PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सीमाङ्कनसँगै सल्केको आगोले ३३ दिनमा लियो ३४ को ज्यान



सीमाङ्कनसँगै सल्केको आगोले ३३ दिनमा लियो ३४ को ज्यान

काठमाडौँ : मधेसका विभिन्न जिल्लामा भड्किरहेको अशान्तिका क्रममा बुधबार महोत्तरीको जलेश्वरमा चार जना र सप्तरीको भारदहमा एक जना गरी पाँच जनाको ज्यान गएको छ। योसँगै दलहरुले सीमाङ्कनमा सहमति गरेयताको एक महिनामा झडपमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

दलहरुले साउन २३ गते सीमाङ्कन बिना ८ प्रदेशको संविधान जारी गर्ने अघिल्लो १६ बुँदे सहमतिविपरीत ६ प्रदेशको सीमाङ्कनमा सहमति गरेका थिए।

आइतबार गृहमन्त्री वामदेव गौतमले सीमाङ्कनपछि भएका प्रदर्शनहरुमा २९ जनाको ज्यान गएको जानकारी संसद्‍मा गराएका थिए। आज भारदह र जलेश्वरमा गरी पाँच जनाको मृत्युपछि यो संख्या ३४ पुगेको हो।

महोत्तरीमा यसरी भयो घटना

महोत्तरी सदरमुकाम जलेश्वरमा रहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत घेराउ गर्दै प्रहरी कार्यालयमा ढुंगामुढा गर्न थालेपछि गोली चलाइएको थियो। दिउँसो करिब साढे तीन बजेको यो घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भयो भने एक जनाको उपचारका क्रममा जनकपुरमा अस्पतालमा मृत्यु भयो।

मृत्यु हुनेमध्ये तीन जनाको मात्रै सनाखत भएको छ- मुतवा कापर, रोहण चौधरी र रामविवेक यादव।

पछिल्ला घटनामा एकै ठाउँमा बढी हताहत भएको यो तेस्रो घटना हो। यसअघि कैलालीमा नौ सुरक्षाकर्मी र एक डेढ वर्षीय बालकको ज्यान गएको थियो। त्यस्तै भदौ १५ गते वीरगञ्जमा एकै दिन पाँच जनाको ज्यान गएको थियो।

एकै दिन चार जनाको मृत्यु भएपछि जलेश्वरमा राति आठ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको प्रशासकीय अधिकृत श्रवणकुमार साहले जानकारी दिए।

सप्तरीको भारदहमा एक वृद्धको मृत्यु

बुधबारै सप्तरीको भारदहमा ६० वर्षीय किसान रामकिसन राउतको मृत्यु भयो। हाइवेमा अलपत्र परेका गाडी प्रहरी एस्कर्टिङमा पार गराउने क्रममा भएको झडपमा गोली लागी उनको मृत्यु भएको हो।

यसरी सल्कियो आगो

मधेसकेन्द्रित दल र थारुहरुको प्रदर्शन यसअघि सामान्य रहे पनि साउन २३ को सीमाङ्कनसहितको प्रमुख चार दलको सहमतिले भड्कायो।
मध्य पश्चिमका पहाडी जिल्लाहरुमा सल्किएको असन्तुष्टिको आगो साउन २५ गते सुर्खेतमा तीन जनाको मृत्युभएपछि थप भड्कियो। 

साउन २८ गते थारुहरुको सभामा गएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र कांग्रेस सभासद् अमरेशकुमार सिंह मधेसी नेताहरुले उत्तेजक भाषण गरे। यो विषयमा संसदमा समेत प्रश्न उठ्यो र राज्य व्यवस्था समितिले छानबिन गर्‍यो।

साउन ३१ गते जुम्लामा प्रदर्शनकारीहरुले सरकारी कार्यालयहरु तोडफोड गरेपछि  प्रहरीले चलाएको गोलीमा पाँच जना घाइते भए। त्यसमध्ये एक जना हरिकुमार कुँवरको भदौ ६ गते मृत्यु भयो।  


भदौ २ गते मधेसी मोर्चाको बैठकले  आन्दोलनमा कोही मारिए आन्दोलनपछि बन्ने प्रादेशिक सरकारले ५० लाख रुपैयाँ आर्थिक सहयोग दिने र परिवारलाई निःशुल्क शिक्षा र रोजगारीको व्यवस्था गर्ने निर्णय गर्‍यो। 


भदौ ४ गते मध्य पश्चिममा भड्किएको अशान्तिलाई ध्यानमा राख्दै प्रमुख तीन दलहरुबीच  सात प्रदेश बनाउन सहमति गरे लगत्तै अशान्ति पहाडबाट तराई क्षेत्रतिर सल्कियो। यो सहमतिको विरोधमा गच्छदार तीन दलको बैठक छाडेर बाहिरिए। सोही दिन पत्रकार सम्मेलन गर्दै गच्छदारले आफ्नो आठ प्रदेशको अडानलाई कायम राख्दै सात प्रदेशको विरोधमा सदन र सडकमा संघर्ष गर्ने बताए।

निरन्तर प्रदर्शनमा रहे पनि माग पूरा नगरिएको भन्दै थारुहरुले बन्द अझ कडा पारे। 
यसै क्रममा भदौ ७ मा कैलालीमा भएको घटनामा नौ सुरक्षाकर्मी र एक डेढ वर्षीय बालकको ज्यान गयो। 

योसँगै मधेसी मोर्चाले गरेको आन्दोलन पनि हिंसात्मक भयो। कैलालीको घटनापछि विभिन्न जिल्लाहरुलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरी शान्ति सुरक्षाका लागि सेनाको समेत सहयोग लिइयो। कैलालीमा लामो समयसम्म २४ घण्टे कर्फ्यु लगाइयो। आजसम्म त्यहाँ कर्फ्यु जारी छ।

भोलिपल्टै रौतहटको गौरमा निषेधित क्षेत्र तोड्न खोज्दा एक प्रदर्शनकारी राजकिशोर ठाकुरको 
गोली लागी मृत्यु भयो

भदौ १० गते संसदमा गृहमन्त्री बामदेव गौतमले आन्दोलनमा केहि समानता रहेको बताए। उनले आन्दोलनका क्रममा घातक हतियार सहित प्रदर्शन भएको, बन्दुक समेत प्रयोग गरेको, प्रहरीमाथि पेट्रोल बम र सुतली बम प्रहार भएको, छानीछानी दलका र सरकारी कार्यालय तोडफोड भएको, सुरक्षाकर्मीको घर डेरा छाड्न धम्की दिने काम भएको, मधेश सरकार र थरुहट सरकारको तुलहरु राख्ने काम भएको तथा साम्प्रदायिक र जातीय नारा उचालिएको बताए।

'साउन २८ गते केहि नेता र सभासद्को हतियारयुक्त प्रदर्शन गर्न आव्हान भएसँगै त्यस्तै प्रदर्शन हुनुले योजना बनाएको त होइन भन्ने आशंका भएको छ', गौतमले भनेका थिए।

भदौ १५ गते पर्सामा एकै दिन पाँच जना प्रदर्शनकारीको गोली लागी मृत्यु भयो। पर्साको परवानीपुरमा मधेस सरकार लेख्दै हिँडेकाहरु नारायणी उपक्षेत्रीय अस्पतालमा प्रवेश गरेपछि भएको झडपमा चार जना र कलैयामा एक जना गरी एकै दिन पाँच जनाको ज्यान गयो। यसलगत्तै सरकारले दङ्गाग्रस्त क्षेत्र घोषणा गर्दै त्यहाँ कर्फ्यु लगायो। 

भदौ १८ गते बर्दियाको मैनापोखर चोकमा प्रहरी हवल्दार देवबहादुर पान्डेको झडपका क्रममा घाइते भई उपचार गर्दागर्दै मृत्यु भयो। भदौ १९ गते नेपालगन्जबाट कोहलपुर गइरहेको मोटरसाइकलमा आन्दोलनकारीले ढुंगा हान्दा चालक २२ वर्षीय करन सिंहको मृत्यु भयो। 

गृहमन्त्री गौतमले आइतबार दिएको जानकारी अनुसार त्यतिञ्जेल ४३ वटा सरकारी भवनमा क्षति पुगिसकेको थियो। त्यसैगरी २० वटा निजी भवन, २४ वटा सरकारी सवारी साधन र १७२ निजी सवारी साधनमा क्षति पुगेको थियो। 

झडपका क्रममा आन्दोलनकारीका तर्फबाट १० जना सुरक्षाकर्मी, एक बालक, एक मोटरसाइकल चालक गरी १२ जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीको प्रहारबाट २२ जनाको मृत्यु भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell