PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

रौतहटमा एक प्रदर्शनकारीको ​प्रहरीको गोली लागेर मृत्यु, गौर तनावग्रस्त



रौतहटमा एक प्रदर्शनकारीको ​प्रहरीको गोली लागेर मृत्यु, गौर तनावग्रस्त

रौतहट : दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको रौतहटको गौर नगरपालिकामा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।

निषेधाज्ञा तोड्दै गौर नगरपालिकामा प्रदर्शनमा उत्रिएको समूहमा प्रहरीले गोली चलाउँदा मठिया गाविसका २० वर्षका राजकिशोर ठाकुरको मृत्यु भएको हो।

जिल्ला सुरक्षा समितिको बैठकले दङ्गाग्रस्त क्षेत्र घोषणा गरी पाँचजना भन्दा बढी एकै स्थानमा भेला गर्न प्रतिबन्ध लगाएको थियो। तर गौर नगरपालिकाको कविर चोकमा १ सय ५० भन्दा बढी आन्दोलनकारी भेला भई प्रदर्शनमा उत्रिएपछि प्रहरीले गोली चलाएको थियो। 

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गर्दै अघि बढ्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए। उनले घटनामा एक जना घाइते भएको पुष्‍टी गरेका छन्।

पेटमा गोली लागी घाइते भएका ठाकुरलाई उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। रौतहटलाई दङ्गाक्षेत्र घोषणा गरिए पनि बिहानैदेखि सुनसान रहेको गौरमा अपराह्नपछि आन्दोलनकारी जम्मा हुन थालेका थिए। पसलहरु बिहानैदेखि बन्द थिए भने बजार क्षेत्रमा सुरक्षाकर्मीले दिनभरी गस्ती गरेका थिए।

केही सातादेखि संयुक्त लोकतान्त्रिक मोर्चाको आह्वानमा तनावग्रस्त रहँदै आएको गौरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति र लगातारको गस्तीले सर्वसाधारण घरबाट निस्किएका छैनन्। 

स्थानीय प्रशासनले सोमबार राति १० बजेदेखि गौर नगरपालिकालगायत गौर चन्द्रनिगाहपुर सडकखण्डको एक किलोमिटर दायाँबायाँको क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेपछि सुरक्षाकर्मीहरु परिचालन गरिएको हो। तर गौर चन्द्रनिगाहपुर सडकखण्डको गरुडामा आन्दोलनकारीहरुले सडकमा गहिरो खाडल खनेको तथा अन्य ठाउँमा पनि सडक अवरोधहरु रहेकाले खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell