ भन्ने थियो। तैपनि हामी ३५ सय देखि ५ हजारले मत जित्छौँ।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell