PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कान्तिपुर गाथा : कनिकाका नजरमा प्रधानमन्त्री



किशोर नेपाल

कान्तिपुर गाथा : कनिकाका नजरमा प्रधानमन्त्री

कनिकाले खबर पाइ, देशका प्रधानमन्त्रीले संसदमा भाषण गरेर राजिनामा दिँदैछन्। पत्रकारितामा नआउन्जेल उसलाई यस्ता खबरसँग बाल मतलव थिएन। अहिले स–सानो डिटेल्स पनि खोज्ने गर्दछे।

केहीबेरपछि उसले थाहा पाइ, प्रधानमन्त्रीको राजीनामा रोक्यो प्रमुख प्रतिपक्षले। प्रधानमन्त्री रोष्ट्रममा पुग्नै परेन। संसद नै अवरुध्द भयो।
प्रधानमन्त्री प्रचण्ड कनिकाको च्वाइसमा परेका थिए। उनको ‘स्मार्ट’ र ‘सेक्स अपील’ को फ्यान थिइ उ। बोल्दा चारैतिर आँखा नचाएर बोल्ने प्रचण्डको भाषा लरतराले बुझ्नै नसक्ने। शब्दमा जे बोली रहेका छन्, बडी ल्यांग्वेज त्यसको ठीक विपरित।

प्रधानमन्त्रीको राजीनामाको प्रसंगमा उसले सोची, देशमा अहिलेसम्म जोजो प्रधानमन्त्री भएका छन् तिनको नखशीखको वर्णन गर्ने हो भने एउटा राम्रो रिपोर्ट तयार हुन्छ। पाठकहरुले पढ्न चाहने पनि त्यही हो। प्रचण्डको जुँगाका बारे कति कुरा काटेका हुन्छन् मानिसहरुले। एकताका, उनले लगाएका कलरफूल टी सर्ट युवतीहरुको सर्किलमा चर्चाको विषय थियो। उनले लगाएका घडी, उनी सुतेका पलङ, उनले खाएको खसीको मासु र भात के मात्रै चर्चित भएनन् र?

नेपालमा प्रधानमन्त्री भएका व्यक्तित्वहरुको आ–आफनै स्वभाव छन्। एमालेका नेताहरुमध्ये सबैभन्दा वुध्दिजीवी मानिएका झलनाथ खनाल प्रधानमन्त्री हुनुभन्दा पहिलेदेखि डरम्यूल कम्पनीको सूट लगाउँथे। भर्सासे पर्फ्यूम उनको प्रिय सुवास थियो। लाउनमा उनको विशेष रुची थियो। भ्रमणमा त जोसुकै प्रधानमन्त्री भएपनि उसको चाख नहुने कुरै भएन। खनाल पनि भ्रमणका शोखिन थिए। उनको व्यक्तित्वमा पनि प्रसस्तै सेक्स अपील नभएको त होइन। तर, एमाले पार्टीको नेता भएकाले त्यो स्वतः कुण्ठित भयो।

माधव नेपालको लाइफ स्टाइल निकै सादगीपूर्ण थियो। उनी बिहान दश बजेभित्र भान्सा कोठामा पिर्कामा बसेर दालभात खाइसक्ने टाइपका नेता थिए। एमालेका लागि सर्वाधिक उपयुक्त नेता भएकाले उनको शासन अन्तर्गत पार्टी लामो समयसम्म चल्यो। कनिकाको खोज अनुसार, माधव नेपाल एकमात्र त्यस्ता व्यक्तित्व हुन् जसको लाइफस्टाइल प्रधानमन्त्री नभएका बेलामा कमनरको जस्तो हुन्छ। उनी एकपटक प्रधानमन्त्री भएपछि जीवनभर प्रधानमन्त्रीकै लाइफ स्टाइल धान्नुपर्नेमा विश्वास नगर्ने व्यक्तित्व हुन्। माधव नेपालको एउटा शोख चाहिँ कनिकालाई गज्जबको लाग्यो। उनी फोटोग्राफीका धुरन्धर विज्ञ रहेछन्। एकजना स्टाफ फोटोग्राफर सँधै उनीसँग हिँड्दा रहेछन्। उनी आफैँ पनि मोबाइललाई सेल्फी मोडमा राखेर फोटो खिच्नमा माहिर छन्।

पुराना नेताहरुमा कनिकाले सुनेका नाम थिए, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द। यी मध्ये सबै नै रोमान्टिक, लुकेर रोमान्स गर्ने खालका, के.एल. सहगल, उमादेवी, तलत महमूदले गाएका गीतहरु मनपराउँथे। चिया, पान र सुपारीका शौखिन यी महान आत्माहरु साँझ कसैले  थाह नपाउने हिसाबले रसपान पनि गर्दथे। उसले पुराना नेताहरुको बारेमा आफ्ना बाबाबाट जानकारी पाएकी थिइ। भट्टराई, अधिकारी र कोइरालाका बारेमा बाबाले धेरै कुरा बताए पनि कनिका र उसका पुस्ताका लागि ती जानकारी सान्दर्भिक थिएनन्।

त्यसपछि कनिकाको दृष्टि बाबुराम भट्टराईमा पुगेर टिक्यो। उनका बारेमा उसको दृष्टिकोण पूर्वाग्रही थियो। पहिलो त, भट्टराईले आफनो नामको अगाडि झुण्ड्याएको ‘डाक्टर’ शब्द नै मन परेन। गोरखाका जनताले गाउँमा डाक्टर आएछन् भनेर खोकी जचाउन आए भने के जवाफ देलान् डाक्टरले? जनतालाई डाक्टर शब्दले झुक्याउँछ।

कनिकाले डाक्टरमा कुनै सेक्स अपिल फेला पारिन। सारै रुखो देखिने अनुहार। सँधै निरस शव्दहरुको प्रयोग। सुन्दा के के न लाग्ने। बुझ्दा एब्याट्र्  क्ट चिन्तन प्याज। बाबुरामको व्यक्तित्व सम्झिँदा सम्झिँदै उसले सोची, यी चाहिँ चालु माल हुन्। कुनबेला सबलाई थाङ्नामा सुताएर एकपटक फेरि प्रधानमन्त्री पदको घोडा चढ्ने हुन भन्न गाह्रो छ।

आगामी प्रधानमन्त्री शेरबहादुर देउवा उसलाइ मन परेको अर्को व्यक्तित्व हो। उनको व्यक्तित्व डिसेप्टिभ छ। अलि परबाट हेर्दा जुम्ली पाराको देखिए पनि उनमा पर्याप्त सेक्स अपील छ। व्यक्तित्व पनि खाइलाग्दो। रोमान्टिक नभएका भए आरजु राणाजस्ती सुन्दरी उनकी पत्नी हुने नै थिइनन्। राजनीतिमा डायनामिक भनेर त कहलिएकै हुन्। निर्णय क्षमता भएका भनेर प्रशंशित पनि छन्। तर, यसपालाको सरकारको नौका कसरी पार लगाउलान? यो चाहिँ उनको अनुभव र क्षमताको परीक्षाको घडी नै हो। स्थानीय चुनाव, मधेश लगायतका थुप्रै विषयमा उनले परीक्षा दिनुपर्नेछ। यो परीक्षा पार गरे भने सबैका लागि उनी हाइहाइ हुनेछन्। अहिले उनको उछित्तो काट्ने आलोचक, सत्तो सराप गर्ने प्रतिपक्ष, भित्रभित्रै छुरा धस्न खोज्ने सहयोगी, उनलाई अक्षम भन्ने वुध्दिजीवी सबै ठेगान लाग्नेछन्। कनिकाले सोची, सत्ताकी देवी राज्यलक्ष्मीले अवसर दिएकी छिन्। सम्हाल्न सके पक्कै गरी खालान्। 

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)


यो सिरिजका थप गाथा

​कान्तिपुर गाथा : इलेक्सनको बोरिङ अपडेट छाडेर रोमान्टिक बनेकी कनिका

कुलमानमा कनिकाको आँखा 
अदालतमा कनिका
कनिकाको मधेश यात्रा
कान्तिपुर मेयरमा बाबुराम

कनिकाको नयाँ वर्ष

महाराज महारानीको भोजमा राष्ट्रपति ​

चुनावी चक्रव्यूहमा कनिका
कान्तिपुर गाथा : भ्रममा रमाएका न्यायमूर्तिहरु
किन डराएका छन् देशका पत्रकार?
सुन, पुलिस, गीत र गुण्डाको सिक्वेल
भ्यालेन्टाइन किसको सोसल रियाक्सन
अशान्त कान्तिपुरका केही छिद्रहरु
डस्टमाण्डूमा जारी छ चमत्कार
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell