PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सीमांकन विवादले आगो सल्कायो, सुर्खेतमा गोली चल्यो



 सीमांकन विवादले आगो सल्कायो, सुर्खेतमा गोली चल्यो

काठमाडौं: अखण्ड मध्यपश्चिमको माग गर्दै प्रदर्शन चर्केपछि मध्यपश्चिमाञ्चलको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यु लगाइएको छ।

मध्यपश्चिमाञ्चल विकास क्षेत्रका जिल्लाहरुलाई एउटै प्रदेशमा राख्नुपर्ने माग गर्दै नागरिक संघर्ष समितिले घोषणा गरेको आन्दोलन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राती ९ बजेसम्म कर्फ्यू लगाएको हो। 

हातमा लाठी बोकेर सडकमा निस्केका प्रदर्शनकारीले मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय,  सुर्खेत जिल्ला प्रशासन कार्यालय,  जिल्ला अददालत, वीरेन्द्रनगर नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्। उनीहरुले नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादीको पार्टी कार्यालय पनि तोडफोड र आगजनी गरेका छन्। पार्टी कार्यालयका कागजात पनि उनीहरुले फालिदिएका छन्। प्रदर्शनकारीले कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का र कांग्रेस सभासद हृदयराम थानीको घरमा पनि ढुंगामुढा गरेका छन्। 

आन्दोलन अराजक हुँदै गएपछि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको थियो भने दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीले गोली चलाउँदा केही घाइते र हताहती भएको अपुष्ट खबरहरु आएपनि प्रमाणित हुन सकेको छैन। 

सरकारको निर्णय विरुद्ध नागरिकहरु स्वतस्फुर्त रुपमा सडकमा आएपछि आन्दोलन नियन्त्रण बाहिर गएको अखण्ड मध्यपश्चिम नागरिक संघर्ष समितिका अध्यक्ष तेजबिक्रम बस्नेतले जानकारी दिए। 'सुदूरपश्चिम जस्तै मध्यपश्चिम पनि अखण्ड राख्नुपर्ने र त्यसको राजधानी सुर्खेत हुनुपर्ने यहाँका वासिन्दाको माग छ, त्यसो नभएपछि स्वतस्फुर्त रुपमा सडकमा निस्केका छन्' उनले भने 'धेरै ठूलो समूह सडकमा निस्केपछि त्यहाँ बिभिन्न उद्धेश्य भएकाहरु आउन सक्छन्, घुसपेठ पनि भएको हुनसक्छ।'

आज संघर्ष समितिले सुर्खेत बन्दको आयोजना गरेको थियो। अखण्ड मध्यपश्चिमको आन्दोलन चर्काउन संघर्ष समितिले आजै सर्वपक्षीय बैठक गरेको थियो। बैठकपछि आन्दोलनमा ऐक्यवद्धता जनाउँदै ब्यापारीहरु पसल बन्द गरेर सडकमा उत्रेका थिए। 

मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ जिल्लामध्ये ८ वटालाई सुदूरपश्चिमाञ्चल विकास क्षेत्रसँग मिसाइएको छ भने बाँकी ७ लाई तराइतिर जोड्ने गरी दलहरुले सीमांकनमा सहमति गरेका थिए। आइतबार संसद बैठकमा बोल्दै सुर्खेतका सभासद् हृदयराम थानीले ६ प्रदेशमा सहमति गर्दा मध्य पश्चिम विभाजित गरिएको भन्दै विरोध जनाएका थिए। 'क्षेत्रीय राजधानीको रुपमा विकास भएको सुर्खेतलाई किनारा लगाइयोु, यो आन्दोलनको पूर्व सूचना हो' भन्दै संसद बैठकमै थानीले धारणा राखेका थिए।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडलेले भीड नियन्त्रणबाट बाहिर गएको तथा र नियन्त्रणका सबै प्रयास असफल भएपछि कर्फ्यु लगाइएको बताए। 'लाठी चार्जपनि गर्यौँ, हवाई फायर पनि गर्यौँ तर नियन्त्रणमा आउन सकेन त्यसैले हामीले यस्तो बेलामा त धेरैको ज्यान जान सक्छ र मानवीय क्षति हुन सक्ने देखेर साँझ ९ बजेसम्म कर्फ्यु लगाएका छौँ', पौडेलले पहिलोपोस्टसित भने।

उनले भीड नियन्त्रणका बेला ज्यान गएको भन्नै कुनै खबर नआएको बताए। प्रमुख राजनीतिक दलहरुले आन्दोलनको घोषणा गरेपनि तोडफोड गर्ने आफुहरुको उध्येश्य नभएको बताएकोले पनि स्थिति नियन्त्रण बाहिर देखिएको पौडेलले उल्लेख गरे।

जुम्लामा पनि प्रदर्शन 

अखण्डि मध्यपश्चिमको माग गर्दै जुम्लामा पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीहरुले जिल्ला विकास समितिको कार्यालयमा तोडफोड तथा सवारी साधन जलाएका छन्। 'तोडफोड नै भएपछि हामीले लाठी चार्ज गर्यौ, अश्रु ग्यास पनि प्रहार गरेका छौँ तर गोली चलाएका छैनौँ', प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले भने। 

'सबै राजनीतिक दलहरु छुट्टै कर्णाली प्रदेशको माग गर्दै आन्दोलमा उत्रिनु भएको छ, हामी सुरक्षा समितिको बैठक बसिराखेका छौँ, पौडेलले भने। उनले सेना परिचालन भएको सम्बन्धमा सोधिएको पहिलोपोस्टमा प्रश्नमा भने कुटैनीतिक शब्द प्रयोग गर्दै 'कानुन बमोजिम अगाडि बढ्ने' बताए।

थरुहटको मागले कैलाली कञ्चरपुर बन्द यथावत

कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङलाई समेटेर छुट्टै प्रदेशको माग राख्दै चार दिनदेखि प्रदर्शन हुँदै आएको छ। थारु बाहुल्य रहेको कैलाली थारु कल्याणकारिणी सभाले चार दिनदेखि बन्द गरेको हो। सभासद् गोपाल दहितले अहिलेसम्म जनताले आन्दोलन गरेको भन्दै अब केन्द्रबाट थारु सभासद्हरुले नेतृत्व दिने तयारी भइरहेको बताए। 

'थरुहट माग गर्दै महिनौँ, बन्द गर्ने सम्मको काम हुदैँछ, सबै थारु सभासद्हरु मिलेर केन्द्रीय संयोजन गरेर अगाडि बढ्न लागेका छौँ', दहितले पहिलोपोस्ट सित भने। एकीकृत नेकपा माओवादीका सभासद् र फोरम लोकतान्त्रिकले यसअघि नै थरुहटका लागि भन्दै आन्दोलन घोषणा गरेका छन्। फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरी नेतृत्वमा एमाओवादी सभासद्हरु शनिबार सम्मिलित थारु सभासद् संघर्ष समिति बनाएको थियो।

नवलपरासी बन्द 

नवलपरासी जिल्ला टुक्रयाएको विरोधमा त्यहाँ जिल्ला बन्दको आह्वान गरिएको छ। अखण्ड नवलपरासी संघर्ष समितिले गरेका बन्दका कारण सदरमुकाममा परासी बजार प्रभावित भएको छ। बजार र पसलहरु बन्द छन् भने लामो र छोटो दूरीका सवारी साधन चलेका छैनन्। बन्दकर्ताले अखण्ड नवलपरासी नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। दाउन्ने पूर्वका वासिन्दाले विरोध नजनाएपनि दाउन्ने पश्चिमका वासिन्दा र मधेशवादी दलहरुले यसको विरोध जनाएका छन्। 

रुकुममा पनि आन्दोलन 

अखण्ड रुकुमको माग गर्दै रुकुमका नागरिक समाजले थालेको आन्दोलन आज पनि जारी छ। आइतबारदेखि सुरु भएको आन्दोलन अखण्ड रुकुम सुनिश्चित नभएसम्म जारी रहने नागरिक प्रतिनिधिहरुले बताएका छन् ।
 
अहिले विरोध स्वरुप सांकेतिक आन्दोलन संचालन गरिएको र वेवास्ता गरिए चरणबद्ध रुपमा कडा संघर्षका कार्यक्रम संचालन गर्ने उनीहरुले बताएका छन्। ६ प्रदेश सहित सिमांकनको टुंगो लागे संगै रुकुम २ भागमा टुक्रिएपछि अखण्ड रुकुमको पक्षमा आन्दोलन सुरु भएको हो।

बाग्लुङ बन्द फिर्ता 

जिल्ला टुक्र्याउने निर्णय विरुद्ध आन्दोलन भएको बागलुङमा भने प्रमुख दलका शीर्ष नेताहरुको प्रतिवद्धतापछि आन्दोलन फिर्ता भएको छ। प्रमुख दलका शीर्ष नेताहरुले जिल्ला टुक्र्याउने निर्णय फिर्ता लिने प्रतिवद्धता जनाएपछि सोमबार बन्द फिर्ता भएको हो।

हिन्दुवादीको प्रदशर्नले पर्सा बन्द

हिन्दु राष्ट्रलगायतका पाँच सूत्रीय माग राख्दै हिन्दूराष्ट्र सङ्घर्ष समितिले आव्हान गरेको बन्दका कारण पर्सा सोमबार बन्द छ। बन्दकर्ताले वीरगन्जमा रहेका पसल, उद्योग, शैक्षिक संस्था बन्द गराएका छन् भने वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएपछि जिल्लाको जनजीवन प्रभावित भएको हो।

बन्दकर्ताले नयाँ संविधानमा नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने माग राख्दै नाराबाजी समेत गरेका छन्। उनिहरुले वीरगन्जको रजतजयन्ती चोकमा ना३ख ७५३८ र ना२ख ६४३० नम्बरका ट्रकको सिसा फुटाएको जिल्ला प्रहरी कार्यालय पर्सालाई उदृत गर्दै राससले लेखेको छ।

गाईलाई राष्ट्रिय जनावर घोषित गरी गौ हत्या माथि प्रतिबन्ध लगाउनुपर्ने, धर्म परिवर्तनलाई प्रतिबन्ध लगाउनुपर्ने, छुवाछूत माथि रोक लगाउनुपर्ने, जातीय र क्षेत्रीय शोषणबाट मुक्त समाजको स्थापना गर्नुपर्ने, हिन्दू मठमन्दिरको पौराणिक चलअचल सम्पत्ति पुनः मठमन्दिरको नाममा कायम गरी मठमन्दिरको सञ्चालक समितिमा आस्थावान हिन्दुलाई मात्र नियुक्त गर्नुपर्नेलगायतको माग बन्दकर्ताले उठाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell